भर्खरै :

चिनियाँ लेखक लु सुन साम्राज्यवादविरोधी साहित्यकार

चिनियाँ लेखक लु सुन साहित्यिक बहुविधाका स्रष्टा थिए । चिनियाँ सांस्कृतिक क्रान्तिका एक अगुवा लु सुन समालोचक, निबन्धकार, उपन्यासकार, कथाकार, कवि, सम्पादक र अनुवादक थिए । समाजवादी साहित्य लेख्ने उनी चीनको स्वाधीनताको निम्ति अगाडि बढेका एक जुझारु अभियन्ता पनि थिए । चीनको स्वतन्त्रता आन्दोलनमा उनको महत्वपूर्ण योगदान थियो । उनी कम्युनिस्ट पार्टीको सदस्य नरहे पनि देशमा आमूल परिवर्तनको निम्ति क्रान्तिकारी साहित्यमात्र लेखेर पुग्दैन, क्रान्तिकारी योद्धा पनि चाहिने बताउँथे । चीनका सर्वहारावर्गका नेता माओ त्सेतुङले उनलाई चीनको सर्वहारावर्गको सांस्कृतिक क्रान्तिका अगुवा भएको बताए । स्वतन्त्रता आन्दोलनमा यिनको योगदानको उच्च मूल्याङ्कन गर्दै उनलाई मृत्यु उपरान्त पार्टीको मानार्थ सदस्यता प्रदान गरिएको थियो ।
चीनका गोर्की भनेर चिनिने उनको नाममा चीन सरकारले लु सुन साहित्य पुरस्कारको स्थापना गरेको थियो । विद्यालयका विभिन्न तहका पाठ्यक्रममा पनि उनका साहित्यिक रचनाहरू समावेश गरिएका छन् । यिनका कति रचनाहरू एड्गर स्नोले अङ्ग्रेजी भाषामा अनुवाद गरेका थिए । उनले चीनको स्वाधीनताका लागि अग्रमोर्चामा रहेर काम गरे । जीवनभर कम्युनिस्ट पार्टीको सदस्य नरहे पनि पार्टीको हरेक आन्दोलनमा सक्रियतासाथ लागे । चीनमा गणतान्त्रिक सरकार स्थापना भए पनि मुलुक विदेशी प्रभुहरूको चङ्गुलबाट मुक्त हुन सकेको थिएन । त्यसबेला बाँकी रहेको कमाराको विरोधमा उनी लागे । यसरी चिनियाँ जनतामाझ उनको लोकप्रियता बढ्दै गयो । सन् १९११ को राजतन्त्रविरोधी आन्दोलनमा बुद्धिजीवीहरूको नेतृत्व गर्दै यिनी सक्रिय भए ।
डा. सनयात सेनको नेतृत्वको गणतान्त्रिक आन्दोलन सफल भएपछि उनले शिक्षा मन्त्रालयमा विभिन्न महत्वपूर्ण पद सम्हाले । चीनमा मात्र होइन विश्वमा साम्राज्यवादी शक्तिहरूको दबदबा बढ्दै थियो । मुलुक गृहयुद्धमा होमिएको थियो । समाजमा चरम शोषण व्याप्त थियो । रुसमा समाजवाद क्रान्तिको सफलताले थिचिएका, मिचिएका चिनियाँ जनतामा स्वतन्त्रताप्रति ठूलो उत्साह जगाइदिएको थियो । त्यस्तो बेला लेखक एवम् साहित्यकार लु सुनले छद्म नामबाट साम्राज्यवाद र सामन्तवादविरोधी कथा ‘एउटा बौलाहाको डायरी’ लेखे । यही कथाबाट चीनको आधुनिक कथा साहित्य प्रारम्भ भएको थियो । उनी चिनियाँ वाम लेखकहरूको लिगको सर्वमान्य अध्यक्ष भएका थिए । कोमिन्ताङ सरकारले पाँचजना युवा लेखकहरूको हत्या ग¥यो । सरकारको दमनबाट बच्न उनी भूमिगत भए । तर, उनी चुप लागेनन् । कोमिन्ताङ सरकारको अत्याचारको विरोधमा ‘चिनियाँ सर्वहारा साहित्य र अग्रगामी लेखकहरूको रगत’ र ‘अँध्यारो चीनमा कला साहित्यको वर्तमान स्थिति’ नामक लेखहरू लेखे । सङ्घर्षको क्रममा चिनियाँ क्रान्तिकारीहरूको हत्या भयो । तर, पनि उनको सङ्घर्षशील उत्साह कहिल्यै घटेन ।
विद्यार्थी कालदेखि उनले जागरणसम्बन्धी विभिन्न लेख लेखे । उनले पहिलो कथा ‘फर्केर हेर्दा’ लेखे । राजतन्त्रविरोधी आन्दोलनमा सक्रिय भएर लाग्ने लु सुनले आफ्नो कलम चलाइरहे । शिक्षकसमेत भएका लु सुनले अङ्ग्रेजी र जर्मनेली भाषा सिके र पच्छिमा साहित्यसँग उनले चिनारी पाए । अर्ध–सामन्ती र अर्ध–औपनिवेशिक चीनमा जन्मेका उनी प्रगतिशील साहित्यकारमात्र होइन, साम्राज्यवादविरोधी अभियन्ता पनि थिए । त्यसकारण, लु सुन नेपाली साहित्यका पाठकहरूको निम्ति नौलो नाम होइन । लु सुनका कृतिहरू नेपालीमा पनि अनुवाद भएको छ र उनको साहित्य अध्ययन गरेर चीनको त्यसबेलाको राजनीतिक, आर्थिक र जनताको स्थितिबारे जानकारी मिलेको पाइन्छ । चीनका आधुनिक र प्रगतिशील साहित्यका जनक लु सुन चीनको पूर्वी प्रान्त झोजियाङमा जन्मेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *