यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
(केही हप्ता अगाडि द्रुत बस सेवा सञ्चालनको लागि भनी भक्तपुर सूर्यविनायकदेखि रत्नपार्कसम्म सडकको एक छेउ राताम्य पार्दै रङ्ग पोत्दै तामझामका साथ बस सेवा सुरु गरियो । तर, धेरैले यो सेवा सफल हुनेमा आशङ्का व्यक्त गरेका थिए । आशङ्का गरेजस्तै सेवा सुचारु भएको महिना दिन नबित्दै सेवा बन्द गर्नुपर्ने कुरा चल्यो । यही सम्बन्धमा एक विज्ञले प्राविधिकरूपमा यस सेवाका बारेमा दिइएको विचार यहाँ प्रकाशित गरिएको छ । – सम्पादक)
काठमाडौँको रत्नपार्क हुँदै भक्तपुरको सूर्यविनायकसम्म द्रुत बस सेवा सञ्चालनको योजना बनाउनु अगाडि अध्ययन समिति गठन गर्नुपर्ने होइन र ? द्रुत बस सञ्चालनमा आइसकेपछि पुनरावलोकन गर्नु अर्को कुरा हो । द्रुत बस सेवा सञ्चालन गर्दा ट्राफिक इन्जिनियर तथा सम्बन्धित विज्ञहरूसँग सल्लाह लिएको भए यस्तो समस्या केही हदसम्म पहिले नै थाहा हुन्थ्यो होला ।
दायाँ बायाँ दुई दुई लेन गरी चार लेनको अरनिको राजमार्गमा सवारी साधनको चाप भएबाट ट्राफिक जामको समस्या छ भन्ने कुरा सबैलाई हेक्का भएकै कुरो हो । यस्तो दुई लेनको एकतर्फी One way भएको राजमार्गको सोल्डर अर्थात् बायाँ साइडको खाली भाग (सोल्डर/Shoulder) लाई पनि गाभेर जबरजस्ती तीन लेन बनाएर त्यो पनि राजमार्गको बाटोको चौडाइलाई हाई वे इजिनियरिङ (Highway Engineering) को सिद्धान्तलाई पनि वास्ता नगरी द्रुत बसलाई (Red marked dedicated lane) बायाँ लेनलाई छुटाएर बाँकी दायाँ लेनलाई चौडाइ सानो (साँघुरो बनाई दुई लेनको सडक बनाउनु कतिको बुद्धिमानी हो ? यस्ता सोल्डर राजमार्गमा साधारणतया गुडिरहेको गाडी बिग्रिएमा दुर्घटना या अन्य समस्या आएमा सङ्कटकालीन प्रयोगको लागि राखिएको हुन्छ । यस्तो स्थितिमा सोल्डर नै नभएको अवस्थामा यसले निम्त्याउन सक्ने विकराल अवस्थालाई मध्य नजर गर्नु अति आवश्यक छ ।
यस्तो दुई लेनको एकतर्फी भएको राजमार्गको सोल्डरलाई गाभेर तीन लेन बनाए पनि अन्तिमपट्टिको दायाँ सडक खुला हुनुपर्नेमा बिचको लेनमा जस्तै गाडी गुडिरहने अवस्था भएपछि राजमार्ग जाम हुनु कुनै नौलो कुरो भएन । ओभर टेक गर्ने विकल्प नभएपछि यसले गर्दा दमकल, एम्बुलेन्स तथा अन्य अत्यावस्यक आकस्मिक सेवाहरू निर्वाधरूपमा अगाडि जान नसकिने अवस्था हुनु र भारवहन, मध्यम तथा हलुका सवारी साधनहरूलाई ओभर टेक गर्ने विकल्प नभएपछि राजमार्गमा जामको अवस्था के होला भन्ने सहजै अनुमान गर्न सकिन्छ । राजमार्गमा सवारी बालकहरूको अनुशासन कमी हुनुको अर्को पाटो त छँदै छ।
यस्ता द्रुत बस सेवा सञ्चालनको लागि साधारणतया एकतर्फी राजमार्ग पनि कम्तीमा तीन लेनको हुनुपर्ने देखिन्छ । तीन लेन हुँदा बायाँ लेन द्रुत बस (अन्य बस तथा ट्रकलगायतका भारवहन सवारी साधनहरूका लागि पनि प्रयोग गर्दा उपयुक्त हुन्छ किनभने यो लेनमा अरू लेन जस्तै व्यस्त हुँदैन । यसले गर्दा दोस्रो लेनमा चल्ने मध्यम तथा हलुका सवारी साधनहरूको चाप कम हुन्छ) लाई खुला लेन दिएको खण्डमा सँगैको दोस्रो लेन बस, ट्रकलगायतका भारवहन, मध्यम तथा हलुका सवारी साधनहरूको लागि हुन्छ भने अन्तिम तेस्रो खुला लेन ओभर टेकको लागि साथै दमकल, एम्बुलेन्सजस्ता अत्यावश्यक आकस्मिक सेवाका सवारी साधनहरूको लागि हुनुपर्दछ ।
अहिलेको ४ लेनको अरनिको राजमार्ग सुरुमा प्रस्तावित ६ लेनको भएको कुरा व्यापक चर्चामा आएको थियो । सायद सुरुको प्रस्तावित ६ लेनको भएको भए अहिले यो समस्या झेल्नु पर्ने थिएन कि ?
(लेखक वैद्य काठमाडौँ विश्वविद्यालयमा कार्यरत वरिष्ठ आर्किटेक इन्जिनियर हुनुहुन्छ ।)
Leave a Reply