भर्खरै :

बडा दसैँ र महत्वाकाङ्क्षा

बडा दसैँ र महत्वाकाङ्क्षा

आयो फेरि बडा दसैँ । जस्तै विपन्न नेपाली पनि सामान्यतः मन फुकाएर बडा दसैँ मनाउँछन् । सरकारले पनि सबभन्दा बढी बिदा दिन्छ बडा दसैँमा । शिक्षा सेवा र न्याय सेवामा सबभन्दा लामो बिदा हुँदा बडो खुसी भएर लाखौँ मान्छे आफ्नो पुख्र्यौली घर जान्छन् जहाँ आफ्ना र आफ्नाहरूसँग लामो समयपछि भेटघाट सुख–दुःखका भोगाइहरूको आदानप्रदान हुन्छ । यो कुरा पैसाले हुँदैन । व्यक्ति व्यक्तिको सम्बन्ध भनेको अर्कै वस्तु हो । यो सम्बन्ध अनौठो हुन्छ । यसको व्याख्या सबैको एउटै हुँदैन । बडा दसैँमा पूर्वप्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालासँग टीका लगाउन गए भनेर कुरा उठेपछि विश्वबन्धु थापाले पदबाटै राजीनामा नै दिए । यसरी दसैँको गरिमा, महिमा र परिभाषा आ–आफ्नो हुने गर्छन् । दसैँ एक प्रकारको महोत्सव हो । यदि कुनै गृहस्थकहाँ घरमुली मरेमा बडो दसैँजस्ता चाड मानिँदैन । एक वर्ष आशोच बारिन्छ । त्यसरी घरमूली मरेमा वर्ष दिनभरि कुनै पनि शुभ कार्य विवाह, व्रतबन्ध, सप्ताह, नवाहजस्ता विशेष अनुष्ठान पनि गरिँदैन । त्यो वर्ष बरखी बारिन्छ । बरखी बार्ने भनेको हिन्दू धर्मशास्त्रअनुसारको आचरण गर्नु हो । यस विधिविधानमा एउटा सारै कठोर पुराण पनि छ जसलाई गरूड पुराण भनिन्छ जो सारै कडा छ ।
दसैँभन्दा तिहार मनपर्छ
हिन्दू संस्कारमा धर्म कार्यप्रति अन्ततः कडा अनुशासन छ । तर, बडा दसैँ पूजा आ–आफ्नो शक्ति संस्कार अनुसार गर्ने गरिन्छ । कतै जमरा राखेको ठाउँमा घरमा भएका सबै काट्ने भाँडा वा कतै नवदुर्गाको प्रतीक नौ वटामात्र हतियार राखी पूजा गरिन्छ । कुनै थरका गृहस्थका घरका नवदुर्गा साकाहारी हुन्छन् भने कुनै घरका मांसाहारी । कुनै घरमा राति अष्टमी तिथिको मध्यरातमा कालरात्री मान्छ । कुनै घरमा कालरात्री मानिँदैन । कालरात्री मान्ने परिवारले आधा रातमा जून अस्ताएपछि बल्ल कालरात्री गरिन्छ । दसैँ पूजा खुकुलो हुन्छ । त्यसो त देव पूजा खुकुलो हुन्छ । पितृकार्य खुकुलो हुँदैन । देव कार्यमा श्रद्धा भक्तिलाई प्राथमिकता दिइन्छ तर पितृकार्य श्रद्धाभक्तिले मात्र पुग्दैन वचन नै पुग्नुपर्छ । तसर्थ हाम्रो जस्तो समाजमा देवदेवी पूजाभन्दा पितृकार्य कडा छ । देवता थोरबहुत तलमाथि परे पनि श्रद्धा भक्तिपूर्वक गरेका कामबाट प्रसन्न हुन्छन् तर पितृलाई श्रद्धाभक्ति भावले पुग्दैन । यसर्थ, यो पितृकार्य सजिलो छैन देवकार्यको तुलनामा । वचन परेन भने पितृले केही पाउँदैनन् । सबै प्रयत्न खेर जान्छ । देवकार्यमा यस्तो हुँदैन । भक्ति नै पर्याप्त हुन्छ । यो गाँठो कुरा कतिले बुझ्छन् कति बुझ्दैनन् । तथापि दसैँमात्र होइन तिहार पनि यस्तो उत्सव हो । तर, तिहार सुकिलो पर्व फूल, ओखर, कटुज, मसला, मिठाइको चाड हो । मलाई दसैँभन्दा तिहार मनपर्छ ।
दर बस्यो होइन तर बस्यो
म सानो छँदा दसैँको स्वरूप नै फरक थियो खायो, खेल्यो । फूलपातीको दिन वा अघिल्लो दिन तिब्बतीयन व्यापारी जसलाई थाक्से वा भोटे भनिन्थ्यो – च्याङ्ग्रा, भेँडाका बथानका बथान तिब्बतबाट बेच्न ल्याउँथ्यो । त्यतिबेला पैसा महँगो वस्तु वा सामान सस्तो हुन्थ्यो । अहिले ५ हजार रुपैयाँ पर्ने च्याङ्ग्रा सात मोहोर (तीन रूपैयाँ पचास पैसा) मा छानेर किन्न पाइन्थ्यो । भेँडा पनि त्यस्तै त्यस्तै । एउटा च्याङ्ग्रा भेडा साहुका च्याङ्ग्रा एक हजारभन्दा घटी हुँदैनथ्यो । ती भेडा–च्याङ्ग्रा घण्टाघर पश्चिम खाली ठाउँ थियो । त्यहाँ थुनेर राख्थे । ती सबै ठाउँ खाली थिए । एउटा बथान बथान वा च्याङ्ग्रा भेडा अर्को बथानमा मिसिए भने कुन बथानको हो छुट्याउन आ–आफ्ना बथानका भेडा–च्याङ्ग्रामा फरक फरक रङ्ग ल्याएका हुन्थे । तसर्थ, दर बस्यो भन्नुपर्नेमा तर बस्यो भन्थे । दिउँसो १ बजेतिर तर बसाल्यो । एउटा ज्यूँदा च्याङ्ग्रा वा भेँडाको मोल सात मोहोर–चार रूपैयाँ पथ्र्यो । दर नबसुञ्जेल भेडा च्याङ्ग्रा थुनेको ठाउँमा कोही जान पाउँदैनथ्यो । भित्र जान पाएपछि सबैको दाउ मोटो भेडा च्याङ्ग्रा छान्ने हुन्थ्यो । त्यसरी हडबडमा छान्दा भेडी र च्याङ्ग्री पनि पर्थे । परेन फसाद । बथानबाट छुट्टिएपछि कति च्याङ्ग्रा भेडा त हिँड्दै नहिँड्ने । घर पु¥याउन मुश्किल । हामी केटाकेटी जति लामो सिङ भएको च्याङ्ग्रा वा भेडा भो त्यति नै बढी खुसी हुन्थ्यौँ । केटाकेटीले कुनै दसैँमा नयाँ जुत्ता लगाउन पाउँथ्यौँ, कुनै नयाँ जुत्ता हुँदैनथ्यो । नयाँ जुत्ता लाएर मामाघर जाँदा खुट्टाभरि फोकै फोका यसरी गइन्थ्यो मामाघर ।
उल्टोमा पो त टुङ्गियो
बडा दसैँभन्दा ठूलो चाड नेपालीहरूको अरू छैन । कतिपय जातजातिमा कुल देवताको पूजालाई मान्छन् तापनि बडा दसैँ जति ठूलो र व्यापक हुँदैन । दसैँ गरिबले ऋण गरेरै सही मान्छ । केही छाक पेटभर मासु–भात खान्छन् र आनन्द मनाउँछन् । दसैँ आयो दशा आयो भन्ने एकथरी नेपाली अझै छन् । एकथरी नेपाली दसैँको मुखमा पनि विदेसिए धेरै युवा वैदेशिक रोजगारीमा उमेरमा नै बढी दुःखकष्ट गरी एक माना खान पुग्ने स्थितिमा पुग्न पाए जीवनको उत्तराद्र्ध पनि विपन्न हुुन पर्दैनथ्यो भन्ने आकाङ्क्षाले नेपाली युवा आजको सुख सुविधा त्यागी विदेशी राज्यमा जान्छन् । उनीहरू सुख सुविधाको आज होइन भोलि भन्ने लामो महत्वाकाङ्क्षा राख्छन् । यसरी भोलिको सुखको लागि आज बडा दसैँसमेत छोडी विदेश हानिने हजारौँ युवाको लास फर्कन्छ, युवा फर्कँदैन । अब त्यो घर रहन मुश्किल छ । साहुबाट महँगो ब्याजमा ऋण लिएर वैदेशिक रोजगारीमा गएका युवा जीवित युवाको लास आउँदा उनीहरूका तरूनी श्रीमती, वृद्ध आमा–बुबा के ठान्दा हुन् र भविष्य कस्तो हुन्छ मसिनो गरी अध्ययन गरिएकै छैन । आजको दसैँबारे कलम चलाउँदा चलाउँदै कस्तो नकारात्मक अन्त्यमा पुगेँ । यी सब छोडौँ । सुख सुविधासँग दसैँ मनाऊँ । सबैमा शुभकामना !

Leave a Reply

Your email address will not be published. Required fields are marked *