यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
एकजना निमुखा गरिब किसानको सानो टुक्रा जमिन थियो । पुर्खाको निहुँ झिकेर एक सम्पन्न पहुँच भएको अर्को व्यक्ति आएर उक्त जग्गा हडपिन्छ । यहीँ कुरामा झगडा हुँदै अदालतसम्म पुग्छ । सम्पन्न व्यक्ति पैसा र पहुँचको बलमा न्यायाधीशलाई प्रभावमा पारेर अदालतको फैसला आफ्नो पक्षमा पार्न सफल हुन्छ । गरिब निमुखा किसान उत्तेजनामा आएर अदालतलाई नै गाली गर्दै उक्त सम्पन्न व्यक्तिमाथि हातपात गर्न थाल्छ । अदालतको मानहानि गरेको र अरूलाई हातपात गरेको भनेर न्यायाधीशले त्यही गरिब किसानलाई अर्को सजाय सुनाउँछन् । यसरी किसानले आफ्नो जग्गा गुमाउनुको साथै उल्टै जेलको हावा खानुपर्ने अवस्था आउँछ । किसान निर्दोष भएको थाहा हुँदाहुँदै पनि अदालतको सबैले सम्मान गर्नुपर्छ भन्दै सम्पूर्ण समाज त्यही सम्पन्न व्यक्तिकै पक्षमा हुन्छ भने अर्कोतिर गरिब किसानको पक्षमा बोल्ने कोही हुँदैन ।
यो छोटो कथा हुँदै गरेको प्यालेस्टाइन र इजरालयबिचको द्वन्द्वसँग मेल खान्छ । डेरावालले उल्टै घरपतिलाई नै निकालेजस्तै प्यालेस्टाइनहरूले एकातिर आफ्नो भूमि गुमाउनुपरेको छ भने अर्कोतिर आतङ्कवादीको आरोप पनि खेप्नुपरेको छ । प्यालेस्टाइनहरू इजरायलमाथि स–सानो हमला गर्छन् अनि त्यही निहुँमा आतङ्कवादीको आरोप लगाउँदै इजरायलले प्यालिस्टानी भूमि नै हडप्न थाल्छ । सबैलाई थाहा छ, उक्त भूमि प्यालेस्टाइनीहरूको हो भनेर तर विश्वका सम्पन्न र शक्तिशाली मुलुकलगायत विश्व अदालतको रूपमा भूमिका खेल्ने संयुक्त राष्ट्र सङ्घ इजरायलको पक्षमा हुँदा विश्व समुदाय मूकदर्शक भएर बसेको छ ।
हमासद्वारा इजरायलमा गरेको पछिल्लो आक्रमणका पछाडि कारण इजरायली सेनाको सेप्टेम्बर १७ मा मस्जिद परिसरमा प्रवेश थियो । इजरायली सेनाले कब्जा गरिएको पूर्वी जेरुसेलमको अल–अक्सा मस्जिद परिसरको मुख्य प्रवेशद्वारमा प्यालेस्टिनी उपासकहरूलाई आक्रमण गरेको थियो । गैर मुसलमानलाई प्रवेश वर्जित भएको उक्त स्थलमा इजरायली सेना प्रवेश गरेपछि त्यतिबेला हमासले बदला लिने प्रण गरेका थिए । पछिल्लो द्वन्द्व त्यसैको श्रृङ्खला हो ।
द्वन्द्वको जड धार्मिक स्थल जेरुसेलम
यहुदी, इसाई र इस्लामको लागि ठूलो धार्मिक महत्वको सहर जेरुसेलमको टेम्पल माउन्ट (मन्दिर होइन) भन्ने ठाउँमा अवस्थित छ । टेम्पल माउन्ट जेरुसेलमको पुरानो सहरभित्र पर्खालले घेरिएको झन्डै २२० रोपनीको परिसर हो । यो यहुदी धर्म, इसाई धर्म र इस्लामको सबैभन्दा पवित्र स्थलहरूमध्ये एक हो । यही टेम्पल माउन्टमा मुसलमानहरूको पवित्र स्थल अल अक्सा मस्जिद रहेको छ । जेरुसेलमको टेम्पल माउन्टमा अल–अक्सा मस्जिद रहेकै क्षेत्रमा पहिलो र दोस्रो यहुदी मन्दिरहरू रहेको भन्ने मानिन्छ । सोलोमनको मन्दिरको रूपमा चिनिने पहिलो मन्दिर १० औँ शताब्दी ईसा पूर्वमा निर्माण गरिएको थियो । यो ५८६ ईसा पूर्वमा बेबिलोनीद्वारा नष्ट गरिएको विश्वास गरिन्छ । तर, अहिले त्यहाँ पर्खालको अवशेषमात्र बाँकी छ । यही पर्खाललाई दोस्रो मन्दिर मानेर यहुदीहरू प्रार्थना गर्न आउँछन् । त्यसैले जेरुसेलमको पुरानो सहर टेम्पल माउन्टलाई यहुदी धर्ममा सबैभन्दा पवित्र स्थल मानिन्छ ।
अर्कोतर्फ मुसलमानहरूको लागि अल–अक्सा मस्जिद मक्का र मदिनापछि तेस्रो सबैभन्दा पवित्र स्थल मानिन्छ । पैगम्बर मुहम्मदलाई मक्काको काबाबाट जेरुसेलमको अल–अक्सा मस्जिदमा लगिएको थियो । ‘डोम अफ होली रक’ को नामबाट चिनिएको गुम्बजभित्र एउटा ढुङ्गा छ जहाँबाट पैगम्बर मुहम्मद रातको यात्रामा स्वर्गमा उक्लिएका थिए भन्ने मुसलमानहरू विश्वास गर्छन् । डोम अफ द रक एक प्रतिष्ठित सुनको गुम्बज भएको संरचना हो । यो इस्लामिक वास्तुकलाको संसारको सबैभन्दा पुरानो जीवित साक्षी हो । मुस्लिम र यहुदी दुवैका लागि यो ठाउँको महत्वले यसलाई आधुनिक समयमा तनावको बिन्दु बनाएको छ ।
त्यसैगरी, जेरुसेलम इसाईहरूको लागि पनि महत्वपूर्ण छ । यो येशु ख्रीष्टको जीवनसँग सम्बन्धित छ । पुरानो सहरभित्र रहेको चर्च अफ द होली सेपल्चरलाई येशुको क्रूस, गाड्ने र पुनर्जीवनको स्थल मानिन्छ । येशु क्रूसले हिँडेको बाटो ‘भाया डोलोरोसा’ जेरुसेलमका क्रिश्चियन पवित्र स्थलहरूमध्येका हुन् । येशुलाई झुन्ड्याएर टाँगेर मार्न हिँडाएर लगेको भनेर विश्वास गरिएको उक्त ठाउँमा धेरै क्रिस्चियन तीर्थयात्रीहरू हिँड्न र उहाँको जीवन र मृत्युसँग सम्बन्धित पवित्र स्थलहरूको भ्रमण गर्न जान्छन् ।
ती नै धार्मिक समुदायको साझा ठाउँ भएकोले जेरुसेलमलाई संयुक्त राष्ट्र सङ्घको निगरानीमा राखिएको थियो तर अहिले पूर्णरूपमा यो ठाउँलाई इजरायलले कब्जा गरिसकेको छ । यो मध्य पूर्वमा तनावको केन्द्रबिन्दु बनेको छ र सबै तीन धर्मको धार्मिक हितलाई मिलाउने शान्तिपूर्ण समाधान खोज्ने प्रयास विफल हुँदै गएको छ ।
तीन वटै धर्मको सुरुवाती बिन्दु एउटै
इसाई धर्मअन्तर्गत अङ्ग्रेजीमा ‘अब्राहम’ र यहुदी धर्मअन्र्तगत हिब्रुमा ‘अभ्राहम’ र इस्लाम धर्मअन्र्तगत अरबीमा ‘इब्राहिम’ भनेर चिनिने व्यक्ति झन्डै ४२ सय वर्ष अगाडि जन्मेको मानिन्छ । अर्थात्, माथि उल्लेखित नाम अहिलेका इशाइ, यहुदी र मुसलमानको एउटै पुर्खा हो ।
इब्राहिमका थुप्रै श्रीमती मध्ये दुई श्रीमती एक हजरतबाट इस्माइलको जन्म भयो भने अर्को श्रीमती साराहाबाट आइज्याक वा इशाहकको जन्म भयो । हजरतको छोरा इस्माइलबाट जन्मेका सन्तान दरसन्तान नै अहिलेका मुसलमान हुन् । अर्को श्रीमती साराहाबाट जन्मेको छोरा इशाक वा इजाक हुन् । इजाकको छोरा याकुव । याकुवको अर्को नाम इजरायल हो । इजरायलको अर्थ संसारलाई शासन गर्नु । उनका पनि १२ छोराहरू थिए । त्यसैले इजरायलमा १२ जात भएको मानिन्छ । त्यसमध्ये १ जना यहुदा हो जसको अनुयायीहरूलाई यहुदीको रूपमा जानियो । अहिलेको यहुदी यिनैका सन्तान हुन् ।
कालान्तरमा गएर यहुदी परिवारमा जन्मेका येशु आफैँ परमेश्वरको पुत्रको रूपमा जन्मेको दाबी गर्दै फरक उपदेशको प्रचार गरे । उनका प्रारम्भिक अनुयायीहरू पनि यहुदी नै थिए । यहुदी र क्रिश्चियनबिच विभाजनका मुख्य कारण येशुलाई परमेश्वरको पुत्रको रूपमा यहुदीले नमान्नु थियो । त्यसैले, परम्परागत यहुदी धर्ममा यसलाई स्वीकार गरिएको छैन । येशुको मृत्यु पछि बिस्तारै बिस्तारै इसाई धर्म र यहुदी धर्ममा विभाजन बढ्दै गयो । यद्यपि, येशुको धार्मिक उपदेशले उनका अनुयायीहरू बढ्दै गयो । मुख्यधारा यहुदी विश्वासबाट येशु अनुयायीहरू अलग हुन थाले । जसले गर्दा क्रिस्चियन र यहुदी धर्मको बिचमा विभाजन भयो । ४५१ ईस्वि संवत्मा चाल्सेडनको परिषद्ले क्रिश्चियन सिद्धान्तको विकासमा महत्वपूर्ण भूमिका खेलेको थियो जसले इसाईलाई यहुदी धर्मबाट झनै टाढा बनायो । छोटोमा भन्नुपर्दा इसाई र यहुदी धर्मबिचको विभाजन येशुको बारेमा विश्वास र फरक धार्मिक परम्पराको विकासको कारण हुन गयो । फरक–फरक यी तीनै धर्मका अनुयायीहरूको पुर्खा भने एउटै हुनु चाखलाग्दो कुरा हो ।
समस्याको समाधन कसरी ?
जमिनको लागि सुरु भएको द्वन्द्व धर्म युद्धमा परिवर्तन भएको छ । मुसलमानको पक्ष र विपक्षमा संसार दुई भागमा विभाजित भएको छ । माक्र्सले धर्म अफिम हो, यतिकै भनेका होइनन् । विज्ञानको चरम विकास भएपछि अन्धविश्वास आफै हटेर जाने आश पनि मुर्झाइसकेको अवस्था छ । हाल मध्यपूर्वमा जारी सङ्कट धर्मले निम्त्याएको सङ्कट हो । धर्म अन्धताले निम्त्याएको मानवीय सङ्कट विश्वव्यापी फैलिँदो छ । धर्मभिरुहरूले मान्छेभन्दा ढुङ्गा ठुलो ठान्दा परिणति भयावह देखिँदै छ । धर्मको नाममा राजनीति गर्ने धर्मान्धहरूले बेलैमा बुझे समग्र समाजको लागि भलो हुने थियो तर यस्तो आशा गर्नु पनि मूर्खता नै हुने देखियो । हाम्रै देशमा पनि मन्दिरको अगाडि चर्च निर्माण गरेर विवाद सिर्जना गर्नेदेखि गाई मार्न हुने नहुने विवादको कारण समाज विभाजित हुँदै गइरहेको छ । अब यो समस्याको समाधान कम्युनिस्ट विचार धाराको नियन्त्रणमा सम्पूर्ण विश्व समाज आउनुपर्छ । यसपछि मात्र संसारभर भइरहेको धार्मिक द्वन्द्वको समाधान हुने देखियो । विज्ञानसम्मत नभएका र अन्धविश्वास भन्ने थाहा हुँदाहुँदै पनि ढोङ्गी भएर ‘हाम्रो परम्परा र हाम्रो आस्था’ भनेर रुढीवादीहरूले सिर्जना गरेको द्वन्द्व त्यतिबेला स्वतः अन्त्य हुनेछ ।
Leave a Reply