भर्खरै :

राष्ट्रपति फिडेल क्यास्ट्रोको संस्मरण/रिपब्लिकन पार्टीका उम्मेदवार (तेस्रो भाग) – १

राष्ट्रपति फिडेल क्यास्ट्रोको संस्मरण/रिपब्लिकन पार्टीका उम्मेदवार (तेस्रो भाग) – १

बुशले काङ्ग्रेस (अमेरिकी संसद्) मा भाषण दिँदै गर्दा म्याक्केनलाई लिटिल हवानाको भर्सेल्स रेष्टुरेन्टमा सम्मान गरिदै थियो भनी मैले पछिल्लो लेखमा उल्लेख गरेको थिएँ ।
त्यो ठाउँ क्युवाली क्रान्तिका सबभन्दा डरलाग्दा शत्रुहरू, क्युवाली जनतालाई वर्षौसम्म दबाएर लुट्ने बाटिस्टा समर्थकहरू, जमिनदारहरू, ठूल्ठूला महलका मालिकहरू र करोडपति र उनीहरूका परिवारको बसोबास भएको ठाउँ हो । विगत ५० वर्षदेखि आक्रमणकारी र लुटेराहरूलाई सङ्गठित गरेर क्युवाली जनताको रगत बगाउन ती शत्रुहरूलाई संरा अमेरिकी सरकारले आफ्नो इच्छा मुताबिक प्रयोग गर्दै छ । त्यसको साथसाथै गैरकानुनी आप्रवासी, क्युवाली व्यवस्थापन ऐन र क्युवाली जनताविरुद्धको अन्यायी नाकाबन्दीको सिलसिला पनि थपियो ।
आजको युगमा, आजका दिनमा नायकका रूपमा प्रख्यात यी रिपब्लिकन उम्मेदवार त्यही अपराधी सञ्जाल (माफिया) को खेलौना बन्नु अविश्वसनीय कुरा हो । आत्मसम्मान अलिकति मात्र भएको कुनै पनि व्यक्तिले यस्तो नैतिकतामा खोट पर्ने काम गर्दैन ।
निर्वाचन अभियान प्रतिनिधिहरू इलेना रोस लेहटिनेन (Ilena Ros–Lehtinen), मारियो डियाज–बालार्ट (Mario Diaz–Balart), लिङ्कन डियाज–बालार्ट (Lincoln Diaz– Balart), क्युवाली मूलका सिनेटर मेल मार्टिनेज (Mel Martinez), गभर्नर चाल्र्स क्राइष्ट (Chartes Christ) र स्वतन्त्र सिनेटर जोसेफ लिबरम्यान (Josheph Liberman) म्याक्केनको फलोरिडा जित्ने योजनाका मुख्य सहयोगी र ल्याटिन अमेरिकी नीतिका मुख्य सल्लाहकारहरू हुन् ।
यस्ता सल्लाहकारहरूबाट ल्याटिन अमेरिकाले के आशा गर्ने ? रोस–लेहटिनेनका अनुसार म्याक्केन ‘राष्ट्रिय सुरक्षाको विषयमा सशक्त’ र ‘क्याष्ट्रो शासनबाट उत्पन्न खतराबारे जानकार’ व्यक्ति हुन् ।
सन् २००२, मे २१ मा विज्ञान र यातायात समितिअन्तर्गतको उपभोक्ता मामिला, अन्तर्राष्ट्रिय व्यापार र पर्यटन उपसमितिमा म्याक्केन क्युवासम्बन्धी सुनुवाइ कार्यक्रम आयोजना गरी प्रचारमा आएका थिए । त्यहाँ उनले जैविक हतियार उत्पादन गर्नसक्ने क्युवाको क्षमताका कारण क्युवा अमेरिकाका लागि सधैँ खतरा भएकोमा जोड दिए । यसलाई पूर्व राष्ट्रपति जेम्स कार्टरले भने हास्यास्पद भनेका थिए ।
क्युवा भ्रमणका नीतिहरू केही खुकुलो पार्नुपर्ने प्रस्तावहरू अघि सारिँदा ती विषयमा बहस हुन नदिन २००३ अक्टोबरमा म्याक्केनले नयाँ प्रस्ताव ल्याएका थिए ।
अझ चाखलाग्दो कुरा त २००५ मार्चमा ‘विकसित प्रजातन्त्र ऐन’ को प्रस्ताव हो । त्यस ऐनअन्तर्गत क्युवामाथि दबाब बढाउन जासुसी कार्यमा वृद्धि, त्यसको लागि अर्थमा बढोत्तरी र नयाँ नयाँ तरिकाहरू सुरु गर्न सकिन्छ ।
१९९६ फेबु्रवरी २४ मा अमेरिकी जासुसी विमान क्युवामा खसालिएको विषयमा बोल्दै म्याक्केनले भनेका थिए, “म अमेरिकी राष्ट्रपति भएको भए, फिडेल र राउल क्याष्ट्रोको आदेशमा ती वीर अमेरिकीहरूको हत्या गरिएको बारे अनुसन्धान गराउँथँे र तिनीहरू दुवैमाथि मुद्दा चलाउँथेँ ।”
अर्को भाषणमा उनले भने, “क्युवामा स्वतन्त्रता आएपछि भियतनाम युद्धका बेला मेरा केही साथीहरूलाई यातना दिने क्युवालीहरूसित म भेट्न चाहन्छु ।” यी हठी उम्मेदवारको आँट हेर्नुस् त !
उनको सोचको मुख्य कुरातिर लागौँ । उनले कस्तो किसिमको राजनैतिक शिक्षा लिएका छन् ? कुनै पनि छैन । युद्धक विमान उडाउन लायक उनको शारीरिक बनोटका आधारमा उनलाई विमान चालक तालिम दिइएको हो । उनको प्रमुख गुण के हो त ? पारिवारिक परम्परा र बलियो राजनैतिक प्रेरणा ।
आफ्नो संस्मरणमा उनले उल्लेख गरेका छन्, “संरा अमेरिकाको सुरक्षाका लागि मुख्य खतराका रूपमा कम्युनिजम्ले फासीवादलाई प्रतिस्थापन गरिरहेको अवस्थामा मेरा पिता सैन्य उच्च तहमा हुनुहुन्थ्यो । उहाँ कम्युनिस्ट विचारधारालाई अत्यन्त घृणा गर्नुहुन्थ्यो र त्यसको अन्त्यका लागि प्रतिबद्ध हुनुहुन्थ्यो । सोभियत सङ्घसँगको जीवन–मरणको सङ्घर्षमा हामी भाग्न नसक्ने गरी जकडिएको उहाँ मान्नुहुन्थ्यो । दुईमध्ये एक शक्तिले पूर्णतया विजय पाउने र यसका लागि जलसेना महत्वपूर्ण साबित हुने उहाँको विश्वास थियो । यस विषयमा उहाँ निकै स्पष्ट हुनुहुन्थ्यो ।”

राउल र फिडेल क्यास्ट्रो

“१९६५ मा दुई युद्धरत पक्षबिचको हिंसात्मक भिडन्तले डोमिनिकन गणतन्त्र गुहयुद्धको सङ्घारमा धकेलियो । दुईमध्ये एक युद्धरत पक्ष कम्युनिस्ट हुन् भन्ने विश्वास थियो । राष्ट्रपति जोन्सनद्वारा मेरा पितालाई त्यो क्यारिबियन राष्ट्रमाथि जल र थल आक्रमण गर्न आदेश दिइयो । अपरेसन स्टील पाइक–१ (Operation Steel Pike 1) नाम दिइएको सो सैन्य आक्रमणपछि त्यहाँ कब्जा जमाइयो । त्यो कारबाही विवादस्पद बन्यो । विभिन्न तर्क पेस गर्दै आलोचकहरूले त्यो कारबाही सार्वभौम राष्ट्रमाथि गैरकानुनी हस्तक्षेप भएको बताए । तर विशेषगरी मेरा पिता ती घरेलु विरोधबाट पटक्कै डग्नुभएन ।”
“धेरैले यस कारबाहीलाई नाङ्गो हस्तक्षेप भनी निन्दा गरे, तर त्यहाँ कम्युनिस्टहरूले सत्ता कब्जा गर्ने निश्चितजस्तै थियो । आवश्यक परिस्थितिमा हामी कडा हुँदा मानिसहरूले मन नपराउन सक्छन् तर त्यही कारण तिनीहरू हामीलाई सम्मान गर्न र उचित व्यवहार गर्न सिक्छन् ।
“पछि उहाँलाई राष्ट्रसङ्घमा खटाइँदा जलसेनामा त्यो उहाँको अन्तिम गन्तव्यस्थल भएको र त्यसपछि उहाँको सैन्यजीवन अन्त हुने कुरा चल्यो । उहाँ तीनतारे जर्नेल हुनुहुन्थ्यो र अर्को फूली थपिने सम्भावना निकै न्यून थियो । तर दुई वर्षपछि युरोपमा रहेका सबै अमेरिकी जलसेनाका बेडाको नेतृत्व गर्न उहाँलाई लन्डन खटाइयो । त्यही क्रममा उहाँले चौथो तारा पनि पाउनुभयो । एक वर्षभित्र प्रशान्त महासागरको अमेरिकी फौजको नेतृत्व उहाँलाई सुम्पिइयो । त्यो प्रशान्त महासागरीय फौज त्यतिबेला संसारकै सबभन्दा ठूलो सक्रिय सैनिक बेडा थियो ।”
सैन्य प्रशिक्षार्थीका रूपमा उडान तालिम सिध्याएर आउनेक्रममा म्याक्केन ग्वान्टानामोमा पनि झरेका थिए ।
“क्याष्ट्रो शासन पूर्वको ग्वान्टानामो निकै उन्मत्त थियो । सबैजना समुद्री किनारमा जान्थे र सिधैँ भट्टीका रूपमा टाङ्गिएका ठूला पालहरूमा पस्थे । त्यहाँ कडा क्युवाली वियर र रक्सी पाइन्थ्यो र रक्सीको तिर्सना मेट्न चाहने र पैसा तिर्न सक्ने सबैलाई त्यहाँ पिउन दिइन्थ्यो ।”
जलसैनिक शिक्षालयबाट तालिम सिध्याएपछि म एकदम गौरवान्वित भएको थिएँ । तर त्यतिबेला मैले एकदमै सन्तोष अनुभव गरेको थिएँ । पेन्साकोला (Pansacola) मा हुने उडान तालिमका लागि म छनोट थिएँ । त्यो बेला उडान तालिममा छनोट हुन शारीरिक परीक्षामात्र उत्तीर्ण भए पुग्थ्यो । म अमेरिकी नौसेनाको विमानचालकको बेमतलबी(?) दिनचर्याका लागि आतुर थिएँ ।”
“सन् १९६२ अक्टोबरमा हाम्रो युद्धपोत ‘इन्टरप्राइज’ (EnterPrise) भू–मध्य सागरको कारबाही सकेर नोरफोक (Norfolk) स्थित बन्दरगाहमा आइपुग्यो । इन्टरप्राइजबाट हाम्रा विमानहरू ओसियन जलसैनिक विमानस्थल (Oceane Naval Air Station) मा उडे भने ‘इन्टरप्राइज’ नोरफोकमै रोकियो ।”
“केही दिनपछि हाम्रा विमानहरू पुनः युद्धपोतमै फर्काउने अप्रत्याशित आदेश आयो । समुद्री आँधी हामीतिर बढिरहेकोले सो आदेश आएको वरिष्ठ सैन्य अधिकारीहरूले बताए ।”
“२४ घण्टाभित्र हामीले हाम्रा विमानहरू जहाजमा फर्कायौँ । ‘इन्टरप्राइज’ युद्धपोतले हाम्रा A-1 विमानहरूबाहेक लामा–दूरीका युद्धक विमानहरू पनि बोक्थ्यो । तर, ती विमानहरू जहाजमा अवतरण गर्न र त्यहाँबाट उडान भर्न निकै समय लाग्थ्यो । त्यही कारणले ती लामा–दूरीका विमानहरूबिना नै हाम्रो युद्धपोत रहस्यमय कारबाहीका लागि पठाइयो ।”
“लामा–दूरीका सबै विमानहरू आउने समयसम्म पर्खन नसकिने भएकोले आइपुगेका जतिलाई लिएर जहाज हिँड्न र बाँकी विमानहरू पुनः आधार शिविर फर्काइने आदेश आयो ।”
“यस्तो अचानक सुरु भएको मिसनबाट हामी अचम्ममा प¥यौँ । एक दिन भित्रै हामीलाई हतार–हतामा फिर्ता बोलाइयो† लामा दूरीका विमानहरूलाई अवतरण गर्न मात्रै पुग्ने इन्धन भएको बेला बोलाइयो; कतिलाई छोडेर आइयो । तर, रहस्य केही समयपछि केही समयपछि खुल्यो । जहाजको तयारी हलमा हामी सबै विमानचालकहरू जम्मा भएर रेडियोेमा राष्ट्रपति केनेडीकी भाषण सुन्दा थाहा भयो–सोभियत सङ्घले क्युवामा आणविक क्षेप्यास्त्र थुपारेछ ।”
म्याक्केनले ४५ वर्षभन्दा अघि १९६२ अक्टोबर क्षेप्यास्त्र सङ्कटको कुरा गरेका हुन् । यसले उनको मनमा क्युवामाथि हमला गर्ने इच्छा जगाएको थियो ।

जोन म्याक्केन आफ्ना बुबाका साथ

“आणविक ऊर्जाबाट चल्ने ‘इन्टरप्राइज’ युद्धपोत क्युवा नजिकको समुद्रमा पुग्ने पहिलो अमेरिकी जहाज बन्यो । पाँच दिनसम्म जहाजका विमानचालकहरूलाई युद्धमा जान लागेको महसुस भएको थियो । हामी यसअघि कहिल्यै युद्धमा गएका थिएनौँ । क्युवामाथिको आक्रमणले विश्वयुद्ध निम्त्याउने थाहा भएपनि पहिलो युद्धका लागि हामी तयार र उत्सुक थियौँ । जहाजमा वातावरण तवानपूर्ण थियो, तर निकै तनावपूर्ण भने होइन । विमानचालक र जहाजका अधिकारीहरू उत्सुकता दबाएर सामान्त्mैँ व्यवहार गरिरहेका थिए । भित्रभित्रै निकै उत्तेजित भएपनि युद्धमा सामेल अल्पभाषी, गम्भीर र निडर अमेरिकी सिपाहीको व्यवहार हामी देखाउँदै थियौँ ।”
“पाँच दिन पनि तनाव केही कम भयो र सो सङ्कट शान्तिपूर्ण तरिकाले सुल्झिने पक्का भयो । पहिलोपटक लडाइँमा जान पाउने मौका गुमेकोमा हामीलाई दुःख त लागेन तर खानामा रुची बढ्यो र हामी कल्पनामा बढी डुब्न थाल्यौँ । हामीलाई जेको लागि तालिम दिइएको हो, त्यो काम गर्न र आफ्नो वीरता पुष्टि गर्न हामी आतुर थियौँ ।
म्याक्केनले पुस्तकमा आणविक ऊर्र्जाले चल्ने अर्को युद्धपोत ‘फोरेस्टल’ (Forrestal) टन्किन् खाडीमा (Gulf of TonKin) दुर्घटना भएको कुरा पनि उल्लेख गरेका छन् । सो जहाजलाई बचाउने कोसिसमा १३४ अमेरिकी युवाहरूले ज्यान गुमाएका थिए । तीमध्ये धेरै १८÷१९ वर्षका थिए । बम विस्फोटले छिया–छिया र प्वालै–प्वाल भएको सो युद्धपोत मर्मतका लागि संरा अमेरिकामा फर्काउनुपरेको थियो । त्यस विषयमा प्रकाशित भएका लेखहरू र त्यसबारे लिइएका कदमहरूबारे सोधखोज गरेर हेर्नुपर्छ ।
म्याक्केनलाई त्यसपछि अर्को युद्धपोतमा सरुवा गरियो– त्यही महासागरमा, त्यही उद्देश्यसहित उनले वर्णन गरेका सबै कुरालाई नजिकबाट नियाल्नुपर्छ ।
“१९६७ सेप्टेम्वर ३० मलाई ‘ओरिस्कानी’ (Oriskany) युद्धपोतमा खटाइयो । म संलग्न A4 युद्धक विमानहरूको बेडा VA–173 लाई ‘सन्तहरूको बेडा’ उपनाम दिइएको थियो । १९६५ मा उत्तरी भियतनाममा बम बर्साउने कारबाही ‘चट्याङ्ग’ (the Rolling Thunder) सुरु भएको तीन वर्षको अवधिमा ‘ओरिस्कानी’ का विमानचालकहरूले जति अनुभव र क्षति कुनै अरू युद्धपोतका विमान चालकहरूले पाएनन् । जोन्सन प्रशासनले १९६८ मा सो कारबाही रोक्दा ओरिस्कानीका ३८ जना विमान चालकहरू मारिएका वा पक्राउ गरिएका थिए । २९ वटा A-4 विमानलगायत ६० वटा युद्धक विमानहरू ओरिस्कानीले गुमाइसकेको थियो । त्यसमा पनि सबभन्दा बढी क्षति ‘सन्तहरूको बेडा’ले झेल्नुप¥यो । १९६७ सम्मका बेडाका एकतिहाइ विमान चालकहरू मारिए वा पक्राउ परे । बेडाको सुरुका सबै १५ वटै A-4 जहाजहरू ध्वस्त भइसकेका थिए । आक्रामक र सफल हुनमा हाम्रो बेडा नामी थियो । त्यो बेडाले म सामेल हुन अघिको महिनामा हाइफोन (Haiphone) सहर जाने सबै पुलहरू उडाइदिएको थियो ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *