बुधबार चीनको राजधानी पेइचिङमा सुरु भएको तेस्रो बेल्ट एन्ड रोड अन्तर्राष्टिय सम्मेलन बेल्ट एन्ड रोड परियोजनाको गुणात्मक फड्कोको द्योतक बनेको छ । सम्मेलनको उद्घाटन समारोहमा चीनका राष्ट्रपति तथा चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव सी चिनफिङले दिएको भाषणले एक दशक पार गरेको यो परियोजना आगामी दिनमा अझ व्यवस्थित र ऊर्जाशील भएर अघि बढ्ने प्रस्ट भएको छ । विश्व एकधु्रवबाट बहुधु्रवीयतातिर अघि बढिरहेको यथार्थलाई सीको भाषणले अझ उजागर गरेको छ । उनले बीआरआईलाई आगामी दिनमा विशेषतः युरोपतिर विस्तार गर्ने कार्ययोजना प्रस्तुत गरेका छन् । एकपछि अर्को राजनीतिक र आर्थिक सङ्कट झेलिरहेको युरोपेली देशको निम्ति पनि आज चीन नै अन्तिम समयको उदारकर्ता (लेन्डर अफ लास्ट रिसोर्ट) बन्ने देखिएको छ । अनि यो दृश्यले विश्वको राजनीतिक मानचित्रमा उल्लेखनीय परिवर्तनको सङ्केत गरेको छ ।
विश्वको महाशक्ति संरा अमेरिका यतिबेला प्यालेस्टाइनमाथि अमानवीय हमला गरिरहेको इजरायललाई समर्थन गरेर गाजामा हरेक दिन प्यालेस्टाइनी जनताले भोगिरहेको नर्कलाई अनुमोदन गरिरहेको छ । आज गाजाको विध्वंसको साक्षी बनेको छ वाशिङ्टन । इजरायली हमलालाई समर्थन गरेर संरा अमेरिकाले आफ्नो वास्तविक विध्वंसात्मक अनुहार संसारसमक्ष उदाङ्गो पारेको छ । तर, ठीक यहीँ बेला संरा अमेरिकाले आफ्नो प्रतिस्पर्धी ठानेको चीन भने संसारभरका बीआरआई देशका नेतृत्वलाई पेइचिङ आमन्त्रण गरेर कसरी संसारलाई जोड्न सकिन्छ र यसरी जोडिएको विश्वलाई सबैको साझा भविष्यको आधार बनाउन सकिन्छ भन्ने विषयमा छलफल गरिरहेको छ । कसरी जलवायु परिवर्तनजस्ता गम्भीर समस्या समाधानको निम्ति एकजुट भएर काम गर्न सकिन्छ भन्ने प्रश्नको हल खोजिरहेको छ । यो दृश्यले को के हो भन्ने कुरा बोलेर वा लेखेरभन्दा व्यवहारबाट संसारले बुझेको छ । अमेरिकाले वकालत गरिरहेको प्रजातन्त्र र राजनीतिक व्यवस्था कस्तो हो भन्ने कुरा अहिलेको विश्वले घामजत्तिकै छर्लङ्ग बनाएको छ ।
राष्ट्रपति सीले आफ्नो भाषणमा भनेका छन्, सबैले दाउरा थपेको आगो अझ दनदनी बल्छ । सन् २०१३ मा चीनका नेता सीले सल्काएको विकासको यो आगो आज एक दशकपश्चात् सबैले ताप्न सक्ने आगो बनेको छ । आज बीआरआई कागजमा लेखिएको अवधारणाबाट वास्तविक परियोजना बनेको छ । एक दशकको अन्तरालमा बीआरआईमा संलग्न देशहरूमा यो परियोजनाको बहुआयामिक परिचय दिने पूर्वाधार निर्माणका काम भएका छन् । आज संसारका १५० भन्दा बढी देश र ३० भन्दा बढी अन्तर्राष्ट्रिय सङ्गठन यसमा सामेल भइसकेका छन् । राजनीतिक सङ्कीर्णता र पूर्वाग्रहका कारण केही देश अझै यसमा सामेल छैनन् । तर, उपयुक्त परिस्थितिमा उनीहरू यो परियोजनामा सामेल नभई सुखै छैन । बीआरआईको समावेशी चरित्रको कारण तीमध्ये कुनै पनि देश निषेधित हुनेछैनन् ।
बीआरआईको एक दशकको यात्रा प्रारम्भिक अन्योल, संशय, कोभिड महामारी, व्यापार युद्ध, निषेधको व्यवहार आदि छिचोलेर आजको समयमा उभिएको छ । बीआरआईका विपक्षीहरूले जतिसुकै अग्लो तगारा तेर्साए पनि बीआरआईमा विशेषतः विकासशील देशहरूको सहभागिता उत्साहप्रद देखिन्छ । सँगै योजना बनाऔँ, सँगै काम गरौँ र सँगै प्रतिफल बाँडौँ भन्ने बीआरआईको सिद्धान्त हिजोका उपनिवेशवादी र आजका साम्राज्यवादी शक्तिभन्दा फरक छ । उनीहरू अविकसित र अल्पविकसित देशका स्रोत दोहन गरेर आफ्नो विकास र पुँजी केन्द्रीकरण गर्थे । उनीहरूको केन्द्र आफूमात्र हुन्थ्यो । कुनै पनि परियोजनाबाट प्राप्त प्रतिफल आफूलाई मात्र लिन्थे । अल्पविकसित र अविकसित देशले आफूसँगै भएका स्रोतको खपत गरेर पनि हातमा शून्यबाहेक केही पाउँथेनन् । बरु वातावरणीय र मानवीय क्षति झेल्नु ती देशहरूको बाध्यता हुन्थ्यो । ल्याटिन अमेरिका, अफ्रिका र एसियाका देशको दोहनबाट आज पश्चिमा देशमा अग्ला अग्ला भवन र दरबार बने पनि ती महादेश अझै गरिबी र अविकासको दलदलबाट निस्कन सकेका छैनन् ।
इतिहासले सिकाएको पाठ आज ल्याटिन अमेरिका, अफ्रिका र एसियाका देशहरूले राम्ररी बुझेका छन् र आफ्नो पछौटेपनाको मूल कारण उनीहरूले पहिचान गरिसकेका छन् । पश्चिमा शक्ति देशहरू नै ती देशहरूको पछौटेपनाको मूल कारण हुन् ।
यस्तो परिस्थितिमा चीनले आफू एक्लैमात्र होइन, सबैको विकास गर्न अघि सारेको परियोजनाप्रति तेस्रो विश्वका देशहरूको आकर्षण हुनु स्वाभाविक हो । त्यसकारण, बेल्ट एन्ड रोड परियोजना आज चीनको सीमा नाघेर तेस्रो विश्वका देशहरूको साझा कार्यक्रम बनिरहेको छ । यद्यपि, यो कुनै समूह वा विशेषताका देशहरूको मात्र परियोजना भने होइन । आज पुँजी, प्रविधि, तालिम प्राप्त जनशक्ति, अनुभवको कमीको कारण अविकासको मारमा परेका देशहरूको लागि बीआरआई त्यो अवरोध पन्छाएर अघि बढ्ने परियोजना बनेको छ । सीले भनेका छन्, चीनले हासिल गरिरहेको आधुनिकता चीन एक्लैको मात्र होइन, बरु साझा प्रयासबाट सबै विकासशील देशले प्राप्त गर्ने आधुनिकता हो ।
बुधबारको भाषणमा बीआरआईका प्रस्तावक चिनियाँ नेता सीले बीआरआईको दसवर्षे यात्राको समीक्षा गर्दै आगामी यात्राको लागि स्पष्ट आठ बुँदामा कार्ययोजना प्रस्ताव गरेका छन् । उनका ती प्रस्तावले आगामी दिनमा बीआरआईको राजमार्ग अझ फराकिलो र परपरसम्म पुग्ने देखिएको छ । सीले चीनदेखि युरोपसम्मको रेलमार्ग, नयाँ अन्तर्राष्ट्रिय थल तथा जल व्यापार क्षेत्र, हवाई रेशम मार्ग बनाउने नवीन कार्ययोजना अघि सारेका छन् । सन् २०१३ मा प्राचीन रेशम मार्ग र सामुद्रिक मार्गको पुनःस्थापनाको अवधारणाबाट बेल्ट एन्ड रोड परियोजना सुरु भएको थियो । कतिलाई उतिबेला यो अवधारणा कागजी कल्पना वा उदयीमान चीनका नेताको दुस्वप्न जस्तो मात्र लाग्थ्यो । तर, दस वर्षको छोटो अवधिमा ती अवधारणा आज यर्थाथ चित्र बनेर विश्वमा प्रस्तुत भएको छ । सीले अहिले अघि सारेका कतिपय कार्यक्रम पनि आज कतिलाई उस्तै स्वप्नजस्तो पनि लाग्न सक्छ । तथापि, आगामी दशकमा ती परियोजनाको शानदार कार्यान्वयनले धेरैलाई चकित बनाउनेछ । सँगै संसारमा आज विकासका चुनौती मानिएका कुरा त्यत्तिबेला अवसरमा परिणत हुनेछन् ।
चीन संसारको बजारलाई अझ खुला र फराकिलो बनाउने योजनाका साथ अघि बढेको छ । उसले आफ्नो बजार पनि अझ खुला गर्दै लाने घोषणा गरेको छ । उत्पादन क्षेत्रमा चीनमा कसैलाई कुनै पनि निषेध नहुने घोषणा गरेको छ । जलवायु परिवर्तनप्रति संसारभरका सचेत जनताको चिन्तालाई औपचारिकरूपमा सम्बोधन गर्दै सीले बेल्ट एन्ड रोडको हरित लगानी सिद्धान्त प्रस्तुत गरेका छन् । वातावरणीय सङ्कटप्रति अरू हल्ला गरिरहेका छन्, चीनले व्यवहारमा कार्यान्वयन गरिरहेको छ । बीआरआई परियोजनामार्फत उसले संसारभर वातावरण संरक्षणलाई प्राथमिक लक्ष्य बनाएको छ । यसले वातावरण संरक्षणलाई राजनीतिबाट अलग वा आरोप प्रत्यारोप तथा सस्तो लोकप्रियतामा मात्र सीमित बनाएका पश्चिमा नेतृत्व र वातावरणवादीलाई चुनौती दिएको छ ।
विज्ञान प्रविधिमा छोटो समयमा ठुलो फड्को मारेको चीनले बीआरआई परियोजनामार्फत विज्ञान प्रविधिमा आफूले हासिल गरेका उपलब्धिलाई संसारभर बाँड्न प्रविधि आदानप्रदानलाई फेरि पनि जोड दिएको छ । कृत्रिम बौद्धिकताको लागि विश्वव्यापी अग्रसरतालाई बीआरआईको महत्वपूर्ण हिस्सा बनाइएको छ ।
तेस्रो सम्मेलनमा राष्ट्रपतिले बीआरआईको सचिवालय स्थापना गर्ने र अन्य आवश्यक परिपुरक संस्थाहरू बनाउँदै जाने घोषणा गर्नुले आगामी दिनमा बीआरआई परियोजना अझ व्यवस्थित र संस्थागतरूपमा अघि बढ्ने देखिएको छ । यसलाई चीनको मात्र नभई संसारकै कार्यक्रम बनाउने चीनको चाहनालाई विभिन्न संस्थाको विकासले सफलीभूत बनाउनेछ ।
बेल्ट एन्ड रोड परियोजनाअन्तर्गत जनस्तरमा सम्बन्ध बिस्तार गर्ने नियमित कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिइने चीनको घोषणाले बीआरआई जनस्तरमा घुलमिल भएको फराकिलो कार्यक्रमको रूपमा अघि बढ्ने देखिएको छ ।
नेतृत्वको बलियो इच्छाशक्ति, जनताको अगाढ विश्वास, गहिरो अनुसन्धान, समयानुकूल परिमार्जन, लगातारको मिहिनेत, इमानदारी भए चामत्कारिक विकास सम्भव छ भन्ने कुराको दृष्टान्त बेल्ट एन्ड रोड परियोजना बनेको छ । इतिहासमा दस वर्ष कुनै लामो अवधि होइन । तथापि, दस वर्षको अन्तरालमा चीनले बेल्ट एन्ड रोड परियोजनामा हासिल गरेको सफलता ऐतिहासिक मानिनेछ । कागतमा सीमित सोच आज भव्य कार्यान्वयनको चरणमा पुग्न चीनका करोडौँ करोड जनताको दिनरातको मेहनत परेको छ । चीनको अग्रसरताप्रति विश्वास गर्ने बीआरआईका सदस्य देशका योजना अर्को महत्वपूर्ण पाटो हो । विडम्बना, कुरै गरेर देशमा विकासका ठुलठुला सपना बाँड्ने देशका नेतृत्वले चिनियाँ नेतृत्वबाट किमार्थ सिक्न सकेको भए धेरै देशका जनताले आजको अभाव, गरिबी, विपन्नता झेलिरहनुपर्ने थिएन ।
Leave a Reply