अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
कार्तिक १७ गते शुक्रबार राति ११ः४७ बजे जाजरकोटको बारेकोट गाउँपालिका वडा नं १ स्थित रामीडाँडा केन्द्र भएर ६.४ रेक्टर स्केलको भूकम्प गयो । भूकम्पबाट १९ गते आइतबारसम्म जाजरकोटमा ७२ महिला र ३३ पुरुषसमेत १०५ जना र रुकुम पश्चिममा ५२ जनाको मृत्यु भयो । जाजरकोटको भेरी नपामा ४२ जना, नलगाड नपामा ५५ जना, कुशे गाउँपालिकामा ७ जना र छेडागाडा नपामा १ जनाको मृत्यु भयो । रुकुम पश्चिम जिल्लाको आठबिसकोट नपामा ४२ जना र सानीभेरी गापामा १० समेत ५२ जनाको मृत्यु भएको छ । भूकम्पको कारण अहिलेसम्म २५६ जना घाइते भए । तीमध्ये जाजरकोटका ११२, रुकुमका १३२, सल्यानका २, रोल्पाका १ र दैलेख, बैतडी, जुम्लामा ३÷३ जना घाइते भएका छन् ।
गृहमन्त्रालयअन्तर्गतको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाले आइतबार सार्वजनिक गरेको विवरणअनुसार अहिलेसम्म ९३७ घरमा पूर्ण क्षति र २,९५४ वटा घरमा आंशिक क्षति भएको छ । त्यसमध्ये जाजरकोटमा सबभन्दा बढी ९०५ वटा घर पूर्णरूपमा क्षति भयो भने २६८५ घरमा आंशिक क्षति भएको छ । त्यस्तै रुकुम पूर्वमा ५ वटा घरमा पूर्ण क्षति र ११८ घरमा आंशिक क्षति भएको छ । सल्यानमा ९७, प्युठानमा २९, रोल्पामा १७, दाङमा ६, नवलपरासी पूर्व र दैलेखमा १/१ घर क्षतिग्रस्त भएका छन् । यस्तै सल्यानमा २५ र बैतडीमा १ घर क्षतिग्रस्त भएका छन् । यो भूकम्पले धेरैको ज्यान लियो भने करोडौँको धनमाल क्षति भयो ।
नेपाल मजदुर किसान पार्टीले एक प्रेस विज्ञप्ति प्रकाशित गरी भूकम्पमा मृत्यु भएकाहरूप्रति श्रद्धाञ्जली अर्पण र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिमलगायतका क्षेत्रमा तत्काल प्रभावकारी उद्धार, राहत, घाइतेको उपचार एवम् पीडितको पुनःस्थापना गर्ने काम अगाडि बढाउन नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।
भूकम्पमा परी घाइते भएकाहरूको जाजरकोट अस्पताल, नगर अस्पताल दल्ली, चौरजहारी अस्पताल, सानीभेरी गापा अस्पताल सल्ले र आठबिसकोट नगर अस्पतालमा उपचार भइरहेको छ । जाजरकोटमा उपचार सम्भव नभएका घाइतेहरूलाई नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौँ, सुर्खेत र नेपालगञ्जमा पठाइएको समाचार छ ।
शुक्रबार रातिको भूकम्पले रुकुम पश्चिमको आठबिसकोट नगरपालिका वडा नम्बर १४ को छेपारे गाउँ सबैभन्दा बढी क्षतिग्रस्त भयो । भूकम्पले यो गाउँमा मात्रै स्थानीय ५ जना र बाहिरका ६ जना गरी ११ जनाले ज्यान गुमाए । भूकम्पले यहाँका अधिकांश घरहरू भत्किए । स्थानीयका अनुसार यो गाउँमा ४० घरधुरी छन् । तीमध्ये केही घरमात्रै बचेका छन् । बचेका घर पनि बस्न नमिल्ने गरी चर्किएका छन् । घर भत्किएपछि पीडितहरू भोको पेट बालबच्चासहित खुला आकाशमुनि चिसो रात बिताउन बाध्य छन् । पीडितहरूले आफूहरूको समस्या समाधान गर्न स्थानीय जनप्रतिनिधि नआएको र सरकारको पनि उचित ध्यान नपुगेको गुनासो व्यक्त गरे ।
भूकम्पपछि कार्तिक १९ गते आइतबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले तत्काललाई २ लाखका दरले मृतकका परिवारलाई राहत दिने निर्णय ग¥यो । सरकारको आकस्मिक बैठकले भूकम्प प्रभावित क्षेत्रमा राहत र उद्धारका कामलाई प्रभावकारी बनाउन व्यक्ति वा संस्थाहरूले सिधै राहत रकम वा कुनै पनि सामग्री वितरण गर्न नपाउने एकद्वार प्रणालीबाट काम गर्ने निर्णय ग¥यो । त्यसका लागि कर्णालीको प्रदेश राजधानी सुर्खेतलाई मुख्य सम्पर्क स्थान र नेपालगञ्जलाई सहायक सम्पर्क स्थान बनाउने निर्णय ग¥यो ।
बैठकले छिमेकीलगायत मित्रराष्ट्र र अन्तर्राष्ट्रिय सङ्घ संस्थाबाट प्रस्ताव भएको सहयोग स्वीकार गर्ने निर्णय पनि ग¥यो । समाचारअनुसार अहिलेसम्म चीन सरकारले १० करोड बराबरको राहत सामग्री दिने घोषणा ग¥यो भने अर्को छिमेकी मुलुक भारत, रुस, पाकिस्तानलगायत मुलुकले पनि सहयोग गर्ने बचन दिएका छन् ।
बैठकपछि उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ भूकम्पबाट पीडितहरूका लागि १०५० थान स्लिपिङ ब्याग, २०० थान त्रिपाल र १०० थान ब्ल्याङकेटसहितका राहत सामग्री र उपचारका सामग्री लिएर आइतबार जाजरकोट प्रस्थान गरे । मन्त्रिपरिषद्को बैठकले भूकम्पबाट बच्न ७७ वटै जिल्लामा आधारभूत पूर्वतयारी गर्न निर्देशन दियो । सरकारले भूकम्पको जोखिमबाट बच्ने पूर्वतयारी यसअघि गरेन । पहिले नै पूर्वतयारी गरेको भए यतिका मानिसहरूको मृत्यु हुने थिएन । समस्या आएपछि मात्र समाधानको उपाय खोज्ने प्रवृत्ति यो सरकारको पनि देखियो ।
नलगाड नपामा रहेका अस्पताल आफैँ भूकम्पबाट प्रभावित छ । जाजरकोटमा धेरै मानवीय क्षति हुनुको कारण समयमै अस्पताल पु¥याउन नसक्नु रहेको नलगाडस्थित अस्पतालका डा. विशाल उप्रेतीले बताए । सडक सुविधा नभएकोले घाइते ४–५ घण्टा ढिलो मात्र अस्पताल पुगेको कारण उपचारमा समस्या आयो । आजसम्मका सरकारहरूले यसबारे ध्यान दिन सकेनन् ।
भूकम्पमा जाजरकोटको नलगाड नपाका उपप्रमुख सरिता सिंहको मृत्यु भयो भने रुकुम आठबिसकोट नपाको १४ वडामा मात्रै २६ जनाको मृत्यु भयो । विज्ञका अनुसार पश्चिम नेपालको भूसतहमुनि पाँचसय वर्षयता भूकम्पीय शक्ति सञ्चय भइरहेको छ । त्यसले आठ वा त्योभन्दा बढी म्यानिच्युडको भूकम्प निम्त्याउन सक्ने विज्ञहरू दाबी गर्छन् । यसकारण सरकारले देशभरिका भौतिक पूर्वाधारहरूको भूकम्पीय प्रतिरोध क्षमता मापन गर्न इन्जिनियरहरूलाई खटाउनु जरुरी छ । स–साना भूकम्पमा भत्किने पूर्वाधार र व्यक्तिको घर पुनःनिर्माण गर्न सरकारले आर्थिक–भौतिक सहयोगका कार्यक्रम बनाउनु जरुरी छ । भूकम्पपछि राहतको कार्यक्रम मात्र चलाउनु सरकारको कर्तव्य होइन, भौतिक पूर्वाधार र व्यक्तिको घर निर्माण र पुनःनिर्माणमा सरकारको सहयोग हुनु जरुरी छ ।
नेपालमा भूकम्पको लामो इतिहास
नेपाल भूकम्पीय जोखिम बढी भएको मुलुक हो । नेपालमा भूकम्पले दुःख दिएको लामो इतिहास छ । विसं १३१० मा गएको भूकम्पले थुप्रै देवालय र घर भत्किनुको साथै राजा अभय मल्लको समेत ज्यान गएको थियो । विसं १३१६ मा राजा जयदेवको पालामा गएको भूकम्पले पनि भवनहरू भत्किनुका साथै महामारीसमेत ल्यायो । विसं १४६४ मा गएको भूकम्पले थुप्रै मठमन्दिर भत्किए । विसं १७३८ को भूकम्पमा पनि धेरै घर र मन्दिरहरू भत्किएका थिए । विसं १८६६ को भूकम्पले थुप्रै मन्दिरलाई माटोमुनि पु¥यायो । विसं १८९० मा गएको महाभूकम्पले धरहरासमेत भत्किएर पुरियो । दरबार, मठमन्दिर थुप्रै भत्किए । त्यस भूकम्पले १८ हजार घरमा क्षति पुगेको अनुमान गरिएको थियो ।
विसं १९९० को भूकम्प ८.३ रेक्टर स्केलको थियो । त्यसमा आठ हजार ५३२ जनाको ज्यान गएको थियो भने १८ हजार ७१३ जना घाइते भएका थिए । त्यसबेला उपत्यकामा १२ हजार ३९६ घर, पहाडमा ६४ हजार ७४२ घर र तराईमा तीन हजार ७५४ घर पूर्ण क्षति भएका थिए । त्यस्तै उपत्यकामा २५ हजार ६५८ घर, पहाडमा ७३ हजार २५३ घर र तराईमा पाँच हजार ६१० घरमा आंशिक क्षति पुगेको थियो । विसं २०३७ साउन १४ गते बझाङ केन्द्रबिन्दु बनाएर गएको ६.५ रेक्टर स्केलको भूकम्पले १७८ जनाको ज्यान लियो भने ४० हजारभन्दा बढी घरलाई क्षति पु¥याएको थियो ।
विसं २०४५ भदौ ५ गते उदयपुर केन्द्रबिन्दु भएर गएको ६.९ रेक्टर स्केलको भूकम्पले ७२१ जनाको ज्यान लियो भने छ हजार २१३ जना घाइते भएका थिए । त्यसबेला १४ हजार ९६४ घर पूर्ण क्षति, ३३ हजार ९५९ घर चिरा परेर प्रयोग गर्न नमिल्ने र २४ हजार ४९६ घर आंशिक क्षति भएका थिए ।
विसं २०६५ मङ्सिर ३१ गते हुम्ला केन्द्रबिन्दु बनाएर ६.० रेक्टर स्केलको, २०७७ साल भदौ ३१ गते सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर ६.० रेक्टर स्केलको, २०७९ साल साउन १५ गते खोटाङ केन्द्रबिन्दु बनाएर ६.० रेक्टर स्केलको, सोही वर्षको कार्तिक २३ गते डोटी केन्द्रबिन्दु बनाएर ६.६ रेक्टर स्केलको भूकम्प गएको थियो ।
विसं २०६८ असोज १ गते पूर्वी नेपालको ताप्लेजुङलाई केन्द्रबिन्दु बनाएर ६.८ रेक्टर स्केलको भूकम्प गएको थियो । यो भूकम्पका कारण नेपालमा छ जनाको मृत्यु हुनुका साथै साढे छ हजार घर पूर्ण क्षति भएका थिए । सो भूकम्पले १२ हजारभन्दा बढी घरमा आंशिक क्षति पु¥यायो भने डेढ हजारभन्दा बढी सार्वजनिक भवन पनि क्षतिग्रस्त भएका थिए ।
विसं २०७२ वैशाख १२ गते ११ः५६ बजे गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर ७.६ रेक्टर स्केलको भूकम्प गयो । सो भूकम्पका कारण आठ हजार ९७० जनाको मृत्यु भयो भने २२ हजार ३०२ जना घाइते भएका थिए । सोही वर्षको वैशाख १३ गते दोलखा केन्द्रबिन्दु भएर ६.९ रेक्टर स्केलको, वैशाख २९ गते ६.८ रेक्टर स्केलको भूकम्प गएको थियो । यस भूकम्पमा आठ लाख ६६ हजार २०७ घर पूर्ण क्षति र ४७ हजार ८२७ घर आंशिक क्षति भएका थिए ।
विसं २०८० असोज १६ गते बझाङ केन्द्रबिन्दु बनाएर गएको ६.३ रेक्टर स्केलको भूकम्पका कारण एक जनाको ज्यान गएको थियो भने १३५ घर क्षतिग्रस्त भएका थिए । (स्रोतः गोरखापत्र, २०८० कार्तिक १९)
सरकारले जाजरकोट भूकम्पबाट क्षतिग्रस्त संरचनाहरूको तथ्याङ्क सङ्कलन भइसकेपछि पुनःनिर्माण गर्नुपर्ने संरचनाहरूको सङ्ख्या यकिन गरी एक वर्षभित्र पुनःनिर्माण गरिसक्ने निर्णय गरेको छ । निर्णय गरेर मौन बस्ने अहिलेसम्मका सरकारहरूको प्रवृत्तिको कारण जनता विश्वस्त हुन सकेका छैनन् । सरकारले आफ्नो कर्तव्य अविलम्ब पूरा गरोस् ।
२०८० कार्तिक १९ गते
Leave a Reply