भर्खरै :

‘बहुलाकाजीको सपना’ नाटक हेर्न जाने होइन ?

–मेरिना शाक्य
भोग, रोग र शोकले ग्रसित समाज र देशलाई नबदलिएसम्म बहुमत जनताले सन्तोषको सास फेर्न पाउने छैनन् । काम गरी खाने जनताको प्रतिनिधित्व गर्ने सरकार नबनेसम्म समानता, स्वतन्त्रता र समृद्धिको कुरा देखाउने दाँतमात्रै हुन्छ । एक कामदारलाई साँच्चै देशको असल छोरो बनाउन नसकेसम्म न यहाँ सबैले व्यक्तित्व विकास गर्न पाउँछन् न त नेपाली सुखी नै हुन्छन् । राणाकालीन समयमा मात्र होइन अहिले पनि हाम्रो समाजमा सडक पेटीमा बसेर, फिरन्ते जीवन बिताएर माग्दै जसोतसो जीवन निर्वाह गरिरहेका नेपाली पुत्रहरू छन् । भरियाको एउटा छोरोलाई पढाउन त के खानपिनको जोहो गर्न नसकेर मगन्ते भएर जीवन बिताइरहेको कुन अभिभावकको रहर हुन्छ । छोरोको त्यो बाध्यता भोग्नुपर्दा कुन अभिभावकको मन फाट्दैन, चित्त दुख्दैन । जीउनको लागि टाउको फोरेर भए पनि दुःखको आँसु पिएर जीवन कटाउँदाको क्षणको प्रतिनिधित्व गरिएको नाटक हो ‘बहुलाकाजीको सपना’ ।
खान, लाउन र जीउनसमेत कठिन भरियाको एक छोरोलाई बहुलाकाजीको प्रेरणाले पढ्न र पढाउनुपर्छ भन्ने भावना जागेर विद्यालयमा भर्ना त हुन्छ । तर, विद्यालयमा उसलाई एक मगन्तेको रुपमा व्यवहार गर्छ । हेलो, होचो, अपमानमात्र होइन कुटाइपिटाइ हुन्छ । कक्षामा नराख्ने प्रपञ्चमात्र बुन्दैन त्यहाँ घिसारिन्छ र भकुर्नसम्म भकुर्छ । शारीरिक र मानसिक यातनाले ऊ विद्यालय जान मान्दैन । तर मिल्ने एक विद्यार्थीको सहयोग, साथ र शिक्षकको हौसलाले पढाइ चालू हुन्छ । हरेक छोरोलाई सिकाउनुपर्छ, जोताउनुपर्छ भन्ने आशाको सन्देश लिएर पढ्दा पाएको हौसला सेलाउन नपाउँदै आफ्नो छोराले पाएको यातना र यातनाको पीरले त्यो छोरो थला पर्छ । त्यसबीच भरिया शिक्षक र अन्य पात्रहरूबीच पढाइको प्रगतिको भलाकुसारी हुन्छ । भरियाको छोरोलाई मोजाभन्दा गन्हाउने पात्रको बखान हुन्छ । एकातिर पढेर भरियाको काम कसले गर्छ भनी शिक्षाबाट वञ्चित गरिने प्रसास नाटकमा पाइन्छ भने अर्काेतिर पछि सुख, शान्ति र समानताको अवसर पाउन पढ्नुपर्छ भन्ने सन्देश पनि बाँडेको पाइन्छ । नाटकमा थोरै अङ्कले अनुत्तीर्ण भएको कारण शिक्षकको खुट्टा मोल्न पछि नपर्ने विद्यार्थीहरूको हविगत पनि देखाइएको छ । समानता, स्वाधीनता र सुखको कुरा नारा र कागजमा अल्झिरहेसम्म परिवर्तन कुन चराको नाउँबाहेक अर्काे हुनेछैन । भोकाको भोकै र नाङ्गाको नाङ्गै भएर जीवन बिताउनुपर्ने बारे बातचित हुँदा निरास हुन नहुने र अन्ततः जीवनमा सफलता पाउने र सोको लागि सङ्गठित जनताले सङ्घर्ष गर्नुको विकल्प नरहेको सन्देश नाटकले दिएको छ ।
कसैलाई आपतविपत् पर्दा सहयोग गर्नुपर्छ भन्ने चिन्तन पनि नाटकमा पाइन्छ । तर, जीवन सुनिश्चित गर्ने उपाय त्यो होइन । थला परेर जसोतसो जीवन बिताइरहेका भरियाको छोरोले सकी नसकी काम गरेर जोहो गरेको कोट बेचेर भए पनि उपचार गर्ने बाटो देख्छ तर त्यो सपना पूरा हुँदैन । नाजुक आर्थिक अवस्थाको कारण डाक्टर देखाउने हैसियत हुँदैन । अन्ततः बिरामीको विसेकको आशा मर्छ र छोरो बित्छ । आफ्नो हीराजस्तो छोरो पढेको, लेखेको जानेको बेला औषधि उपचार गर्न नपाएर प्राण त्याग गर्दा दैवले पनि न्याय नगरेको असन्तोष पोखिएको छ । नाटकको अन्तमा छोरो बितेको बिलापमा रोएर जीवन बिताउनुभन्दा बाँकी जीवन सुख र शान्तको निम्ति सङ्घर्ष गर्नैपर्ने र गरिबीबाट मुक्त हुन अर्काे नयाँ बाटो रोज्नुपर्छ र देशमा वीरेजस्ता गरिबहरू हजारौं हजार जन्माएर सपना पूरा गर्नुपर्छ भन्ने सन्देश नाटकको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *