भर्खरै :

सभ्यता र सम्पदा रक्षाको लागि जाग्नुपर्ने भएको छ

–कुमार वैद्य
ललितपुर महानगरपालिकाका बुङ्गमती र खोकनाका ऐतिहासिक बस्ती नै उठाउने गरी भइरहेका सरकारी गतिविधिविरुद्ध शुक्रबार बृहत् जुलुस प्रदर्शन भएको समाचार अनलाइन मजदुरमा पढ्दा निकै खुसी लाग्यो । तस्वीरमा हजाराँै जनता जुलुसमा सहभागी बनेको देखियो । विकास र समृद्धिको नाममा काठमाडाँै उपत्यकाका कृषियोग्य जमिन मास्नेमात्र होइन, यहाँका ऐतिहासिक सम्पदा र संस्कृतिसमेत सिधिने गरी सरकारले अघि सारिरहेका विभिन्न योजनाले देशलाई विकासको बाटोमा होइन, विनासको बाटोमा दोहो¥याउनेछ । युगौं पुरानो इतिहास बोकेका बस्ती र सम्पदा ध्वस्त बनाएर कंक्रिटका जङ्गल ठड्याउनु नै विकास होइन । नेपालमा पर्यटकहरू कुनै कंक्रिटका आलिसान महल हेर्न आउने होइनन् । युगौं युगदेखि रहेका सम्पदा र संस्कृति हेर्न र बुझ्न आउने हुन् । तर, आज सरकारले तिनै नेपालका परिचयलाई मास्ने काम गरिरहेको छ । हिजोका सरकारले अघि ल्याएका यस्ता योजनालाई आजको सरकारले पनि निरन्तरता दिइरहेको छ । यो दुःखद कुरा हो ।
नेपाली राजनीतिमा उदाहरणीय काम गर्दैै आउनुभएका नारायणमान बिजुक्छेंले सगरमाथा टेलिभिजनमा दिनुभएको अन्तर्वार्तामा ‘नेपाली सेनालाई बदनाम गर्न जनविरोधी काममा लगाएको’ भन्नुभएको रहेछ । उहाँको यो भनाइ चित्त बुझेको छ । वास्तवमा नेपाली सेनाभित्र पनि दलालीकरण मौलाइसकेको छ । सेनाको नाममा आफ्नो खल्ती बलियो बनाउने मानिसहरू घुसिसकेको छ । नेपाली सेना आफैं पनि भ्रष्टाचारको चङ्गुलमा फस्दै गएको अनुभव हुन्छ ।
खोकना र बुङ्गमतीका जनताले जस्तै अन्यत्रका जनताले पनि आफ्नो ऐतिहासिक धरोहरको संरक्षणको लागि जाग्नुपर्ने समय आएको छ । साथै अरु बेला सरकार र सरकारमा जाने दलहरूलाई सराप्ने अनि चुनावको समयमा फेरि तिनै दलको पक्षमा मतदान गर्ने दोहोरो चरित्रप्रति पनि नेपाली जनता सजग हुनुपर्छ । शुक्रबारको प्रदर्शनमा सहभागी बनेका सबै जागरुक जनताप्रति मेरो तर्फबाट धन्यवाद छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *