भर्खरै :

तःमुंज्या जनताको विश्वविद्यालय

तःमुंज्या जनताको विश्वविद्यालय

निर्वाचन र तःमुंज्या जनतालाई सुसूचित पार्ने माध्यम या राजनीतिक मञ्च हो । निर्वाचनमा देशघाती, भ्रष्टाचारी, माफिया, दलाल, अपहरणकारी, लुटेरा, गुण्डा आदि आरोप लागेका दलका व्यक्तिहरू अनेक छलछाम, आँखामा छारो हाल्ने, आकाशको तारा झारिदिने जस्ता झूटा कुरा बाँडेर चुनाव जित्दै आएका थिए । उनीहरूको व्यवहार, आचरण र परिणामले त्यही देखाइरहेको छ । देश र जनता बनाउने होइन आफू बन्ने, बनाउने र देशघातका कामहरू भइरहेको जनताले देखिरहेका छन् । आज जनताले त्यसैको फल भोग्दै छन् । देशभक्त दल र नेताहरूले निर्वाचन र तःमुंज्यामार्फत देश स्वाधीन बनाउनुपर्ने, विदेशीको भर पर्न नहुने बताउँदै आएका छन् । विदेशीको भरेरै देश र जनताले दुःख पाएका हुन् । तःमुंज्याका वक्ताहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिबारे केस्रा–केस्रा खोलेर सचेत पार्ने काम गरेका थिए । यस अर्थमा तःमुंज्याका वक्ताहरू देश र जनताको हित चाहने, परिवर्तन चाहने, विश्वमा स्वाधीन, शान्ति तथा विकास चाहने देशभक्त विज्ञ शिक्षक र प्राध्यापकहरू हुन् । उनीहरूले शिक्षा, स्वास्थ्य, कला, संस्कृति, इतिहास, भूगोल, राजनीति आदिबारे जनतालाई दीक्षित पार्ने काम गरे । तःमुंज्याको पुरस्कार वितरण समारोह पनि एउटा अर्काे खुला राजनीतिक कक्षाको रूपमा लिन सकिन्छ ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवम् वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेँलगायतका वक्ताहरूको तःमुंज्यामा आ–आफ्ना गहकिला विचार र भावना व्यक्त भयो ।
पुर्खाको रगतले कोरिएको सार्वभौम भूमि कहीँको जग्गासित साटिन हुँदैन । देशलाई घात हुने विषयमा हस्ताक्षर गर्ने शासकहरू देशद्रोही हुन् । विद्यार्थीलाई सत्यतथ्यको इतिहास उजागर गर्न ख्वप विश्वविद्यालय आवश्यक भएको हो । अमेरिकी साम्राज्यवादको उक्साइ र सहयोगमा इजरायली यहुदी शासकहरूले प्यालेस्टिनी जनतामाथि बर्बर आक्रमण र नरसंहार गरिरहेका छन् । यो निन्दनीय छ । विश्वका विभिन्न देशका जनताले आ–आफ्नो देशमा जुलुस प्रदर्शन गरेर विरोध गरिरहेका छन् ।
सिंहदरबारमा बसेर शासन गर्ने शासकहरूले भारतको थिचोमिचोविरुद्ध एक शब्द पनि बोल्न सकेनन् । नेपालको बिजुली नेपालीलाई वितरण नगरी भारतलाई बेच्नु हुँदैनथ्यो । प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणको क्रममा भएको बैठकमा कालापानीबारे केही बोलेनन् । भारतीय प्रम मोदीले विनाअनुमति नेपाली भूमिमा गरेको भ्रमणबारे नेपाल सरकारले चुइँक्क बोलेन । बिनासङ्घर्ष शासक, शोषक, सामन्त, जमिनदारहरूले आफ्नो कब्जामा रहेको अधिकार, सत्ता जनतालाई त्यतिकै दिँदैनन् । त्यसको लागि बहुमत गरिब जनताको एकताको खाँचो छ ।
खोसिएको वा लुटिएको आफ्नो भूमि पुनः प्राप्तिको लागि लड्नु प्यालेस्टिनी जनताको नैसर्गिक अधिकार हो । देशको लागि लड्ने देशभक्त हो, आतङ्कवादी होइन । इजरायलले प्यालेस्टिनमाथि क्षेप्यास्त्र र बमबारी गरिरहेको छ । त्यो अमानवीय कार्य हो । नेपाल मजदुर किसान पार्टीले इजरायली शासकहरूको बर्बरता र नरसंहारको विरोधमा काठमाडौँमा विरोध जुलुस र सभा गरेर संरा अमेरिकी र इजरायली नेपालस्थित दूतावासमा विरोध पत्र दिई अन्तर्राष्ट्रवादी कर्तव्य निभाएको छ । यो अरु कुनै दलले आँट गर्ने सकेका छैनन् ।
संरा अमेरिकाले जहाँ जहाँ हात हाल्छ, त्यहाँ त्यहाँ विध्वंसबाहेक केही भएको छैन । संरा अमेरिकाले आफ्नो स्वार्थविपरीत चल्ने जसलाई पनि आतङ्ककारी घोषणा गर्छ । ओसामाबिन लाडेन संरा अमेरिकाले नै तयार गरेको व्यक्ति हो । जब लाडेन अमेरिकाको स्वार्थविपरीत गए तब उनलाई आतङ्कवादी भनी अमेरिकाले हत्या ग¥यो । विश्वमा यस्ता उदाहरणहरू थुप्रै छन् ।
देश आर्थिक मन्दीतिर गइरहेको छ । चीनमा माओ त्सेतुङले देश आफ्नै खुट्टामा उभेर विकास गर्ने विचारअनुसार जन परिचालन गरी विकास निर्माणमा जोड दिएका थिए । त्यसैको परिणाम आज चीन विश्वमा उदाउँदो छ । देशले सही नेतृत्व नपाइकन देशमा सुशासन हुँदैन र सुशासनबिना देश बन्दैन । चीन, रुस, मलेसिया, कतारलगायतका शासकले जनता परिचालन गरेरै देश बनाएका हुन् ।
सहकारी क्षेत्रमा विकृति तथा विसङ्गति व्याप्त छ । विश्वास नभएको सहकारीमा कुनै लोभमा रकम जम्मा गर्नुहुँदैन । जनताको पैसा कुम्ल्याएर सञ्चालकहरू भागे पनि सरकार मूकदर्शक भएर बसेको छ । सहकारीको अरबौँ रकम डुबाउने सञ्चालक आज संसद्मा छ । अनि देश कसरी बन्छ ?
समाजवादी शासन व्यवस्था भएको रुसमा पहिले मान्छेको जन्मदेखि मरणसम्म सबै सरकारले जिम्मा लिएको थियो । त्यहाँ जनतालाई कुनै दुःख थिएन ।
शासकहरू देशको बिजुली देशमै खपत गर्नेतर्फ सोच्दैनन् । शासकहरूले नेपालको सङ्लो पानी भारतलाई सित्तैमा दिइरहेका छन् । नेपालभन्दा सानो अफ्रिकी देश लेसेथोले दक्षिण अफ्रिकालाई पानी बेचेर देशको विकास गरिरहेको छ । गणतन्त्रपछिका शासकहरूमा पनि भारतभक्तिको भावना छ ।
भक्तपुर नगरपालिका शिक्षा, स्वास्थ्य र सम्पदा संरक्षणमा अरूको लागि नमुना बनेको छ । क्यान्सर उपचारको लागि अब विदेसिनु पर्दैन । उक्त सेवा भक्तपुर क्यान्सर अस्पतालले दिन सक्षम छ । मृगौला र कलेजो प्रत्यारोपणमा ९९ प्रतिशत सफल भएको सहिद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्रको भनाइ छ । भक्तपुरमा विविधताको बिचमा समानताको खोजी हुन्छ ।
हजार न्युक्लियर बमभन्दा एउटा सांस्कृतिक बम शक्तिशाली हुन्छ । सबै नेपालीमा ‘राष्ट्र देवो भवः’ भन्ने भावना हुनुपर्छ । पान्डुराको बाकसबाट विकृति विसङ्गति निस्केजस्तै अहिले देशमा विकृति व्याप्त छ । देशमा व्याप्त विकृति तथा विसङ्गतिको विरोध गर्नु आवश्यक छ । तःमुंज्याले देश बनाउन र देश जोगाउन जनतालाई सचेत पार्ने काम गरेको छ । यसैले गरिब तल्लोवर्गको जनतालाई आँखा खोल्ने, गरिबवर्गको अधिकार र सत्ताको लागि, समाजवादको लागि सङ्घर्ष गर्नुपर्ने विचार, ज्ञान बाँड्ने र सचेत पार्ने काम हुँदै आएको छ ।
यस वर्षको तःमुंज्यामा नेमकिपाका अध्यक्ष एवम् वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेँ (रोहित), नेमकिपाका सचिव एवं सांसद प्रेम सुवाल, केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापति, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, पूर्वन्यायाधीश गौरीबहादुर कार्की, ज्योतिष शास्त्री वीरेन्द्रप्रसाद कायष्ठ, वरिष्ठ इन्जिनियर रामदास श्रेष्ठ, गीतकार आनन्द अधिकारी, सीमाविद् बुद्धिनारायण श्रेष्ठ, वरिष्ठ मटुरोग चिकित्सक डा. धनरत्न शाक्य, भक्तपुर क्यान्सर अस्पतालका वरिष्ठ चिकित्सक प्रा.डा. ऋषिकेशनारायण श्रेष्ठ, सहिद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्रका वरिष्ठ चिकित्सक डा. पुकारचन्द्र श्रेष्ठ, ख्वप अस्पतालका डा. मजेशप्रताप मल्ल, डा. सरोज धिताल, जलस्रोत अध्येता रत्नसंसार श्रेष्ठ, सीमा अध्येता रत्न भण्डारी, श्रष्टा समाजका अध्यक्ष लक्ष्मणराज जोशी, ‘जनमत’ साहित्यिक पत्रिकाका सम्पादक मोहन दुवाल, कवि रामप्रसाद ज्ञवाली, सुलोचना मानन्धर, वनस्पतिविद् प्रा.डा. धर्मरत्न डंगोल, वास्तुकलाविद् प्रा.डा. सुदर्शनराज तिवारी, संस्कृतिविद् प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठ, उपप्रमुख रजनी जोशी, प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठ, लेखक हरिहर तिमिल्सिना, जनकवि चन्द्रबहादुर उलक, कथा, कविता, निबन्ध, नाटक, ख्याल आदि देखाउनु हुने सम्पूर्ण अतिथि वक्ता, कलाकार, साहित्यकारहरू जनताको विश्वविद्यालयका शिक्षक प्राध्यापक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *