भर्खरै :

सही सिद्धान्त र सही विचारमा लाग्नुपर्छ

सही सिद्धान्त र सही विचारमा लाग्नुपर्छ

हो हल्ला गरेर, झूट फलाकेर, धाकधम्की दिएर गरिने राजनीति सद्दे राजनीति होइन । ‘लाखौँ’ मान्छे सडकमा उतारेर ‘राजा’ फर्काउने र ‘पचासौँ हजार’ प्रदर्शनकारी भेला गरेर यो सरकारलाई छिट्टै बिदा दिएर एमालेको नेतृत्वमा सरकार बनाउने हल्ला के अहङ्कारको राजनीति होइन ? झूटा आश्वासन बाँडेर, गर्न नसक्ने बखान गरेर, चर्को नारा र चर्को कुरा फलाकेर जनताको मत बटुल्ने या मान्छे जम्मा गर्ने काम कहिल्यै स्थिर हुनेछैन । उग्र नारा दिएर भाँडभैलो मच्चाउने, राजनीतिक दल र दलका नेताहरूलाई जथाभावी गाली गर्ने काम कुनै सचेत, सज्जन देशभक्त नागरिकले गर्दैन, त्यस्तो गाली सच्चा नेताहरूले त झनै गर्दैनन् । तर, बिहीबार राजधानीमा आयोजित छुट्टाछुट्टै सभामा एकले अर्काको मात्र होइन अन्य राजनीतिक दलका नेता तथा कार्यकर्ताहरूलाई मनपरी गाली गरे । उनीहरूको अभिव्यक्ति सुन्दा प्रदर्शनमा सहभागी अभियन्ता र युवा नेताहरू कुनै राजनीति र विचारबाट निर्देशित छैनन् । आफ्नो इज्जत, प्रतिष्ठाको कुनै ख्यालै नगरी जथाभावी गाली गरेको अभिव्यक्तिले तिनीहरू उच्छृङ्खल, उत्ताउला राजनीति गर्दै छन् भन्ने थाहा हुन्छ ।
स्वतन्त्रता र प्रजातान्त्रिक अधिकार छ भनेर मनपरी बोल्दै हिँड्नु या तात्तातो कुरा गरेर युवालाई गलत बाटोमा लगेर भड्काउने काम सामन्त र पुँजीवादी शासकहरू गरिरहन्छन् भन्ने कुरा राजधानीमा आयोजित दुई छुट्टाछुट्टै प्रदर्शनले पनि देखाउँछ । जुनसुकै दल या समूह या नेतृत्व गर्ने पक्ष गम्भीर हुनुपर्छ । आफूखुसी बोल्नु उचित होइन । सामाजिक मूल्य र मान्यतामा रहेर, आ–आफ्नो इज्जत, प्रतिष्ठाको ख्याल नगरी जे मनलाग्यो त्यसरी बोल्नु न राजनीतिक पद्धति हो न त त्यो शिष्ट अभिव्यक्ति हो ।
आफूलाई अभियन्ता भन्ने कति मानिसहरूले धार्मिक कुरा गरेर समाज भड्काउने र उत्तेजना फैलाउने काम गरिरहेका छन् । कति युवाहरू साम्प्रदायिक कुरा गरेर, आफू नै ठुलो, सर्वशक्तिमान भनी धाक देखाउँदै अराजनीतिक कुरा फुक्दै छन् । धर्मको नाउँमा मानिसलाई उत्तेजित बनाउने, धाक धम्की दिएर उपद्रव गर्ने खेलको राजनीतिले के आदर्शोन्मुख समाज बन्छ ? देश बनाउन, समाज निर्माण गर्न हो हल्ला गरेर, युवा भड्काएर होइन सही पद्धति र सही बाटो अपनाउनुपर्छ । समाजका अपराधी, भ्रष्ट, कमिसनखोर, गुण्डा, कालाबजारीहरू जम्मा गरेर देशले निकास दिन सक्दैन । यसरी समाज भड्काउने, झूटको खेती गर्ने पक्षलाई समाजमा उदाङ्ग्याउनुपर्छ, जनता कसैको लोभलालच, धाक धम्की र लहैलहैमा गलत बाटोमा लाग्नु हुँदैन । यही कारण सही दिशा, सही नीति, सही सिद्धान्त र सही बाटोमा लाग्नुपर्छ भनिएको हो ।
हरेक नागरिक देश र जनताप्रति जिम्मेवार हुनुपर्छ । देशको छवि या स्वाधीनता र सार्वभौमसत्तामा आँच पु¥याउने काम हामीबाट कहिल्यै हुनुहुँदैन । सरकारले ध्यान दिएन, पीडा असह्य भयो भनेर देशघात, सङ्कीर्ण, साम्प्रदायिक कुरा गरेर जनता जनता भिडाउने कामले कहिले पनि देश र जनताको हित हुँदैन । विरोधको लागि विरोध गर्नु पनि ठीक होइन । आलोचना गरेर ठाउँमा ल्याउने, सुधार्ने या सच्याउने काम गर्नुपर्ने हुन्छ । यसतर्फ राज्य, दल र समाजका जिम्मेवार व्यक्तिहरू चनाखो हुनुपर्छ । पुँजीवादी व्यवस्थाको विकल्प पुनः राजतन्त्र कदापि हुनसक्दैन बरु समाजवादी गणतन्त्र हो । पुँजीवादी व्यवस्था र सामन्तवादी व्यवस्थाका खराबी हटाउने अर्को व्यवस्था समाजवादी व्यवस्था हो । समाजवादी व्यवस्था स्थापना गर्न अघि बढ्नु नै आजको आवश्यकता हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *