भर्खरै :

कुन उमेरका मानिसले दैनिक कति समय हिँड्ने ?

कुन उमेरका मानिसले दैनिक कति समय हिँड्ने ?

विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कअनुसार प्रत्येक ४ मध्ये एक व्यक्तिको दैनिक हिँडाइ पर्याप्त मात्रामा पुगेको छैन । किशोरावस्थाका बालबालिकाहरू ८० प्रतिशतभन्दा बढी पर्याप्त मात्रामा नहिँडेको विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्क रहेको छ । अपर्याप्त मात्रामा हिँडाइका कारण मुटु रोग तथा कम उमेरमा मृत्युको जोखिम २० देखि ३० प्रतिशतले बढ्ने गर्छ । नियमित हिँडाइ शारीरिक तथा मानसिक दुवै स्वास्थ्यका लागि फाइदाजनक हुने गर्छ ।
उच्च रक्तचाप, मधुमेह, कोलेस्ट्रोल, मस्तिष्कघात, हृदयघातजस्ता रोगहरूको सम्भावनालाई शारीरिक सक्रियताले घटाउन सकिन्छ । विभिन्न प्रकारका क्यान्सरहरूका जोखिम न्यूनीकरणका लागि पनि शारीरिक सक्रियता महत्वपूर्ण मानिन्छ । स्तन तथा आन्द्राको क्यान्सरलाई घटाउनका लागि सक्रिय जीवनशैली आवश्यक पर्ने गर्छ । पर्याप्त मात्रामा हिँड्ने मानिसहरूको मानसिक स्वास्थ्य राम्रो भएको हामी पाउँछौँ । पर्याप्त मात्रामा हिँड्ने मानिसहरूको हाडजोर्नीसमेत बलियो हुने गर्छ ।

कति हिँड्न जरुरी ?
मानिसहरूमा यसबारेमा थुप्रै भ्रमहरू रहेको पाइन्छ । अधिकांश मानिसहरूमा दैनिक कति हिँड्नुपर्छ भन्ने कुराको ज्ञान छैन । कोही व्यक्ति लामो समयदेखि शारीरिकरूपमा निष्क्रिय रहेको छ भने चाँडै मृत्यु हुने जोखिम बढी हुन्छ । यदि उमेर ढल्केका मानिसहरू समेत हिँड्नु हुँदैन भने मृत्युको जोखिम बढ्ने गर्छ । सक्रिय जीवनशैली भएका मानिसहरूले आफूलाई अचानक हुने मृत्युबाट जोगाउन सक्छ ।
दुर्भाग्यको कुरा भन्नुपर्छ आजको विश्वमा विकास भइरहेका विभिन्न प्रकारका खोज तथा अनुसन्धानले हामीलाई निष्क्रिय जीवन दिइरहेका छन् । त्यसैले आज मानिसहरू दिन प्रतिदिन शारीरिकरूपमा निष्क्रिय भइरहेको अवस्था छ । यसबारे ज्ञान हुँदाहुँदै पनि हामीले यसको समाधान गर्न सकेको अवस्था छैन ।
मानव शरीरको निर्माण प्रतिदिन ६० किलोमिटरसम्मको हिँडाइलाई थेग्न सक्ने गरी बनाइएको मैले एक लेख पढेर थाहा पाएँ । हिँडाइका कारण मानव शरीरमा आउने पसिनाले मान्छेलाई झनै बढी ऊर्जा दिने विभिन्न अनुसन्धानहरूबाट पत्ता लगाइएको छ । गाउँ तथा सहर बसाइँको क्रममा मानिसहरूको हिँडाइमा फरक पर्ने गर्छ । सहरीया जीवनशैलीले मानिसलाई अल्छीपना उपहार दिएको छ । जसका कारण गाउँमा भन्दा सहरका मानिसहरू उच्च रक्तचाप, मधुमेह, मोटोपना, कोलेस्ट्रोरेलजस्ता समस्याबाट पीडित भएका छन् ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार प्रत्येक व्यक्तिले दैनिक आधा घण्टा हिँड्नुपर्ने हुन्छ । आधा घण्टामा उसले छिटोछिटो तीन किलोमिटरसम्म हिँड्नुपर्ने हुन्छ । बिस्तारै हिँड्नेहरूले दैनिक ५ किलोमिटर हिँड्नु आवश्यक छ । मांशपेसी चलाउने शारीरिक व्यायाम सातामा एक पटक मानव शरीरलाई आवश्यक पर्छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार उच्च रक्तचाप, कोलेस्ट्रोरेल, मधुमेहजस्ता समस्या भएका व्यक्तिहरूले यसको दोब्बर हिँड्नुपर्ने हुन्छ । २० वर्ष उमेर काटिसकेपछि सहरमा बस्ने जोसुकैलाई पनि प्रेसर, सुगरजस्ता समस्या आउने गर्छन् । त्यसैले त्यस्ता व्यक्तिले दैनिक ६० मिनेट हिँड्नैपर्ने हुन्छ ।
उमेर बढ्दै जाँदा मानिसमा रोग पनि बढ्दै जाने गर्छ । प्रदूषण तथा वंशाणुगत कारणले लाग्ने रोगबाहेक अन्य रोगहरू लाग्न नदिनका लागि मानिसको प्रयत्नले पनि काम गर्छ । मानिसले शारीरिक व्यायामद्वारा भने रोग लाग्ने सम्भावनालाई भने कम गर्न सक्छ ।

कुन उमेरका मानिसले दैनिक कति समय हिँड्ने ?
३० वर्षभन्दा कम उमेरका व्यक्तिले दैनिक आधा घण्टा हिँड्नैपर्ने हुन्छ । ३० देखि ४५ वर्षसम्मका मानिसहरूले दैनिक ४५ मिनेटसम्म हिँड्नुपर्ने हुन्छ । ४५ वर्षदेखि ६० वर्षसम्मका मानिसले भने दैनिक १ घण्टासम्म हिँड्नु फाइदाजनक हुन्छ । त्यस्तै, ६० देखि ८० वर्षका मानिसहरूले दैनिक विस्तारै २ घण्टा हिँडेको स्वास्थ्यका लागि हितकर हुन्छ । यसरी हिडेमा अचानक हुने मृत्यु तथा अन्य स्वास्थ्य समस्याबाट बच्न सकिन्छ ।
मेरो उपचार अनुभवमा शारीरिकरूपमा सक्रिय जीवनशैली अपनाउने बिरामीहरूमा कमै रोग पत्ता लागेको पाएको छु । तर, जो व्यक्ति शारीरिकरूपमा निष्क्रिय छ त्यस्ता व्यक्तिलाई सुगर, प्रेसरलगायतका विभिन्न रोगहरूको बढी लागेको पाउन सकिन्छ । शारीरिकरूपमा सक्रिय जीवनशैली अपनाउने मानिसहरू मानसिकरूपमा समेत स्वस्थ भएको पाइन्छ । शारीरिकरूपमा सक्रिय जीवनशैली अपनाएमा मुटु रोग लाग्ने सम्भावना घटाउनको लागि महत्वपूर्ण भूमिका खेल्नेछ ।
(वरिष्ठ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिलसँग लक्ष्मी चौलागाईँले गरेको कुराकानीमा आधारित)
– ‘स्वास्थ्य खबर’ बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *