भर्खरै :

पैसाको शक्तिले जँड्याहा पनि जित्ने, गुण्डा पनि जित्ने व्यवस्था हो पूँजीवाद

– नारायणमान बिजुक्छे (रोहित), अध्यक्ष नेपाल मजदुर किसान पार्टी
अक्टोबर समाजवादी क्रान्ति भएको सय वर्ष पुगिसकेको छ । धेरै कुराहरु पूर्ववक्ता साथीहरुले भनिसक्नुभएको छ । पूँजीवादी क्रान्ति भएको ३००/४०० वर्षपछि अमेरिका, बेलायत, फ्रान्सजस्ता पूँजीवादी देशहरुले गरेको विकासलाई समाजवादी चीनले ५०/६० वर्षमा उछिन्यो । आज ती सबै देशका उत्पादन जोड्दा पनि चीनको कुल उत्पादनको ४० प्रतिशत जतिमात्र हुन आउँछ । अबको ठिक ३० वर्षपछि अमेरिका, बेलायतलगायतका सबै पूँजीवादी देशले गर्ने उत्पादन चीन एक्लैले गर्नेछ । त्यही भएर तिनीहरु अहिले थरथर काँपिरहेका छन् ।
अहिले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प एशियाको भ्रमणमा निस्केका छन् । विश्वलाई तर्साउने अमेरिका अहिले उत्तर कोरियासंग डराएको छ । उत्तर कोरियाजस्तो सानो देशलाई खरानी बनाउँछु भन्थ्यो अमेरिका पहिले । उत्तर कोरियाले जवाफस्वरुप अमेरिकाको हातहतियार भण्डारण गरिराखेको ग्वाम टापुमै क्षेप्यास्त्र हानिदिन्छु भनेपछि अहिले अमेरिका चुप छ । त्यसकारण शत्रुको अगाडी झुक्ने होइन, शत्रुको अगाडी लड्ने हो । यदि हामी शत्रुसंग डरायौं भने उसले हामीलाई झन् खेद्नेछ ।

यदि तिनीहरु पैसा दिएर भोट माग्न आउँछन् भने जनताहरुले थुक्नुपर्छ तिनीहरुलाई । खबरदार हिन्दुस्तानको जुठो पैसाले हामीलाई किन्न नखोज भनेर खेद्नुपर्छ ।

नेपालको प्रमुख शत्रु भनेको भारतीय विस्तारवाद र एकाधिकार पूँजी हो । उसका दलालहरु भनेका एमाले, माओवादी र नेपाली कांगे्रस हो । नाम फरक भएपनि यी तिनवटै पार्टी एकै हो । कुनै फरक छैन यिनीहरुबीच । तिनवटै पार्टी पटक पटक सरकारमा गएको छ । तरपनि तिनीहरुले सिन्को भाँच्न सकेनन् किनभने तीनीहरु दलाल पार्टी हुन्, भारतले जे भन्छ उसले त्यही त्यही मात्र गर्छ । दलाल पार्टी भनेर हामीले यहाँमात्र होइन संसदमा पनि बोल्यौं । तर उनीहरु चुपचाप बस्छन्, हामी भारतको दलाल होइनौं भनेर जवाफ दिन सक्दैनन् । मालिक रिसाउँछ भनेर त्यतिकै थरथर काँपेर बसेका छन् । जनताहरुले प्रश्न गर्नुपर्छ अब तिमीहरु भारतीय दलाल हौ कि होइनौ भनेर । हो भने तिनीहरुलाई नेपालमा बस्ने नैतिक अधिकार नै छैन भनेर खेद्नुपर्छ । अहिले यो चुनावको समयमा हामीले गर्नुपर्ने त्यही हो । हामी सबै नेपाली जनता र मतदाताहरुले सोचविचार गरेर मात्र आफ्नो भोट दिनुपर्छ । यदि तिनीहरु पैसा दिएर भोट माग्न आउँछन् भने जनताहरुले थुक्नुपर्छ तिनीहरुलाई । खबरदार हिन्दुस्तानको जुठो पैसाले हामीलाई किन्न नखोज भनेर खेद्नुपर्छ । हामीले यसो गरेनौं भने भोलि हाम्रै ठाउँमा आएर तिनीहरुले शासन गर्नेछन् । हामीले अहिले नै यस्तो गरेनौं भने धेरै ढिलो भइसक्छ ।
अहिले भक्तपुरमा पनि केही मानिसहरु बाहिरबाट आएर चुनाव लड्दैछन् । भारतीय शक्तिको आडमा जनताहरुलाई धोखा दिन उनीहरुले नयाँ नयाँ मानिसहरु ल्याएर उम्मेदवार बनाउँदैछन् । त्यसकारण हाम्रा साथीहरु सचेत र सतर्क हुनुपर्दछ र संघर्षको निम्ति तयार रहनुपर्दछ ।
साथीहरु, ३०/४० वर्ष पहिले ३÷४ करोड मात्र जनता भएको भियतनाममा अमेरिकाले खुब दादागिरी देखाएर बमबारुद बर्साउन थालेको थियो । १५ वर्ष त लडाई मात्र चल्यो तर भियतनामलाई हराउन सकेन । भियतनामी जनताले त भाग्न पनि दिएन अमेरिकी सेनालाई । बल्ल बल्ल चीनलाई गुहारेर अमेरिकी सेना भियतनामबाट जिउँदै फक्र्यो । त्यतिबेलै नेपालजस्तै पहाडै पहाड भएको एउटा मुलुक छ, लाओस । अमेरिकाले त्यहाँ पनि बमवर्षा गर्ने धम्की दियो । जवाफमा लाओसले भन्यो तागत छ भने हमला गरी हेर । एटम बम खसाल्ने धम्की दिएको थियो अमेरिकाले । एउटा एटम बमले एउटा पहाड खरानी होला, हामीसंग धेरै पहाड र खोंचहरु छन् हामी तिमीसंग लड्छौं भन्यो लाओसले । अमेरिकी साम्राज्यवाद त्यहाँबाट पनि भाग्न बाध्य भयो ।
केही समयअघि चीन–भुटानको सीमा क्षेत्र दोक्लाममा चिनियाँ पक्षले बाटो बनाउँदा त्यहाँ पनि भारतलाई उचालेर अमेरिकाले चीनसंग भिडाउन खोज्यो । भुटान चीनसंग मित्रताको हात बढाउन चाहन्थ्यो । किनकी सिक्किमजस्तै भारतले भुटानलाई पनि विलय गरिदिने भुटानलाई चिन्ता थियो । तर भारतले भुटानलाई कहिलेपनि स्वतन्त्र देशको रुपमा हेरेको छैन ।
सन् १९६२ मा पनि चीन भारत युद्ध हुँदा २४ घण्टाभित्र ६२ किलोमिटर जमिन हारेको थियो भारतले । इतिहासमा त्यस्तो हार कहिले कसैको भएको थिएन । त्यतिबेला पनि अमेरिकाको लहलहैमा लागेर भारतको त्यो गति भएको थियो । भारतकै सैनिक विशेषज्ञहरुले चीनको सैन्य शक्ति भारतकोभन्दा सय गुणाले बलियो छ भन्ने कुरा बताएपछि अहिले भारत चुप छ । फेरिपनि भारत अमेरिकाकै कुरा सुनेर पछि लाग्छ भने उ आफ्नो चिहान आफै खन्दैछ भन्ने बुझ्दा हुन्छ ।
यता चीन अहिले यस्तो सानोतिनो कुरामा फस्न चाहँदैन । आर्थिक रुपमा सम्पन्न भई संसारलाई एक गर्दै अघि बढ्ने उसको विश्वदृष्टिकोण छ । अमेरिका यता पूर्वतिर उठिरहेको कम्युनिष्ट आन्दोलनलाई दबाउन व्यस्त भइरहँदा उता क्युवामा समाजवादी क्रान्ति भयो । क्युवालाई पनि नाकाबन्दी लगाएर दुख दियो अमेरिकाले । युद्ध गर्ने धम्की दियो । तर क्युवाले हमलाको जवाफ हमलाबाटै दिन्छु भनेपछि अहिले अमेरिका कुटनीतिक सम्बन्ध बनाउनतिर लागेको छ ।
अमेरिकाको दुर्भाग्य सुरु भइसकेको छ । संसारको सबै ठाउँमा अमेरिका लडाई गर्दै हिँडेको छ । दुःख दिँदै हिँडेको छ । कुन दिन सारा संसारका देशहरु मिलेर अचानक अमेरिकाविरुद्ध युद्धको घोषणा गर्नेछ र बेलायतलाईजस्तै अमेरिकालाई पनि एउटा कुनामा लगेर थन्क्याइदिनेछ । अमेरिकी जनताहरु अहिले विरोधमा छन् आफ्नै राष्ट्रपतिविरुद्ध । ट्रम्पलाई उनीहरु मूर्ख, गुण्डा र सन्काहा भनेर गाली गरिरहेका छन् । सारा अमेरिकी जनताको बेइज्जती भयो भनी दुखी छन् । यसले के कुरा थाहा हुन्छ भने पूँजीवादी व्यवस्थामा मान्छे चिनिन्न । पैसाको शक्तिले जो पनि चुनावमा जितेर आउन सक्छ । जँड्याहा पनि जित्ने, गुण्डा पनि जित्ने व्यववस्था हो पूँजीवाद ।
अब नेपालमा पनि ठूला दलहरुले अहिले गुण्डाहरुलाई राजनीतिमा प्रवेश गराएर उम्मेदवार बनाउँदैछन् । तर नेपाली जनताहरुले तिनीहरुलाई हराउनुपर्छ । अमेरिकामा गुण्डा राष्टपति जित्न सक्ला तर नेपालमा सक्दैन भन्ने देखाइदिनुपर्छ ।

पूँजीवादी व्यवस्थामा मान्छे चिनिन्न । पैसाको शक्तिले जो पनि चुनावमा जितेर आउन सक्छ । जँड्याहा पनि जित्ने, गुण्डा पनि जित्ने व्यववस्था हो पूँजीवाद ।

दक्षिण एसियाको शत्रु भनेको भारतीय विस्तारवाद हो । भारतीय एकाधिकार पूँजी हो । विस्तारवाद भनेको अरु देशहरु खानु हो । एकाधिकार पूँजी भनेको उसकै मात्र मालसामान महंगो भएपनि, काम नलाग्ने भएपनि हाम्रो देशमा बेच्न दिनु हो । अरु देशबाट ल्याउन दिँदैन । नेपालको सरकारले भारतसंग त्यस्तो सम्झौता गरेको छ । त्यसका दोषी सरकारमा गएका पार्टीहरु नै हुन् । त्यसकारण हाम्रो लडाई भारतको पैसा खाएर हामीलाई शासन गर्ने शासक दलहरुको विरुद्ध छ ।
साथीहरु, नेपाली कांग्रेस, माओवादी र एमालेको नाम फरक भएपनि एउटै पार्टी हो । महाकाली सन्धि एमाले र कांगे्रस दुवै मिलेर रातारात पास गरेका थिए । हामीले मात्र विरोध ग¥यौं । यही टौमढीमा आएर हामीले राती जनसभा गरेका थियौं । माथिल्लो कर्णाली नदी भारतलाई सुम्पने यी नै तिनवटै दल हुन् । त्यसकारण यिनीहरु बहुरुपी हुन् । हाम्रो संघर्ष यी नै बहुरुपी दलाल पार्टीहरुको विरुद्ध छ । भक्तपुरबाट तीनवटै दलाल पार्टीहरु हारे भने अरु ठाउँबाट यिनीहरु भाग्नुपर्ने स्थिति आउनेछ ।
चुनावको बेलामात्र जिल्ला जिल्लामा जाने, पैसा दिएर, भोट किनेर जितेर आउनेहरुलाई हाम्रो हाँक छ, सक्छौ भने त्यही बसेर आफ्नो गाउँ, शहर, जिल्लाको विकास गर । काठमाडौमा आएर घर बनाउने होइन । त्यसकारण यिनीहरु जनतालाई ठग्ने ठगहरु हुन् । हाम्रो संघर्ष यी नै ठगहरुको विरुद्ध छ । नेपाली जनताहरुले जब तिनीहरुको पैसा थुतेर फालिदिनेछन् अनि हामीले जनता सचेत भएको बुझ्नेछौं । अक्टोबर क्रान्ति भएको सयवर्ष पूरा भएको छ । हाम्रो आन्दोलन अगाडी बढ्दै गएपछि नेपालमा पनि एकदिन क्रान्ति हुनेछ । त्यतिबेला हामी भन्नेछौं हाम्रो विजय भयो । धन्यवाद ।
(अक्टोबर समाजवादी क्रान्तिको शतवार्षिकी पूरा भएको अवसरमा मंगलबार नेपाल मजदुर किसान पार्टीले टौमढीमा आयोजना गरेको जनसभामा पार्टी अध्यक्ष नारायणमान बिजुक्छे (रोहित)ले व्यक्त गर्नुभएको मन्तव्यको सार यहाँ प्रस्तुत छ । – सं)

Leave a Reply

Your email address will not be published. Required fields are marked *