भर्खरै :

नेकपा (एमाले)का आलेमगरसँग मतदातालाई रकम बाँडेको विषयमा स्पष्टीकरण माग

काठमाडौँ, २२ कात्तिक (रासस) ः निर्वाचन आयोगले नेकपा (एमाले) का तर्फबाट डोटी जिल्लाको प्रतिनिधि सभा सदस्यका उम्मेदवार प्रेमबहादुर आलेमगरलाई २४ घण्टाभित्र स्पष्टीकारण पेश गर्न निर्देशन दिएको छ ।
निर्वाचन आचारसंहिता विपरीत मतदातालाई रकम बाँडेको भन्ने सूचनाका आधारमा आयोगले उम्मेदवारी रद्द किन गर्न नपर्ने हो भनी उम्मेदवार आलेमगरलाई २४ घण्टाभित्र आयोगमा स्पष्टीकरण पेश गर्न निर्देशन दिएको आयोगका सहायक प्रवक्ता मुकुन्द शर्माले जानकारी दिनुभयो ।
आयोगले सोधेको स्पष्टीकरणमा भनिएको छ – “प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका सन्दर्भमा निर्वाचन आचारसंहिता लागू भइरहेका अवस्थामा उम्मेदवारले मतदातालाई रकम बाँडेको विषय निर्वाचन आचारसंहिता विपरीत देखिएको हुँदा उक्त क्रियाकलापमा संलग्न भएबापत निर्वाचन आयोग ऐनअनुसार तपाईंको उम्मेदवारी रद्द किन गर्न नपर्ने हो ? पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्नूस् ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *