भर्खरै :

सन् २०२४ मा राष्ट्रपति पदमा पुनः लड्ने पुटिनको भनाइ

सन् २०२४ मा राष्ट्रपति पदमा पुनः लड्ने पुटिनको भनाइ

मस्को, २२ मङ्सिर (एएफपी) । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २०२४ को राष्ट्रपति निर्वाचनमा पुनः लड्ने शुक्रबार घोषणा गर्नुभएको छ । यसबाट उहाँलाई सत्तामा उहाँको दशकौँ पुरानो पकडलाई सन् २०३० को दशकसम्म बढाउने अनुमति प्राप्त हुनेछ ।
एकहत्तर वर्षीय पुटिनले यो शताब्दीको सुरुदेखि नै रुसको नेतृत्व गर्नुभएको छ । उहाँले चारवटा राष्ट्रपतीय निर्वाचन जित्नुभएको छ र करिब प्रतिपक्षी नै अस्तित्वहीन भएको प्रणालीमा केही समयका लागि प्रधानमन्त्रीको रूपमा सेवा गर्नुभएको छ ।
पुटिनले उक्त घोषणा सैनिकहरूका लागि आयोजित क्रेमलिनको कार्यक्रममा गर्नुभएको हो । कार्यक्रममा युक्रेनमा आक्रामक हमलामा लड्ने केही मानिस सहभागी थिए । गत वर्ष पुटिनले युक्रेनमा हमला गर्न आदेश दिनुभएको थियो ।
कार्यक्रममा उहाँले भन्नुभयो, “म रुसी सङ्घको राष्ट्रपति पदका लागि निर्वाचन लड्नेछु ।”
उहाँले एक रुसी सैन्य अधिकारी लेफ्टिनेन्ट कर्णेल अर्टोम जोगासँग कुराकानी गरिरहनुभएको थियो । जोगाले उहाँलाई निर्वाचनमा लड्न आग्रह गर्नुभएको थियो । जोगाले भन्नुभयो, “हामीलाई तपाईंको आवश्यकता छ, रुसलाई तपाईंको आवश्यकता छ ।”
विश्लेषकहरूका अनुसार पुटिनले पाँचौँ कार्यकालका लागि कुनै ठुलो चुनौतीको सामना गर्नुपर्ने छैन । उहाँले युक्रेन द्वन्द्वमा घरेलु असहमति लुकाउनको लागि सम्भव भएसम्म ठुलो जनादेश खोज्नुहुनेछ ।
सन् २०२० मा एक विवादास्पद संवैधानिक सुधारपछि उहाँ कम्तीमा पनि सन् २०३६ सम्म सत्तामा रहन सक्नुहुनेछ । अधिकार समूहहरूले अघिल्ला निर्वाचनहरूमा अनियमितता भएको भन्दै आगामी निर्वाचनमा स्वतन्त्र पर्यवेक्षकहरूलाई मतदानको अनुगमन गर्न रोकिने बताएका छन् ।
राष्ट्रपति पुटिनले नोभेम्बरमा सन् २०२४ को निर्वाचन कभर गर्नको लागि मिडिया नियमहरूलाई कडा बनाउनुभएको छ र केही स्वतन्त्र मिडिया आउटलेटलाई मतदान केन्द्रसम्मको पहुँचमा प्रतिबन्ध लगाउनुभएको छ । निर्वाचन आगामी मार्च १५ देखि १७ सम्म हुनेछ । क्रेमलिनका आलोचकहरूले पुटिनको उक्त कदमले पारदर्शिताको ग्यारेन्टीलाई अझ धेरै कठिन बनाउने बताएका छन् ।
क्रेमलिनले युक्रेनमाथि युद्धलाई समर्थन गर्ने सबै पाँच प्रमुख दललाई हस्ताक्षर सङ्कलनबिना सन् २०२४ को निर्वाचनका लागि उम्मेदवार प्रस्तुत गर्न अनुमति दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *