भर्खरै :

माओवादी र नेसपाबिच पार्टी एकता कि विलय ?

माओवादी र नेसपाबिच पार्टी एकता कि विलय ?

यतिखेर माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबिच पार्टी एकताको चर्चा छ । माओवादीका अध्यक्ष प्रचण्ड र समाजवादीका अध्यक्ष बाबुराम भट्टराई दुवै माओवादीका पूर्व नेताहरू हुन् । उनीहरूकै नेतृत्वमा २०५२ सालदेखि २०६२ सालसम्म नेपालमा सशस्त्र सङ्घर्ष भयो । त्यस क्रममा १७ हजार नेपालीले ज्यान गुमाए, हजारौँ अङ्गभङ्ग र सयौँ बेपत्ता भए तथा राज्यको खर्बाैँको सम्पत्ति क्षति भयो । सशस्त्र सङ्घर्षको बेला ती नेताहरूले नेपाली जनतालाई समाजवादको सपना देखाएका थिए । त्यही विश्वासमा नेपाली जनताका छोराछोरीहरू युद्धमा होमिन तयार भए । माओवादी शान्ति प्रक्रियामा आएदेखि अहिलेसम्म उनीहरू पटक पटक सरकारमा पुगे तर जनताले आशा गरेअनुसारको केही काम भएन । १७ वर्षको यो अवधिमा ४ पटक त माओवादी नेतृत्वमै सरकार बन्यो । अहिले पनि माओवादीकै नेतृत्वमा सरकार छ । तर जनताको हितमा कुनै पनि काम हुन नसक्दा स्वयम् माओवादीका नेता कार्यकर्ता निराश छन् ।
डा. बाबुराम भट्टराईले नेपालको संविधान घोषणापछि नै माओवादी त्याग गरे र नयाँ शक्ति पार्टी गठन गरे । उनले अब ‘माओवादीको औचित्य सकियो’ भनी माओवादीकै विरोध गरे । केही पछि नै नयाँ शक्ति पार्टी उपेन्द्र यादवसँग पार्टीबिच एकता गरी उनी जसपाको नेता बने । अहिले त्यसबाट अलग भएर नेपाल समाजवादी पार्टी गठन गरी त्यसको नेतृत्व गर्दै छन् । उनको अस्थिर चरित्रले कुनै पनि बेला रवि लामिछानेको नेतृत्वमा गठित ‘स्वतन्त्र’ पार्टीमा जान सक्ने धेरैको अनुमान थियो । पटकपटक जनतालाई धोका दिई आफ्नो राजनीतिक जीवन धरापमा परेका भट्टराईले ‘अस्तित्व’ जोगाउनकै लागि पनि आफ्नो पार्टी कसैसँग एकताको बहानामा विलय गराउनु जरुरी थियो । माओवादी नै उसको निम्ति सहज बाटो हो र त्यसैले पनि उनी माओवादीसँग पार्टी एकताको लागि पहल गर्दै छन् ।
माओवादी त्यागेर नयाँ शक्ति पार्टी गठनपछि उनले माओवादी अध्यक्ष प्रचण्डमाथि लगाएका आरोपहरू एकपटक हेरौँ ! उनले भनेका थिए, “बुढी गण्डकीमा प्रचण्ड, देउवा र ओलीले नौ अर्ब पैसा खाए । आवश्यक परे म प्रमाणित गर्नसक्छु ।”
“प्रचण्ड गणतन्त्रमा जान तयार थिएनन् । उनी संविधानसभाका विरोधी थिए ।”
उपर्युक्त भनाइहरू भट्टराईले सार्वजनिक मञ्च र सञ्चारमाध्यममा पटकपटक व्यक्त गरेका हुन् । अब प्रश्न उठ्छ, प्रचण्ड नौ अर्ब भ्रष्टाचार गर्ने भ्रष्टाचारी हुन् भने भ्रष्टाचारीसित पार्टी एकता गर्नु के आफू पनि भ्रष्टाचारीको साझेदार बन्नु होइन ? बाबुराम भट्टराईको सिद्धान्त, नीति र विचार के हो ?
कुनै बेला उनी नेमकिपालाई ‘गुठी’ को संज्ञा दिन्थे । विचार र सिद्धान्त राम्रो भएर के गर्ने सानो ठाउँमा सीमित र ‘सानो पार्टी’ भनेर हेला गर्थे । आफूलाई ‘महान्’ सिद्धान्तकार र अरूलाई मान्छे नगन्ने उनको स्वभाव थियो । माओवादीबाट पार्टी अलग भएर ८ वर्ष छुट्टै पार्टी चलाएपछि उनलाई थाहा भयो होला नि ! पार्टी सञ्चालन विदेशीको सहयोग लिएर, बैङ्क लुटेर, बन्दुक देखाएर अरूको सम्पत्ति लुटेर, पुँजीपतिहरूलाई थर्काएर करोडौँ ‘चन्दा’ असुल गरेर चलाए जस्तो सजिलो रहेनछ भनेर । त्यसैले त भट्टराईले प्रचण्डसामु आत्मसमर्पणको बाटो रोजेको हुनसक्छ ।
अघिल्लो निर्वाचनमा काङ्ग्रेसको मत पाएर बाबुरामले १ सीट जिते । पछिल्लो निर्वाचनमा त्यो पनि सुरक्षित गर्न नसक्ने देखेपछि गठनबन्धनका उम्मेदवार प्रचण्डलाई गोर्खा निर्वाचन क्षेत्र छोडेर ‘त्याग’ को नाटक गरे । उनको त्याग त सन्न्यासीले सारा सम्पत्ति त्याग गरेजस्तै भएन र ¤ जसको कुनै कार्यकर्ता नै छैन† सबै लाखापाखा लागिसके । उनले प्रचण्डलाई गोर्खामा सीट छोडेको बहानामा काठमाडौँमा अन्य पार्टीको समर्थन लिएर छोरी मानुषीलाई जिताउन चाहेको कसलाई थाहा छैन र ?
विदेशीद्वारा पालित पोषित भाडाका टट्टुहरूको हालत कस्तो हुन्छ भन्ने एक उदाहरण भट्टराई हुन् । उनले भारतको जेएनयुमा अध्ययन गरेको मात्रै होइन, राजनैतिक प्रशिक्षण पनि त्यहीँबाट लिएका हुन् । गणतन्त्र, धर्मनिरपेक्षता, सङ्घीयता कसको एजेन्डा थियो । अहिले झन्झन् प्रस्ट हुँदै छ । त्यो उद्देश्य पूरा गर्न नै माओवादीमा यति धेरै भारतले ‘लगानी’ गरेका रहेछन् भने जनताले बिस्तारै बुझ्दै छन् ।
उनी नेपालको अर्थमन्त्री हुँदा सुधारका के काम गरे ? प्रधानमन्त्री भएको बेला अन्य सरकारहरूले भन्दा फरक के गरे ? जनताले प्रश्न गरिरहेका छन् । ‘विदेशी लगानीको उद्योगहरूमा प्राकृतिक विपत्ति वा केही गरी क्षति भएमा सम्पूर्ण क्षतिपूर्ति नेपाल सरकारले गर्ने भनी भारतसँग देशघाती ‘बिप्पा सम्झौता’गर्ने उनी नै हुन् । उनकै पालमा नेपालको अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय सैनिक राखेर चेकजाँच गर्ने काम सुरु भएको हो । अब भट्टराईलाई नेपाली जनताले कसरी चिन्ने ?
ललिता निवास काण्डका नायकहरूमध्ये उनी पनि एक हुन् । उनी स्वयम्ले ‘ललिता निवासमा गल्ती भएकै हो छानबिनमा सहयोग गर्न तयार छु’ भनेका थिए । सबै प्रमाणले नक्कली मोही कायम गर्न मुख्य भूमिका खेल्ने उनी नै हुन् भनी प्रमाणित हुँदाहुँदै उनलाई पहुँचको आधारमा मुद्दा चलाइएन । उनी माओवादीको नेतृत्व गर्ने नेता भएर पनि कम्युनिस्ट व्यवस्था चाहँदैनन् । तर, पनि उनको पार्टीको नाम भने ‘समाजवादी’ राखेका छन् । यसैलाई भनिन्छ ‘जसको सिङ छैन उसको नाम तिखे’ ।
माओवादी अध्यक्ष प्रचण्ड पनि त्यस्तै पात्र हुन् । करिब १ वर्षअघि उनले ‘माओवादी केन्द्रबाहेक अब नेपालमा अरू कुनै माओवादी पार्टी छैन भनी घोषणा गरेका थिए ।
सशस्त्र सङ्घर्षको बेलाका माओवादी ४÷५ टुक्रामा विभाजनपछि प्रचण्डलाई आफ्नो अस्तित्व जोगाउनै मुस्किल पर्दै गयो । उनी कहिले एमालेसित मिलेर स्थानीय चुनाव लड्छन् र लगत्तै नेकासँग मिलेर संसद् र प्रदेशको चुनाव लड्छन् । राजनैतिक सिद्धान्त, नैतिकता, मूल्य र मान्यता एकातिर फालेर जे गरेर पनि केही स्थान बढी जित्नमै उनको ध्यान केन्द्रित हुन पुग्यो । कहिले नेकासँग मिलेर चुनाव लड्छन् तर सरकार एमालेसँग मिलेर बनाउँछन्, स्वार्थको लागि पुनः एमालेलाई धोका दिएर नेकासँगै गठबन्धन गर्न पुग्छन् । उनको चरित्र नेपालको राजनीतिमा अवसरवादको गतिलो उदाहरण बनेको छ । पार्टीको विचार, सिद्धान्तलाई त्याग गरेपछि मानिस र संस्था कहाँबाट कहाँ पुग्छ ? डेढ दशकको माओवादीको स्थितिले स्पष्ट पारेको छ ।
सशस्त्र सङ्घर्षको बेला ८० प्रतिशत नेपालको भूमि आफ्नो कब्जामा रहेको दाबी गर्ने, संविधानसभाको पहिलो निर्वाचनमा एक्लै लडेर पनि ५० प्रतिशत प्रत्यक्षतर्फ जित हासिल गर्न सक्ने क्षमता राख्ने माओवादी अहिले प्रचण्ड स्वयम् जित्न पनि सीट खोजेर हिँड्नुपर्ने अवस्थामा पुग्यो । प्रचण्ड स्वयम्ले तीन पटक सरकारको नेतृत्व गर्दा पार्टीको सिद्धान्तअनुसार कुनै काम गर्न सकेनन् । नेका, एमाले र राप्रपाले गरेकालाई उनले निरन्तरता मात्रै होइन त्यति पनि गर्न नसकेको आरोप माओवादीप्रति छ ।
का. रोहितले भन्नुभएजस्तै ‘विचार र सिद्धान्त त्याग्नु भनेको हिमालयमा चिप्लेटी खेल्नु सरह हो’, आज माओवादीको हकमा सही साबित भएको छ । अब कहिल्यै हिजोको माओवादीको रूपमा अगाडि बढ्न नसक्ने अवस्थामा माओवादी पुग्यो र विगतमा उसले बोकेको एजेन्डा र मूल्य मान्यता सब त्याग गरी फाइदा नै उनीहरूको राजनीतिको लक्ष्य बन्यो ।
भट्टराई र प्रचण्ड दुवैको लागि अहिले पार्टी एकता अपरिहार्य भएको छ । कुनै विचार र सिद्धान्तको आधारमा नभई दुवै नेताको अस्तित्व रक्षाको लागि पार्टी एकता उनीहरूको बाध्यता हो । यो एकता पनि ‘काँचो धागो जतिकै बलियो’ हुने निश्चित छ । किनभने यो एकता दुई नेताहरूको स्वार्थहरूको एकता हो । जहाँ स्वार्थ हुन्छ, त्यहाँ विवाद अवश्यम्भावी छ । माओवादी र एमालेबिच एकता पछि गठित नेकपाको अवस्था सबैले देखिसकेकै छन् ।
भट्टराई र प्रचण्डबिचको पार्टी एकताको चर्चासँगै दुईजना ठगहरूको कथा स्मरण गर्नु पनि सान्दर्भिक हुनेछ — ‘घ्यू बेचुवा र तरबार बेचुवा ।’ बजारमा दुईजना ठगहरू घुमिरहन्छन्, एकजनाको हातमा घ्यूको ठेकी र अर्कोको हातमा तरबार । दुईजना भेट हुनासाथ घ्यू बेचुवाले बहाना बनाउँछ — ‘के गर्ने एउटा तरबार किन्ने मन थियो तर मेरो घ्यू नबिकेर मात्रै हो ।’ तरबार बेचुवा मख्ख पर्छ र भन्छ ‘म पनि घ्यू खरिद गर्ने भनेर आएको तर तरबार बेच्न नसकेर घुम्दै छु ।’ दुवै जनाबिच कुराकानी हुन्छ र वस्तु साटासाट गर्ने सहमतिमा पुग्छ । मनमनै दुवै जना खुसी भएर घर जान्छन् । तरबार बेचुवाले घ्यू खोलेर हेर्छ, त्यसमा त घ्यू एक तह राखेर तल सबै पिँडालु राखेको पाउँछ । उता घ्यू बेचुवाले नक्कली तरबार देखेर पश्चाताप गर्छ । दुवैले अर्कोलाई ठग्न खोज्दा आफै ठगिएको पाउँछन् । प्रचण्ड र भट्टराईको एकता पनि यो कथामा झैँ एकले अर्कोलाई ठग्न खोज्दा पश्चाताप भएजस्तै हुने निश्चित छ ।
दुई पार्टीको एकता भएकै खण्डमा पनि त्यसले देश र जनताको निम्ति केही फाइदा गर्ने छैन । ‘कागलाई बेल पाक्यो हर्ष न बिस्मात्’ भनेझैँ अर्थहीन एकताको रूपमा सबैले देख्नुपर्ने छ । त्यसको लागि भने केही समय धैर्यताको मात्र आवश्यक पर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *