नवउदारवाद र बुद्धिजीवीहरू
- असार २९, २०८३
युद्धले केही पनि बाँकी राख्दैन । हजारौँ मानिसहरू मारिएका छन् । तिनका घरखेत भत्ताभुङ्ग छन् । खाना र पानीको स्रोत छैन । तिनीहरूले सास फेर्ने हावा पनि काम नलाग्ने भइसकेको छ ।
गाजाका प्यालेस्टिनी जनतामाथि भइरहेको जातीय हिंसाबारे खबरको बाढी लागेको छ । यी सूचनाहरूबाट जातिसंहार, वातावरण विनाश र युद्धको अन्तरसम्बन्ध केलाउन सकिन्छ ।
गाजाको विषाक्त सेरोफेरो
युद्धले वातावरणलाई विषाक्त पार्छ । सन् २००९ अप्रिलमा मानव अधिकारका लागि अरब आयोग र राष्ट्रसङ्घीय वातावरण कार्यक्रम (यूएनइपी) ले गाजा क्षेत्रबाट माटोको नमुना सङ्कलन गरेको थियो । जाँच गर्दा त्यसमा युरेनियम र फोस्फेटजस्ता रेडियोधर्मी विकिरण र क्यान्सर लगाउने तत्वहरू फेला परे । बमबारीले बिग्रेभत्केकै निर्माण सामग्रीको पुनः प्रयोग गरी भौतिक संरचना बनाउनु गाजापट्टीको यथार्थ रहिआएको छ ।
इजरायली सेनाको आक्रमणका कारण अल शिफा अस्पताल गत हप्ता बन्द भएको छ । सन् २०१३ मा गाजास्थित अल शिफा अस्पतालका क्यान्सर शाखा प्रमुखले इजरायलले सन् २००८–२००९ को युद्धमा युरेनियमको प्रयोग गरेको र त्यसले गर्दा पाँच वर्षभित्र क्यान्सर रोगीको सङ्ख्या दोब्बर हुने बताएका थिए । त्यो दूरावस्थालाई उनले ‘वातावरणीय विनाशलीला’ भनेका थिए ।
एक युरोपेली मानवअधिकारवादी संस्थाले जनाएअनुसार चालु युद्धमा इजरायलले दोस्रो विश्वयुद्धताका जापानको हिरोसिमामा खसालेको भन्दा दोब्बर बम गाजामाथि खसालिसकेको छ । विडम्बना के भने गाजा हिरोसिमाभन्दा आधा सानो छ र गाजाको जनसङ्ख्या २० लाखभन्दा बढी छ । इतिहासमै पहिलोचोटि लगातार र भारी मात्रामा बमबारी हुँदै छ । गाजा र दक्षिण लेबनानमा इजरायली सेनाले सेतो फोस्फोरस पनि प्रयोग गरेको छ ।
नोभेम्बर महिनामा मात्र इजरायली बमबारीका कारण दक्षिण लेबनानमा ४० हजार जैतुनका रुखमा डढेलो लाग्यो । गत महिनासम्ममा बाँझ, कागती र केराले हराभरा ३५ लाख वर्गमिटर भूमि तथा घाँसे मैदान, बुट्यान एवम् सांस्कृतिक, आध्यात्मिक अनि कृषिजन्य क्षेत्र नष्ट भयो ।
गाजा क्षेत्रको पिउने पानीको नियन्त्रणसमेत इजरायल सरकारको हातमा छ । यस विषयमा राष्ट्रसङ्घ एवम् एमनेस्टी इन्टरनेसनलजस्ता प्रमुख अन्तर्राष्ट्रिय सङ्घ संस्थाले इजरायलको निन्दा गरेका छन् र यसको दस्तावेजीकरण पनि गरेका छन् । अक्टोबर ७ अघि नै गाजामा उपलब्ध ९६ प्रतिशत पानी मानिसले पिउन अयोग्य भएको तथ्य बाहिर आइसकेको थियो ।
गत अक्टोबरमा इजरायलले पानीका सबै आपूर्ति लाइन थुन्यो । यसले गर्दा गाजाका तीनवटै जलप्रशोधन केन्द्र ठप्प भए । अहिले गाजावासीहरूलाई दक्षिण गाजातिर भाग्न भनिएको छ । त्यहाँका सबै इनार र ढल निकासी गर्ने पम्प स्टेसनहरू अहिले निष्क्रिय छन् । त्यसैले गाजावासीहरूसँग अब केवल दुई विकल्प छन् । पहिलो इजरायली सेनाको गोली लागेर मर्ने । दोस्रो रोग, भोक र प्यासले छट्पटिँदै मर्ने ।
वित्तीय सरोकार
बमबारी सुरु भएको तीन हप्तामै इजरायल सरकारले देशको सीमाबाहिर तेल र ग्यास उद्योग बढाउने योजनाको घोषणा ग¥यो । उसले ६ वटा कम्पनीलाई १२ वटा लाइसेन्स दिइसकेको छ । विस्तारित भूमिमा प्राकृतिक ग्यास खोज्ने ती ६ कम्पनीमध्ये बेलायतको बीपी कम्पनी पनि एक हो । इजरायली ऊर्जामन्त्री इजरायल कात्जले ‘ठेक्का हात पारेका कम्पनीहरूले अभूतपूर्व लगानीको वचन दिएको’ मा जनाए ।
यो घटना पहिलो भने होइन । गाजामा बमबारीको मौका पारेर यसअघि पनि इजरायलले विदेशी लगानीका निम्ति सम्झौताहरू गर्दै आएको छ । सन् २००८ मा गाजामाथि हमला गर्नुभन्दा केही महिनाअगाडि इजरायलले गाजाका केही तेल भन्डारमाथि आफ्नो ‘सार्वभौमिकता’ घोषणा गरेको थियो । त्यसलगत्तै इजरायलले प्राकृतिक ग्यासमा लगानी गर्नका लागि ‘ब्रिटिश ग्यास’ नामक कम्पनीसँग सम्झौता गर्न खोजेको थियो । ‘गाजापट्टीको नयाँ युद्धपछिको स्थिति’ मा कसरी जाने भन्ने विषयमा उनीहरूले योजना नै बनाएका थिए ।
छलफलमा ‘गाजा मेरिन’ को कुरा निस्कियो । यो गाजाको समुद्री किनार नजिकै पर्ने प्राकृतिक ग्यासको खानी हो । इजरायली नियन्त्रणमा रहेका अन्य तटीय खानीभन्दा यो खानी जमिनबाट धेरै नजिक छ । त्यसैले उत्खननका हिसाबले यो सबैभन्दा सस्तो छ । यसबाट करिब साढे ४ अर्ब डलर बराबर आम्दानी हुने अनुमान छ ।
व्यापार तथा विकासको लागि राष्ट्रसङ्घीय सभाले गरेको आकलनअनुसार समग्री लेभान्ट क्षेत्रभरि छरिएका तेल र प्राकृतिक ग्यासबाट ५२४ अर्ब डलरभन्दा आम्दानी गर्न सकिन्छ । सन् २०२२ मा युक्रेनमाथिको रुसी कारबाहीपछि विश्वमा ऊर्जा सङ्कट छायो । लगत्तै इजरायलले प्राकृतिक ग्यासको प्रमुख निर्यातकर्ता देशमा बन्ने मनसाय राख्यो । यसको लागि उसले युरोपेली युनियनसँग ऐतिहासिक सम्झौता ग¥यो । यसको लागि इजिप्ट बिचौलिया बन्ने भयो ।
२०२३ सेप्टेम्बरमा नेतन्याहुले राष्ट्रसङ्घको मुख्यालयमा एउटा भाषण दिए र त्यसमा उनले ‘नयाँ मध्यपूर्व’ को नक्सा देखाए । नक्सामा प्यालेस्टिनको नामनिसान मेटिएको थियो । परिकल्पित क्षेत्रबारे नेतन्याहुले भने :
“यो दूरदर्शी मार्ग अरब प्रायःद्वीपबाट इजरायलसम्म फैलिनेछ । यस मार्गका कारण समुद्री नाका चहार्नुपर्नेछैन र दुई अर्ब जनताको हितमा मालसामान, सञ्चार तथा ऊर्जाको मूल्य ह्वात्तै घट्नेछ । मेरो देशमा ऐतिहासिक परिवर्तन हुनेछ !”
युद्ध व्यापार
प्राकृतिक स्रोत दोहन गर्ने अर्को पक्ष प्रस्तावित बेन गुर्योन नहर हो । स्वेज नहरको विकल्पमा बताइने भनिएको बेन गुर्योन नहरको स्वामित्व र नियन्त्रण इजरायलको हातमा हुनेछ । प्रकारान्तरले त्यसको नियन्त्रण संरा अमेरिकाको हातमा हुनेछ । यो नहर १९६० को दशकमा गरिएको अध्ययनमा आधारित छ । त्यसबेला भूमध्यरेखा र अकाबा खाडी जोड्ने यो १६० माइल लामो नहर निर्माण गर्न आणविक विस्फोटहरू गरिने तय भएको थियो ।
आणविक विधि नअपनाउने भनिए पनि भूमि खनेर परम्परागतरूपमा नहर बनाउनु अत्यन्त महँगो साबित हुनेछ । तर, गाजापट्टी हुँदै सिधै नहर निर्माण गरेको खण्डमा लागत घट्न सक्छ । इजरायली विदेशमन्त्री नहर निर्माण गर्ने क्षेत्र कब्जा गर्ने योजना अघि सारिसकेका छन् । गाजालाई व्यापार मार्ग र जीवाश्म इन्धनको भण्डार बनाउने इजरायली योजनामा अवरोध बनेर उभिएका छन् २० लाखभन्दा बढी प्यालेस्टिनीहरू ।
जो बाइडेनका ऊर्जा सुरक्षा सल्लाहकार हुन् अमोस होस्टिन । गत साता इजरायल भ्रमण गरेर उनले गाजाको तटीय ग्यास खानीको विकासबारे छलफल गरे । यसको विकासले प्यालेस्टिनी अर्थतन्त्रले ‘नवजीवन’ पाउने दाबी गरे । इजरायल भने व्यापारिक अवसरबाट आफँै लाभ उठाउन चाहन्छ । ऊ प्यालेस्टिनीहरूले त्यसबाट फाइदा लिएको हेर्न चाहन्न । त्यसैले इजरायल सरकारले प्यालेस्टिनी जनतालाई आँखाको कसिङ्गर देख्दै छ ।
इजरायल जीवाश्म इन्धनको दोहन गर्न र सो इन्धनमा आधारित अर्थतन्त्र विस्तार गर्न आतुर छ । उसको यही आत्तुरी प्यालेस्टिनी जनताविरुद्धको इजरायली युद्धको वास्तविक कारण हो । यस युद्धबाट ऊ आफ्नो दीर्घकालीन अभीष्ट पूरा गर्न चाहन्छ । पर्यावरणको नै संहार गर्ने आफ्नो योजना पूरा गर्न इजरायल अहिले प्यालेस्टिनी जातिलाई संहार गर्दै छ । दुवैथरी संहारमा इजरायल प्रतिबद्ध छ ।
हामीले सम्पूर्ण सामाजिक र राजनीतिक नजीरमा चासो दिन जरुरी छ । विश्वमा एक यस्तो सरकार छ जसले दण्डको चिन्तै नगरी सबैखाले लक्ष्मणरेखा पार गर्दै छ । उसले घरबारी जलाउँदै छ, जैतुनका बोटमा डढेलो लगाउँदै छ, जोर्डन नदीलाई सुकाउँदै छ र जातीय विभाजन कोर्ने भौतिक पूर्वाधारहरू निर्माण गर्दै छ । यी कुकार्यले प्यालेस्टिन त नस्ट हुनेछ नै† प्यालेस्टिनसँगै पृथ्वीका जीवन्त बासिन्दाको रूपमा हामी सबैको पतन सुरु हुनेछ ।
स्रोत : ‘एमआर अनलाइन’ बाट ।
अनुवाद : सम्यक
Leave a Reply