भर्खरै :

लैङ्गिक हिंसाविरुद्ध कलेजमा अन्तरक्रिया कार्यक्रम

लैङ्गिक हिंसाविरुद्ध कलेजमा अन्तरक्रिया कार्यक्रम

भक्तपुर, २४ मङ्सिर । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसरमा वागीश्वरी कलेज, भक्तपुर नगरपालिका वडा नं. ९, भक्तपुर जिल्ला प्रहरी परिसर, भक्तपुर अस्पतालअन्र्तगत ओसीएमसी संस्थाको संयुक्त सहकार्यमा कमलविनायक, तुमचोस्थित वागीश्वरी कलेजको सभा हलमा विद्यार्थीहरूमाझ अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रमका संयोजक तथा भक्तपुर नगरपालिका वडा नं ९ का जनप्रतिनिधि इन्द्रबहादुर प्याठले विद्यार्थीहरूले यस्ता जनचेतनामूलक ज्ञान आफूसँगै अरुलाई पनि सचेत गराउनुपर्ने बताउनुभयो ।
भक्तपुर नगरपालिका कार्यपालिका सदस्य छोरीमैँया सुजखुले नेपालमा एक दशकभित्र करिब १ लाख ३३ हजार ८५६ वटा लैङ्गिक हिंसाको उजुरी दर्ता भएको तथ्याङ्क उल्लेख गर्दै महिला तथा बालबालिकामा आर्थिक, शिक्षाजस्ता जनचेतना जागेपछि केही हदसम्म सुधार भएको जानकारी दिनुभयो । उहाँले विभिन्न प्रलोभन देखाई महिला, बालबालिकालाई विभिन्न तवरको हिंसाबाट शिकार भएका उदाहरणहरू प्रस्तुत गर्दै विद्यार्थीहरू यस्तो प्रलोभन र गतिविधिबाट समयमै सचेत हुनुपर्ने बताउनुभयो ।
जिल्ला प्रहरी परिसर भक्तपुरका निरीक्षक शुकदेव पौडेलले अपराधरहित समाजको सुनिश्चितता, नेपाल प्रहरीको प्रतिबद्धता शीर्षकअन्तर्गत विद्यार्थीहरूमाझ लैङ्गिक हिंसाका प्रकार, यसका घटनाका अवस्था, कानुनी उपचार, चुनौती, सुझाव तथा विभिन्न लैङ्गिक हिंसासम्बन्धी जनचेतनामूलक प्रशिक्षण दिनुभयो । सामाजिक एवं वर्तमान समाजमा नयाँ प्रविधिको विकास सँगसँगै आपराधिक हिंसाका जटिल अवस्थाबारे निरीक्षक पौडेलले जानकारी दिनुभयो ।
कार्यक्रममा डा. सबनम श्रेष्ठले लैङ्गिक हिंसामा हुने गतिविधि, समाजमा हुने हिंसा र मानसिक अवस्थाले व्यक्तिलाई हुने स्वास्थ्य अवस्थाबारे जानकारी दिनुभयो भने वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठले वागीश्वरी कलेजमा करिब ७३ प्रतिशत विद्यार्थी महिला रहेको र यस कलेजमा यस्ता गतिविधि हुन नदिन आफूहरू सचेत रहेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *