नेपाल–भारत मैत्रीको एक उदाहरणः कोसी योजना
- कार्तिक १९, २०८३
भक्तपुर, १८ कार्तिक । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले रामेछापको मन्थली नगरपालिकाका नगर प्रमुख लव श्रेष्ठको नेतृत्वमा आएको टोलीलाई भादगाउँले टोपी र खादाद्वारा स्वागत गर्नुभयो ।
सो क्रममा प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले जनस्वास्थ्य सेवा केन्द्रलाई २०७७ सालदेखि ख्वप अस्पतालको रूपमा सञ्चालन गर्दै आएको जानकारी दिनुभयो । अस्पतालले वर्षको ३६५ दिन नै स्वास्थ्य सेवा प्रदान गर्दै आएको उल्लेख गर्दै उहाँले अस्पतालमा विभिन्न विशिष्टीकृत स्वास्थ्य सेवासमेत सञ्चालनमा रहेको बताउनुभयो ।
नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गतको रकम शोधभर्ना प्राप्त नभए पनि नागरिकको स्वास्थ्य सेवालाई प्राथमिकतामा राख्दै स्वास्थ्य बीमा सेवा निरन्तर सञ्चालन गरिरहेको उहाँले बताउनुभयो ।
ख्वप अस्पतालबाट सीटी स्क्यान सेवा सञ्चालन भइरहेको र एमआरआई सेवा सञ्चालन गर्ने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो ।
जनप्रतिनिधिहरू जहाँ रहे पनि आपसी समन्वयमा काम गर्नुपर्नेमा जोड दिँदै प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले स्वास्थ्यलाई प्राथमिकता दिई वडावडामा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालन गरिरहेको बताउनुभयो । नगरपालिकाले शिक्षा र स्वास्थ्य क्षेत्रमा उल्लेखनीय लगानी गर्दै आएको उहाँले बताउनुभयो ।
मन्थली नगरपालिकाका नगर प्रमुख लव श्रेष्ठले मन्थली नगरपालिकाले १५ शय्याको नगर अस्पताल सञ्चालन गरिरहेको जानकारी दिँदै पर्याप्त स्रोत र साधनको अभावमा सोचेजस्तो स्वास्थ्य सेवा प्रदान गर्न कठिनाइ भइरहेको बताउनुभयो । अस्पतालको सेवा तथा व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यले ख्वप अस्पतालको सञ्चालन र व्यवस्थापनबारे जानकारी लिन टोली भक्तपुर आएको उहाँले बताउनुभयो ।
ख्वप अस्पतालको व्यवस्थापन व्यवस्थित र प्रभावकारी लागेको उल्लेख गर्दै नगर प्रमुख श्रेष्ठले भक्तपुर नगरपालिकाले शिक्षा र स्वास्थ्य क्षेत्रमा गरेको काम नमुनायोग्य रहेको बताउनुभयो । स्थानीय तहबाट अस्पताल सञ्चालन गर्दा सेवा प्रवाहमा सहजता हुने अनुभव भएको उहाँको भनाइ थियो । मन्थली नपा आकारमा ठुलो भएकोले जनतालाई सहज सेवा दिन कठिनाइ भएको उहाँले बताउनुभयो ।
टोलीले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित कलेज तथा ख्वप अस्पतालको अवलोकन गरी त्यहाँबाट प्रदान हुँदै आएका सेवाबारे जानकारी लियो ।
टोलीमा मन्थली अस्पताल प्रमुख डा. केशव सिंह धामी, स्वास्थ्य शाखा प्रमुख केशवराज फुयाँल, प्रशासनको तर्फबाट बलबहादुर केसी, नवीन ढुङ्गेल (जिन्सी), सोहत सुवेदी (फार्मेसी), कौशलकुमार थापालगायतको उपस्थिति थियो ।
सो अवसरमा भक्तपुर नगरपालिकाका प्रमुख प्रजापतिले मन्थली नगरपालिकाको टोलीलाई नगरपालिकाका प्रकाशनहरू मायाको चिनोस्वरूप प्रदान गर्नुभयो ।
Leave a Reply