भर्खरै :

बाँच्न पाउने जन्मसिद्ध अधिकार नै मानव अधिकार

बाँच्न पाउने जन्मसिद्ध अधिकार नै मानव अधिकार

मानिसका आधारभूत स्वतन्त्रता, न्यायिक अधिकार एवं सामाजिक न्यायलाई सर्वव्यापी बनाउन अन्तर्राष्ट्रिय मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी भएदेखि विश्वमा मानव अधिकार दिवस मनाइरहेको छ । सन् १९४८ डिसेम्बर १० मा घोषणा भएको मानव अधिकार दिवसको चर्चा परिचर्चा भइरहेको यो समयमा विश्व आतङ्कित भइरहेको छ । विश्वका जनता सुरक्षित छैनन् । साम्राज्यवादी र विस्तारवादी देशहरूले विश्वका विभिन्न मुलुकमा आक्रमण गरेर नरसंहार गरिरहेका छन्, मानव अधिकार हनन गरिरहेका छन् । अमेरिकी प्रशासनको इसारा र सहयोगमा इजरायलले प्यालेस्टिनी जनतामा आक्रमण गरेर नरसंहार गरिरहेको छ; भवन र घरलाई खरानी पारिरहेको छ । रुस र युक्रेनको युद्ध पनि साम्राज्यवादी देश अमेरिकाकै कारण भएको हो ।
नेपालको संविधान २०७२ मा राष्ट्रिय मानव अधिकार आयोगको काम, कर्तव्य र अधिकार उल्लेख गरिएको छ । मानव अधिकारको सम्मान, संरक्षण, संवद्र्धन तथा त्यसको प्रभावकारी कार्यान्वयनलाई सुनिश्चित गर्नु राष्ट्रिय मानव अधिकार आयोगको कर्तव्य हुनेछ भनी संविधानमा लेखिएको छ । मानव अधिकार उल्लङ्घन गर्ने व्यक्ति वा संस्थाविरुद्ध मुद्दा चलाउनुपर्ने आवश्यकता भएमा कानुनबमोजिम अदालतमा मुद्दा दायर गर्ने आयोगले सिफारिस गर्नसक्नेछ । मानव अधिकार उल्लङ्घन गर्ने व्यक्ति वा संस्थाविरुद्ध मुद्दा चलाउनुपर्ने आवश्यक भएमा कानुनबमोजिम अदालतमा मुद्दा दायर गर्न सिफारिस गर्ने र मानव अधिकार उल्लङ्घका सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोगले गरेको सिफारिस वा निर्देशन पालन वा कार्यान्वयन नगर्ने पदाधिकारी, व्यक्ति वा निकायको नाउँमा मानव अधिकार उल्लङ्घनकर्ताको रूपमा अभिलेख राख्ने पनि आयोगको काम, कर्तव्य र अधिकारमा उल्लेख गरिएको छ ।
मानव अधिकार आयोगमा उल्लेख भएअनुसारको काम, कर्तव्य र अधिकार कति सदुपयोग भइरहेको छ या उल्लङ्घन भइरहेको छ ? सिंहावलोकन गर्नु आवश्यक छ । आयोगले आफ्नो जिम्मेवारी पूरा गरिरहेको छ कि छैन ? सरकारले मानव अधिकार उल्लङ्घन गर्नेहरूलाई सजाय गरिरहेको छ कि छैन ? यसतर्फ आयोग र सरकारको ध्यान जानु आवश्यक छ । मानव अधिकारको प्रत्याभूति दिलाउने काम संविधान या कुनै आयोगमा लेखेर हुने होइन । पीडितले न्याय पाउनुपर्छ, अनि मात्र मानव अधिकार उपयोग हुन्छ । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिकामा पठाउनु मानव अधिकार उल्लङ्घन हो । मानव बेचबिखन गर्नु र चेलीबेटी वेश्यालय पु¥याउनु मानव अधिकार उल्लङ्घन हो । निर्दोषले न्याय नपाउनु, पक्षपात गर्नु, भेद गर्नु पनि मानव अधिकार हनन हुनु हो । शान्तिपूर्ण जुलुस, सभामा हस्तक्षेप गर्नु, पक्राउ गर्नु पनि मानव अधिकार उल्लङ्घन हो ।
सारमा मानिसले स्वतन्त्रतापूर्वक बाँच्न पाउने जन्मसिद्ध अधिकार नै मानव अधिकार हो । बाँच्न पाउने अधिकारअन्तर्गत अभिव्यक्ति स्वतन्त्रता, सम्पत्तिको सुरक्षा, भेदभावरहित व्यवहार, खाद्य सुरक्षा, पढ्ने, डुल्ने, खेल्ने, मनोरञ्जन गर्ने आदि मानव अधिकारभित्र पर्दछ । सरकारले बेलाबखत शान्तिपूर्वक जुलुसमा लाठी प्रहार गरेर दमन गर्ने र पक्राउ गर्ने काम छोडेको छैन । पीडितले न्याय पाएका छैनन् । सोर्सफोर्सको आधारमा फैसला हुन्छ । पैसाको आधारमा न्याय अन्याय छुट्याइन्छ । मानव अधिकार आधारभूत स्वतन्त्रता हो; सुशासन हो र सद्भाव हो; जीवन सुनिश्चित गर्नु हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *