नवउदारवाद र बुद्धिजीवीहरू
- असार २९, २०८३
“म महिला तथा मानव अधिकारका कुरा गर्ने सङ्घसंस्थालाई सोध्न चाहन्छु : इजरायली महिलामाथि बलात्कार भएको, इजरायलीहरूमाथि बर्बर अत्याचार भएको, लैङ्गिक हिंसा भएको कुरा पक्कै पनि सुन्नुभएको होला, यति सुन्दा पनि केही नबोल्ने ? कुन कुनामा लुकेर बस्नुभएको छ ? सबै सभ्य नेता, सरकार र राष्ट्रले यी अत्याचारहरूबारे बोल्नुहुनेछ भन्ने मैले अपेक्षा लिएको छु ।”
यो हप्ता राष्ट्रसङ्घको एउटा बैठकमा इजरायलले अक्टोबर ७ को हमलाताका जघन्य बलात्कारहरू भएको विषय उठान ग¥यो । सोही सिलसिलामा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले यी कुरा बोलेका हुन् । उनका यति वाक्यले नै धेरैथोक बताउँछन् । उनले महिला तथा मानवअधिकार संस्थाहरूलाई अलग्याएर आलोचना गरे । इजरायली सरकार मानवअधिकारवादी संस्थाहरूमाथि खनिँदै आएको छ । किनभने, इजरायली सेनाले गाजाका सर्वसाधारणलाई सामूहिक दण्ड दिइरहेकोमा ती सङ्घसंस्थाले निन्दा गर्दै आएका छन् ।
सबै महिला तथा मानवअधिकार संस्थाले बलात्कार वा अन्य यौन हिंसाको निन्दा गर्छन् । कसैले पनि त्यस्ता दुष्कर्मको पक्ष लिएको मैले देखेको छैन । तसर्थ, नेतन्याहुको निन्दा गलत ठाउँमा परेको छ । उनले आफ्नै दुष्कर्म ढाकछोप गर्न खोज्दै छन् र दोषबाट पन्छिन खोज्दै छन् । अक्टोबर ७ मा जे भयो, त्यो थाहा पाउन अब असम्भव छ । तर, यस्तै अवस्थामा भएका यौन हिंसा वा बलात्कारका अन्य सन्दर्भ केलाउन सम्भव छ ।
अक्टोबर ७ को इजरायल हमलाका प्रत्यक्षदर्शीहरूले बलात्कारका कथा सुनाएका छन् र ती कारुणिक छन् । मारिनुअघि महिलाहरूको बलात्कार भएको, समातिएका महिला रगताम्य रहेको र तिनलाई निर्वस्त्र पारिएको प्रत्यक्षदर्शीहरूले बताए । साथै, घटनामा परेकामध्ये केही विक्षिप्त भएको देखिन्छ ।
यस्ता कार्यलाई उचित ठह¥याउन सकिन्न । तर, दुःखको कुरा युद्धको बेला यस्ता घटना भइरहेका हुन्छन् । अमेरिकी महिलावादी सुजान ब्राउनमिलरले यस विषयमा सन् १९७५ मा एउटा ऐतिहासिक पुस्तक लेखिन् । पुस्तकको नाम थियो ‘हाम्रो चाहनाबेगर’ । पुस्तकमा उनले बलात्कार र यौन हिंसा युद्धको महत्वपूर्ण हत्कण्डा रहने गरेको औँल्याएकी छिन् । खासगरी महिला जमातलाई शोषण गर्न र समाजको अन्य तहलाई तर्साउने कार्यमा बलात्कार र यौन हिंसा हत्कण्डा हुने गरेका छन् । दोस्रो विश्वयुद्धताका नाजीहरूले रुस र पूर्वी युरोपेली देशहरूमा यहुदी तथा गैरयहुदी गरी सबै जातिविरुद्ध यिनै हत्कण्डाको प्रयोग गरेका थिए ।
भियतनाम युद्धको बेला अमेरिकी सेनाले भियतनामी महिलाहरूको बलात्कार गरेका असङ्ख्य उदाहरण छन् । यीमध्ये धेरै बलात्कार सामूहिक थिए । सन् १९७१ को युद्धमा पश्चिम पाकिस्तान वा बङ्गलादेशमा झन्डै ४ लाख महिलाको बलात्कार भएको अनुमान छ । बलात्कार हुनेहरूमा धेरै मुसलमान महिला छन् भने केही हिन्दू र शिख महिलाको पनि बलात्कार भएको थियो ।
हाल आएर इराकी र अफगानी महिलाहरूलाई पनि हमलाकारी सेनाले बलात्कार गरेको पत्ता लागेको छ । अमेरिकी सेनाले कुख्यात अबु घारेब कारागारमा राखेका इराकी बन्दीहरूलाई भयावह यातना दिएको र उनीहरूमाथि यौन हिंसा गरेको हामीलाई थाहा छ ।
बलात्कार युद्धको अभिन्न पाटो हो भनी साबित गर्ने प्रचुर प्रमाण पाइन्छ । युद्ध पुँजीवादी सामाजिक सम्बन्धको चरम र क्रूरतम रूप हो भन्ने हो भने बलात्कार पुँजीवादी समाजको यौन सम्बन्धको सबैभन्दा चरम र क्रूरतम रूप हो । महिलालाई एक हदसम्म समाजको अधिनस्थ वा तल्लो दर्जाको सदस्यको रूपमा हेर्नाले उनीहरूमाथि हिंसा गर्ने कुकार्यले बल पाउँछ । महिलालाई पुरुषको सम्पत्तिको रूपमा हेर्नाले पुरुष जमातलाई चोट पु¥याउनु छ भने ‘तिनको सम्पत्ति’ लाई चोट पु¥याउनु उचित हो भन्ने कुत्सित सोच जन्मिन सक्छ ।
युद्धको बेला पीडितहरूलाई अमानवीयकरण गर्ने वा राक्षसको रूपमा हेर्ने माहोल बन्छ । युद्धमा ‘सामान्य अवस्था’ का नियमहरू लागु हुँदैनन् । यसप्रकार मार्नु, लुट्नु र बलात्कार गर्नुलाई उचित ठह¥याइन्छ ।
विविध कारणवस अक्टोबर ७ मा कुन हदसम्म बलात्कार भएको थियो भनी जान्ने उपाय छैन । यद्यपि, इजरायली सरकार र सेनाका केही दाबी सुन्दा त्यो दिनको स्थिति चिन्ताजनक थियो । तर, पछि ती दाबीहरू झूटा साबित भए । यद्यपि, बलात्कार भएको हुनसक्ने सम्भावनाप्रति भने हामीले आँखा चिम्लिनु हुँदैन ।
इजरायलमाथिको हमलालाई केही पृष्ठभूमि राखेर हेर्नु महत्वपूर्ण छ । इजरायली समाज अत्यन्त द्वन्द्वग्रस्त र हिंसात्मक समाज हो । एक राज्यको रूपमा इजरायल बस्ती बसालेर उपनिवेश थोपर्ने चरम सैन्यकृत राज्य हो । यसले प्यालेस्टिनी जनताको राष्ट्रिय मुक्तिको आकाङ्क्षाको घाँटी थिचिरहेको छ । यो कति जातिभेदी छ भने जीवनको प्रत्येक पाटोमा इजरायली दमनको बुट बज्रेको सुन्न सकिन्छ । अतिक्रमित प्यालेस्टिनको यथार्थ अति कठोर छ । गाजा क्षेत्र इजरायली बमबारी हुनुभन्दा अगाडि नै खुला कैदखाना जस्तो थियो । झन्डै दुई दशकदेखि त्यहाँ इजरायली नाकाबन्दी छ । पश्चिम किनारामा इजरायली सेनाको हैकम छ । त्यहाँका प्यालेस्टिनी बासिन्दाहरू इजरायली बस्तीवासीहरूको हिंसाले आक्रान्त छन् । इजरायली सेना र बस्तीवासीहरू प्यालेस्टिनीहरूलाई खेद्ने उद्देश्यले उनीहरूमाथि अत्याचार गरिरहन्छन् ।
प्यालेस्टिनीहरूप्रतिको इजरायल सरकारको हिंसाको सीमा छैन । उसले सामूहिकरूपमा बिनाकसुर बगालका बगाल प्यालेस्टिनीहरूलाई कारागारमा थुन्दै आएको छ । बन्दीहरूमाथि यौन दुराचार र बलात्कार गरेको धेरै आरोप इजरायलमाथि लाग्ने गरेका छन् । इजरायली जेलमा बालबालिकामाथि अत्याचार गरिन्छ† हेब्रोन सहरमा महिलाहरूलाई नाङ्गै पारेर अपमानित गरियो । महिला बन्दीहरूले आफूमाथि यौन हिंसा र दुराचार गरिएको आरोप लगाउनु सामान्य खबर हो । यी कुनै नौला घटना होइनन् । सन् १९४८ मा इजरायली सेनाले ‘नक्बा’ वा मारकाट मच्चायो । कब्जाकारी सेनाले प्यालेस्टिनीहरूको घरखेत उजाड्यो, प्यालेस्टिनी महिलाहरूलाई बलात्कार ग¥यो । ‘साफसाफ हत्याकाण्ड’ एउटा उदाहरण हो । त्यहाँ इजरायली सैनिकले पुरुषहरूलाई पछाडि फर्किन लगाएर गोली ठोकेका थिए भने महिलाहरूलाई बलात्कार गरेका थिए ।
बलात्कार र यौन हिंसालाई कसैले उचित ठह¥याउनुहुन्न । तर, यो नियम सबैलाई लागु हुनुपर्छ । यो नैतिक नियमलाई देखाएर नेतन्याहुजस्ता व्यक्तिहरूले आफ्ना अत्याचारहरूमाथि पर्दा हाल्ने कार्य गर्न पाइन्न । बेलायती र अमेरिकी सरकारको आडभरोसामा इजरायली सेनाले गाजामा निन्दनीय अत्याचार गर्दै छ । महिला अधिकार र ‘मानवीय हस्तक्षेप’ को निहुँ झिकेर नेतन्याहु र उनका मित्रहरूले धेरैचोटि आफूले गर्ने अमानवीय युद्धप्रति सहानुभूति बटुल्दै आएका छन् । संरा अमेरिकाले कुनै बेला ‘आतङ्कवादविरुद्ध युद्ध’ चलाएको थियो । महिला र मानव अधिकारकै निहुँमा (महिला भनेर के गर्ने ?) हिलारी क्लिन्टन र टोनी ब्लेयरकी पत्नी चेरी ब्लेयरले अफगानिस्तान र इराक युद्धको पैरवी गरेका थिए । जब कि अफगानी र इराकी महिलाहरूको निम्ति ती युद्धहरू नारकीय विपत्तिका कारण बनेका थिए । आज नेतन्याहु पनि त्यही लाइनमा छन् । महिला तथा मानवअधिकारका मुद्दालाई नेतन्याहुले हतियार बनाउन मिल्दैन । हामीले उनलाई त्यो मौका दिनुहुन्न ।
(लिन्डसे गेर्मान बेलायती इतिहासकै सबैभन्दा ठुलो प्रदर्शन र जनआन्दोलन ‘युद्ध साँठगाँठ बन्द गर’ की एक प्रमुख सङ्गठक र नेता हुन् । उनी ‘मालः महिला, पुरुष र काम’, ‘यौन, वर्ग र समाजवाद’, ‘लन्डनको लोक इतिहास’ र ‘सयौँ वर्षको युद्धले कसरी महिलाको जीवन फेरिदियो’ जस्ता पुस्तककी लेखिका पनि हुन् ।)
स्रोत : एमआर अनलाइन
अनुवाद : गणेश
Leave a Reply