भर्खरै :

जीवन जस्तो जीवन

जीवन जस्तो जीवन

हो ठीक भन्यौ तिमीले
जीवन यस्तो पनि हुन्छ र ?
सँगै खेल्दै गरेको साथीको
विभत्स हत्यापछि
मुस्किलले जोगिएको ज्यान जोगाउन
भाग्दै गरेको तिमीले गरेको यो जीवनबोध
हजार वर्षको तपस्यापछि
तपस्वीले गरेको जीवनबोधभन्दा
गहिरो छ ।

आकाशमा बादलभन्दा बाक्लो
भय मडारिरहेको
जमिनमा पानीभन्दा सस्तो रगत बगिरहेको
मनमा आशाभन्दा बलियो शोकका धुन गुञ्जिरहेको
आँखामा निद्राभन्दा गहिरो
आँसु बगिरहेको जीवन पनि कहीँ जीवन हुन्छ र ?

अन्तिम श्वास जोगाउन तिमी
मृत्युसँग भाग्दै गर्दा
त्यहीँ कतै तिम्री आमा
चिन्न नसकिने गरी क्षतविक्षत भइन्
तिमीलाई थाहा छैन ।
तिमी भाग्दाभाग्दै
मोडिएको गल्लीमा तिम्री बहिनी
भग्नावशेषमुनि अन्तिम थोपा पानी माग्दैै थिइन्,
बमबारीको आवाजमा तिमीले कसरी सुन्नु ।

मानिसहरू तिम्रो भाइको लास बोकेर
मिसाइल खस्दै गरेको आकाशमा
आशाको याचना गर्दै
चिच्याइरहेका छन्, अल्लाह हो अकबर ।
तिमी भागिरह्यौ, भागिरह्यौ ।

जीवनदेखि भाग्दा भाग्दै
नियतिसँग भाग्दा भाग्दै
सपनाहरूको भारी बोकेर भाग्दा भाग्दै
तिमी पनि अर्को मिसाइलको शिकार हुनेछौ,
तिम्रो न गन्ती हुनेछ, न कुनै हिसाब नै ।
हो, तिमीले ठीक भन्यौ,
यस्तो पनि कहीँ जीवन हुन्छ र ।

किन बाँच्न पाएनौ तिमीले
जीवनजस्तो जीवन ?
किन तिम्रा पाइलाहरू
जीवनदेखि भाग्नकै लागि मात्र चालियो ?
किन तिम्रो आकाशबाट पानीभन्दा बढी
मिसाइल बर्सिन्छ ?
तिम्रो बाँच्न पाउने हक
कुन दरबारले खोस्दै छ ?
जीवनजस्तो जीवन बाँच्न तिमीलाई
कुन मुकुटले छेक्दै छ ?

मलाई अब मेरो कवितालाई
कलात्मक बनाउनु छैन
अनि बिम्ब र प्रतीक भन्दै
गाजाको विभत्सता छोप्नु छैन ।
गाजाका हरेक तस्वीर
आज मलाई कला नभएको कविताजस्तो लाग्दै छ
गाजाका ध्वस्त भवन
जीवनहीन कलाजस्तो लाग्दै छ ।
त्यसकारण
कलाले पूर्ण भावार्थ होइन
म जीवन भएको कविता लेख्न चाहन्छु र
भन्न चाहन्छु
तिमीलाई जीवनजस्तो जीवन बाँच्न नदिने
ती इजरायली पाशविकहरू हुन्
अमेरिकी नरभक्षी हुन्
पश्चिमा असभ्य जङ्गलीहरू हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *