भर्खरै :

लघुकथा/धागोमा झुन्डिएको जीवन

स्कूलबाट फर्केका रुबिनाले झोला कोठाको खातमा राख्दै चिया खाइरहेका बुबा रमेशलाई सोधिन्, “बुबा ! आतङ्कवादी भनेकाहरू मान्छे नै त हो नि । होइन र बुबा ?”
“मान्छे नै त हो नि । किन चाह्यो तिमीलाई ? जाऊ पोशाक फुकालेर खाजा खाऊ अनि गृहकार्य गर ।” बच्चादेखि यस्तो कुरा गर्नु ठीक नभएको सोची रमेशले भन्यो ।
“बुबा ! के आतङ्कवादीहरूमा माया, दया र मानवता भन्ने नै हुँदैन कि के हो ? इजरायलीहरूले प्यालेस्टिनहरूलाई पूरै सखाप पार्ने हिसाबले नरसंहार गर्दै छन् । किन त्यसरी मान्छे मारेको ?” छोरीको भाबुक प्रश्नले रमेशलाई एकछिन सोच्न बाध्य बनायो । हुन पनि हो, इजरायलीहरूले नर संहार गर्दै छन् । बालबच्चा, महिला र वृद्धवृद्धाहरू सत्र अठार हजारभन्दा बढी मानिसहरू बमबारी गरेर मारिएका छन्, सहर बस्ती ध्वस्त भएका छन् । बम खसालेर अस्पताल ध्वस्त भएका छन् । पानी, बत्ती बन्द गरेर अनि खाद्यान्नको अभाव पारेर मान्छेलाई जिउँदै मार्न खोजिएको छ । १८ लाखभन्दा बढी मानिसहरू ज्यान जोगाउन बासस्थान छोडेर शरणार्थी भई हिँडेका छन् । त्यसरी नरसंहार गरेर प्यालेस्टिनहरूलाई सखाप पार्न खोज्नु पक्कै पनि अपराध हो । अपराधीहरूसँग माया दया हुँदैन भन्ने सम्झेर रमेशले भन्यो, “छोरी ! आतङ्कवादीहरूमा खोइ कसरी माया, दया र मानवता छ भन्ने ? अझ साम्राज्यवादी, हतियार र बन्दुकको भाषा बोल्नेहरूसँग माया र दया हुँदैन भन्ने गर्दथे । सायद त्यही भएर हो कि तिनीहरूले मान्छे मारिरहेको !”
छोरी आएको थाहा पाएर खाजा बनाएर ल्याएकी रमेशको जहानले बाबु छोरीको कुरा सुनेर भनिन्, “अरु कुरा गर्नुस् । मलाई त्यो राक्षस इजरायलीहरूको कुरा नगर्नुस् है । ती अत्याचारीहरूको नामै सुन्न सक्तिनँ म । हिजो तपाईँ थिएन, म टीभीमा समाचार हेर्दै थिएँ, मैले त समाचार नै हेर्न सकिनँ ती राक्षसहरूको नरसंहार देखेर । घरघरमा गएर मान्छे मारेको मात्र होइन, बमबारी गरेर सहर बस्ती ध्वस्त पारेका छन् । घरबारबिहीन भएर मानिसहरू रुँदै सराप्दै थिए । कोही भत्केको भग्नावशेषबाट लासहरू र घाइते मानिसहरू खोज्दै निकाल्दै थिए त कोही लास बोकेर चिहान घाटतिर लग्दै थिए । घाइते बालबच्चाहरू आमा भन्दै रोएको चिच्याएको हेर्न नै सकिनँ मैले । कति बिजोग छ प्यालेस्टिनीहरूको । तिनीहरूलाई हतियार दिएर मार्न लगाउने अमेरिका भनेको थाहा पाएपछि मलाई पहिले एमसीसी ल्याएर के फरक पर्ला भनेर सोचेको थिएँ । अहिले ती अमेरिकी भनेपछि सा¥है रिस उठ्छ । कहीँकतै तिनीहरूको विरोधमा जुलुस हुने थाहा भए म पनि प्लेकार्ड बोकेर ‘साम्राज्यवाद मुर्दावाद !’ भन्दै जान मन लागिसकेको छ ।”
इजरायल र अमेरिकीहरूप्रति आफ्नो आमाको आक्रोश देखेर रुबिनालाई पनि केही कुरा थप्न मन लाग्यो र भनी, “ममीले थाहा पाउनु भयो कि भएन इजरायलीहरूले बालबच्चा र महिलाहरू मात्र दस हजारभन्दा बढी मारिसकेको भनेका छन् हाम्रो सरले । यूएन भन्ने संस्थाले समेत गाजामा रहेका दस लाख बालबालिकाको जीवन धागोमा झुन्डिएका छन् भनेका छन् । युद्धले गर्दा बालबच्चाहरूको जीवन कति खतरामा छन् भन्ने प्रस्ट छ । विश्वले युद्ध रोक्न भने पनि इजरायलले रोकेको छैन । इजरायलीहरू बालबच्चा र महिलाहरूलाई मार्न बढी केन्द्रित छन् भनेका छन् । बाबा यो बच्चाहरूलाई समेत नछोड्नुको कारण के होला ?”
“बालबच्चाहरू भनेका भविष्यमा ती साम्राज्यवादी र आतङ्कवादीहरूको विरोधमा लड्ने योद्धा हुन् । एक थोपा रगत हुञ्जेलसम्म प्यालेस्टिनीहरूले बदला नलिई छाडने छैनन् । किनकि, यो युद्ध आजको युद्ध होइन । एक दुई पुस्ताअगाडि देखिको युद्ध हो । हजारौँ प्यालेस्टिनीहरूले आफ्नो देश र आफ्नो स्वतन्त्रताको निमित्त रगत बगाइसकेका छन् । त्यहीँ डरले पनि बालबच्चाहरूलाई बढी लक्षित गर्दै छन् इजरायलीहरू । भैगो, यो कुरा छोड ! खाजा खाऊ, अनि गृहकार्य गर । म पनि एकछिन बाहिर गएर आउँछु,” भन्दै रमेश कोठाबाट निस्के । रुबिनाले पनि खाजा खान आमालाई सोधी, “ममी ! आज के खाजा बनाउनुभएको छ ?”

Leave a Reply

Your email address will not be published. Required fields are marked *