भर्खरै :

अर्जेन्टिनामा अति दक्षिणपन्थी बाहिरी व्यक्ति कसरी सत्तामा पुग्यो ? उनको कट्टरपन्थी प्रशासनको सम्भावना के हो ?

  • पुष २, २०८०
  • अर्जेन्टिनामा अति दक्षिणपन्थी बाहिरी व्यक्ति कसरी सत्तामा पुग्यो ? उनको कट्टरपन्थी प्रशासनको सम्भावना के हो ?
  • अन्तर्राष्ट्रिय विचार विशेष
अर्जेन्टिनामा अति दक्षिणपन्थी बाहिरी व्यक्ति कसरी सत्तामा पुग्यो ? उनको कट्टरपन्थी प्रशासनको सम्भावना के हो ?

xकेबल तीन वर्षमा एक विलक्षण उदारवादी अर्थशास्त्री र टीभी टक शोहरूमा नियमित सहभागी हाभियर मिलेइ एउटा राजनीतिक पार्टी बनाउन र अर्जेन्टिनाको राष्ट्रपति बन्न सफल भए । राष्ट्रपति निर्वाचनको दोस्रो चरणमा उनले आफ्ना पेरोनिस्ट (पेरोनवादी) प्रतिद्वन्द्वी सर्जियो मासालाई हराए । मासा चुनावको समयमा अर्थमन्त्री थिए, मतदानमा पूर्वअनुमान गरेको भन्दा धेरै ठुलो अन्तर (५५.७ प्रतिशत र ४४.३ प्रतिशत) ले मासा पराजित भए । मिलेइको जीत यति प्रशंसनीय रह्यो कि उनले पहिलो चरणमा आफ्नो प्रतिद्वन्द्वीले अग्रता लिएका ऐतिहासिक पेरोनिस्ट (पेरोनवादी) क्षेत्रहरूसहित २४ मध्ये २१ प्रान्तमा जीत हासिल गरे ।
मिलेइको अभियान कट्टरपन्थी दक्षिणपन्थी राजनीतिक र आर्थिक विचारमा आधारित थियो । उनको अनुदार कार्यक्रममा अर्जेन्टिनाको केन्द्रीय बैङ्क र सरकारी अनुदानको अन्त्य, अर्थतन्त्रको डलराइजेसन र स्वास्थ्य सेवा र शिक्षा प्रणालीको निजीकरण आदि समावेश थियो । राजनीतिकरूपमा उनले बन्दुकको स्वामित्वको नियमन, मानव अङ्गहरूको लागि बजारको सिर्जना र १९७० को दशकमा सैन्य सरकारको मानव अधिकार उल्लङ्घनलाई कम सजाय गर्ने प्रस्ताव गरे । आफ्नो अभियानको क्रममा उनले धेरै असाधारण, उच्च–प्रभावपूर्ण स्टन्ट (प्रचार) हरूमा पनि संलग्न भए । जस्तै आफ्ना विरोधीहरूलाई रचनात्मक अपमान गर्ने, पोपलाई ‘पृथ्वीमा दुष्टको प्रतिनिधि’ भनेर सम्बोधन गर्ने र सार्वजनिक ¥यालीहरूमा चेनसा हल्लाउने आदि ।
त्यसो भए उनी कसरी निर्वाचित हुन सफल भए ?
उनको अप्रत्याशित चुनावी सफलताको व्याख्या गर्न मद्दत गर्ने पहिलो कारक भनेको दीर्घकालीन आर्थिक स्थिरता प्राप्तिमा व्यापक निराशा हो । लगातार गहिरो आर्थिक कठिनाइको एक दशकपछि, अर्जेन्टिनाको अघिल्लो सरकारको पालामा लगभग ४० प्रतिशत जनसङ्ख्या गरिबीमा बाँचिरहेको थियो र वार्षिक मुद्रास्फीति दर १४२ प्रतिशतका साथ चुनावी प्रक्रियामा प्रवेश गरेको थियो । यसले अघिल्लो राजनीतिक अनुभव नभएको मिलेइलाई आफ्नो कुलीनविरोधी र उदारवादी प्रवचनको लागि परिचित तथा मतदाताहरूका माझमा आकर्षक बनायो ।
कोभिड–१९ महामारी र भाइरसको फैलावट रोक्न लागू गरिएको तालाबन्दीले सामाजिक असन्तुष्टिलाई गहिरो बनायो र मिलेइको ‘उदारता’ समर्थक बयानलाई समाजका ठुला भागले आह्वानका रूपमा सुने र उनको सत्तामा उदय भयो । उनको विघटनकारी बयानबाजी, अनगिन्ती टीभी उपस्थितिहरू, सार्वजनिक वार्ताहरू र युटयुब भिडियोहरूको माध्यमले प्रचारद्वारा उनलाई युवा पुरुषहरूका बिचमा एउटा कल्ट फिगर (अग्लो व्यक्तित्व) मा परिणत गरियो र उनलाई २०२१ मा काङ्ग्रेस (संसद््) मा निर्वाचित गराइयो ।

हाभियर मिलेइ

यस अवधिमा आर्थिक स्थितिको कच्चा गिरावटले राजनीतिक आस्था र मूल्यको पर्वाह नगरी मानिसहरूलाई परिवर्तनको लागि बाध्य बनायो र उनीहरूलाई मूलधारका राजनीतिज्ञहरूको विरुद्धमा पु¥यायो । यही कारणले गर्दा पनि जब मासाको प्रदर्शनले अन्तिम राष्ट्रपतीय बहसमा मिलेइलाई पराजित गर्न सकेन बरु मानिसहरूले यसलाई ‘पेशेवर राजनीतिज्ञ’ द्वारा ‘शौकिया’ को धम्कीको रूपमा नकारात्मकरूपमा बुझे ।
मिलेइलाई सत्तामा आउन सम्भव गराउने दोस्रो कारक देशमा पेरोनवादीविरोधी भावनाको प्रभावकारी उपयोग थियो । पेरोनवादी आन्दोलनको मुख्य शाखा न्यायवादी पार्टी, १९८३ मा अर्जेन्टिनामा प्रजातन्त्रको पुनःस्थापना भएको ४० मध्ये २७ वर्षसम्म सत्तामा रह्यो । वामपन्थी र दक्षिणपन्थी दुवै विपक्षी दलहरूले मुख्य रूपमा पेरोनवादी पार्टीलाई दोष दिन्छन् । गहिरो हुँदै गइरहेको राजनीतिक भ्रष्टाचार, बिग्रँदै गएको सार्वजनिक स्वास्थ्य र शिक्षा प्रणाली र सामान्य ‘राष्ट्रिय क्षय’ धेरैले बुझेका छन् । देशमा वामपन्थी, प्रगतिशील एजेन्डाको मुख्य प्रतिनिधिका रूपमा धेरैले हेरेका पेरोनवादी पूर्वराष्ट्रपति क्रिस्टिना फर्नान्डेज डे किर्चनरप्रति सार्वजनिक वैमनस्य विशेषगरी गम्भीर भएको छ ।
मिलेइले आफ्नो राष्ट्रपतिको चुनावी अभियानमा यसको कुशलतापूर्वक फाइदा उठाए । उनी र उनका समर्थकहरूले मासालाई ‘किर्चनेरिस्टा’ भनेर लेबल लगाए, जसको अर्थ उनी पूर्वराष्ट्रपति र उनका पति नेस्टर किर्चनरलाई मूर्त रूप दिन आएका जस्टिसलिस्ट (न्यायवादी) पार्टीको बढी कट्टरपन्थी भागसँग सम्बन्धित छन् । किर्चनरहरूभन्दा बढी केन्द्रवादी स्थिति धारण गरेको र एक दशकभन्दा बढीको लागि उनीहरूको गुटको कडा प्रतिद्वन्द्वी भए तापनि मासाले त्यो लेबलबाट छुटकारा पाउन सकेनन् । चुनावको नतिजाले ब्राजिलको २०१८ को चुनावलाई प्रतिबिम्बित ग¥यो, जब जायर बोल्सोनारोले फर्नान्डो हडाडलाई हराए । दुवै अवस्थामा उम्मेदवारहरू दोस्रो चरणमा पुग्न नसकेका राजनीतिक दलहरूलाई समर्थन गर्ने अधिकांश मतदाताहरूले मिलेइ (वा बोल्सोनारो) ले उत्प्रेरित गरेको ‘डर’ मा ‘परिवर्तन’ लाई विशेष महत्व दिए ।
मिलेइको चुनावी सफलताको तेस्रो निर्धारक चुनावको दोस्रो चरणमा पूर्वराष्ट्रपति माउरिसियो म्याक्रीले उनलाई दिएको समर्थन थियो । म्याक्री अर्जेन्टिनाको राजनीतिमा प्रमुख खेलाडी हुन् र पेरोनवादीको विरोध गर्ने सबैभन्दा महत्वपूर्ण गठबन्धन जुनटोस पोर एल क्याम्बियोका संस्थापक हुन् । मासा सुरुदेखि नै किर्चनेरिस्मो (किर्चनर समर्थक) का भएकाले जुनटोसका विपक्षी थिए र कुनै पनि हालतमा म्याक्रीको स्वाभाविक सहयोगी थिएनन् । आम चुनावमा जुनटोस उम्मेदवारको हारपछि म्याक्रीले आफ्ना सहयोगीहरूसँग परामर्श नगरी मिलेइलाई खुलेर समर्थन गरे ।

क्रिस्टिना फर्नान्डेज डे किर्चनर

मिलेइको चुनावी सफलताका लागि दुईवटा कारणले म्याक्रीको समर्थन आवश्यक थियो । एउटा, यसले मिलेइलाई आफ्नो अभियानको कथालाई सरल बनाउन र जनतालाई उनी र मासाबिचको छनोट वास्तवमा ‘स्वतन्त्रता र किर्चनेरिज्म’ बिचको छनोट हो भनेर बताउन मद्दत ग¥यो । दुई, आर्थिक सहयोग र चुनावी निरीक्षण पूर्वाधारमा पहुँच म्याक्रीले मिलेइलाई चुनावको दिनमा महत्वपूर्ण साबित ग¥यो र दक्षिणपन्थी उम्मेदवारलाई आफ्नो विजय सुनिश्चित गर्न अनुमति दियो ।
अन्ततः, मिलेइले ब्राजिलदेखि संरा अमेरिका र इटालीसम्मका अन्य देशहरूमा अति दक्षिणपन्थी जनवादीहरूको सफलताको फाइदा उठाए । वास्तवमा, उनले व्यवस्थितरूपमा आफ्नो राजनीतिक उपकरण बक्समा बोल्सोनारो, डोनाल्ड ट्रम्प, जर्जिया मेलोनी र अन्यको प्रयास र परीक्षणविरोधी स्थिति, प्रगतिशीलविरोधी जलवायु परिवर्तन वार्ताका बुँदाहरू समावेश गरे । यी दक्षिणपन्थी व्यक्तित्वहरूको पाइलामा पछ्याउने मिलेइका प्रयासहरू, एलोन मस्क र टकर कार्लसनजस्ता प्रतिक्रियावादी गतिविधिहरूको परिणामस्वरूप उनले प्राप्त गरेको समर्थनको साथमा उनलाई मिडियामा अन्तर्राष्ट्रिय दृश्यता र एक्सपोजर (व्यापक प्रचार) प्रदान गरियो ।

सर्जियो मासा

आज, हामी स्पष्टरूपमा देख्न सक्छौँ कि मिलेइजस्ता अति दक्षिणपन्थी बाहिरी व्यक्तिले अर्जेन्टिनाको राष्ट्रपति पद जित्यो । तर, उनको प्रशासनको सम्भावना के छ ? के उनले आफूलाई मत दिनेहरूलाई वाचा गरेको कट्टरपन्थी एजेन्डालाई पछ्याउन सक्षम हुनेछन् ?
उनको पार्टीले संसद्को तल्लो सदनमा ३८ सीट (२५७ मध्ये) र माथिल्लो सदनमा ७ (७२ मध्ये) मात्रै नियन्त्रण गरेको छ । उनीसँग स्थानीय सरकारको समर्थन पनि छैन, किनकि उनको राजनीतिक दलले कुनै पनि गभर्नरशिप वा मेयरल सीटहरू सुरक्षित गर्न सकेको छैन ।
के उसले आफ्नो एजेन्डालाई अगाडि बढाउन म्याक्रीसँगको आफ्नो भर्खरको र कमजोर गठबन्धनमा भर पर्न सक्छ ? साथै उनले आफ्नो कट्टरपन्थी आर्थिक नीतिहरू लागू गर्न थालेपछि के आफूप्रतिको जनसमर्थन कायम राख्न सक्षम हुनेछन् ? यी सबै अज्ञात छन् । के निश्चित छ भने आर्थिक र सामाजिक सङ्कट, बढ्दो मुद्रास्फीति र आईएमएफ ऋणको भारी बोझ रातारात हट्ने छैन । मिलेइ प्रशासनले आधिकारिकरूपमा सत्ता लिएको केही दिनपछि नै प्रतिज्ञा गरिएको ‘शक थेरापी’ को भागको रूपमा अमेरिकी डलरको तुलनामा अर्जेन्टिनी पेसोको मूल्य ५० प्रतिशतभन्दा बढीले कमजोर पार्ने निर्णय सार्वजनिक खर्च कटौतीको घोषणा गरिसकेको छ । त्यस्ता नीतिहरूलाई विश्व बैङ्कद्वारा स्वागत गरिने छन् तर प्रगतिशील कार्यकर्ताहरूले ‘सामाजिक हत्या’ को रूपमा निन्दा गर्नेछन् र वाञ्छित परिणामहरू प्राप्त हुने छैनन् । परिणामहरू चाँडै प्राप्त भएनन् भने अर्जेन्टिनाको अति दक्षिणपन्थी जनवादको प्रयोग धेरै पीडादायी र अल्पकालीन हुनसक्छ ।
(लेखक माटियास बियान्ची ग्लोबल साउथको प्रजातान्त्रिक आविष्कारहरूमा काम गर्ने बौद्धिक संस्था असुन्तो डेल सुर ग्लोबलको निर्देशक हुनुहुन्छ । उहाँले इन्स्टिच्युट डी’एट्यूड पोलिटिक्स ए पेरिसबाट राजनीति विज्ञानमा पीएचडी गर्नुभएको छ ।)

– ‘अलजजिरा’ बाट
अनुवाद : प्रकाश

Leave a Reply

Your email address will not be published. Required fields are marked *