रास्वपा सरकार पुँजीपतिवर्गको नयाँ घोडा
- असार २८, २०८३
नेपाल मजदुर किसान पार्टीको घोषणापत्र २०५४ मा हाम्रा सहरहरूलाई सफा–स्वच्छ, सांस्कृतिक नगर र पर्यटकीय गन्तव्यस्थल बनाउने उल्लेख थियो । ‘एक घर एक स्नातक’ बनाउने पार्टीको लक्ष्यअनुसार विद्यालय, कलेज र विश्वविद्यालय सञ्चालन गर्ने पनि हाम्रो वाचा थियो । पार्टीको त्यही वाचाअनुसार भक्तपुर नगरपालिकाले २४ वर्षअगाडि ख्वप कलेजहरू सुरु गरेको हो । देशभरिका विद्यार्थीहरूले यी कलेजहरूमा इन्जिनियरिङ, विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षाशास्त्रका विषयहरू अध्ययन गर्दै छन् । भक्तपुरका जनताले हाम्रा कलेजमा भर्ना भएका विद्यार्थीहरूलाई अभिभावकत्व प्रदान गर्दै छन् । चालु वर्षसम्म इन्जिनियरिङमा स्नातक अध्ययनको लागि ७,२६४ विद्यार्थी भर्ना भएको र स्नातकोत्तरमा २,८४० विद्यार्थी भर्ना भएको उल्लेख छ ।
उत्पादन श्रमसँग जोडिएको शिक्षालाई जोड दिन भक्तपुर नगरपालिकाले शिक्षा मन्त्रालयमार्फत ख्वप विश्वविद्यालयको विधेयक २०७२ सालमा प्रतिनिधिसभाको सचिवालयसम्म पु¥याएको थियो । तर, प्रधानमन्त्री र शिक्षामन्त्रीहरूसँग जनताका छोराछोरीलाई चिकित्सा शिक्षासमेत सुपथ र सुलभरूपमा पढाउने इच्छा नहुँदा विश्वविद्यालयको विधेयक आठ वर्ष भयो, पारित भएको छैन ।
हामीले प्रधानमन्त्री र मन्त्रीहरूसँग प्रश्न पनि ग¥यौँ, “राणा सरकारले जनतालाई १०४ वर्षसम्म अँध्यारोमा राख्यो, के बहुदल र प्रजातन्त्रका शासकहरू पनि राणा शासनजस्तै हुन् र ? भक्तपुर नगरपालिकालाई ख्वप विश्वविद्यालय सञ्चालन गर्न दिँदा प्रधानमन्त्री, मन्त्री, सचिव बनेकाहरूलाई के घाटा हुन्छ ? कतिपय मन्त्री र सचिवका छोराछोरी र आफन्तहरूले पनि ख्वप कलेजहरूमा उच्च शिक्षा पाएका छन् ।
संविधान निर्माणको बेला हामीले विद्यालय शिक्षा निःशुल्क र अनिवार्य तथा विश्वविद्यालय शिक्षा निःशुल्क हुने प्रावधान राख्न संशोधन पेस गरेका थियौँ । तर, प्रस्तावलाई सरकारमा भएका सबै राजनीतिक पार्टीका सांसदहरूको एक मतले ‘हुन्न’ भनी अस्वीकार ग¥यो । जनतालाई निःशुल्क र अनिवार्य शिक्षा नदिने सरकारहरूबाट देश र जनताको विकास र सेवा कसरी हुन्छ ?
हाम्रो उद्देश्य देश र जनताको इमानदारीपूर्वक सेवा गर्ने हो । ख्वप कलेजहरूका सम्पूर्ण प्राध्यापक र कर्मचारीहरू यही उद्देश्य पूरा गर्न समर्पित भएर लागिरहेका छन् । इन्जिनियरिङ अध्ययनपछि सम्पूर्ण विद्यार्थी भाइबहिनीहरू पनि हाम्रो साझा उद्देश्य प्राप्त गर्न लागिपर्नु जरुरी छ ।
विद्यालय र विश्वविद्यालय शिक्षामा नयाँ पुस्ताको सांस्कृतिक स्तर उठाउने पाठ्यक्रम नहुँदा भ्रष्टाचार र अनियमितता झन् बढ्दो छ । शासक पार्टीहरू देशभक्तिमा पनि नाफा खोज्छन् ।
वाइडबड्डी हवाईजहाजमा भएको अर्बौँ रुपियाँ भ्रष्टाचार, ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता, नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई विदेश पठाएको, अर्बौँ रुपियाँको सुन तस्कर भएको, एनसेल बिक्रीमा अर्बौँ रुपियाँ पुँजीगत लाभकर छली भएको, काठमाडौँ थँवहीको साढे २६ रोपनी क्षेत्रको सार्वजनिक कमलपोखरी र बगैँचा व्यक्तिको नाममा दर्ता र १५ तलाको व्यापारिक भवन निर्माणलगायत विषयलाई सरकारले छानबिन गरी कारबाही गरेन ।
नयाँ पुस्ताले राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिबारे अध्ययन गर्नु जरुरी छ । भ्रष्टाचार गरेका कतिपय देशका राष्ट्रपति र प्रधानमन्त्रीहरूलाई जेल थुनिएको छ । नेपालमा भ्रष्टाचारीहरूलाई कारबाही गरी जेल पठाउने काम अब नयाँ पुस्ताकै काँधमा आएको छ ।
विद्यार्थीहरूले एमसीसी र एसपीपीको विरोधमा सडकमा नारा लगाएका थिए । अमेरिकी कानुन र नीति पालना गर्नुपर्ने र नेपालको बिजुली भारत हुँदै सिङ्गापुरसम्म लैजाने एमसीसी सम्झौता देशघाती हो । एसपीपी साझेदारीअनुसार अमेरिकी सेना आएर नेपालको सैनिक व्यारेक कब्जा गर्ने हो, अन्ततः नेपाललाई नवउपनिवेश बनाउने हो ।
अमेरिकी सरकारले युक्रेनलाई हतियार पठाएर रुसविरुद्ध युद्ध गराउँदै छ । यो युद्धले संसारभरि इन्धन सङ्कट भयो, बेरोजगारी बढ्यो, महँगी बढ्यो र आर्थिक सङ्कट बढ्यो । अमेरिकी सरकार समयमै सचेत नभएको हुँदा कोरोना भाइरससमेत विश्वभरि फैलिएको थियो ।
अमेरिकी र बेलायती सरकारले इजरायललाई प्यालेस्टिनमा भूमि कब्जा र जातीय नरसंहार गराइरहेको एक शताब्दी भयो । प्यालेस्टिनी जनताको नरसंहार मानव सभ्यताविरुद्ध धर्म युद्ध हो । त्यहाँको प्राकृतिक स्रोत ग्यास र तेल भण्डारण कब्जा गर्ने हो । बेलायती सरकारले भारतलाई उपनिवेश बनाई दिल्लीको सम्पदा ध्वस्त पारेको थियो । प्यालेस्टिनमा अहिले त्यही भइरहेको छ ।
संसारका न्यायपे्रमी जनता सडकमा ओर्लेर प्यालेस्टिनीहरूविरुद्ध जातीय नरसंहार गराउने अमेरिकी सरकारको विरोध गर्दै छन् । विद्यार्थीहरूले पनि युद्धको विरोध गर्नु जरुरी छ । नेपाल क्रान्तिकारी युवा सङ्घ र नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घले यो युद्धको विरोधमा देशभरि जुलुस र सभा गरिरहेको स¥हानीय छ । अमेरिकी र इजरायली सरकारले प्यालेस्टिनका निर्दोष जनताको हत्यालाई आतङ्कवादविरुद्धको लडाइँ दाबी गरेको गलत हो ।
मङ्सिर २८ गते रातिसम्म प्यालेस्टिनी बालबच्चा, महिला, ज्येष्ठ नागरिकसमेत १८,७८० को मृत्यु भयो भने ५०,८९७ घाइते भए । २३ लाख प्यालेस्टिनीहरूको बसोबास भएको गाजापट्टीका शरणार्थी शिविर, विद्यालय, कलेज, अस्पताल, आवासीय भवनहरू ध्वस्त पार्नु आतङ्कवादविरुद्ध लडाइँ हुन सक्दैन । डाक्टर, नर्ससमेतको हत्या गर्ने, पत्रकारहरू मार्ने इजरायली सरकारको यो युद्ध आतङ्कवादविरुद्धको लडाइँ कसरी हुनसक्छ ? पुस २७ गते भक्तपुर सूर्यविनायकमा सम्पन्न भएको इजरायली कब्जाको विरोधमा सभामा एक विद्यार्थीले बाइडेन र नेतन्याहुलाई सोधे, “तिमी पानी पिउँछौ कि मानिसको रगत पिउँछौ ?” अहिले गाजापट्टीका १९ लाख मानिस घरबारविहीन छन् ।
संसारका न्यायपे्रमी जनताले बाइडेन र नेतन्याहु नै आतङ्कवादी भएको आवाज उठाउँदै छन् । तत्कालको समाधान प्यालेस्टिनमा युद्धविराम नै हो । तर, संयुक्त राष्ट्र सङ्घमा पेश भएको युद्धविरामको प्रस्तावलाई बाइडेनले पटक पटक विशेषाधिकार लगाई असफल पार्दै छन् ।
युद्धको तस्बिरले अमेरिकी सरकार इजरायललाई प्यालेस्टिन कब्जा गराउने नै देखिन्छ । यसको मुख्य कारण प्यालेस्टिनको तेल र ग्यास खानी कब्जा गर्नु गराउनु हो । नेपालको जलस्रोत, गिटी–बालुवा, युरेनियमलगायत खानी कब्जा गर्न भारत सरकार यसरी नै लागेको छ । इजरायलको नेतन्याहु सरकार अमेरिकी पुँजीपतिवर्गको लागि काम गरिरहेजस्तै नेपालका प्रम र मन्त्रीहरू पनि भारतीय एकाधिकार पुँजीको लागि काम गर्दै छन् । जेठ महिनामा भारत गएका प्रम दाहालले फुकोट कर्णाली भारतलाई दिएको पछिल्लो उदाहरण हो ।
अमेरिकी र इजरायली सरकारको युद्ध अपराधको विरोधमा नेपाली जनताले प्यालेस्टिनी जनताको समर्थन गर्नु जरुरी छ ।
नेपाल इन्जिनियरिङ परिषद्को परीक्षामा हाम्रा सबै विद्यार्थीहरू पास हुने अपेक्षा गर्दछु । अहिले परिषद्को परीक्षामा ४७ प्रतिशतमात्र उत्तीर्ण भएको बताइन्छ । सरकारले इन्जिनियरहरूलाई देशभित्र रोजगारी दिनुपर्दछ । एकजना प्रमले आफू २० महिना प्रम हुँदा आफ्नो जिल्लामा नबनिरहेको एउटा पुल बनाएको चर्चा गरे । त्यो प्रमलाई देशका युवाहरूले रोजगारी नपाएको जानकारी नै भएन । सरकारका प्रम र मन्त्रीहरूसँग देशको समस्या समाधान गर्ने खाका नै भएन । प्रजग कोरिया नेपालजतिकै भूगोल र जनसङ्ख्या भएको देश हो । त्यहाँ लाखौँ लाख इन्जिनियर कार्यरत छन् ।
सङ्घीय राजधानी काठमाडौँ खानेपानी, फोहर, ढलनिकास र प्रदूषणको समस्या छ । हेलम्बु मेलम्चीको खानेपानी ल्याउन ६० अर्ब रुपियाँ खर्च गरियो, सुरुङ निर्माण गर्न ३० अर्ब र अन्य निर्माण गर्न ३० अर्ब गरी ६० अर्ब खर्च भयो तर पानी आउने सुनिश्चित भएन । यसकारण, देशको सन्तुलित विकास गर्नु जरुरी छ । काठमाडौँ र प्रदेश राजधानीमा जनसङ्ख्याकेन्द्रित गराउनु गलत हो । गएको मङ्सिर ५ गते प्रमले सर्वपक्षीय बैठकमा अर्थतन्त्र दबाब र अप्ठ्यारोमा रहेको बताए । अर्थमन्त्रीले जुनसुकै नाममा कर्जा लिए पनि शेयर कारोबार र जग्गामा लगानी गरिएको र अहिले दुवैमा मन्दी हुँदा अर्थतन्त्र नचलेको बताए । गभर्नरले अर्थतन्त्र नकारात्मक भएको बताए ।
बैठकमा हामीले सरकारका अधिकारीहरूले समस्या बताउने होइन, समाधान दिनुपर्ने, दिन नसके सरकार छोड्नुपर्ने स्पष्टसँग राख्यौँ । दाल, चामल, तरकारी, भारतसँग किन्ने, युवालाई विदेशमा काम गर्न पठाउने गरिँदा देशको अर्थतन्त्र सङ्कटमा परेको हो ।
बाइडेनले ३० वर्षअघि नै इजरायलमा ३ बिलियन डलर लगानी गर्ने बताएका थिए । आज इजरायल अमेरिकी कठपुतली भयो । विदेशी पुँजीले नेपाललाई पनि नवउपनिवेश बनाउनेछ । यसबारे हामी सबै सचेत हुनु जरुरी छ । अमेरिकाले हिरोसिमा र नागासाकीमा खसालेको बमभन्दा २४ गुणा शक्तिशाली बम बनाएको खबर छ । काठमाडौँ उपत्यकामा १ करोड मानिस बसोबास गराउने सरकारको योजना यहाँ बमबारी भए सबै एक चिहान हुने हो ।
(नेपाल मजदुर किसान पार्टीका सचिव एवं सङ्घीय सांसद प्रेम सुवालले मङ्सिर २९ गते भएको ख्वप इन्जिनियरिङ कलेजको २२ औँ र ख्वप कलेज अफ इन्जिनियरिङको १५ औँ वार्षिकोत्सव समापन कार्यक्रममा व्यक्त मन्तव्यको सार – सं.)
Leave a Reply