भर्खरै :

सहकारी संस्थाहरूको ध्यान किसानलाई खेतीपातीमा सहयोग गर्नेतर्फ हुनु जरूरी

सहकारी संस्थाहरूको ध्यान किसानलाई खेतीपातीमा सहयोग गर्नेतर्फ हुनु जरूरी

भक्तपुर, ७ पुस । सयपत्री बचत तथा ऋण सहकारी संस्था ताथली सौडोलको १७ औँ वार्षिक साधारणसभा नेपाल मजदुर किसान पार्टीका सचिव एवं सङ्घीय सांसद प्रेम सुवालको प्रमुख आतिथ्यमा शनिबार सम्पन्न भयो ।
सभामा अतिथि सुवालले किसानहरूको हक हितको लागि बचत तथा ऋण सहकारी संस्थाको विकास गरिएको उल्लेख गर्दै भन्नुभयो, “नेपाल कृषिप्रधान देश हो । अहिले वार्षिक ३ खर्ब रूपैयाँको दाल, चामल, तरकारी भारतबाट किन्नुपर्ने अवस्था छ । यसकारण, बचत तथा ऋण सहकारी संस्थाहरूको ध्यान किसानलाई खेतीपातीमा सहयोग गर्नेतर्फ हुनु जरूरी छ ।”
उहाँले भन्नुभयो, “गएको जेठ महिनामा भारत जानुभएका प्रम पुष्पकमल दाहालले नेपालको १० हजार मेघावाट जलविद्युत् भारतलाई दिने सम्झौता गर्नुभयो । नेपालीलाई कृषि, घरेलु, उद्योग, यातायातलगायतलाई पुग्दो बिजुली उत्पादन नहुँदै भारतलाई बिजुली बेच्नु देशघाती काम हो । सरकारहरूले भारतबाट खाना पकाउने ग्यास र अन्न इन्धन महँगोमा खरिद गर्ने र नेपालको बिजुली भारतलाई सस्तोमा बेचिरहेको पनि देशघाती काम हो ।”
“प्रधानमन्त्री दाहालले एक महिनाअगाडि सिंहदरबारमा भएको सर्वपक्षीय बैठकमा नेपालको अर्थतन्त्र दबाब र अप्ठेरोमा भएको बताएका थिए । अहिले एक वर्षअगाडि अर्थतन्त्र सङ्कटमा भएको बताउँदै छन् । प्रम दाहाल अहिले मूल्यवृद्धि नियन्त्रण, राजस्व वृद्धि, विदेशी मुद्रा सञ्चिति वृद्धि, भुक्तानी सन्तुलन वृद्धि, बैङ्कको कर्जा ब्याज दर कम र लगानीमा वृद्धि भएको दाबी भयो । एक वर्षअगाडि नेका र माओवादीको संयुक्त सरकार थियो भने नेकाका शेरबहादुर देउवा प्रम थिए । अहिले दाहाल नेकाकै समर्थनमा प्रम भएका हुन् । यसरी प्रमको भनाइ राजनीतिकरूपले सन्तुलन नभएको पुष्टि हुन्छ । यसको कारण सिद्धान्तहीन चुनावी मोर्चा र सत्ता गठबन्धन नै हो”, सांसद सुवालले बताउनुभयो ।
बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सदस्य र परिवारजनलाई सांस्कृतिक स्तर उठाउने गतिविधि जरूरी रहेको आवश्यकता औँल्याउँदै उहाँले सदस्यहरूबिच तालिम, प्रशिक्षण र प्रतियोगिता पनि गर्नु जरूरी रहेको बताउनुभयो ।
हरिगोपाल बासुकलाको सभापतित्वमा भएको उक्त कार्यक्रममा चानपा वडा नं. ९ का वडाध्यक्ष गणेश त्यात र एकबहादुर खत्रीले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
सभामा आर्थिक प्रतिवेदन रामप्रसाद मचामसी, प्रगति प्रतिवेदन सत्यराम थुयाजू र लेखा समितिको प्रतिवेदन बाबुकाजी माकजूले प्रस्तुत गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *