भर्खरै :

“समाजवादी देशहरूमा महिलाहरूको जीवन सहज र सम्मानित हुन्छ”

“समाजवादी देशहरूमा महिलाहरूको जीवन सहज र सम्मानित हुन्छ”

भक्तपुर, २० पुस । नेपाल क्रान्तिकारी महिला सङ्घ केन्द्रीय समितिको आयोजनामा सर्वहारावर्गका महान् गुरूहरू नेता स्तालिनको १४५ औँ र अध्यक्ष माओ त्सेतुङको १३० औँ जन्मदिवसको अवसरमा महिला कार्यकर्ता प्रशिक्षण कार्यक्रम शुक्रबार सम्पन्न भयो ।
कार्यक्रममा नेता स्तालिन र अध्यक्ष माओको जीवनी, व्यक्तित्व र योगदानबारे चर्चा हुनुको साथै साम्राज्यवादविरोधी सङ्घर्ष र समाजवादी क्रान्तिका लागि उहाँहरूको भूमिकाबारे परिचर्चा भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले समाजवादी देशहरूमा महिलाहरूको जीवन सहज र सम्मानित हुने उल्लेख गर्दै समाजवादी क्रान्तिको आवश्यकताबारे प्रशिक्षण दिनुभयो ।
उहाँले भन्नुभयो, “समाजवादी देशमा छोराछोरी नभए पनि पिर लिनुपर्दैन, आदर निकेतनको बन्दोबस्त हुन्छ । बालबालिकाका लागि शिशुस्याहार केन्द्र, बालोद्यान र विश्वविद्यालयहरूको बन्दोबस्त हुन्छ ।”
सामन्तवादी समाज र पुँजीवादी समाजमा महिलाहरूलाई धर्म, अन्धविश्वास, अन्ध परम्पराको सिक्रीले बाँध्ने हुँदा महिलालाई शिक्षित बनाउनुपर्ने आवश्यकता औँल्याउँदै अध्यक्ष बिजुक्छेँले विद्यालय देख्न नपाएका महिलाहरूको निम्ति रात्रिकालीन कक्षादेखि नयाँ पुस्तालाई राजनीतिकरूपमा सुसूचित र सङ्गठित बनाउनुपर्नेबारे मार्गनिर्देश गर्नुभयो ।
उहाँले जोड दिनुभयो, “धर्म भनेकै समाजको सेवा गर्नु र जनताको सेवा गर्नु हो । जनता नै ईश्वर हुन् । जनताका लागि विद्यालय–विश्वविद्यालय स्थापना गर्नु, शिशु स्याहारको बन्दोबस्त गर्नु, स्वास्थ्यपचारको लागि अस्पताल बनाउनु र सरसफाइको ज्ञान दिनु नै धर्तीमा स्वर्ग स्थापना गर्नु हो ।”
उहाँले भन्नुभयो, “महिलाहरूलाई योग्य र सक्षम बनाउन शिक्षित बनाउनुपर्छ । शिक्षिकाहरू अझ बढी राजनीतिक सुझबुझसहित अघि बढ्नुपर्ने आवश्यकता छ । महिला शिक्षित भए समाज शिक्षित हुन्छ । दक्ष शिक्षिकाहरूले नयाँ राम्रो पुस्ता तयारी गर्नसक्छन् । अरूको नक्कल गर्ने र भनसुनको आधारमा पास गरे अयोग्य पुस्ता तयार हुनेछ ।”
अध्यक्ष रोहितले महिलाहरूको निम्ति विभिन्न राष्ट्रिय/अन्तर्राष्ट्रिय विषयमा बैठक, छलफल, अन्तरक्रियाको नियमित आयोजना गर्न मार्गनिर्देशन गर्नुभयो ।
इजरायलले प्यालेस्टिनमाथि गरिरहेको बर्बर हमलाविरूद्ध नेपाल क्रान्तिकारी महिला सङ्घको आयोजनामा भएको सडक सङ्घर्षको सराहना गर्दै उहाँले भन्नुभयो, “अन्य देशमा भएको अन्याय–अत्याचारविरूद्ध हामीले बोलेनौँ भने हामीलाई दुःख पर्दा अरूले बोल्नेछैन ।”
नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय अध्यक्ष एवं कार्यक्रमका सभापति अनुराधा थापामगरले महिलाहरू माक्र्स, एङ्गेल्स, लेनिन, स्तालिन र माओको विचारबाट सुसूचित हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
महिलाहरूको मुक्ति क्रान्तिबाट सम्भव हुने र क्रान्ति आफैमा महिलाका लागि असल विद्यालय हुने विचार उहाँले राख्नुभयो ।
केन्द्रीय अध्यक्ष थापामगरले भन्नुभयो, “यतिबेला विश्व एकस्वरले साम्राज्यवादको विरोध गर्दै छ । इजरायलको काँधमाथि बन्दुक राखी संरा अमेरिकाले प्यालेस्टिनमाथि गरिरहेको नृशंस हमलाको विरोध विश्वले गर्दै छ । त्यसकारण साम्राज्यवादको पतन नजिकिँदै छ ।”
नेमकिपाका केन्द्रीय सदस्य एवं वाग्मती प्रदेश सांसद सृजना सैंजूले प्यालेस्टिनमा भइरहेको नरसंहार, महिला र बालबालिकाको हत्याबारे जानकारी गराउनुभयो ।
“पुँजीवादी व्यवस्था र साम्राज्यवाद आफ्नो नाफा खोज्ने व्यवस्था हो । आफ्नो नाफा र स्वार्थका लागि संरा अमेरिकाले ध्वंश र विध्वंश गरिरहेको छ”, उहाँले भन्नुभयो ।
केन्द्रीय सदस्य सैंजूले सोभियत रूस, क्युवा र प्रजग कोरियामा महिला मुक्तिको यात्राबारे जानकारी दिँदै समाजवादी व्यवस्थामा मात्र महिला मुक्ति सम्भव हुने उल्लेख गर्नुभयो ।
आयोजक समितिका सचिव सुलोचना छ्वाजूले माओको जीवनी र सदस्य गङ्गा वैद्यले स्तालिनको जीवनीबारे सङ्क्षिप्त चर्चा गर्नुभयो ।
वाग्मती प्रदेशका सांसद गीता काफ्लेको आतिथ्य रहेको उक्त कार्यक्रममा समितिका सदस्य प्रतिभा श्रेष्ठले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *