भर्खरै :

स्वच्छ र सही राजनीति आवश्यक

स्वच्छ र सही राजनीति आवश्यक

सत्तासीन दलका नेता, मन्त्री, सांसद, जनप्रतिनिधि तथा कार्यकर्ताहरू पद र पैसाको निम्ति राजनीति गर्छन् । पद र पैसाको आधारमा तिनीहरू सक्रिय हुन्छन् र पद र पैसा नभएपछि निष्क्रियमात्र होइन असन्तुष्ट भई पार्टीको विरोध गर्छन् या क्रान्तिकारी बनेर भाषण फुक्छन् । यो राजनीतिक व्यक्तिहरूको नकारात्मक पाटो हो† यो गलत बाटो हो । देश र जनताको हितमा काम गर्ने, जनतालाई सुखी र समृद्ध देश बनाउने अभिभारा बोक्नुपर्ने नेता, मन्त्री र कार्यकर्ताहरू पद र पैसामा बिकेपछि, पद र पैसाको आधारमा सक्रिय भएपछि कसरी सही राजनीति हुन्छ ? त्यस्तो राजनीति गरेर समृद्ध देश कसरी बनाउन सकिन्छ ? जहिलेसम्म स्वच्छ र सही राजनीति हुँदैन तहिलेसम्म देशको प्रगति हुनेछैन । ठुलठुलो स्वरले बोल्नु, मीठो र आकर्षक भाषण गर्नु नै सही राजनीति होइन ।
राजनीति गर्नु गलत होइन । तर, सत्तारुढ र ठुला दलका नेताहरूले स्वच्छ र सही राजनीति गरेनन् । उनीहरूले राजनीतिलाई दुर्गन्धित बनाए† दुर्गन्धित राजनीति गरेर समाजमा उच्छृङ्खल, अराजकता र बेथिति निम्त्याए । त्यसैको आधारमा कति लेखक, बुद्धिजीवी र राजनीतिक विश्लेषकहरूले फोहरी राजनीति गर्न नहुने टिप्पणी गरे, राजनीति फोहर भयो भने । पद र पैसाको आधारमा राजनीति भएकै कारण सत्तारुढ र ठुला दलका नेताहरू पनि भ्रष्टाचार र अनियमिततामा फसे । यसको कारण ती दल र दलका नेताहरूको मात्र होइन देशकै बदनाम भयो । स्थानीयदेखि केन्द्रसम्मको पार्टी नेतृत्वमा गलत व्यक्तिहरू परे । उनीहरूले जनता र कार्यकर्तालाई सिद्धान्त र विचार बाँड्ने काम गरेनन्† उनीहरू पदमुखी भए । इमानदार, दूरदर्शी र सक्षम व्यक्ति सरकारको नेतृत्वमा नआएकै कारण देशको दुर्गति भएको हो । विगतमा राणा र राजाले निरङ्कुश शासन चलाउनु अनौठो होइन । तर, यो प्रजातान्त्रिक सङ्घीय गणतन्त्रात्मक व्यवस्थामा पनि त्यही रीति र स्थिति दोहोरिरहेको छ । बेलाबखत यहाँ सामाजिक सद्भावमा नकारात्मक असर पर्नु, साम्प्रदायिक विचार फैलिनुको कारण पनि सही राजनीति नहुँदाको परिणाम हो । कति नागरिक र कार्यकर्ता पनि तात्तातो कुरा फलाकेपछि उफ्रिन्छन् र ताली ठोक्छन् । नेताले बोलेको सही या गलत, पूरा गर्न सक्छ या सक्दैन भन्नेतिर मतलब राख्दैनन् । विश्वविद्यालयमा अब दलीय भाग हुँदैन भनेपछि ताली । अब देशमा भ्रष्टाचार हुन्न भनेपछि ताली । अब देश विकासको युगमा प्रवेश भनेपछि ताली । अब सरकारको हरेक कार्यशैली या कदममा क्रमभङ्ग हुने भनेपछि ताली । तर, कुनै सत्तारुढ दलका नेता, मन्त्री र सांसदले बोलेअनुसार काम गरे या गरेनन् कार्यकर्ता मतलब राख्दैनन् ।
नेपाल सार्वभौम सत्ता सम्पन्न देश हो । सधैँ सार्वभौमसत्ता सम्पन्न हुनुपर्छ । तर, शासकहरू विदेशी शक्ति राष्ट्रको पछि दगुर्छन्, उनीहरूको इसारामा नाच्छन् या उनीहरूसामु झुक्छन् । सार्वभौम देशका शासकहरू कसैको दबाब र प्रभावमा झुक्नु हुँदैन, झुकेमा देश सार्वभौम हुँदैन । पञ्चायतको पालामा झैँ यो प्रजातान्त्रिक सङ्घीय गणतान्त्रिक देशमा पनि जनता कहिलेसम्म प्रजा भएर बस्ने ? अतः राजनीति देश र जनताको सेवा गर्न हो । देशको स्वाधीनता र सार्वभौमसत्ता जोगाउनु सरकार, राजनीतिक दल र आम जनताको जिम्मेवारी हो । सरकारले कुनै देशको थिचोमिचो सहेर बस्ने होइन । अतिक्रमित भूमि फिर्ता लिन सरकारले पहल गर्नुपर्ने हो । आर्थिक सहयोग र विकासको लोभमा देशलाई दूरगामी असर पार्ने जस्ता काममा सन्धि सम्झौता गर्नुहुँदैन । सरकार र हरेक राजनीतिक दल समग्र देश र जनताप्रति जवाफदेही भएर अघि बढे, राजनीति गरे, देशको अनुहार बदल्न सकिन्छ, अनुहार बदल्न समय लाग्दैन । अतः सत्तासीन दलका नेता, मन्त्री, सांसद, जनप्रतिनिधि, कार्यकर्ता, नागरिक, कर्मचारी, सेना, प्रहरी, प्रशासन सबै देश र जनताप्रति समर्पित हुनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *