भर्खरै :

किम इल सङको ८० औँ शुभजन्मोत्सव – ४

किम इल सङको ८० औँ शुभजन्मोत्सव – ४

दोस्रो भ्रमण
वैशाख १–१६, २०४९ (Apr. 13-28, 1992)

साङवन सिमेन्ट कारखाना (९ वैशाख २०४९/21 Apr., 1992)
साङवन सिमेन्ट कारखाना साङवन खोलाको किनारमै निर्मित छ । सन् १९८४ मा निर्माण सुरु भई १९८९ अप्रिल १४ मा तयार भएको त्यस कारखानाले वार्षिक २० लाख टन सिमेन्ट उत्पादन गर्छ । दैनिक सरदर ६६०० टन उत्पादन गर्छ । हुन त त्यसले तेस्रोसातवर्षे (१९८७–९३) योजनाभित्र २ करोड २० लाख टन सिमेन्ट उत्पादन गर्ने लक्ष्य राखेको थियो ।
कारखानाको मात्रै १० करोड डलर अर्थात् मेसिनको मात्रै ८ र अरु २ करोड डलर पर्ने यस उद्योगको सबै काम कम्प्युटरै कम्प्युटरका उपकरणहरू भएको नियन्त्रण कोठाले गर्छ । मुस्किलले हरेक कोठामा एक एक जनामात्रै मजदुर थियो । त्यस प्रकारको त्यत्रो ठुलो कारखानामा २५० जना मात्रै मानिसले काम गर्छन् । मेसिन जर्मनीसँग किनेको हो भने कम्प्युटरहरू फ्रान्स र जापानका पनि छन् । स–साना कम्प्युटर भने कोरियाकै छन् । यहाँका मुख्य इन्जिनियरले जर्मनी र अन्य देशमा पनि अध्ययन गरेका थिए ।
हामीलाई त्यहाँको पार्टी सेक्रेटरी र चिफ इन्जिनियरले कोइला र ढुङ्गाको गोदाम, ढुङ्गा पेल्ने, पकाउने र सिमेन्ट बन्ने आदि ठाउँहरू देखाए अर्थात् कारखानाको परिचयपछि हामी कम्प्युटर कोठा, केन्द्रीय नियन्त्रण कक्ष, ढुङ्गा आउने, पेल्ने, मिसाउने, सिमेन्ट बन्ने, धुलो नियन्त्रण गर्ने, सिमेन्टलाई अन्तिम रूप दिने आदि कक्ष भित्र र बाहिर गएर हे¥यौँँ । “कारखानाका हरेक भागमा के कसरी काम भइरहेछ भन्ने कुरा केन्द्रीय नियन्त्रण कोठामै देखिन्छ वा थाहा भइरहन्छ, आवश्यकताअनुसार त्यहीँबाट कारखानाका ज्यावलहरूलाई समेत निर्देशन जान्छ । त्यो कारखानालाई पूर्ण स्वयम्सञ्चालित र दूरसञ्चालित (रिमोट कन्ट्रोल) कारखाना भनिन्छ । अरु देशमा कारखाना ग्यास र तेलले चलाउँछ भने यो कोइलाले चल्छ । यो वास्तवमा प्योङयाङको लागि मात्रै बनेको थियो, तर जापान, हङकङ र फिलिपाइन्सलाई समेत यस कारखानाले सिमेन्ट निर्यात गर्छ र आवश्यक सामान किन्छ ।”
निरीक्षण गर्ने उँचो ठाउँमा गएर कारखानाको विहङ्गम दृश्य हेरियो, कच्चा माल अर्थात् ढुङ्गा, माटो, ऊर्जाको रूपमा कोइला, पानी सबै नजिकै भएको हुनाले यो कारखाना ठीक ठाउँमा अवस्थित छ । “अरु ठाउँमा भए कारखाना पहिले बन्छ पछि मात्रै मजदुरहरूको घरको बन्दोबस्त हुन्थ्यो, यहाँ यो कारखानाको स्थिति ठीक उल्टो छ । कारखाना बनिरहेकै बेला मजदुरहरूको आवास तयार गरिएको थियो ।”
पार्टी सचिवले हामीलाई बताए, “१९८८ को ३० अप्रिलको परीक्षणकालमै प्रिय नेता किम जोङ इल आउनुभयो र अहिले हामी हिँडेकै बाटोबाट निरीक्षण गर्दै जानुभयो र ५ घण्टा बिताएर विभिन्न निर्देशनहरू दिनुभयो । उहाँकै निर्देशनअनुसार २५ प्रतिशत रकम बढी खर्च गरेर ९९.८ प्रतिशत प्रदूषण घटाइएको हो । कारखानाको भौगोलिक स्थिति, प्रदूषण नियन्त्रण र आवासले यस कारखानालाई आदर्श कारखाना भन्न सकिन्छ ।” प्रदूषणरहित कारखानाले मलाई चोभारको हाम्रो सिमेन्ट कारखानाको याद गरायो ।
पार्टी सचिवले मजदुरहरूको बस्ती औँल्याउँदै बताए, “प्रिय नेताले पहिले नै बनाउन दिनुभएको मजदुर बस्तीलाई उहाँले ‘आदर्श गाउँ’ को नाउँ दिनुभएको छ । “भान्छा, बस्ने कोठाहरू, भण्डार आदि बन्दोबस्त भएको आवास क्षेत्रमा सांस्कृतिक सदन, पौडी खेल्ने पोखरी, एक अस्पताल, स्कूलहरू, पसल र चिया पसलहरूको बन्दोबस्त छ । साथै मजदुरहरूको मनोरञ्जन र शारीरिक गतिविधिको निम्ति साङवन खोलामा डुङ्गामा सयर गर्ने, पार्क र खेल्ने ठाउँहरूको सहुलियत पनि छ ।”
मजदुर बस्तीतर्फ जाँदा सभा भवनअगाडि हामीले परम्परागत भेषभूषामा सिँगारिएका २ जोडी भेट्यौँ । जिज्ञासावस हामीले सोध्दा नवदम्पत्ति भएको बताइयो । दुबै जोडी एउटै कारखानामा काम गर्ने कामदार थिए । नवदम्पत्तिलाई सफल दाम्पत्य जीवनको शुभकामना दिँदै हामी अगाडि बढ्यौँ ।
पछि हामी त्यो गाउँ हेर्न गयौँ । ४–५ तलाका ती घरहरूमा जम्मा १००० परिवार बस्छन् र हरेक परिवारले ३–४ कोठा पाएका छन् । लोग्नेस्वास्नी र ३ जना केटाकेटी भएको एउटा परिवारमा हामी पस्यौँ । त्यस परिवारका दुबै लोग्नेस्वास्नी काम गर्छन् र महिनाको ३२१ वन (कोरियाली रूपैँया) पाउँछन् ।
मैले सोधेँ, “खानालाई महिनामा कति खर्च हुन्छ ?”
तिनले जवाफ दिइन्, “५१ वन खर्च हुन्छ ।”
“अरु पैसा के गर्नुहुन्छ ?,” मैले सोधेँ ।
“हरेक महिना १५० वन बैङ्कमा राख्छु,” तिनले उत्तर दिइन् ।
चुल्होमा गएर हे¥यौँ । कोठा तताउने बन्दोबस्त केन्द्रीय ताप व्यवस्थाले गर्छ, तर चुल्हो बाल्न भने मट्टीतेल नै प्रयोग गर्ने गर्थे ।
त्यसपछि हामी मजदुरहरूको सांस्कृतिक केन्द्र वा सभा भवन गयौँ । त्यहा हामीले पार्टी सचिवसँग उहाँको पारिश्रमिक वा ज्यालाको कुरा सोध्यौँ । त्यसको जवाफमा उहाँले भन्नुभयो, “मेरो महिनाको २३१ वन छ, तर हाम्रो इन्जिनियर कामरेडले २४० वन पाउनुहुन्छ । प्राविधिक आविष्कार गर्नेहरूले त ६०० वनसम्म पाउँछन् ।”
कारखानाका मुख्य मुख्य ठाउँमा लेखिएको थियो, “आफ्नै ढङ्गले जिऔँ, सबै मिलेर लडौँ ।”

पुनःएकीकरण सडक (१० वैशाख, ०४९/22 Apr., 1992)
२ वर्षभित्र बाली लागेको खेतमा ५०,००० परिवारको निम्ति बनेको पुनःएकीकरण बस्ती गएको सेप्टेम्बरमा निर्माण हुँदै थियो । किनारा वा पेटीसँगै ट्राम चल्ले र बिच बाटोमा आवत–जावत गर्न ३–३ वटा गरी जम्मा ६ वटा मोटर चल्ने सडक ११२ मिटर चौडा छ र त्यहाँ कपाल काट्ने, लुगा सिउने, नुहाउने, सिनेमा भवन, सांस्कृतिक केन्द्र, भान्छाघर र रेस्टुराँ आदिको बन्दोबस्त छ । बाटामा नाराहरू लेखिएका छन्, “पार्टीले निर्णय गरेपछि हामी जे पनि गर्न सक्छौँ ।”
बाटोमा मोटरजस्तै चल्ने गाडीले सडक सफा गरेको हेर्दै एक बुद्ध विहारतिर लाग्यौँ ।

क्वाङपोप विहार
त्यहाँबाट हामी क्याङपोप विहार गयौँ । परिचयपछि विहारको मुख्य भिक्षुले विहारबारे जानकारी दिनुभयो, “कोगुरो वंशले सन् ३१२ मा निर्माण गरेको, सन् १७०० मा आगो लागेको, १७२७ मा पुनःनिर्माण भएको र १९५२ मा संरा अमेरिकी बमले ध्वस्त भएको र १९८९ को मई महिनामा महान् नेता का. किम इल सङको निर्देशनमा फेरि पुनःनिर्माण भएको हो– यो विहार । यहाँ अहिले ६ जना भिक्षु बस्छन् । मेरो उमेर ७३ वर्षको छ ।”
भन्तेले भन्दै जानुभयो, “पहिलो ढोकाबाट पस्नासाथै खराब विचार हट्छ, दोस्रो ढोकाबाट पस्दा आकाशको राजाले खराब कुरालाई कुल्चेर बुद्ध धर्मको रक्षा गर्छ भनेरै पहिलो र दोस्रो ढोकामा हातहतियार भिरेका मूर्तिहरू रक्षकको रूपमा राखिएका हुन् । तेस्रो मन्दिरको अर्थ हो– ठुलो र वीर बस्ने घर अर्थात् बुद्ध बस्ने घर । बुद्धको बायाँ बस्नेले स्वर्ग प्रदान गर्ने र दायाँ बस्नेले औषधि प्रदान गर्ने या रोग निको पार्ने विश्वास छ ।”
हाम्रो स्वागत गर्दै भिक्षुले भन्नुभयो, “क्वाङपोपको अर्थ हो बुद्धको विस्तार । यस विहारमा वर्षको १२०० जना श्रद्धालुहरू आउने गर्छन् । यहाँका भिक्षुहरू महायानी हुन् ।”
उत्तर कोरिया र कम्युनिस्टहरूले धर्म मान्दैनन्, विहार, मठ–मन्दिर, चर्च र मस्जिद भत्काउँछन् भन्ने कुरा असत्य हो र प्रतिक्रियावादीहरू यस मामलामा फटाहा र झूट बोल्छन् भन्ने कुरा यस विहारले पनि प्रस्ट गर्छ भनी मनमा सन्तोष लियौँ र भिक्षुहरूलाई अभिवादन गर्दै त्यहाँबाट बिदा लियौँ ।
मोराङ पहाड
विहारबाट हामी प्योङयाङको सबभन्दा राम्रो र मनोरञ्जक पार्क मोराङ पहाडमा पुग्यौँ । चित्रकारहरू विभिन्न दृश्यका चित्र कोर्दै थिए र अरु परिवार र युवा टोलीहरू घुम्न आएका थिए । पार्क त पाकै हो ।

कुम्गाङ पहाडतिर
दिउँसो २.४४ बजे हामी प्योङयाङबाट हिँड्यौँ । २ ठाउँमा चिया खाँदै ७.१५ मा कुम्गाङ सान होटल पुग्यौँ । ३०००–४००० मिटर लामा–लामा सुरुङ हुँदै हामीले ३५० किलोमिटर पार गर्दै का. चाङसँग कोरिया–जापान, कोरिया–अमेरिका र जुछे दर्शनबारे कुराकानी गर्दै पुग्यौँ ।
कुराकानीबाट थाहा हुन्छ– कोरियाली मजदुर पार्टीमा जनसङ्ख्याको १० प्रतिशत सदस्यहरू छन् । सबैलाई शिक्षित पार्ने, साहित्यले जनताको र पार्टीको सेवा गर्ने र साक्षरतालाई आन्दोलनको रूपमा लैजाने एउटा महत्वपूर्ण कुरा हो । का. चाङले भने, सांस्कृतिक स्तरलाई उठाउन पहिले साक्षरता अभियान चलाउनुपर्छ, अनि शिक्षा प्रचार र त्यसको स्तर उठाउनुपर्छ र कोरियामा महिला प्रौढ शिक्षा प्रचार गर्न अनेक कथा र नाटक देखाएका थिए । एउटा उदाहरण यस्तो छ –
छोरीको पत्र आउँछ; बाटोमा आउनेलाई थाहा छैन; आफूलाई पढ्न आउँदैन; अर्कोलाई देखाउँदा छोरी मरेको बतायो । आमा विलाप गरिरहँदा छोरो आइपुग्छ । छोराले पत्र पढेर भन्छ, “दिदी मर्नुभएको होइन बरु दिदीले छोरा पाउनुभयो ।” आमा खुसी भइन् र पढ्नै पर्ने रहेछ भनेर आमा पनि प्रौढ स्कूलमा जान्छिन् । यसरी नाचगानबाट शिक्षाको प्रचार कोरियामा गरिएको थियो ।

कुम्गाङमा (११ वैशाख, २०४९/23 Apr., 1992)
११ वैशाखको दिन । घाम झलमल लागिसकेको थियो । चारैतिर हरियाली थियो । पहाडकै काखमा रहेको होटलले झलझली नेपालको सम्झना दिइरहेको थियो । बिहानको चमेनापछि ९ बजेतिर हामी कुम्गाङ पहाड पुग्यौँ । १२ः१५ बजेतिर अर्कै रेस्टुराँमा खाजा खायौँ । त्यसपछि हामी आराम गर्न होटलमा पुग्यौँ । ३–४ बजेतिर तुल्सीलालजी र अन्य साथीहरूसँग हामी बाहिर निस्क्यौँ ।
त्यहाँ तातोपानीमा नुहाउनको निम्ति साधारण, माथिल्लो दर्जाका पर्यटकहरूको निम्ति र जनसेनाको निम्ति अलग अलग स्नानगृहहरू बनाइएका छन् । पर्यटकहरूको निम्ति सहन सक्ने तातोपानी भएको अलग अलग कोठा आकारको नुहाउने ठाउँ बनाइएको छ । त्यसमा १५ मिनेट नुहाउन ६ वन अर्थात् ३ अमेरिकी डलर पर्छ । हामीले विभिन्न किसिमका स्नानगृहहरू हेर्यौँ र त्यसका नियमहरू जान्न खोज्यौँ । पर्यटकहरूको निम्ति अनेक सुविधाहरू रहेको पायौँ ।

वानसानमा (१२ वैशाख, २०४९/24 Apr., 1992)
बिहान ७ः०५ मा कुम्गाङ सान होटलबाट हामी हिँड्यौँ । बाटोमा वानसान भन्ने एक बन्दरगाहको सहर छ । १९५०–५३ को अमेरिकी आक्रमणको विरोधमा लडाइँ हुँदा त्यहाँ ४ लाख जनसङ्ख्या थियो । अमेरिकी बमले सारा सहर ध्वस्त भएको थियो ।
अहिले बानसानको जनसङ्ख्या ७ लाख छ । १९६८ जनवरीमा संरा अमेरिकाले स्पेनीयाली भाषाको पाब्लो (Pueblo) अर्थात् ‘जनता’ भन्ने एक जासुसी जहाज कोरियामा पठाएको थियो । त्यस जासुसी जहाजलाई जापान, फिलिपाइन अरु देशले पत्ता लगाउन सकेनन् । कोरियाले त्यस जहाजलाई पक्राउ गर्यो । अमेरिकी सरकारले त्यस जहाजलाई नछाडेमा पहिले जस्तै त्यस नगरलाई ध्वस्त पार्ने धम्की दियो । तर, कोरियाली सरकारले अमेरिकाको धम्कीको अगाडि नझुक्ने दृढता देखाइ भन्यो, “यदि अमेरिकाले युद्ध छेड्यो भने कोरियाले पूर्ण युद्ध छेड्नेछ, अर्थात् त्यस युद्धको कुनै सीमा हुनेछैन ।”
वानसान इलाकाको सारा समुद्रको वरपर अमेरिकी जहाजहरू र आकाशमा अमेरिकी हवाईजहाजहरू थिए । कोरियाली जनताले पनि त्यस्तै किसिमको तयारी गर्नु स्वाभाविक थियो ।
पक्राउ परेको अमेरिकी जासुसी जहाजको कमान्डरले माफी माग्यो र अपराधलाई स्वीकार गर्यो । यसरी एकचोटि फेरि अमेरिकाको पाइन (सेखी) कोरियाली जनताले झारेर देखाइदिए ।
यस्तो वीर बन्दरगाह वानसान हेर्दै बिचबिचमा चिया पिउँदै ११ः२० मा प्योङयाङको उपत्यका अतिथि गृहमा पुग्यौँ ।
बाटोमा का. वाङ जिङसँग कोरियाको इतिहासबारे कुरा गर्दै गयौँ । साथै पेट्रोल, सौर्य ऊर्जा, आणविक ऊर्जा र हावाको ऊर्जाबारे पनि कुराकानी ग¥यौँ ।

कोरियाली जनसेनाको रिपोर्ट
दिउँसो २ः३० बजे कोरियाली जनसेनाको ६० औँ दिवसको उत्सव मनाउन एक समारोह आयोजना गरिएको थियो । त्यस आयोजनामा हामी पनि निम्त्याइएका थियौँ । प्योङयाङ रङ्गशालामा भएको उक्त समारोह सुरु हुनुभन्दा पहिले बेलायतको नयाँ कम्युनिस्ट पार्टी र दक्षिण अफ्रिकाको कम्युनिस्ट पार्टीका नेता सायद क्रिश हानिसँग कुराकानी भयो ।
समारोह सुरु भयो । का. किम इल सङ, का. किम जोङ इल र कम्बोडियाका राष्ट्राध्यक्ष नरोदम सिंहानोक र अन्य राष्ट्राध्यक्ष र सैनिक नेताहरू आफ्नो नामअनुसारको पहिलो पङ्क्तिमा बसे । म, नरबहादुर कर्माचार्य र तुल्लीलालजी दोस्रो लहरमा बस्यौँ । म १० नं. मा थिएँ । १०,००० जवान अटाउने त्यस हलमा छातीभरि तक्मा लगाएका युद्धवीर (War Veterans) र अन्य सैनिक प्रतिनिधिमण्डलका अफिसरहरूले सभा भवन खचाखच भरिएको थियो ।
पार्टीको शुभकामना र उप–सेनाध्यक्षले सेनाको इतिहास बताउनुभयो ।

सैनिक परेड (१३ वैशाख, २०४९/25 Apr., 1992)
सशस्त्र जनसेनाको मन्त्रालय र कोरियाली मजदुर पार्टीको प्योङयाङ समितिको निम्तोमा ९ बजे किम इल सङ लायकु (चोक) गयौँ । निमन्त्रणामा लेखिएको थियो, “हाम्रो पार्टीको क्रान्तिकारी सशस्त्र सेना अर्थात् वीर कोरियाली जनसेनाको स्थापनाको ६० औँ वर्षगाँठमा हुने सेनाको प्रदर्शनमा तपाईँलाई निम्तो दिन पाएकोमा हामीलाई खुसी लागेको छ ।”
१० बजे उप–सेनाध्यक्षले सैनिक टोलीहरूको निरीक्षण गर्नुभयो । पछि रक्षा मन्त्रीले सैनिक सलामी लिनुभयो । अनि सैनिक परेड सुरु भयो । जल, स्थल र हवाई सेनाको प्रदर्शन भयो ।
रक्षामन्त्री मार्शल ओ जिन उ को कोरियाली जनसेनाको ६० औँ वर्षको सिंहावलोकन भाषणपछि सुरु भएको त्यस परेडमा जापानविरोधी लडाइँका वीरहरू, पितृभूमि मुक्तियुद्धका वीरहरू, कोरियाली जनसेनाका अफिसर र जवानहरू, जन सुरक्षा सेना, मजदुर, किसान, लालरक्षकहरू, युवा लाल सेना, लडाइँमा वीरगति प्राप्त जवानहरूका छोराछोरीहरूको सेना आदिको प्रदर्शन वा मार्चपास सुरु भयो ।
त्यसपछि विभिन्न आधुनिक हातहतियार अर्थात् राइफल, मेसिनगन, तोप, हवाईजहाज खसाल्ने ट्याङ्क, विभिन्न किसिमका रकेट (दूरमारक यन्त्र) हरू आदिको प्रदर्शन भयो । ११ः३० बजेसम्म परेड चालु रह्यो । का. किम जोङ इलले “कोरियाली जनसेनाको गौरव छ” भन्ने वाक्य बोल्नुभयो । तर, कोरियासँग प्रदर्शित हातहतियारभन्दा अत्याधुनिक र शक्तिशाली हातहतियार हुन्छ भन्ने कुरा सबैले अड्कल गरेका थिए, किनभने सेनासम्बन्धी सबै कुरा खुला गर्दैनन् वा धेरै कुरा गुप्त राख्छन् ।
नयाँ नयाँ र शक्तिशाली हातहतियारको प्रदर्शन र सैनिक परेडलाई विदेशी सैनिक नेताहरू र अधिकृतहरू सा¥है चाख राखेर हेरिरहेका थिए ।
समारोहको सुरु का. किम इल सङ, नरोदम सिंहानुक, का. किम जोङ इल र अन्य विदेशी पाहुनाहरू आएपछि भएको थियो । परेड समाप्त भयो, हामी अतिथि सदनतिर लाग्यौँ ।
ठीक १२ बजे अतिथि सदन (गेस्ट हाउस) पुग्यौँ । अतिथि सदन (गेस्ट हाउस) को सडकतिर पनि प्रदर्शन हुँदै रह्यो ।
अपराह्न ३ बजे मसँग एक पत्रकारले अन्तर्वार्ता लिन आयो । का. किम इल सङको ८० वर्षको जन्मदिन, कोरियाली जनसेनाको ६० औँ स्थापना दिवसको प्रभाव, प्योङयाङ घोषणापत्र, किम जोङ इलको सैद्धान्तिक लेख, पुनः एकीकरण र कोरिया उपमहाद्वीपलाई आणविक मुक्त क्षेत्र बनाउनेबारे मैले पत्रकारलाई आफ्नो ठम्याइ बताएँ ।
६ बजे कुमसुसान एसेम्बली हल अर्थात् राष्ट्रपति भवनमा बहादुर कोरियाली जनसेनाको स्थापनाको ६० वर्षको अवसरमा का. किम इल सङको ‘रात्रिभोजमा तपाईँको सुखद सहभागीको निम्ति अनुरोध गर्दछु’ भने निम्तो पाएँ र ठीक समयमा त्यहाँ पुगेँ ।
चिफ अफ जनरल स्टाफले कोरियाली जनसेनाको स्थापनाको ६० औँ वर्षगाँठमा टोस्ट प्रस्ताव गरेर ५ पृष्ठको भाषण पढ्नुभयो ।
भोजको भव्यताबारे केही भन्ने कुरो बाँकी छैन । मसँग एकीकरण समितिका अन्तर्राष्ट्रिय समितिहरूका साथीहरू थिए । २९ नं. टेबुलमा मसँगै नेपालमा का. किम इल सङको विषेशदूत भएर आउनुभएको पुरानो मित्र हुनुहुन्थ्यो ।
८ बजे समाजवादी युवाहरूको तर्फबाट रात्रि नाचगानमा निमन्त्रणा आएको थियो । १० हजार जनताको व्यापक सामूहिक नाचगानपछि लाखौँ जनताको चिरागको प्रदर्शन भयो । समाजवादलाई जोगाउने अठोट गरिएका चिरागकै अक्षर लेखे । प्रदर्शन भव्य थियो । त्यो प्रदर्शन पहिले मस्कोको लालचोक र पेचिङको थ्येन आनमेन स्क्वायरमा देखाउने प्रदर्शनजस्तै भव्य थियो । चिरागकै अप्रिल १५ र अन्य अनेक क्रान्तिकारी नाराहरू बनाउँथे । भुइँचम्पा र आतसबाजीले दृश्यलाई झन् दर्शनीय बनाएको थियो ।
मेरो ठाउँ डायसको दोस्रो पङ्क्तिको ३२ नं. मा थियो । का. किम जोङ इलको उपस्थिति थियो । मेरो टेबुलमा प्योङयाङ मजदुर पार्टीका अध्यक्ष थिए । सा¥है राम्रो कुराकानी भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *