भर्खरै :

‘नेपालमा भारतीय दूतावासले सोझै २० करोड खर्च गर्न पाउने सम्झौताले भारतको समानान्तर सरकार चल्ने सम्भावना छ’

‘नेपालमा भारतीय दूतावासले सोझै २० करोड खर्च गर्न पाउने सम्झौताले भारतको समानान्तर सरकार चल्ने सम्भावना छ’

अहिले प्रतिस्पर्धाको समय हो । प्रतिस्पर्धामा टिक्न नसक्नेहरूको क्रमशः अस्तित्व समाप्त भएर जानेछ । यो प्राकृतिक नियम हो । शैक्षिक संस्थाहरूमात्र त्यसको अपवाद हुन सक्दैनन् ।
हाम्रा शैक्षिक संस्थाहरूले पनि अन्य शैक्षिक संस्थाहरूसित निकै कठिन प्रतिस्पर्धा गर्दै छन् । त्रि.वि.का आङ्गिक क्याम्पसहरू, महँगा सुविधा सम्पन्न निजी कलेजहरू र विदेशी सम्बन्धन प्राप्त कलेजहरू हाम्रा प्रतिस्पर्धीहरू हुन् । त्रि.वि.ले आप्mना आङ्गिक क्याम्पसबाहेकका कलेजहरूलाई नयाँ नयाँ कार्यक्रम सञ्चालन गर्न स्वीकृति दिइरहेको छैन । विद्यार्थीहरूको चाहना र समयको मागअनुसार नयाँ नयाँ विषयहरू थप्न नसक्दा हाम्रा शैक्षिक संस्थाहरूमा उच्च शिक्षा अध्ययनरत कैयौँ विद्यार्थीहरू अन्य कलेजहरूमा जान बाध्य छन् । हाम्रा कलेजहरूका निम्ति यो ठुलो चुनौती हो ।
यतिबेला विद्यार्थीहरूमा कक्षा १२ सम्म नेपालमा पढ्ने त्यसपछि विदेश जाने लहर नै चलेको छ । वार्षिक लाखौँ विद्यार्थी विदेश जानाले नेपालका सयौँ कलेजहरू बन्द हुने अवस्थामा पुगेका छन् । त्यसको असर हाम्रा कलेजहरूमा पनि परेकै छन् । जस्तोसुकै जटिल परिस्थितिमा पनि भक्तपुर नपाद्वारा सञ्चालित शैक्षिक संस्थाहरूले गुणस्तरीय शिक्षा प्रदान गर्दै आएका छन् । यस वर्ष त्रिविको परीक्षाफल प्रकाशित हुँदा स्नातकमा ३ जना र स्नातकोत्तरमा १ जनाले नेपालकै सर्वोकृष्ट विद्यार्थी घोषणा हुनु यसका उदाहरण हुन् । सस्तो र गुणस्तरीय शिक्षा प्रदान गर्ने कलेज स्थापनाको उद्देश्य केही हदसम्म पूरा भएको हामीले अनुभव गर्दै छौँ । नगरभित्र सञ्चालित ख्वप माविलगायत सामुदायिक र संस्थागत सबैजसो शैक्षिक संथाहरूले शैक्षिक गुणस्तरमा उत्कृष्टता हासिल गर्दै छन् ।
शिक्षाको माध्यमबाट समाजको परिवर्तन गर्ने हाम्रा अग्रजहरूको भावनालाई मूर्त रूप दिन भनपा क्रियाशील छ । गरिब विद्यार्थीहरूको निम्ति शैक्षिक ऋणको बन्दोबस्त, हाम्रा कलेजमा अध्ययनरत गरिब तथा जेहेनदार विद्यार्थीहरूलाई वार्षिक ४ करोड रूपैयाँभन्दा बढी छात्रवृत्तिको बन्दोबस्त र नगरभित्रका विद्यार्थीहरूलाई इतिहास, भूगोल, राजनीतिशास्त्र, संस्कृति, अर्थशास्त्रलगायत धेरै विषयहरूमा विद्यावारिधिसम्मको छात्रवृत्तिको बन्दोबस्त गरी हामी शिक्षालाई उच्च प्राथमिकतामा राख्दै आएका छौँ । रु. ५ लाख ऋणमा झण्डै ६ सय जना विद्यार्थीहरू अध्ययन गर्दै छन् ।
हाम्रा शैक्षिक संस्थाहरूमा गुणस्तरीय शिक्षा प्रदान गर्नेमात्र होइन हरेक विद्यार्थीलाई देशको सार्वभौमिकता, स्वतन्त्रताबारे चिन्तन मनन गर्न सक्ने देशभक्त नागरिक बनाउने पनि हाम्रो उद्देश्य हो ।
हालै नेपाल सरकार र भारत सरकारबिच काठमाडौँमा विद्युत् किनबेचसम्बन्धी सम्झौता भयो । सरकारले १० वर्षमा १० हजार मेघावाट बिजुली बेच्ने कुरालाई धेरै ठुलो उपलब्धिको रूपमा प्रचारप्रसार गर्दै छ । वास्तवमा त्यो सम्झौताले नेपालका सबै जलस्रोत कब्जा गर्ने भारतको नीतिलाई वैधानिकता प्रदान गरेको मात्र हो । केही वर्षअघि भारतले नेपाल र भारतको लगानी भएको बाहेक कुनै पनि देशको लगानी भएको विद्युत् खरिद नगर्ने नीति सार्वजनिक ग¥यो । त्यसबेला चिनियाँ कम्पनीलगायत विभिन्न देशका कम्पनीहरूले विद्युत् आयोजनाहरूमा लगानी गर्दै थिए । त्यो नीति सार्वजनिक भएपश्चात् पश्चिम सेतीबाट चिनियाँ कम्पनीलगायत अन्य देशका लगानीकर्ताहरूले हात झिके । त्यसपछि नेपालका सबैजसो विद्युत् परियोजनाहरू भारतकै नियन्त्रणमा गएको छ । त्यसैले नेपाल सरकार र भारतबिच भएको हालैको सम्झौता रूपमा विद्युत् किनबेच गर्ने देखिए पनि सारमा भारतले नेपालको जलस्रोत कब्जा गर्ने हो । त्यो सम्झौता नेपाल र नेपालीको हितमा छैन ।
नेपाल सरकारको स्वीकृतिबिना भारतले नेपालको कुनै पनि क्षेत्रमा रु. २० करोडसम्म सोभैm खर्च गर्न पाउने अर्को सम्झौता भएको सार्वजनिक भयो । त्यो झन् देशको सार्वभौमिकतामाथि गम्भीर असर पर्ने सम्झौता हो । कुनै पनि स्वतन्त्र र सार्वभौम देशमाथि विदेशीले स्वतन्त्ररूपमा लगानी गर्नु सार्वभौमिकतामाथि हस्तक्षेप हो । हरेक सचेत नागरिकले यसको विरोध गर्नुपर्छ ।
सूर्यबहादुर थापाको पालामा रु. ३ करोडबाट सुरु भएको त्यो रकम बाबुराम भट्टराई प्रधानमन्त्री भएको बेला रु. ५ करोड पु¥याइएको थियो । भारतको चर्को दबाबपछि मङ्सिर २१ ग्ते बसेको मन्त्रिपरिषद्को बैठकले रु. २० करोडसम्म पु¥याउने निर्णय गरेको हो । त्यो नेपालको बजेटमा देखिने छैन । वर्षभरिमा कतिवटा योजना र कति अर्ब रूपैयाँसम्म खर्च गर्न पाउने कुनै सर्त बन्देज छैन । यसले नेपालमा भारतको समानान्तर सरकार सञ्चालन हुने खतरा बढ्दो छ ।
आखिर यस्तो किन हुन्छ ?
माओवादीले भारतमा बसेर १० वर्षसम्म सशस्त्र सङ्घर्ष गरे । उनीहरूलाई भारतले सबै किसिमको तालिम, भौतिक हतियारको समेत सहयोग ग¥यो । त्यही क्रममा सन् २००२ मा प्रचण्ड र बाबुरामले भारतीय प्रधानमन्त्री कार्यालयमा भारतको अहितमा कुनै कदम नचाल्ने प्रतिबद्धता लेखेर बुझाए । त्यो भारतीय गुप्तचर संस्था ‘र’ र अर्को गुप्तचर एकाइ इन्टेलिजेन्स ब्युरो (आईबी) मा पनि दिए । त्यतिबेला भारतमा मनमोहन सिंह प्रधानमन्त्री थिए । सुरक्षा सल्लाहकार शिवशङ्कर मेननले त्यतिबेला भनेका थिए, “नेपालका माओवादीहरूको कुनै भर छैन, पछि उनीहरूकै निम्ति महँगो पर्नेछ ”। त्यो कुरा बाबुरामका गुरु र माओवादी–भारतबिच संवादका सम्पर्क सूत्र मानिने एस.डी. मुनीले २०६९ सालमै सार्वजनिक गरेका थिए ।
पछि के स्पष्ट भयो भने प्रचण्ड र बाबुरामद्वारा हस्ताक्षरित त्यो लिखित प्रतिबद्धता पत्रमा नेपाललाई भारतको निर्देशनअनुसार चलाउने, नेपालमा कुनै पनि आन्तरिक र वैदेशिक निर्णय भारतको अनुमतिबिना नगर्ने, नेपालमा भारतीय सुरक्षा निकाय संस्थागतरूपमा गराउने उल्लेख रहेछ । प्रचण्ड र बाबुराम प्रधानमन्त्री हुँदा त्यही प्रतिबद्धताअनुसार काम भइरहेको देखिन्छ । हालै भएका एस. जयशङ्करसँगका सम्झौताहरू पनि त्यसैको सिलसिलामात्रै हुन् ।
नेपाललाई भुटानको बाटो हुँदै सिक्किम बनाउने लामो समयदेखिको भारतको तयारी हो । २०४६ सालको आन्दोलनको समयमा नेपालका राजालाई ६ बुँदे सम्झौताको मस्यौदा पठाएको र राजाले त्यसलाई अस्वीकार गरेको भन्ने पनि रमेशनाथ पाण्डेले आफ्नो पुस्तकमा उल्लेख गरेका छन् । तीमध्ये २ वटा बुँदाहरू नेपालका निम्ति अत्यन्त घातक देखिन्छन् । ती हुन् –
१) नेपालले आफ्नो सुरक्षाको लागि चाहिने सबै किसिमका उपकरण र हतियार भारतबाट आयात गर्ने, नेपाली सेनालाई भारतले तालिम दिने, अन्य देशबाट हतियार प्राप्त गर्नुपरे भारतको अनुमति लिने र
२) नेपालको औद्योगिक विकास, जलस्रोतलगायत सम्पूर्ण आयोजनाहरूको कार्यान्वयनको लागि नेपालले विदेशी सहयोग अथवा प्राविधिक संलग्नताबारे प्रयास गर्नु अगाडि भारत सरकार र भारतीय नागरिकलाई प्राथमिकता दिने ।
देशघाती एमसीसी सम्झौताको एउटा बुँदामा ‘नेपालको कुनै पनि नयाँ आयोजना स्वीकृति गर्नुअघि भारतको अनुमति चाहिने’ उल्लेख छ । त्यो २०४६ सालदेखिको भारतको निरन्तरको प्रयास अहिलेका शासक दलहरूले पूरा गरे ।
शासक दलहरूप्रति जनताको असन्तोष र आक्रोस बढ्नुको कारण पनि यही हो । हाम्रा हरेक विद्यार्थीहरूलाई देश र जनताको सेवा गर्ने बाटोमा अगाडि बढाउन निरन्तर हाम्रा शिक्षक प्राध्यापक मित्रहरूले प्रयास गर्ने आशा गर्छु । हाम्रा शिक्षण संस्थाहरू देशभक्तहरू उत्पादन गर्ने थलो बनून् । हाम्रो देशको सार्वभौमिकता र स्वतन्त्रताको संरक्षण त्यसले मात्र सम्भव हुनेछ ।
(भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले ख्वप मा.वि., ख्वप कलेज, शारदा मा.वि. कलेज र ख्वप कलेज अफ लको संयुक्त आयोजनामा पुस २१ गते भएको शिक्षक तथा कर्मचारी भेटघाट कार्यक्रममा व्यक्त गर्नुभएको मन्तव्यको सार)

Leave a Reply

Your email address will not be published. Required fields are marked *