भर्खरै :

भक्तपुर नगरमा नवदुर्गाको ‘ङालाकेगु’ जात्रा सुरु

भक्तपुर नगरमा नवदुर्गाको ‘ङालाकेगु’ जात्रा सुरु

मानव समाजमा आधारित सांस्कृतिक नगर भक्तपुरको ऐतिहासिक जात्रा नवदुर्गाको माछा मार्ने जात्रा गत पुस २९ गतेदेखि भक्तपुर नगरपालिका वडा नं ९ सूर्यमढी (त्वचा) मा वापे पाछाकिगु जात्राबाट सुभारम्भ भयो । हरेक वर्षझैँ परापूर्वकालदेखि निरन्तर चल्दै आइरहेको नवदुर्गा देवगण जात्रा भक्तपुर नगरको विभिन्न स्थानमा गरी २१ स्थानमा माछा मार्ने जात्रा गरिन्छ । तद्अनुसार माघ १ गते सूर्यमढी टोल परिक्रमा गरी २ गते माछा मार्ने जात्रा हुन्छ ।
माछा मार्ने जात्रा ३ गते तचपाल, ४ गते क्वाठन्डौ, ५ गते टोल परिक्रमा, ६ गते गछेँ, १९ गते साँखु, २३ गते चाँगु र २४ गते भनपा फर्किने परम्परा छ । त्यस्तै, फागुन ३ गते टोल परिक्रमा गरिन्छ । फागुन ४ गते दथुत्वचा, ५ गते टोल परिक्रमा, ६ गते इनाचो, ७ गते गोलमढी, ८ गते याछेँमा टोल परिक्रमा हुन्छ । १० र ११ गते काभ्रे, साँगा, १२ गते टोल परिक्रमा, १३ गते टौमढी, १४ गते तालाक्व, १५ गते टोल परिक्रमा, १६ गते मुलाखु, १७ गते टोल परिक्रमा, १८ गते गःहिटी, १९ गते टोल परिक्रमा, २० गते क्वाछेँ, २१ गते टिबुक्छेँ, २२ गते टोल परिक्रमा, २३ गते गोरचाँ, २४ गते टोल परिक्रमा, २५ गते खौमा, २९ गते टोल परिक्रमा, ३० गते इताछेँमा जात्रा हुन्छ । चैत २ गतेदेखि काभ्रेको नाला, धुलिखेल, खण्डपुरलगायत ६ दिनसम्म जात्रा हुने गर्छ । पाहाँ चरेपछि बालाखु टोल, त्यसपछि मातातीर्थ औँसीनिर काभ्रेको बनेपा र पनौती नपामा ङालाकेगु जात्रा हुने गर्छ । त्यसपछि भक्तपुरकै तुलाछेँ र चोछेँमा हुन्छ । यस वर्षको ङालाकेगु जात्रा सितिनखाको आठ दिनपश्चात् दरबार एरिया इछु टोलमा सम्पन्न गरिन्छ । यस जात्रा सञ्चालनमा जतिसुकै समस्या देखिए तापनि जात्रालाई निरन्तर सञ्चालन गर्न उजाजु (वनमाला) जातिको महत्वपूर्ण भूमिका देखिन्छ ।
जात्रा मल्लकालीनदेखि सञ्चालन भएको भनिए तापनि यसको कुनै ठोस तथ्य प्राप्त गर्न सकिरहेको छैन । यस नवदुर्गाको जात्राले मानव समाजको सन्देश दिइरहेको पाइन्छ । छुट्टै पहिरण र मकुन्डो लगाई बाजाको तालमा यो जात्रा गीति नाटकको रूपमा देखाइएको पाइन्छ । यस जात्रामा खिं बाजा, तं बाजा, कंशबाजा, भैरव, महाकाली, बाराही, कुमारी, गुज्यकाली, महालक्ष्मी, महादेव, गणेश, ब्रह्मायणी, महेश्वरी, भद्रकाली, पुजारी नकीं, बालकुमारी, दुम्ह, सिम्ह, श्वेतभैरव आदि देवगण रहेका हुन्छन् । यस नाचमा पारिवारिक भूमिका, नारीक्रोध, दानव नरसंहार, चेलीबेटीको विलाप, केटाकेटीको चकचके व्यवहार, दैनिक जीवनमा गर्नुपर्ने सरसफाइ तथा मानव जीवनमा गर्ने बेलविवाह आदिको अभिनय या चित्रण पाइन्छ । सेतो भैरवको ङालाकेगु जात्राले नारी सुन्दरता, असत्यमाथि सत्यको विजय, सरसफाइको शिक्षा, पेट दुखाउने, खास्तो धुने, मतिनाको नाचजस्ता विभिन्न थरीको नाच प्रदर्शन हुन्छ ।
बेलाबखत हुने द्यो ब्वेकेगु अथवा प्रसादग्रहण गर्ने जात्रा पनि हुन्छ । यस जात्रामा माछा, अण्डा, बारा, चतामारी, योमरी, भतमास, सम्हेबजी, मासुको परिकार, गेडागुडी, दही चिउरा साथै चौरासी व्यञ्जन हुन्छ । पञ्चबलिको रूपमा हाँस, कुखुरा, राँगो, बोका, भेडा बलि दिने गरेको पाइन्छ । मुः बाहाँको रूपमा सुँगुर लखेटेर बाहाँ लिकेगु जात्रा हुन्छ ।
मानव समाजमा हुने व्रतबन्ध तथा शुभविवाहजस्ता शुभकार्यमा यस नवदुर्गा देवगणको द्यो ब्वेकेगु गर्दा आफ्नो सन्तान निरोगी हुने, गरेको काम सफल हुने जनविश्वास छ । कुनै दिन आफ्नो दीन दशा बिग्रेको बेला नवदुर्गाको दही, चिउरा, पञ्चरङ्गी धागो, मूल पात्रको जल, कालो टीका (मोहनी) ग्रहण गर्दा विघ्न बाधा हट्ने जनस्रुति रहेको पाइन्छ । यस नवदुर्गाको जात्रा भक्तपुरबाहेक पशुपति, टोखा, गोकर्ण, साँखु, चाँगु, ठिमी, साँगा, नाला, धुलिखेल, बनेपा, खम्पु, पनौती आदि विभिन्न स्थानमा हुने गर्दछ । मानव जीवनमा आधारित ऐतिहासिक एवम् सांस्कृतिक महत्व बोकेको नवदुर्गाको जात्रा जोगाउन संरक्षण गर्नुपर्ने देखिन्छ ।
(लेखक नवदुर्गा देवगण जात्रा तथा मन्दिर व्यवस्थापन संस्थाका सल्लाहकार हुनुहुन्छ ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *