भर्खरै :

विद्यार्थीहरूले अध्ययन सकेर जनताको सेवा गर्नुपर्ने

विद्यार्थीहरूले अध्ययन सकेर जनताको सेवा गर्नुपर्ने

भक्तपुर, १ माघ । नेपाल मजदुर किसान पार्टीको ५० औँ स्थापना दिवसको अवसरमा नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ, दैलेख–काठमाडौँ सम्पर्क समितिले सोमाबार प्रवचन कार्यक्रम गरेको छ ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य सरोजराज गोसाईले गरिबका छोराछोरीलाई पढ्ने लेख्ने राम्रो अवसर नदिइएकै कारण विकट तथा दुर्गम जिल्लाहरू पछाडि परेका हुन् भन्नुभयो । उहाँले पछाडि पारिएका जिल्लाका विद्यार्थीहरूले मेहनतसाथ पढेर आफ्नो जिल्लाका गरिब जनताको सेवामा लाग्नुपर्ने भन्दै सामूहिक स्वार्थको निम्ति काम गर्ने भावना आवश्यक भएको भनाइ राख्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य बजिरसिं विश्वकर्माले जनताका छोराछोरीले जनताको समस्या बुझ्ने र समस्या समाधानका उपाय पत्ता लगाउनुपर्ने भन्दै राजनीतिले नै आमूल परिवर्तनको बाटो कोर्ने बताउनुभयो ।
नेमकिपाका अर्का केन्द्रीय सदस्य नर्मा गुरुङले असल आमाबुबाले असल बालबालिका बनाउने चर्चा गर्दैै युवाले नै देशको परिवर्तन गर्ने धारणा राख्नुभयो ।
नेमकिपा, दैलेख जिल्ला समितिका अध्यक्ष जगत ओलीले उच्च शिक्षा हासिल गरेर देशको सेवा गर्न शुभकामना दिनुभयो ।
नेक्राविसङ्घका केन्द्रीय अध्यक्ष प्रकाश गुरुङले नेक्राविसङ्घले शिक्षालाई उत्पादन श्रमसँग जोड्ने शिक्षाको निम्ति सङ्घर्ष गरिरहेको प्रस्ट पार्नुभयो ।
आयोजक समितिका अध्यक्ष शम्भु जाउलाको सभापतित्वमा सम्पन्न कार्यक्रममा निरु विक, विनय सिजापतिलगायतले बोल्नुभएको थियो । कार्यक्रममा तेरेसा विक, कमल थापा र प्रतीक्षा शाहीले गीत प्रस्तुत गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *