भर्खरै :

गाडीको आयु २० वर्ष राख्नु सही या गलत !

गाडीको आयु २० वर्ष राख्नु सही या गलत !

सरकारले २०७१ सालमा २० वर्ष पुगेका सवारी साधन विस्थापित गर्ने निर्णय गरेपछि गाडी व्यवसायीहरू आन्दोलनमा उत्रेका थिए; सडक जाम गरेर सरकारी निर्णय फिर्ता लिन माग गरेका थिए । २० वर्ष पुगेको आधारमा सबै सवारीसाधन विस्थापित गर्ने या काम नलाग्ने कुरा वैज्ञानिक नभएको गाडी व्यवसायीहरूको भनाइ हो । ‘समय नाघेका सबै पुराना सार्वजनिक सवारी साधन दुई वर्षभित्र पत्रु तथा विस्थापन गर्न सक्ने’ त्यसबेलाको सरकारी निर्णय व्यवहारमा लागु भएन । कुनै सवारी साधनको आयु २० वर्ष निर्धारण नगरी काम नलागेको, थोत्रो भएको, बिग्रेको या सञ्चालनमा अप्ठेरो भएको गाडी विस्थापन गर्ने या सञ्चालनमा नल्याएको भए कसैको बिमति हुँदैनथ्यो । कति गाडी २० वर्ष नपुग्दै काम नलागेको हुन्छ भने कति गाडी २०/३० वर्ष भएर पनि ठीक ढङ्गले सञ्चालन भइरहेको पाइन्छ । एउटा गाडीको आयु अर्काे गाडीसँग तुलना गर्न मिल्दैन ।
गाडीको हिफाजत गरी, बेलाबखत मर्मत गरी सञ्चालन गर्दा त्यस गाडी २० वर्षपछि पनि विनाबाधा चलाउन सकिन्छ । गाडीको आयु गाडी चलाउने बाटो, चालक, गाडीले पार गरेको दूरी आदिमा भरपर्छ । २० वर्ष भएर पनि गाडी सजिलैसँग चलिरहेको छ भने त्यो सवारीसाधनमा किन प्रतिबन्ध लगाउने या विस्थापित गर्ने ? यदि निर्धारित आयु नसकिँदै कही ठोकेर, पल्टेर, खसेर या अन्य प्राविधिक कारण बिग्रिसकेको छ, चलाउन समस्या छ भने त्यस्तो गाडी सञ्चालन गर्न किन २० वर्ष कुर्ने ? गाडीको अवस्था हेरेर सञ्चालन गर्न दिने र विस्थापित गर्ने काम गर्नु बुद्धिमानी हुनेछ । गाडी चले पनि नचले पनि अवधि तोकेर विस्थापित गर्नु व्यवहारिक हुँदैन । गाडी व्यवसायीहरूले प्रश्न उठाएका थिए, के हालसम्म दुर्घटना भएको सबै कारण २० वर्ष पुगेका सवारी साधन हुन् ? कुनै पनि नयाँ गाडी या २० वर्ष नपुगेको सवारी साधनको दुर्घटना भएको छैन ? सबै गाडी दुर्घटनाको सबै कारण २० वर्ष नाघेको सवारी साधनलाई दिन मिल्छ ?
गाडी दुर्घटना हुनाका अनेक कारणमध्ये पुरानो गाडी पनि हुनसक्छ । तर, गाडी दुर्घटना पुरानो र नयाँ गाडीको कारणभन्दा चालकको कमजोरी, बाटोको गडबडी, खाल्डो, घुम्ती बाटो, गाडीको गति, मादक पदार्थ सेवन, बटुवा वा अन्य सवारी चालकको कारण भइरहेको पाइन्छ । २० वर्षको म्याद निर्धारण गरेर सबै गाडी विस्थापित गरेपछि गाडी व्यवसायीहरूलाई मर्का पर्छ, गाडी चलाउने चालक, सहचालक र सहयोगीहरूको रोजगारीको समस्या हुन्छ । घर खेत बेचेर, ऋण काढेर किनेको गाडीको सबै रकम चुक्ता नभई गाडी विस्थापित गर्नुप¥यो या बन्द गर्नुप¥यो भने गाडी व्यवसायीहरू ऋणमा डुब्नेछन् र गाडी चालकहरू बेरोजगार हुनेछन् । के सरकार व्यवसायीहरूलाई ऋणमा डुबाउने काम गर्दै छ ? बेरोजगारी बढाउने जाल बुन्दै छ ? वाग्मती प्रदेश सरकारले पछिल्लो पटक गत जेठ ७ गते दर्ताको मितिले विद्युतीय सवारी साधनको हकमा ३० वर्ष र अन्य सवारी साधनको हकमा २० वर्ष नाघेका सार्वजनिक सवारी साधनलाई पत्रु गर्नुपर्ने सूचना जारी गरेको थियो । यातायात व्यवस्था कार्यालयको तथ्याङ्कअनुसार देशभरि झन्डै आठ हजार पुराना सवारी साधन सञ्चालन भइरहेका छन् । २० वर्षपछि सवारी साधन चलाउन नपाउने प्रवाधान बदल्नुपर्छ भन्ने माग गाडी व्यवसायीहरूको रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *