सय वर्षपछिको भक्तपुर
- चैत्र २९, २०८२
भक्तपुर, १ मंसिर । भक्तपुर नगरपालिकाको हरियालि प्रवर्धन कार्यक्रम अन्तर्गत आज भनपा वडा नं १ स्थित ३९१ वर्ष पुरानो ऐतिहासिक रानीपोखरी सरसफाई कार्य सम्पन्न भयो । भक्तपुर नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, सैनिक आवासिय महाविद्यालय र वडावासी स्थानिय जनताहरुको उत्साहजनक सहभागीतामा सो सरसफाई सम्पन्न भएको हो ।
कार्यक्रममा सम्बोधन गर्नुहुँदै भक्तपुर नगर प्रमुख सुनिल प्रजापतिले ऐतिहासिक महत्व बोकेका क्षेत्रहरु, सांस्कृतिक एवं पुरातात्विक महत्व बोकेका सम्पदाहरुको संरक्षण र संवद्र्धनले भक्तपुरलाई समृद्धिको बाटोमा लैजाने बताउनुभयो । उहाँले कुनैसमय घाँसे मैदान बनेको सिद्धपोखरी आज स्वच्छ, सफा र राम्रो पोखरीको रुपमा विकास भएको उदाहरण दिनुहुँदै रानीपोखरीलाई पनि सुन्दर पोखरीको रुपमा विकास गर्न स्थानिय जनसमुदायको सहभागीता र चासो अतिआवश्यक रहेको बताउनुभयो ।
ईतिहासविद् पुरुषोत्तम लोचन श्रेष्ठले बाल्यकालमा खेल्न आउँदाको अनुभव सुनाउनुहुँदै पोखरीको दक्षिणबाटो तर्फ अवस्थित पाटीमा रहेको एउटा पुरानो शिलालेख रहेको बताउनुभयो । संस्कृतिविद् श्रेष्ठले सो शिलालेखमा पुस्करीणी नाम उल्लेख भएपनि पहिलेदेखि नै रानीपोखरीको नामले प्रसिद्ध पोखरी नेपाल सम्वत् ७४७ सालमा भक्तपुरका राजा जगज्योतिर मल्लले बनाउन लगाएको बताउनुभयो । उहाँले पोखरीको जिर्णोद्धार गर्दा मध्यकालीन स्वरुपलाई कायम राख्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
भनपा वडा नं १ का अध्यक्ष श्यामकृष्ण खत्रीले पोखरीको सरसफाई र जिर्णोद्धारलाई निरन्तरता दिन प्राविधिक कार्यहरु पनि भइरहेको जानकारी दिनुभयो ।
सरसफाईको क्रममा पोखरीको दक्षिणतर्फ चतुर्मुख शिवलिंग–१, ढुंगे सिँढी–१, उमा महेश्वरको मूर्ति–१, ईट्टा प्रयोग गरी बनाइएको पर्खालको अवशेष–१, ढुंगेद्धारको मकराकृति–१, हौं हौं पाटीको अवशेषको रुपमा प्रस्तर कलाकृतिहरु समेत भेटिएको स्थानीय कृष्ण प्रसाद दुमरुले जानकारी दिनुभयो ।
Leave a Reply