जीवनको विश्वविद्यालय, दुःखको कसी र चेतनाको रूपान्तरण
- कार्तिक १, २०८३
नागमती बाँध निर्माण आयोजना के हो ?
काठमाडौँ उपत्यकाको गोकर्ण चोकबाट करिब १२ किलोमिटर उत्तरतिरको शिवपुरी डाँडामा ९४.५ मिटर अग्लो बाँध हालेर ५५४ मिटर लामो ताल बनाउने, त्यसमा जम्मा भएको पानीबाट वाग्मती नदीमा बगाएर वाग्मतीको फोहोर र दुर्गन्ध बगाउने महत्वाकाङ्क्षी आयोजनाको रूपमा सरकारले अगाडि सारेको योजना हो । ३ दशक अगाडिको वाग्मती नदीको वातावरणीय स्वरूपमा ल्याउन यो आयोजना अपरिहार्य भएको कुरा वाग्मती सुधार आयोजनाका इन्जिनीयर निश्चल छतकुलीको छ । जलस्रोत तथा सिँचाइ विभागअन्तर्गत एसियाली विकास बैङ्कको ऋण सहयोगमा बन्न लागेको यो आयोजना अबको आर्थिक वर्षमा सुरु गरी सन् २०३२ सम्म करिब ८ वर्षमा निर्माण सक्ने तयारीमा रहेको वाग्मती नदी बेसिन सुधार आयोजनाले जनाएको छ । यस आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डी.पी.आर.) तयार भई वातावरणीय प्रभाव (ई.आई.ए.) प्रतिवेदन अनुमोदनको पर्खाइमा छ ।
धाप बाँध र नागमती बाँध
आयोजनाको मुख्य उद्देश्य के हो ?
नेपालको राजधानी काठमाडौँको बिचबाट बग्ने वाग्मती नदी धार्मिकरूपमा अति महत्वपूर्ण पशुपतिनाथ, गुहेश्वरी आदि भएर जान्छ । सुख्खा याममा यस नदीमा फोहरको लेदो बगेर राजधानी अति दुर्गन्धित हुने गरेको छ । २०७९ असोज ४ को अनलाइन खबरमा प्रकाशित लेखअनुसार वाग्मती नदीमा २ हजार ८०० ठाउँबाट ढल मिसाएको पाइएको छ । जापानी सहयोग नियोग (जाइका) को अध्ययनअनुसार वाग्मतीको पानी नुहाउन योग्य बनाउन ४४० लिटर प्रतिसेकेन्डको दरमा सफा पानी मिसाउनुपर्छ । जसअनुसार शिवपुरी राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्ने २४ मिटर अग्लो धाप बाँध बाँधेर वर्षाको पानी सङ्कलन गरी प्रतिसेकेन्ड ४० लिटर पानी वाग्मतीमा छोड्ने भनी सन् २०२२ मा सम्पन्न गरेको थियो । तर, सो धाप बाँधको पानी कता कता हराउन थालेको भनी मुख्य मुख्य पर्वहरू सोह्र श्राद्ध, छठ, बाला चतुर्दशी, स्वस्थानी, माघे सङ्क्रान्ति, शिवरात्रिजस्तोमा मात्र पानी छोड्न थालेको छ । धाप बाँधबाट सङ्कलन गरिएको पानीले मात्र वाग्मती सफा नहुने भएकोले करिब धाप बाँधबाट ५ किलोमिटर तल्लो नागमती भने स्थानमा अर्को बाँध निर्माण गरी जलासय बनाइ प्रतिसेकेन्ड ४५० लिटर वाग्मती नदीमा मिसाउने सोच लिएको छ । नागमती बाँध ९४.५ मिटर अग्लो र ५५४ मिटर लामो हुने जुन धाप बाँधभन्दा झन्डै १० गुणा ठुलो हुने, ५० हेक्टर जमिन जलाशय हुने, ८८ लाख घनमिटर बराबरको पानी सञ्चय हुने जनाइएको छ । यस आयोजनाको बाँध शिवपुरी राष्ट्रिय निकुन्जमा परेकोले यसबाट महाङ्काल क्षेत्रमा १४ घर र मुल्खार्काका केही घरहरू प्रभावित हुने अनुमान छ ।

नागमती आयोजनाको बहस के हो ?
सिँचाइ विभागका इन्जिनियर छतकुलीका अनुसार अस्ट्रेलियन सरकारको समेत स्वामित्व रहेको इन्टुरा तास्मानिया कम्पनीले यस आयोजनाको अध्ययन गरी त्यसको बाँधको डीपीआर समेत तयार भइसकेको छ । नागमती बाँध निर्माण तथा जलस्रोत व्यवस्थापन गर्न एसियन विकास बैङ्क (ए.डी.वी.) सँग ऋण लिएर २५ अर्ब ७ करोड ९८ लाख रूपैयाँ लागतमा वन लागेको हो, जुन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणभन्दा बढी भएको कुरा रमेशकुमारको हिमाल खबर अनलाइन ९ माघ २०८० मा उल्लेख गरिएको छ ।
यस आयोजनालाई धार्मिक तथा सामाजिकरूपमा समर्थन भएको देखिन्छ भने प्राविधिक तथा आर्थिक पक्षमा बहस सुरु भएको छ । यो आयोजनाले धार्मिक, सामाजिक, सांस्कृतिक, मनोरञ्जन, पर्यटन र भूमिगत पानी रिचार्जको लागि उपयोगी हुने र यसबाट आर्थिक समृद्धिमा महत्वपूर्ण सहयोग पुग्ने भनी नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंह, प्रदेश सांसद छिरिङ दोर्जे तथा गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक रिसाल उत्साहित भएको प्रतिक्रिया दिएका छन् ।
करिब २५ अर्ब रूपैयाँ ऋण लिएर बनाउन लागेको यो अग्लो बाँधको प्रतिफल न्यून हुने मात्र होइन वाग्मती किनारमा जोखिम पनि बढ्ने भनी प्राविधिक र आर्थिक हिसाबमा बहस सुरु भएको छ । जनतामा सार्वजनिक ऋणको भार बढिरहेको बेला २५ अर्ब रूपैयाँ निर्माण सम्पन्न हुँदासम्म अझ बढ्ने देखिन्छ किनभने यसअघिका नेपालमा अधिकांश ठुला आयोजना सुरुको लागत अनुमानभन्दा धेरै बढीमा मात्र सम्पन भएको धेरै उदाहरण छन् । माथिल्लो तामाकोसी जलविद्युत् आयोजना अनुमानित लागतभन्दा झन्डै दोब्बर लगानीमा सम्पन्न भएको ज्वलन्त उदाहरण ताजै छ ।
पुल्चोक क्याम्पसका प्राध्यापक डा. ई. हरि पण्डित र पूर्वाधारविज्ञ ई. प्रकाश उपाध्यायलगायतले यो बाँध भूकम्पीय हिसाबमा ज्यादै जोखिमपूर्ण स्थानमा बनाइने जुनसुकै समयमा फुट्न सक्ने, भिरालो ठाउँबाट वर्षात्मा ठुलो पानी तीव्रताका साथ बग्ने भएकोले त्यसबाट दिने प्रभाव निकै ठुलो हुने भनी आपत्ति जनाउनुभएको छ । हाइड्रोलिक स्ट्रक्चरविज्ञ रवि राजभण्डारी प्रस्तावित बाँध काठमाडौँका लागि घाँटीमा झुन्ड्याइएको तरबार सरह हो, यसले सर्वनाश निम्त्याउन सक्ने भनि केही समयअघि लिबिया र सिक्किमको बाँध फुट्दा निम्तिएको विपत्तिबाट पाठ सिक्नुपर्ने सल्लाह दिनुहुछ ।
यो आयोजना निर्माण गर्न करिब ६५३ हेक्टर जमिन चाहिने र शिवपुरीमा ८० हजार २५८ रूख काट्नुपर्ने भनी यसको ई.आइ.ए. (वातावरणीय प्रभाव मूल्याङ्कन) प्रतिवेदनमा उल्लेख छ । साथै “आयोजनाबाट स्थायी प्रभावका रूपमा स्थानीय जैविक विविधतामा कमी आउने, वन्यजन्तुको वासस्थान विनाश हुने र निर्माणसम्बन्धी गतिविधिले स्थानीय भूबनोट परिवर्तन गर्ने, भूक्षय बढाउने र नदीमा धमिलोपन बढाउनेछ,” भनी प्रतिवेदनमा उल्लेख गरेको भनी हिमाल खबरमा प्रकाशित गरिएको छ । यही प्रतिवेदनलाई लिएर प्रकृति अधिकारका अभियन्ता श्रवण शर्माले यो आयोजनालाई आपत्ति जनाएको छ । यो आयोजनाबाट स्थानीय जीवजन्तुमा असर पर्ने, धेरै जग्गा जमिन पानीमुनि जाने र काटिएका रुखको क्षतिपूर्ति स्वरूप एउटा रुख काटेबापत २५ वटा नयाँ बिरुवा रोप्नुपर्ने नीतिअनुसार २० लाख बिरुवा रोप्न जमिन उपलब्ध हुन्नै नसक्ने जिकिर गर्छ ।
सिँचाइ विभागको प्रमुख प्राथमिकतामा राखेर निर्माण गर्न लागेको यस नागमती आयोजनाबाट वाग्मतीमा पानी छोडेर प्रदूषण बगाउनेबाहेक सिँचाइसँग यसको कुनै नाता नभएको भनी सिचाइँ विभागको पहिलो प्राथमिकता सिचाइँमा पानी हुनुपर्नेमा यो योजनाबाट धान वा गहुँ फल्नमा कुनै मद्दत नपुग्ने भनी सिँचाइ विभागका पूर्वसिनियर इन्जिनियर डी.पी. जैसीले पनि यस आयोजनामा आपत्ति जनाउनुभएको छ । ई. जैसीका अनुसार नागमती बाँधको डी.पी.आर. मा कदाचित बाँध फुटेमा वाग्मती नदीले आफ्नो धार परिवर्तन गर्ने र प्रतिसेकेन्ड ३४ लाख ७० हजार लिटर पानी हुतिएर काठमाडौँमा झर्ने र बाँधदेखि सुन्दरीजल पुलसम्म १५ मिनेटमा र पशुपतिनाथासम्ममा १.५ घण्टाभित्र आइपुग्ने प्रतिवेदनमा उल्लेख भएको जानकारी दिएको छ । सम्भावित जलवायु परिवर्तनबाट हुने जोखिम विचार नगरी डिजाइन गरेर मेलम्ची खानेपानी आयोजनाबाट कति बिपत्त ल्यायो ? यस बाँध फुटेमा पनि यसले चार प्रमुख धार्मिकस्थल गोकर्णेश्वर, गुह्येश्वरी, पशुपतिनाथ र शङ्खमूलका महत्वपूर्ण धार्मिक स्थल बाढीले बढार्ने र करिब ५ लाख जना घरबस्तीबाट प्रभाव पर्ने भनी चिन्ता व्यक्त गरेको छ ।
आजसम्म देशका विभिन्न परियोजनाहरूका लागि लिएको ऋण हेर्दा सार्वजनिक ऋण देशको कुल गार्हस्थ उत्पादनभन्दा ४४ प्रतिशतले बढी हुन आएको अवस्थामा सीमित लाभ दिने यो बाँधको लागि रकम खन्याउन ऋण लिनु जुन दायित्व देशभरिका नागरिककोमा बाँडिनेछ, यो उपयुक्त नहुने भनी थप बिमति राखिएको छ ।
अन्तमा, वाग्मती नदी नेपालको राजधानी काठमाडौँलगायत गोकर्णेश्वर न.पा., ललितपुर मा.न.पा., कीर्तिपुर न.पा. हुँदै बगेर जाने हो । घना बस्ती हुँदै बग्ने यो नदी र आयोजनाको क्षेत्र उच्च भूकम्पीय क्षेत्रमा पर्दछ । त्यसैले भूकम्पले नागमती बाँध फुट्यो भने यसबाट असर अकल्पनीय नै हुने छ किनभने सन् २०१५ मा ७.८ रेक्टरको भूकम्पको असर अझै हामीले बिर्सिन सकेका छैनौँ । ई. जैसीको अर्को बहस योजनाको लागि एडीबीबाट लिएको ऋण तिर्ने समय सन् २०२८ देखि विदेशी मुद्रामा सुरु हुन्छ, जुन विदेशी डलरमा तिर्न २५ अर्बको योजनामा १५ अर्ब रुपियाँ बराबरको विदेशी मुद्रा चाहिने देखिन्छ । एक जना युवाले वर्षको ५ लाख नेपाली रुपियाँ बराबर डलर कमाएर पठायो भने १५ अर्ब नेपाली रुपियाँ बराबरको डलर कमाउन ३०,००० युवाहरूले एक वर्षसम्म खाडीको पचपन्न डिग्री सेल्सियसमा तातिनुपर्ने छ । यसको भार मेचीदेखि महाकालीसम्म, हिमालदेखि तराईसम्मका जनताको टाउकोमा पर्नेछ ।
आयोजना आफैँमा नराम्रो होइन, तर वाग्मती नदीमा मिसाएका लेदोलाई बगाउनैको लागि मात्र यत्रो ठुलो उचाइको बाँध तथा पानी सङ्कलन र यसको लागि यतिको ऋणयुक्त लगानी गर्नु उपयुक्त होइन । घर घरमा अनिवार्य सेफ्टी ट्याङ्क निर्माण र अरु थुप्रै विकल्प हुँदा हुँदै यो आयोजनामा लागि पर्नु पक्कै बहसको कुरा हो । ट्रङ्क लाइनमार्फत ट्रिटमेन्ट प्लान्टमा जोड्ने अनि सफा पानीमात्र नदीमा फाल्न सकेमात्र वाग्मती सफा हुनेछ ।
गुह्येश्वरीमा ढल प्रशोधन प्लान्ट सञ्चालनमा आइसकेको र काठमाडौँको धोबीघाट क्षेत्रको निर्माणको अन्तिम चरणमा पुगेको देखिन्छ । त्यस्तै, ललितपुर, भक्तपुरको सल्लाघारी र गोकर्णमा फोहोर पानी प्रशोधन केन्द्र निर्माण प्रक्रियामा रहेको छ । यही निर्माण कार्यलाई तिव्रता दिएमा वाग्मती नदी सुधारमा टेवा पुग्नेछ ।
Leave a Reply