अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
बाँके जिल्लाको २३३७०० हेक्टर वा २३३७ वर्ग किलोमिटर भूमिमध्ये कृषिजन्य भूमि ९५१३७ हेक्टर छ । ६०१६६६ जनसङ्ख्या भएको यो जिल्लामा ९४७७३ घरधुरी छन् । सरदर प्रतिवर्षको उत्पादन १०३५५९ मेट्रिक टन हुन्छ । यो जिल्ला कृषि उत्पादनमा अग्र स्थानमा रहेको छ । धेरै प्रतिशत किसान जनता खेतीमा निर्भर भएको पाइन्छ । यस जिल्लामा उत्पादनको लागि पर्याप्त भूमि छ र उत्पादन पकेट एरिया पनि छ । त्यसमध्ये जिल्लाअन्तर्गतका नौवस्ता, टिटरिया, विनौना, हिरमनिया, होलिया, सीतापुर, राधापुर, वेतनिया लगायत छन् । पर्याप्त उत्पादनशील भूमि भएर पनि कृषि उत्पादन र किसानहरूको अवस्थाबारे सरकारले ध्यान नदिएको हुँदा किसानहरू निरास छन् । उत्पादन पनि घटेको छ । खेती गर्ने किसानको आफ्नै भूमि नभई जमिनदारको जग्गामा अधिया खेती गर्ने प्रचलनले उत्पादन घटेको छ । खेतबारीमा काम गर्ने भूमिहीन किसानहरूलाई जग्गा दिने र आफ्नो जग्गामा आफै खेती गर्न लागेपछि उत्पादनमा अभिवृद्धि हुने देखिन्छ । पुरानै विधिबाट भइरहेको खेती गर्ने प्रणालीबाट उत्पादन भएको अन्न खेती अन्य जिल्लामा निर्यात गर्न सकेको छ । शिक्षा र चेतनाको कमीका कारण जमिनदारहरूले किसानहरूलाई दास सरहको व्यवहार गरिरहेको पाइन्छ ।
सिँचाइको अभावमा आकासे पानीको भरमा खेती लगाउनु पर्ने अवस्था छ । यसरी खेती लगाउनु पर्दा किसानले सोचेबमोजिम उत्पादन हुन सकेको छैन ।
राप्ति सिँचाइ आयोजनाले बाँके जिल्लाका धेरै खेतमा सिँचाइ पु¥याउने उद्देश्य भए तापनि उक्त आयोजना निर्माणमा ढिलाइ भएर मुख्य नहर मात्र निर्माण हुन सकेको र शाखा सिँचाइ नहरहरू निर्माण हुन नसकेकोले किसानहरूको खेतमा पानी पुगेको छैन । जमिनबाट वा खोलानालाबाट पम्पसेटबाट पानी तानेर खेती गर्न वा सिँचाइ गर्नुपर्ने किसानका पुरानै समस्या हुन् ।
खेतमा बिजुली लाइन नहुँदा पम्पसेटको प्रयोग गर्नु परेको दुखेसो किसानहरूको छ । पटकपटक कृषि मिटरको माग गर्दा विद्युत् प्राधिकरण वा नजिकको विद्युत् सेवा कार्यालय र स्थानीय सरकार सञ्चालकहरू मूकदर्शक हुन्छन् । रासायनिक मल र बीउको जहिल्यै समस्या हुन्छ । भारतबाट नक्कली वा म्याद नाघेको मल र बीउले खेती गर्नु पर्दा यहाँको उत्पादन घटेको हो । माटो परीक्षण गराएर समयमै उचित मल बीउको व्यवस्था गरी प्रगतिशील वा नगदे खेती प्रणाली अपनाएको भए उत्पादन बढ्ने र किसानहरूको आर्थिक स्तर उठ्ने थियो । किसानहरू आत्मनिर्भर हुने थिए । कृषि उत्पादन घट्दा देश गरिब भयो । आर्थिक मन्दी भयो । कृषिमा राज्यको दायित्व नहुँदा आयआर्जनको लागि मानिसहरू बिदेसिन थाले, गाउँ खाली हँुदै खेत बाँझो छ, अझै अवस्था नाजुक हुने देखिन्छ ।
कृषि उत्पादनमा कमी हुँदा कृषि योग्य भूमि उत्पादन क्षमता भए तापनि बाहिरबाट खाद्य वस्तु खरिद गरी खानु पर्दा कृषिप्रधान देशको परिचय गुमेको छ । उत्पादनको प्रचुर सम्भावना बोकेको यो जिल्ला खाद्यान्नमा सङ्कट पर्नुले देशकै दुर्भाग्य भएको पाइन्छ । कृषिमा अनुदान नभई उचित व्यवस्थापन नहुँदा कृषि उत्पादन घट्यो । त्यसकारण, देश भने आर्थिक सङ्कटमा परेको तथ्य यो जिल्लाबाट पनि लिन सकिन्छ ।
भारतीय बजारको कुनै पोषण शक्ति नभएको खाद्यान्नले नेपाली खाद्यान्नको महत्व घटेको छ । यसले जिल्लावासीको स्वास्थ्यमा पनि असर पु¥याएको छ । बजार एरियाका धेरैजसो घरमा आज भारतीय खाद्यान्न प्रयोग भइरहेको छ । खुला सिमानाका कारण भारतीय व्यापारीहरू यहाँको उत्पादन समयमै खरिद गरी आफ्नो कब्जामा लिन्छन् । उनीहरू सस्तोमा खरिद गरेर नेपालीहरूलाई महँगोमा बिक्री गर्छन् । धान भारत जान्छ । नेपालीहरू भारतीय चामल खान्छन् । खुला सीमाले गर्दा सिमानापारि भारतको रुपैडिया बजारमा नेपालीहरू हजारौँका हिसाबले किनमेल गर्न जाने कारणले नेपाली बजार शून्य अवस्था छ । देशमा आर्थिक मन्दी हुनुमा खुला सिमाना पनि एक कारण हो कि भन्ने अनुमान गर्न सकिन्छ ।
देशको मुख्य मेरुदण्ड वा आत्मनिर्भर हुने कृषि क्षेत्र कमजोर हुनु वा खुला सीमा नियमन हुन नसक्नु कृषिमा भएको अनुदान बिचौलिया वा ठुला किसान वा जमिनदारहरूले लिनु या कृषि उत्पादनमा प्रयोग नहुनु दुर्भाग्य हो ।
बाँके जिल्ला कपास र लहरे खेती फल्ने ठाउँ पनि हो । खजुरा कपास विकास समितिले कपास उत्पादन गथ्र्यो । हजारौँ किसानहरू प्रभावित थिए । राज्य पक्षले ध्यान नदिँदा त्यो बन्द अवस्था छ । देशका धेरै कृषि उद्योगहरू बन्द भएर देशले क्षति व्यहोर्दै छ ।
किसानका समस्यालाई आत्मसात गर्दै समस्यामा परेका किसानहरूको पसिनाको महत्व बुझ्न सक्ने सरकार वा व्यवस्था नभएसम्म यथावत् रहने देखिन्छ । प्रशस्त जङ्गल क्षेत्र भएकोले धेरै ठाउँमा प्राङ्गारिक कम्पोस्ट मल कारखाना बनाउन सकिने सम्भावना छ । राज्यबाट सही व्यवस्थापन भए यस जिल्लाको उत्पादन निकै अगाडि बढ्न सक्नेछ र किसानहरू नै आत्मनिर्भर हुने थिए । किसानहरू उत्पादनमा आत्मनिर्भर हुन नसक्नु ठुलो दुर्भाग्य हो ।
Leave a Reply