अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
नेपालका ‘नागरिक’, ‘समाचारपत्र’, ‘राजधानी’, ‘अन्नपूर्ण’, ‘नयाँ पत्रिका’ आदि दैनिकले ‘शनिबार’ को अङ्कलाई कहिलेकाहीँ कला र साहित्यिक अङ्कको रूपमा छाप्ने गरेको पाठकहरूलाई अनुभव छ । तर यसको अर्थ ‘शनिबार’ को अङ्कमा समाचार दिँदैन भन्ने होइन । ६ माघ २०८० को ‘नयाँ पत्रिका’ ले अग्रपृष्ठमै ‘सुत्केरी र गर्भावस्थामा ज्यान गुमाउनेमध्ये ४३ प्रतिशतको एउटै कारण उपचार अभाव’ शीर्षकको समाचार छाप्यो । उक्त समाचारले आजसम्मका सबै प्रजातान्त्रिक र गणतान्त्रिक सरकारको मुखमा कालो डलेको भन्दा फरक नपर्ला ! ती सरकारका स्वास्थ्य मन्त्रीहरूले त ‘खुर्सानीको बोटमा झुन्डिएर मरे’ जस्तो भन्ने नेपाली उखान चरितार्थ हुन्छ किनभने ‘खुर्सानीको बोट’ मा मुसा झुन्ड्याए पनि मर्दैन ! तर, यसले जनताको भावनाको आक्रोशको प्रतिनिधित्व गर्छ ।
त्यस अङ्कमा तेजेश्वरबाबु ग्वंगको ‘त्यो भक्तपुर, यो भक्तपुर’, ‘आफ्नोपन रहेमात्रै हामी रहन्छौँ, आफ्नोपन नभए जतिसुकै आधुनिक भए पनि अर्थ छैन’ शीर्षक र उपशीर्षकले धेरैको ध्यान आकर्षित ग¥यो ।
कम समयमा सबभन्दा बढी युवाहरू विदेशमा पठाउन सफल अर्थमन्त्री डा. प्रकाशशरण महतले ‘लगानी सम्मेलनको तयारीलाई तीव्रता दिन …. निर्देशन’ दिए । जति बढी विदेशी लगानीको ‘निर्देशन’ दिए, त्यति त्यति नै देशको आर्थिक अवस्था झन्झन् फोहरको गहिरो पोखरीमा धसिँदै गएको साबित हुँदै छ ।
एक वर्षमा सरकारलाई जतिवटा ‘चिकित्साशास्त्र’ पढ्ने देश र विदेशको छात्रवृत्ति आउँछ, ती सबै छात्रवृत्ति तराई, पहाड र हिमालका योग्य छात्राहरूलाई डाक्टर पढाउने प्रस्ताव थियो । तर, त्यसलाई सरकारहरूले कागजको टुक्रा फाल्ने डालामा मिल्काए । अर्थ थियो – हरेक जिल्लामा एक एक जना महिला चिकित्सक गाउँले पाउने थिए । ती महिला चिकित्सकले सर्तअनुसार ५ वर्षसम्म आङ खस्ने रोग, सुत्केरी, बोक्सी र अन्य महिलाहरूको रोगलाई उपचार गर्थे । अनि सुत्केरी र गर्भावस्थाका महिलाहरू डाक्टर नभए पनि मर्नुपर्ने अवस्था आउँदैनथ्यो । तर, सरकारमा बस्नेहरू लायक छैनन्, आ–आफ्ना छोराछोरीलाई मात्र डाक्टरी पढाउन चाहन्छन्, जनताका छोराछोरीलाई होइनन् ।
‘झन् नयाँ’ ६ माघ २०८० को अङ्कमा ‘घर कि थर’ भन्ने एउटा कविता पनि छापिएको थियो । कवितामा खोटाङकी अनिशा रम्तेलको नाम छापिएको छ । कवयित्रीको तस्बिर पनि छ । पहिले पनि यो कविता सुनेको जस्तो लाग्यो भन्नेहरू पनि छन् !
कवितामा माथिल्लो जातलाई ‘कालो मोसो’ दलेको, शारीरिक प्रेमलाई गाली नगरिकन युवाहरू वा पढेलेखेका ठुला जातजातिका जवानहरूलाई ‘डरछेरूवा’, ‘पानीमरूवा’ र ‘लाजमर्दो ठुलो जात’ नभनी ‘सामन्त’ समाजका सामन्तका छोराहरूलाई व्यङ्ग्य गरिएको छ र उदाङ्ग्याइएको छ । कवितामा लेखिएको छ –
“धन्न रूप थियो र तिमीले बिस्तरासम्म लग्यौ
नत्र कोठा नदिने तिम्रो घरमा
कुलसम्म जाने मेरो हैसियत नै कहाँ थियो र !?”
कवितामा अर्को झटारो हानिएको छ –
“योनीमा जात थिएन र मात्र !
नत्र त तिमीले पनि बिस्तराबाटै फर्काइदिने थियौ
सम्भोगले झण्डै तिम्रो धर्म मासिने थियो… ।”
ठुलो जातकी आमा भएर पनि नारी थिइनन् नभनी कवितामा यसरी व्यङ्ग्य गरिन् –
‘तिमीले छोड्यौ भनेर पनि के गुनासो गर्नु
राख्न सक्ने ठाउँसम्म राखेकै हो
दिनसक्ने हक दिएकै हो !
नत्र नामको पछि
थर राख्न त कहाँ मेरो थरले दिन्थ्यो र ?”
कविताको अन्तमा लेखिएको छ –
“होटलको बिस्तरामा निदाएर
म तिम्रो घरको बिस्तरामा
तिमीसँगको भविष्यको सपना देखिरहेथेँ
धन्न सपनाबाट तिमीले झस्कायौ र यथार्थलाई स्वीकारेँ
नत्र मैले
यथार्थमा सम्भव हुने सपना कहाँ देखेको थिएँ र ?”
Leave a Reply