भर्खरै :

फेबियाली समाजवाद (Fabian Socialism)

फेबियाली समाजवाद (Fabian Socialism)

फेबियाली समाजवादलाई विकासवादी समाजवाद, सामूहिकवाद (Collectivism) र प्रजातान्त्रिक समाजवाद (Democratic Socialism) पनि भन्ने गरिन्छ ।
रोममा जोन फेबियस हैनिवल नाउँका एक लडाकु थिए । शत्रुमाथि आक्रमण गर्ने उचित अवसर नआएसम्म उनी हमला गर्दैनथे । उनी अलिअलि गर्दै आफ्नो उद्देश्यको निम्ति अवसरको खोजी रहन्थे । उनकै कार्यशैलीलाई अँगाली जार्ज वनार्ड शा, एच. जी. वेल्स, सिड्नी बेव, मिसेज ऐनी बेसेन्ट, रेम्जे मेक्डोनाल्ड, ग्राइस वेलास, लास्की, कोल आदिले समाजवाद स्थापना गर्न चाहन्थे । यसकारण, त्यसप्रकारको समाजवादलाई फेबियाली समाजवाद भनियो ।
प्रजातान्त्रिक ढङ्गले सबभन्दा राम्रो उत्पादनको व्यवस्था गर्ने उद्देश्य राख्ने फेबियाली समाजवाद ४ अक्टोबर १८८४ मा बेलायतमा ‘फेबियाली समाज’ को रूपमा स्थापित भयो । त्यसका मुख्य उद्देश्य यी हुन् :–
१) भूमि र औद्योगिक पुँजीलाई व्यक्तिगत मालिकत्वबाट सार्वजनिक हितको निम्ति समाजको हातमा सुम्पनु र देशका सम्पूर्ण प्राकृतिक स्रोत र साधन वा सम्पत्तिलाई जनतामा न्यायोचितरूपले वितरण गर्नु हो ।
२) व्यक्तिगत हितलाई छोडेर सार्वजनिक हितकै निम्ति मात्र समाजले नै सबै उत्पादन र सेवालाई व्यापक जनतामा वितरण गर्नु र व्यक्तिगत लाभलाई कुनै स्थान नहुने तर करेसाबारी बगैँचासम्म व्यक्तिलाई दिन सक्ने तिनीहरूको दृष्टिकोण थियो ।
३) शान्तिपूर्ण ढङ्गले एकएक पाइला गरेर विस्तारै उद्योगधन्दालाई सामाजिकीकरण गर्दै पुँजीवादलाई समाजवादमा रूपान्तरण गर्ने र त्यसको निम्ति समाज र जनतालाई राजनीतिकरूपले सचेत पार्नुपर्दछ ।
फेबियाली समाजवादलाई बेलायती बुद्धिजीवीहरूको विचारको रूपमा पनि हेरिन्छ । १८८७ मा यसले आफ्नो सिद्धान्तको रूप लियो । तर, सन् १९२० सम्म पनि यसको सदस्य सङ्ख्या ४–५ हजारभन्दा बढी थिएन ।
फेबियाली समाजवादको आधार
१) पुँजीवादी व्यवस्थाकै कारण समाजमा आर्थिक असमानता र मजदुरहरूमाथि शोषण भयो, मुट्ठीभर व्यक्तिको हातमा ठुलो धनराशी जम्मा भयो र अत्यन्त बहुमत जनता दरिद्र भए । पुँजीवादले साम्राज्यवाद ल्यायो, साम्राज्यवादले राज्यहरूमाझ लडाइँ, सङ्घर्ष र रक्तपात ल्यायो । यसकारण, साम्राज्यवादको पनि विरोध गरिनुपर्दछ ।
२) व्यक्तिको हित या व्यक्तिलाई प्रमुखता दिने तथा समाज एवं राज्यको सकेसम्म कम हस्तक्षेपको सिद्धान्त नै व्यक्तिवाद हो । भोक र गरिबीले मानिसको स्वतन्त्रता हनन हुन्छ । व्यापक जनताको हितलाई प्राथमिकता दिनुपर्छ, व्यक्तिगत होइन ।
३) फेबियाली समाजवादले विस्तारै मजदुर र पुँजीपतिवर्गको बिचमा आर्थिक असमानता हटाउन खोज्छ, ठुलठुला उद्योगहरूलाई क्षतिपूर्ति दिई राष्ट्रियकरण गर्छ; स–साना उद्योग निजी स्वामित्वमै दिन्छ† वर्गसङ्घर्ष तथा हिंसात्मक आन्दोलनको विरोध गर्छ र विस्तारै कानुनद्वारा समाजवाद ल्याउन खोज्छ ।
फेबियाली समाजवाद र वैज्ञानिक समाजवादमा फरक
१) फेबियालीहरू निर्वाचित सरकारमार्फत समाजवाद लागु गर्न चाहन्छन्, राज्यविहीन समाजको कल्पना गर्दैनन्, खाली राज्यलाई सुधार गर्न चाहन्छन्, किनभने राज्य खराबी हो भन्ने मान्छन् । तिनीहरू व्यक्तिगत स्वतन्त्रता, प्रान्तीय र स्थानीय निकायलाई अधिकार दिन चाहन्छन् ।
२) फेबियालीहरू स्वास्नीमानिस र लोग्नेमानिसलाई समानरूपले मताधिकार दिने र प्रजातन्त्रका हिमायती छन् । लोक कल्याण, बेरोजगार, अपाङ्ग र बिरामीहरूलाई सुरक्षा, निःशुल्क शिक्षा र समाजको सुधारका पक्षपाती तथा सरकारको विरोध गर्ने अधिकारको पक्षमा छन् । हिंसा उपद्रव र भाँचकुँचका तिनीहरू विरोधी छन् ।
३) फेबियालीहरूको पुँजीवादविरोधी विचारमा माक्र्सवादको प्रभाव भए पनि तिनीहरू समाजवादको स्थापनामा वर्गसङ्घर्ष, क्रान्तिकारी उपाय र पुँजीवादी व्यवस्थाकै उन्मूलन गर्न चाहँदैनन् । तिनीहरू संसद्मा निर्वाचित भएर ऐनकानुन बनाएर पुँजीवादको विरोध गर्न चाहन्छन् । तिनीहरू माक्र्सवादीजस्तो शासनसत्ता मजदुरवर्गको हातमा दिन चाहँदैनन् र माक्र्सको अतिरिक्त मूल्यलाई मान्दैनन् ।
४) माक्र्सवादीहरू धर्म र राष्ट्रवादलाई मान्दैनन् भने फेबियालीहरू धर्म र राष्ट्रवादविरोधी होइनन् ।
आलोचना
१) क्रान्तिबिना निर्वाचन र संसद्बाट समाजवाद स्थापना गर्ने कुरा कल्पनामात्रै हुनेछ ।
२) मुआब्जा दिएर ठुलठुला उद्योग राष्ट्रियकरण गरेर आर्थिक समानता आउँदैन ।
३) व्यक्तिवादीहरू फेबियाली विचारलाई व्यक्तिगत स्वतन्त्रताको हनन मान्छन्, उद्योग राष्ट्रियकरण गर्दा व्यक्तिगत उत्साह घट्छ र सबै कार्य राज्यले गर्दा कार्यकुशलता घट्छ र नागरिकहरूको हित हुँदैन भन्छन् ।
फेबियाली समाजवादको महत्व
१) संसद्बाट समाजवाद नआए पनि त्यसले गर्दा बेलायतमा लोक कल्याणकारी राज्यको प्रचार भयो । उद्योगधन्दाको राष्ट्रियकरण, भूमिको सीमाकरण, जमिनदारी उन्मूलनजस्ता प्रचारमा त्यस विचारले सहयोग गरेको बताइन्छ । यस विचारले सुधारवादी र संशोधनवादीहरूलाई सहयोग पु¥याउँछ ।
२) फेबियाली समाजवादी विचारले मजदुरवर्गमा भ्रम फैलाउँछ, क्रान्तिकारीहरूलाई हतोत्साहित गर्छ र पुँजीवादलाई धेरै दिन टिकाउन सहयोग गर्छ । यसकारण, यसलाई पुँजीवादी समाजवाद भनेमा फरक पर्दैन ।
नेपालमा नेपाली काङ्ग्रेस यस विचारको पक्षपाती हो । पहिलो निर्वाचनको नेकाको घोषणापत्रमा हाम्रो टाढाको लक्ष्य समाजवाद भनी लेखिएको थियो । स्वीडेन, फिनल्यान्ड र नर्वे जस्ता स्केनडेबियाली देशहरूमा प्रजातान्त्रिक समाजवाद लागू गरेको बताइन्छ । प्रगतिशील कर प्रणाली लागू गरेर समाजवाद स्थापनाको दृष्टिकोण पुँजीवादलाई दीर्घजीवन दिने उपायमात्रै हो ।
फेबियाली समाजवादका प्रवर्तकहरू
जार्ज बनार्ड शा
एच.जी. वेल्स
सिडनी वेव
मिसेज ऐनी बेसेन्ट
रेम्जे मैकडोनाल्ड
ग्राइस बेलास
समष्टिवाद वा राजकीय समाजवाद (Collectivism or State Socialism)
राजकीय समाजवाद अति व्यक्तिवादको जवाफको रूपमा देखा परेको एक दृष्टिकोण हो । समष्टिवाद वा राजकीय समाजवादलाई प्रजातान्त्रिक उपायद्वारा वा विकासवादी ढङ्गले पुँजीवादका खराबीहरूलाई हटाई समाजवाद स्थापना गर्ने यसको उद्देश्य हो । यो माक्र्स र एङ्गेल्सको वैज्ञानिक समाजवादसँग असहमत पक्ष हो । वैधानिक ढङ्गले आन्दोलन गरी सरकारले राज्यमार्फत पुँजीवादलाई समाप्त पार्ने र निजी उत्पादनका साधन र सेवाहरूलाई व्यक्तिको हातबाट राज्यको अधिकारमा दिने सिद्धान्त हो । राज्यले मात्रै यस्तो व्यवस्था गर्नसक्छ भन्ने तिनीहरूको विश्वास हो ।
राजकीय समाजवादका मुख्य विशेषता
१) राज्य एक संस्था हो, अधिकारीहरूको बथान होइन, बरु योग्य अधिकारीहरूले राज्य सञ्चालन गर्छन् ।
२) पुँजीवादी व्यवस्था धनी र गरिबको भेद ल्याउने, सम्पूर्ण कुकृत्यका जन्मदाता, राजनैतिक स्वतन्त्रता दिए पनि आर्थिक स्वतन्त्रता दिन नसक्ने, गरिब जनता आर्थिक दासताको सिक्रीमा बाँधिने, आर्थिक र राजनैतिक विकृतिको द्योतक हो । यसकारण, पुँजीवादी व्यवस्थालाई विस्थापित गर्नु आवश्यक छ ।
३) उत्पादनका साधन र सेवालाई राष्ट्रियकरण गरी त्यसको राम्रो बन्दोबस्त राज्यले गर्ने कुरामा तिनीहरू विश्वास गर्छन् ।
४) उत्पादनका साधनहरू राष्ट्रियकरणपछि कृत्रिम अभाव समाप्त हुन्छ, शिक्षा, स्वास्थ्य, पुस्तकालय, सङ्ग्रहालय आदिको बन्दोबस्त हुन्छ र समाजमा नैतिक सुधार हुन्छ ।
५) वर्गसङ्घर्ष र हिंसात्मक सङ्घर्षको ठाउँमा वर्ग समन्वयको सिद्धान्त मान्छ ।
६) प्रगतिशील कर प्रणालीको पक्षपाती, अतिरिक्त पुँजीको लाभ जनकल्याणमा खर्च गर्ने र श्रमिकहरूले नै उद्योग व्यवसायको बन्दोबस्त गर्ने तिनीहरूको विश्वास हो ।
राजकीय समाजवादको पक्षको भनाइ
नियोजित समाज, आर्थिक न्यायको पक्षपाती, औद्योगिक प्रतिस्पर्धा र एकाधिकारको खराबीबाट समाजलाई रक्षा गर्न राज्यले उद्योगधन्दा हातमा लिई समाजलाई आवश्यक वस्तु र सेवा प्रदान गर्ने हो ।
पुँजीवादको खराबीबाट मुक्त समाज एकरूपता र नियमितता हुने, व्यक्तिको जीवनमा सुधार हुने लोककल्याणकारी बन्दोबस्त हुनेछ ।
आलोचना
१) राज्यको हातमा सम्पूर्ण शक्ति प्रदान गर्दा भ्रष्टाचार र अनियमितता बढ्छ, राजनीतिज्ञ र अधिकारीहरू मोटाउँछन्, उद्योगधन्दा ध्वस्त हुन्छ ।
२) मजदुर र पुँजीपतिवर्ग मित्र हुनसक्दैन । वर्ग समन्वयको सिद्धान्तले पुँजीवादी व्यवस्थाकै सेवा गर्छ ।
३) प्रजातान्त्रिक, वैधानिक वा संसद्मा बहुमत प्राप्त गरेर समाजवाद स्थापना हुँदैन ।
४) वैज्ञापिनक समाजवादको विरोधमा पुँजीपतिवर्गकै सेवा गर्छ र कामदारवर्गमा भ्रमको खेती गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *