भर्खरै :

भक्तपुर नगरपालिका, सुधारिएको शवदाह गृह सञ्चालन कार्यविधि, २०७९ का व्यवस्थाहरू

  • माघ १६, २०८०
  • हरिराम सुवाल, संयोजक, विधायन समिति, भनपा
  • विशेष समाचार

नेपालको संविधान २०७२ को धारा १०२ अनुसार स्थानीय निकायलाई संविधानले तोकिएका क्षेत्राधिकारभित्रका विषयहरूमा कानुन बनाई कार्यान्वयन गर्ने अधिकार रहेको छ । यही अधिकारलाई प्रयोग गर्दै भक्तपुर नगरपालिकाले धेरै विषयमा कानुनहरू बनाई कार्यान्वयन गर्दै आएको छ । २०७९ पुस महिनामा बसेको भक्तपुर नगरपालिकाको ते¥हौँ नगर सभाले भक्तपुर नगरपालिका सुधारिएको शवदाह गृह सञ्चालन कार्यविधि, २०७९ पारित गरेको छ । साथै भक्तपुर नगरपालिकाले भनपा वडा नं. ७ मा हाल दुई वटा शवदाह गृह सञ्चालनमा ल्याइसकेको छ । त्यही शवदाह गृहलाई व्यवस्थित र दीर्घकालीनरूपमा सञ्चालन गर्नको लागि शवदाह गृह सञ्चालन कार्यविधि आवश्यक छ । त्यसकारण, भनपाको ते¥हौँ नगर सभाले शवदाह गृह सञ्चालन कार्यविधि, २०७९ पास गरेको थियो । सुधारिएको शवदाह गृह सञ्चालन कार्यविधि, २०७९ को प्रस्तावनामा लेखिएको छ, भक्तपुर नगरपालिका क्षेत्रभित्र स्थायी वा अस्थायी बसोबास गर्ने र देशभरिका नागरिकहरू स्वाभाविक कालगतिले मृत्यु हुँदा वा अन्य विभिन्न कारणले मृत्यु हुँदा शवहरूको उचित व्यवस्थापन गर्नको लागि, वातावरणलाई स्वच्छ र स्वस्थ राख्ने प्रयोजनले भक्तपुर नगरपालिकाले सुधारिएको शवदाह गृह सञ्चालनमा ल्याएको हुँदा यसलाई नियमित र व्यवस्थित गर्न कार्यविधि बनाउन वाञ्छित भएकोले भक्तपुर नगरपालिकाको ते¥हौँ नगर सभाबाट पारित गरी यो कार्यविधि लागु गरिएको छ ।
परम्परागत शवदाहले समय धेरै लाग्ने र गुठीयारहरूको समय बचत गर्न र वातावरण दूषित हुनबाट जोगाउनको लागि भक्तपुर नगरपालकाले यो नयाँ शवदाह गृह सचालनमा ल्याएको हो । साथै स्थानीय तह निर्वाचन–२०७९ मा नेपाल मजदुर किसान पार्टीले भक्तपुर नगरपालकाको लागि प्रस्तुत गरेको प्रतिबद्धता पत्र–२०७९ को बुँदा नंं ११ मा सुधारिएको शवदाह गृह सञ्चालनमा ल्याउने उल्लेख गरेअनुसार शवदाह गृह निर्माण सम्पन्न भई सञ्चालनमा समेत ल्याएको छ । यसलाई व्यवस्थित गर्न नै कार्यविधि आवश्यक भएको हो ।
यस कार्यविधिको दफा १ ले विभिन्न कानुनी शब्दको परिभाषा गरिएको छ । जसअनुसार ‘शव’ भन्नाले भक्तपुर नगरपालिका क्षेत्रभित्र स्थायी वा अस्थायी बसोबास गर्ने र देशभरिका नागरिकहरू स्वाभाविक कालगतिले मृत्यु हुँदा वा अन्य विभिन्न कारणले मृत्यु भई ल्याइएका मानिसको मृत्यु भएको शरीरलाई सम्झनुपर्दछ । शवको परिभाषाले भक्तपुर नगर र नेपालभरिका नागरिकहरूको स्वाभाविक मृत्यु वा अन्य कारणले मृत्यु भएमा शव जलाउने उद्देश्यले परिभाषित गरेको प्रस्ट हुन्छ । ‘शवदाह गृह’ भन्नाले भक्तपुर नगरपालिकाले भनपा वडा नं. ७ हनुमान घाटमा निर्माण गरिएको सुधारिएको शवदाह गृहलाई सम्झनुपर्छ । यस शब्दले भविष्यमा नगरका अन्य स्थानहरूमा निर्माण हुने शवदाह गृहलाई पनि बुझाउने छ । ‘गुठी’ भन्नाले सामाजिक परम्पराअनुसार विभिन्न उद्देश्यले सञ्चालनमा रहेको मानिसहरूको समूहलाई सम्झनुपर्दछ । ‘परिवार’ भन्नाले मृतकको एकाघरमा बस्ने र एउटै भान्छा र छतमुनि बसेको परिवारका सदस्यहरूलाई सम्झनुपर्दछ ।
सुधारिएको शवदाह गृहमा शव जलाउनेसम्बन्धी व्यवस्था :
यस कार्यविधिको दफा २ ले सुधारिएको शवदाह गृृहमा शव जलाउने सम्बन्धमा उल्लेख गरेको छ । जसअनुसार भक्तपुर नगरपालिकाको सुधारिएको शवदाह गृहमा शवदाह गर्नको लागि आउने व्यक्ति, परिवार वा गुठीयारले ल्याउने शवको दर्ता गर्नुपर्दछ । सुधारिएको शवदाह गृहमा शवदाह गर्नको लागि आउने व्यक्ति, परिवार वा गुठीयारले ल्याउने शवको विवरण भरी दर्ता गर्नुपर्नेछ । शवदाहको लागि नाम दर्ता गर्दा परिवार वा गुठीयारबाट प्रति शवको रु. १,०००।— अक्षरेपि एक हजार रूपैयाँ शुल्क तिर्नुपर्नेछ । शवदाह गर्न आवश्यक दाउरा र अन्य सामान मृतक परिवार÷गुठियारबाट ल्याउनुपर्नेछ । शव जलाउँदा मृतक परिवार÷गुठियार वा अन्य सम्बन्धित व्यक्तिहरू अन्तिम समयसम्म बस्नुपर्नेछ । शव जलाउँदा भक्तपुर नगरपालिकाले सुरुमा आगो बाल्न प्रयोग हुने ग्याँसमात्र उपलब्ध गराउनेछ । शव जलाउँदा त्यहाँ खटिने कर्मचारीको स्वीकृति वा सहयोगमा चिता मेसिनमा राख्नेछ । शव जलिरहँदा दाउरा थप्ने र अन्य काम गुठियार वा परिवारका सहयोगीले सम्पूर्ण कार्य गर्नुपर्नेछ । कर्मचारीले सहयोगी भूमिकामात्र निभाउनेछ । साथै चिता मेसिनको काम पूर्णरूपमा कर्मचारीले गर्नेछ । शव जलाउन ल्याउने क्रमअनुसार जो अगाडि पुग्छ त्यहीको चिता क्रमशः शवदाह गरिनेछ । शव जलाउने कार्य आ–आफ्नै संस्कारअनुसार मात्र हुनेछ । शव जलाउने कार्य बिहान ५ः०० बजेदेखि बेलुका ७ बजेसम्म क्रियास्थलसम्म पुगेका शवमात्र जलाउनेछ । तर, अति आवश्यक भएका शव सम्बन्धित वडाका वडाध्यक्षको सिफारिसमा लास जलाउन सक्नेछ । सुधारिएको शवदाह गृहमा जलाउन इच्छाएको शवमात्र जलाइने छ । शवदाह परिसरभित्र अति आवश्यक व्यक्तिहरू बढीमा ७ जनामात्र प्रवेश गर्न पाउनेछन् । जलाउने समयमा पालो फेर्न सकिनेछ । अस्तु बगाउने कार्य स्वयम् परिवार वा गुठीयारले गर्नुपर्नेछ । शवदाह गृहको चितामा प्राविधिक समस्या आई बिग्रेमा शव जलाउन बाध्य हुनेछैन । शव जलाइसकेपछि अनावश्यक वस्तुहरूको नष्ट आफैँले गर्नुपर्ने र परिसर सफाइ गर्ने सबैको दायित्व हुनेछ । गुठीयार तथा परिवारको सामान हराएमा भनपा जिम्मेवारी हुनेछैन । आफ्नो सामान आफँैले सुरक्षा गर्नुपर्नेछ । अस्पतालमा मृत्यु भएको भए मृत्यु प्रमाणपत्रको फोटोकपि पेस गर्नुपर्नेछ ।
व्यवस्थापन समितिसम्बन्धी व्यवस्था :
सुधारिएको शवदाह गृह उचित मर्मत सम्भार, रेखदेख र व्यवस्थापन गर्न एक सुधारिएको शवदाह गृह व्यवस्थापन समिति गठन गरिनेछ । सुधारिएको शवदाह गृह व्यवस्थापन समितिमा निम्न पदाधिकारीहरू रहनेछन् ।
क. सम्बन्धित वडाका वडाध्यक्ष – संयोजक
ख. सम्बन्धित वडाका महिला वडा सदस्य – सदस्य
ग. उपभोक्ता समितिका प्रतिनिधि – सदस्य
घ. हनुमानघाट सेवा समितिका प्रतिनिधि – सदस्य
ङ. शवदाह गृहमा कार्यरत कर्मचारी – सदस्य
व्यवस्थापन समितिको काम, कर्तव्य र अधिकार :
क. समयसमयमा शवदाह गृहमा कुनै समस्या आएमा वा प्राविधिक समस्या आएको खण्डमा आवश्यक मर्मत सम्भार गर्नको लागि पहल गर्ने ।
ख. शवदाह गृहको आवश्यक हेरचाह गर्ने र कर्मचारीहरूलाई हेरचाहको लागि आवश्यक निर्देशन गर्ने
ग. शवदाह गृहको सञ्चालन गर्न आवश्यक कर्मचारीलाई निर्देशन दिने ।
घ. शवदाह गृहको व्यवस्थापन गर्न आवश्यक बजेटको व्यवस्था गर्न विभिन्न निकायबिच समन्वय गर्ने । विशेषगरी भक्तपुर नगरपालिकामा आवश्यक बजेटको लागि व्यवस्थापन समितिका सदस्यहरूले पहल गर्ने ।
ङ. शवदाह गृहको व्यवस्थापन गर्नको लागि आवश्यक नीति निर्माण गर्न परामर्श दिने ।
च. शवदाह गृहको अवस्थामा नगरपालिकामा समयसमयमा जानकारी गराउने ।
छ. नगरपालिकाले दिएका निर्देशनअनुसार शवदाहगृह सञ्चालन गर्न र गराउने आवश्यक व्यवस्था गर्ने ।
नेपाल मजदुर किसान पार्टीले स्थानीय चुनावमा गरेको प्रतिबद्धताअनुरूप कार्यान्वयनमा ल्याएका विभिन्न कार्यहरूमध्ये एक उदाहरण सुधारिएको शवदाह गृह पनि हो । नगरपालिकाले शिक्षा र स्वास्थ्यमा मात्र नभई अन्य क्षेत्रमा पनि प्राथमिकताका साथ घोषणापत्रअनुसार क्रमबद्धरूपमा कार्य गर्दै छ भन्ने कुरा यस शवदाह गृहको सञ्चालनले पुष्टि गर्दछ । त्यसैले, भक्तपुर नगरपालिकाले सञ्चालनमा ल्याएको सुधारिएको शवदाह प्रयोगले वातावरण दूषित हुनबाट जोगाएको छ भने गुठीयारहरूको समय धेरै बचत गरेको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *