भर्खरै :

विकृति अन्त्य गर्न कार्यकर्ताले सही बाटो देखाउनुपर्ने

विकृति अन्त्य गर्न कार्यकर्ताले सही बाटो देखाउनुपर्ने

सिन्धुली, १८ माघ । नेपाल मजदुर किसान पार्टीको ५० औँ स्थापना दिवसको अवसरमा नेमकिपा सिन्धुलीको आयोजनामा अन्तरक्रियात्मक प्रवचन कार्यक्रम बुधबार सिन्धुलीमाडीमा सम्पन्न भयो ।
कार्यक्रममा पार्टी सचिव प्रेम सुवालले भन्नुभयो, “पार्टी एक विश्वविद्यालय हो । पार्टी कार्यकर्ताहरूले सङ्गठनमा रहेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयमा अध्ययन र सिक्ने मौका पाउँछन् । समाजको विकृतिबाट बचाउन कार्यकर्ताले शिक्षकको रूपमा जनतालाई सचेत गर्ने वा सही बाटो देखाउने कार्य गर्दछ ।”
“नेपालको कम्युनिस्ट आन्दोलनमा देखापरेको संशोधनवाद र खोटाविचारको विरूद्ध नेमकिपाको स्थापना भएको हो”, उहाँले भन्नुभयो ।
सचिव सुवालले भन्नुभयो, “नेपालका प्रधानमन्त्री र मन्त्रीहरू आफू पदमा रहँदा सिन्को भाँच्दैनन् तर सत्ताबाट बाहिरिएपछि ती शासकहरूलाई काम गर्न अर्ती दिन पछि पर्दैनन् । यस्तो गलत प्रवृत्तिको नेमकिपाले विरोध गरिरहेको छ ।”
नेपाल भारतको प्रदेश नभई स्वतन्त्र र सार्वभौम देश भएको उहाँले बताउनुभयो ।
“नेपालका प्रधानमन्त्रीहरू भारत जाँदा र भारतका प्रधानमन्त्रीहरू नेपाल आउँदा नेपालका नदीनाला भारतलाई दिने काम भइरहनु नेपालको हितविपरीत छ”, सांसद सुवालले भन्नुभयो ।
नेमकिपा सिन्धुलीका अध्यक्ष कृष्णकुमार श्रेष्ठले सिन्धुलीवासीलाई निर्धक्क भएर नेमकिपामा लाग्न अनुरोध गर्दै भन्नुभयो, “नेमकिपा देश र जनताको पक्षमा सेवा गरिरहेको पार्टी हो ।”
कृष्णकुमार श्रेष्ठको सभापतित्वमा भएको उक्त कार्यक्रममा एनबी दुवाल, रामेश्वरी कोजु, चित्रलाल श्रेष्ठ, हरि खड्का, लक्ष्मण ग्वाछा, कृष्णसुन्दर मचामसी, नविन ग्वाछा, देव खड्का, टीका सिलवाल खत्री, कृष्णबहादुर श्रेष्ठलगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *