अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
काठमाडौँ, २२ माघ । राजनीति इमानदारीपूर्वक गर्नुपर्छ भन्नेमा शङ्का छैन । राजनीति देश र जनताको निम्ति गर्ने हो । पद र पैसाको निम्ति गरिने राजनीति सच्चा राजनीति होइन । राजनीति भागबन्डाको निम्ति होइन । राजनीति पदको दुरूपयोग गरी अकुत सम्पत्ति कमाउन गरिने होइन । पद र पैसामा भुलेर गरिने राजनीतिले देश र जनताको सेवा गर्दैन । शासक दलका नेताहरूले राजनीतिलाई धमिल्याउँदै छन्; राजनीतिप्रति वितृष्णा फैलाउँदै छन् र सिद्धान्त तथा विचार छोडेर अवसरवादी राजनीतिमा हामफाल्दै छन् । राजनीति इमानपूर्वक नगर्दा शासक दलका नेता, मन्त्री र सांसदहरू भ्रष्टाचारमा फसे, अनियमितता गर्न अघि सरे । राजनीतिमा लागेर जसरी भए पनि कमाउने धन्दामा लागेकै कारण संविधानसभा सदस्य इच्छाराज तामाङ भ्रष्टाचार काण्डमा परे । विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा उनलाई जरिवानासहित दोषी ठहर गरेको छ । सिभिल सहकारीका सञ्चालक तामाङलाई सहकारीको रकम विभिन्न माध्यमबाट शुद्धीकरण गरिएको ठहरसहित अदालतले १ अर्ब ७२ करोड ४४ लाख ५९ हजार रूपैयाँ जरिवाना र ३ वर्ष कैद गरेको हो । यसअघि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनलाई आपराधिक लाभमार्फत ३ अर्ब ३१ करोड ८५ लाख ९२ हजार रूपैयाँ गैरकानुनीरूपमा आर्जन गरेको दाबी गर्दै आरोपपत्र दर्ता गरेको थियो । यो इमानदारीपूर्वक राजनीति नगर्दाको परिणाम हो ।
टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फन्ड कन्ट्रोल सिस्टम (टेरामक्स) खरिद प्रकरणमा मुछिएका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत र पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बयानको लागि बोलाए पनि बयान दिन गएका छैनन् । त्यस्तै, पोखरा, चितवन, वीरगञ्ज, भैरहवा, नेपालगञ्ज र काठमाडौँका विभिन्न सहरमा सहकारी संस्था खोलेर सर्वसाधारण बचतकर्ताको ७ अर्ब ६ करोड रूपैयाँभन्दा बढी जितेन्द्रबहादुर (जीबी) राईको समूहले हिनामिना गरेको जानकारी पनि प्रकाशमा आयो । यो पनि इमानदारीपूर्वक काम नगर्दाको परिणाम हो । राजनीतिक दल, सरकारी निकाय, सहकारी या त्यस्तै अन्य कुनै पनि सङ्घसंस्थामा पदको जिम्मेवारी पूरा नगरी दुरूपयोग गर्दा या इमानदारीपूर्वक जिम्मेवारी नसमाल्दा आर्थिक अनियमितता, भ्रष्टाचार र आपराधिक कार्य भएको देखिन्छ ।
ठुला र सत्तासीन राजनीतिक दलले इमानदारीपूर्वक काम नगर्दा या जिम्मेवारीबोध नगर्दा दलभित्रै असन्तोष बढ्न थालेको छ । निर्वाचनमा कुनै दल कहिले पहिलो ठुलो दल, कहिले दोस्रो त तेस्रो ठुलो दल हुनु पनि इमानदारीपूर्वक राजनीति नगर्दाको एक कारण होइन भन्ने कसरी ! इमानपूर्वक शासन चलाउने शासक या सत्तासीन दलका नेताहरूले देशघाती सन्धि सम्झौता गर्दैनन्; नेपाली भूमि मिच्न दिँदैनन्; मिचेको भूमि फिर्ता लिने काम गर्छन् । इमानदार नेता र मन्त्रीहरूले पदको दुरूपयोग गरी अकुत सम्पत्ति कमाउँदैनन्; कुनै शक्ति राष्ट्रको दबाबमा असमान सन्धि सम्झौता गर्दैनन् । उनीहरूले देशको स्वार्थ पूरा गर्नुभन्दा विदेशी स्वार्थ पूरा गर्ने नीति नियम ल्याउँदैनन् । इमानदार शासक र उच्चपदस्थ व्यक्तिहरूकै अभावमा राजनीतिमा भ्रष्टाचार बढेको हो; गरिबीतिर धकेलिएको हो; परनिर्भर बन्दै गएको हो । इमानपूर्वक काम भएन भने झूटको खेती हुन्छ; छलकपट, भ्रष्टाचार, अनियमितता बढ्छ; अत्याचारको सिमाना नाघ्छ । राजनीतिलाई कमाइ खाने भाँडो बनाइन्छ; शक्तिको दुरूपयोग हुन्छ । यसको परिणाम क्षतिबाहेक प्रगति हुनेछैन । यसकारण, हरेक ठाउँमा इमानदारीपूर्वक काम गर्नुपर्छ । इमानदारीपूर्वक काम गरेर जनताको विश्वास जित्नुपर्छ र देश बनाउनुपर्छ ।
Leave a Reply