भर्खरै :

ऐतिहासिक कमलपोखरी म्हासेको विरुद्ध मुद्दाको सुनुवाइ सर्वोच्चमा सुरु

ऐतिहासिक कमलपोखरी म्हासेको विरुद्ध मुद्दाको सुनुवाइ सर्वोच्चमा सुरु

काठमाडौँ, २२ माघ । काठमाडौं वडा नं २९ ठमेलमा रहेको ऐतिहासिक लिच्छविकालीन सार्वजनिक कमलपोखरी म्हासेको विरुद्धको मुद्दाहरूको सुनुवाइ सर्वोच्च अदालतमा सोमबार सुरु भएको छ । सर्वोच्च अदालतका न्यायाधीशहरू डा. प्रकाशमानसिंह राउत र कुमार चुडालको इजलासमा भागवतनरसिंह प्रधान र राजवीर डंगोललगायत वादी रहेको र अम्बिका राणालगायत विपक्षी रहेको मुद्दा आठ वर्षपछि पुनः सुरु भएको हो ।
२०७३ सालमा सर्वोच्च अदालतले मुद्दा दोहो¥याई पाउने निसा दिएर पनि विपक्षी प्रतिवादीका कानुन व्यवसायीहरूको अनुरोध, न्यायाधीशहरूको हेर्न नमिल्ने र हेर्न नभ्याउनेलगायत विभिन्न कारणले मुद्दाको सुनुवाइ पर सर्दै आएको थियो ।
सोमबारको बहसमा वादी भागवतनरसिंह प्रधानलगायतको तर्फबाट वरिष्ठ अधिवक्ता विश्वप्रकाश सिग्देल, वरिष्ठ अधिवक्ता एकनाथ भण्डारी, अधिवक्ताहरू विजयराज शाक्य, विकल प्रजापति, रामप्रसाद प्रजापति, जुजुकाजी महर्जन, रमेश महर्जन, नरेश श्रेष्ठ, दिपक राई, भगवती सुवेदी, राजु कैती, भीम गुरुङ, दिनेश राई र शङ्कर राइले बहस गर्नुभयो । वादीको पक्षबाट बहस गर्ने अधिवक्ताहरूको सूची अझै लामो रहेको छ । इजलासले सुनुवाइलाई हेर्दाहेर्दैमा राखी माघ २९ गतेको लागि अर्को पेसी तोकेको छ ।
थवही वा हालको ठमेल क्षेत्रका प्रधानहरूको आराध्यदेव सिंह सार्थबाह र थवहीभित्रको भगवान बुद्धलाई कमलको फूल चढाउन निर्माण भएको कमलपोखरी र बगैँचालाई केशर महलको पर्खालभित्र पारी केशरशमशेर उनका छोरा केयुर शमशेरले आधा हडपेका थिए । तर, नामेट भएको थिएन । तर, पछि केयुर शमशेरका छोराछोरी र आफन्तहरू मिलेर अनेक जालसाजी गरी नेपाल सरकारको नाम कायम भएको पोखरी, पोखरीको डिल र बगैचा नामेट पारी त्यहाँ हाल छायादेवी कम्प्लेक्स बनाएका छन् ।
पछि २०४४ सालतिर वीरेन्द्र शाह राजा रहँदा यसको विवाद टुङ्गो लगाउन उहाँले आफ्नी सम्धी अम्बिका राणा र प्रधानहरूका तर्फबाट हिरण्यश्वरमान प्रधानलाई डाकेर तत्काललाई कुरा मिलाउनुभएको थियो ।
तर, ऐतिहासिक प्रमाण रहेको कमलपोखरी नामेट भएन । गुठी संस्थानमा यसका प्रमाणहरू सबै फेला परेको छ । ठमेलस्थित हजारौँ वर्ष पुरानो कमलपोखरी नामेट पारी छाया सेन्टर ठड्याएको छ । जहाँ पाँचतारे होटल बनाइएको छ ।
तर, माफिया शैलीमा बैङ्कपति पृथ्वीबहादुर पाँडेले शक्ति निकाय सबै मिलाएर पोखरीको जग्गा हडपे । उनलाई वित्तीय क्षेत्रको डन पनि भनिन्छ । उनले जग्गा हडप्ने योजना बुने र प्रभावशाली पदमा रहेका नेतादेखि कर्मचारीलाई हातमा लिए । काठमाडौँ महानगरपालिकाबाट नक्सा पास गर्न लगाएर छाया कम्प्लेक्स ठड्याइयो । त्यसको लागि जो जसको साथ लिनुपर्छ उसलाई गोल्डेन सेयर पनि दिइयो । जजसले छाया कम्प्लेक्स बनाउन साथ दिन्छ उसलाई शेयर दिएर व्यवस्थापन दिएको पाइएको छ । यसकारण, उनीहरू सबै सार्वजनिक जग्गा हडप्नेमा मतियार देखिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *