भर्खरै :

नेमकिपाको प्रचार राजनीतिक कक्षामा

भक्तपुर, ३ मंसिर (रासस) ः नेपाल मजदुर किसान पार्टी आगामी निर्वाचनमा राजनीतिक कक्षा सञ्चालन गरेर अरु दलभन्दा फरक ढंगले चुनाव प्रचारमा सक्रिय भएको छ ।
मंसिर २१ गते हुने प्रतिनिधि एवं प्रदेशसभा निर्वाचन नजिकिँदै गर्दा नेपाली काँग्रेस र नेकपा(एमाले)का उम्मेदवारले पदयात्रासहित घरदैलो गरिहँदा नेमकिपाले भने राजनीतिक कक्षामार्फत जनतासँग मत माग्ने गरेको छ । काँग्रेस र एमालेले बिहान ७ बजेदेखि हरेक दिन चुनाव चिह्नसहितको झण्डा बोकेर गलाभरी माला लगाएर घरदैलो गरिरहँदा नेमकिपाले जनतालाई राजनीतिक व्यवस्थाका बारेमा जानकारी दिँदैछ ।
नेमकिपाबाट निर्वाचन क्षेत्र नं २ प्रदेश (क) सूर्यविनायक प्रदेशमा प्रदेशसभासद् उम्मेदवार सरोजराज गोसाईंले गाउँ टोलमा बिहान र बेलुकी कार्यकर्ता र सर्वसाधारण भेला गरी निर्वाचनमा पार्टीले उठाउँदै आएको विषयमा जानकारी दिने गरेको बताउनुभयो ।
भक्तपुर क्षेत्र नं १ र २ का नेमकिपाका प्रतिनिधि तथा प्रदेशसभा उम्मेदवारले दैनिक आफ्ना निर्वाचन क्षेत्रमा खटिएर समाजवाद र पूँजीवादबीचको फरक, समाजवादले देशमा गर्ने उन्नति र अब गठन हुने प्रतिनिधि तथा प्रदेशसभाबारे जानकारी दिने गरेका छन् । जनतामाझ जाँदा संघीय , प्रदेश र स्थानीय सरकारबारे जनतालाई जानकारी नै नभएको पाइएको बताउँदै यसबारे मतदातालाई शिक्षित बनाइएको गोसाईंले बताउनुभयो ।
निर्वाचन क्षेत्र नं १ (ख) प्रदेशका उम्मेदवार सुरेन्द्रराज गोसाईंले मतदातालाई समाजवादमा निःशुल्क स्वास्थ्य उपचारको बन्दोबस्त हुने, उत्पादनका साधनको सामाजिकीकरण हुनेलगायत बारेमा जानकारी दिने गरेको बताउनुभयो ।
क्षेत्र नं २ मा प्रतिनिधिसभाका उम्मेदवार अनुराधा थापा मगरले मतदाताको भेलामा नेमकिपाले भ्रष्टाचारी र चेलीबेटी बेचबिखनकर्तालाई मृत्युदण्ड दिनुपर्ने आवाज उठाएको जानकारी दिने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले पुँजीवाद के हो र कसरी शोषण हुन्छ भन्ने बारेमा मतदातालाई जानकारी गरायौँ”, उहाँले भन्नुभयो ।
नेमकिपाले इमान्दारीपूर्वक विकासनिर्माणका काम गरेको उदाहरण दिँदै उहाँले जाली एवं ठगलाई मतदानका माध्यमबाट जवाफ दिनका लागि नेमकिपालाई मतदान गर्न आग्रह गरिएको उल्लेख गर्नुुभयो ।
नेमकिपाबाट भक्तपुर क्षेत्र नं १ प्रतिनिधिसभातर्फ प्रेम सुवाल तथा प्रदेशसभा कमा नीरज लवजु र खमा सुरेन्द्रराज र निर्वाचन क्षेत्र नं २ प्रतिनिधसभा सदस्यमा मगर तथा प्रदेशसभा २ कमा सरोजराज र खमा प्रेमजन थापा श्रेष्ठ चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।
घोषणापत्र समाजवादका पक्षमा 
नेमकिपाले प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन २०७४को घोषणापत्र सार्वजनिक गर्दै स्थानीय तह र प्रदेश सरकारबाटै नमूना विद्यालय, कलेज र विश्वविद्यालयको स्थापना गरी समाजलाई बुद्धिजीवीकरण गर्ने जनाएको छ ।
घोषणापत्रमा नेपाली काँग्रेसलाई गैरलोकतन्त्रवादी र वाम गठबन्धनलाई गैरवामपन्थीको संज्ञा दिएको नेमकिपाले सत्तामा जाने दलहरु पूँजीवादी भएको टिप्पणी गरेको छ । देश विकासका लागि समाजवाद आवश्यक रहेको जनाउँदै पार्टीले मतदातालाई घोषणापत्र हेरेर मत दिन आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *