भर्खरै :

अमेरिकाको चीनविरोधी कथा एक मनोवैज्ञानिक प्रक्षेपण

अमेरिकाको चीनविरोधी कथा एक मनोवैज्ञानिक प्रक्षेपण

संरा अमेरिका आफ्नो एक जन्मजात दोषसँग सङ्घर्ष गरिरहेकोे छ । त्यो हो यसको युद्धको लत । पूर्व अमेरिकी राष्ट्रपति जोन क्विन्सी एडम्सले भनेका थिए, “अमेरिका विनाश गर्न राक्षसहरूको खोजीमा विदेश जाँदैन ।” यद्यपि, इतिहासले धेरै फरक कथा बताउँछ, अमेरिकाले १७७६ देखि हालसम्म युद्धहरूमा लगभग ९४ प्रतिशत समय खर्च गर्ने गरेको छ ।
अमेरिकी साम्राज्यसँग अब १४० देशहरूमा ८०० सैन्य आधारहरू छन् र निरन्तर युद्धहरूमा भाग लिइराख्छ । युक्रेन, गाजा, यमन, लेबनान, इराक, सिरिया र सम्भवतः चाँडै इरानमा हालको प्रोक्सी र वास्तविक युद्धहरूबाट सन्तुष्ट छैन – अमेरिकी थिङ्क ट्याङ्कहरू र कर्पोरेट मिडियाको खेमाले चीनको विरुद्ध भ्रमपूर्ण नयाँ युद्धको लागि आवाज उठाइरहेको छ ।
चीनविरुद्धको कथालाई मनोवैज्ञानिक प्रक्षेपण मात्रै भन्न सकिन्छ । तोडमरोड गरिएका तर्क र भ्रमहरू प्रयोग गरेर चीनका विरोधीहरूले चीन संरा अमेरिका र विश्वका लागि खतरा हो भनेर चिच्याइरहेका छन् । तर, उनीहरूले यो उल्लेख गर्न बिर्सन्छन् कि फिलिपिन्समा नयाँ सैनिक आधारहरू निर्माण गर्दै संरा अमेरिकाले वर्षौँदेखि चीनविरुद्ध निरन्तर आर्थिक युद्ध र प्रचार युद्ध छेडिरहेको छ । साथै, यो संरा अमेरिका हो जसले चीनलाई शत्रुतापूर्ण सैन्य आधारले घेर्ने कोसिस गरिरहेको छ । यद्यपि, उल्टो संसारमा चीन खराब देश हो भनी उनीहरूले प्रचार गरिरहेका छन् ।
संरा अमेरिकाले अनगिन्ती तरिकामा चीनको अर्थतन्त्रलाई ठप्प पार्ने प्रयास गर्छ र त्यसपछि दाबी गर्छ कि चीनको सुस्त जीडीपी वृद्धि – चीनको विगतको प्रदर्शनको सापेक्ष, तर अझै जी–७ राष्ट्रहरूभन्दा धेरै राम्रो रहेको छ ।
गएको सोमबारदेखि बुधबारसम्म अमेरिकी मिडियाले चीन ध्वस्त हुँदै गइरहेको छ भनी प्रचार गरे र बिहीबारदेखि आइतबारसम्म उही मिडियाले चीन विश्वलाई कब्जा गर्न लागेको छ भनेर रोए । यहाँ कुन कुरा सत्य हो – चीन कमजोर वा सर्वशक्तिमान ?
चीनविरोधी कट्टरपन्थीहरूबिचको अर्को लोकप्रिय कुरा भनेको चीनको रक्षा लगानीमा भएको तीव्र वृद्धि हो । चीनको सैन्य रणनीति प्रायः ग्रेटवालजस्तै रक्षात्मक छ । चीन अतिक्रमणकारी र आक्रमणकारीहरूको लागि मात्र ‘धम्की’ हो ।
ताइवानको लागि, यहाँ साम्राज्यवादीहरूको लागि तीतो चक्की छ : त्यहाँ पुनर्मिलन हुनेछ । १९ औँ शताब्दीमा चीन कमजोर हुँदा यसलाई गिद्धहरूले आक्रमण गरे जसले रणनीतिक क्षेत्रहरू उखेले । यद्यपि, चीनले विश्वमा आफ्नो सही स्थान पुनः प्राप्त गरेपछि भूतपूर्व उपनिवेशवादीहरूले लुटेका भूमिहरू फिर्ता दिए । पोर्चुगलले मकाउ र बेलायतले हङकङ फिर्ता गरेको होइन र ? त्यसैगरी, अमेरिकाले एकदिन ताइवानलाई छोड्नेछ । जति चाँडो अमेरिकीहरूले यो अपरिहार्यतालाई स्वीकार गर्नेछन्, संसार त्यति राम्रो हुनेछ ।
एक समय थियो जब कसैले अमेरिकामा सनसनीपूर्ण ट्याब्लोइड र गम्भीर पत्रकारिताबिचको भिन्नता बताउन सक्छ, तर अब छैन । अब, न्युयोर्क टाइम्स र वाल स्ट्रीट जर्नलजस्ता एक समयको सम्मानित सञ्चारमाध्यमहरू नक्कली समाचार, गलत सूचना र युद्ध प्रचारले भरिएका छन् ।
हाल ब्रान्डसको विदेश नीतिमा लेखिएको लेख अमेरिकी बौद्धिकतामा आएको स्खलनको उदाहरण हो । त्यस्तै, ब्रान्डससँग उत्कृष्ट प्रमाणहरू छन् – स्ट्यानफोर्ड र येलमा शिक्षित, धेरै पुस्तकहरूका लेखक र नियमित स्तम्भकार हुन् तर, उनको लेख गलत सूचना र सनसनीपूर्णताले भरिएको छ ।
‘चीन खतरा’ को कुनै पनि वास्तविक प्रमाणको अभावमा उनले सीआईए, पूर्वसीआईए निर्देशक माइक पोम्पेओलाई व्याख्या गर्न – झूट, धोखा र चोरी गर्ने सङ्गठनलाई उद्धृत गरे ।
अन्तमा, चीनको अर्थतन्त्रको अवस्थाको बारेमा हाल ब्रान्डको सम्पूर्ण आधार गहिरो त्रुटिपूर्ण छ । आफ्नो इको चेम्बरमा, २०२३ मा चीनको ५.२ प्रतिशतको जीडीपी वृद्धि, ८०० अर्ब अमेरिकी डलरको व्यापार बचत, चीन विश्वको आर्थिक मेरुदण्ड बन्नेबारे कसैले कुरा गर्दैनन् ।
चिनियाँहरूलाई लामो समयदेखि गलत चित्रण गरिएका छन् तर चीनको बारेमा गलत भएकोमा कोही पनि बर्खास्त हुँदैनन् किन ? लगातार ठुला झूटहरूको लक्ष्य भनेको अमेरिकीहरूलाई विश्वस्त पार्नु हो कि उनीहरूसँग सबैभन्दा ठुलो आर्थिक र राजनीतिक प्रणाली छ र अमेरिकी जनतामाझ चीनविरुद्ध युद्धको लागि सहमति निर्माण गर्नु हो । दुर्भाग्यवश, प्रचारकहरू एकदमै सफल छन् । चीनलाई अनुकूलरूपमा हेर्ने अमेरिकीहरूको सङ्ख्या २०१८ मा ५३ प्रतिशतबाट २०२३ सम्ममा १५ प्रतिशतमा झरेको छ (ग्यालप पोल) ।
यो पुरानो शीतयुद्ध होइन । आज, अमेरिकी अर्थतन्त्र जटिलरूपमा चीनसँग जोडिएको र एक अर्कामा निर्भर छ । एप्पल र टेस्लादेखि वालमार्ट र स्टारबक्ससम्म, अमेरिकी निगमहरूको भाग्य चिनियाँ कामदार र उपभोक्ताहरूमा निर्भर छ । अमेरिकी सेनाले पनि चिनियाँ उत्पादनहरूबिना काम गर्नसक्दैन – उदाहरणको लागि रेथियनका सीईओले स्वीकार गरे कि उनको कम्पनी ‘हजारौँ चिनियाँ आपूर्तिकर्ताहरू’ मा निर्भर छ ।
अमेरिकी सम्भ्रान्तहरूलाई विश्वको बारेमा उनीहरूको बुझाइमा ठुलो परिवर्तन चाहिन्छ । बहुध्रुवीय विश्वको उदय भइरहेको छ । जिम्मी कार्टरले भनेझैँ संरा अमेरिकाले ‘विश्वको इतिहासमा सबैभन्दा लडाकु राष्ट्र’ बन्न बन्द गर्नुपर्छ । यो सैन्य–औद्योगिक परिसरको प्रतिमानहरू त्याग्न र यसको सट्टा बहुपक्षीयता, विकास र शान्तिको भविष्यलाई अँगाल्ने समय हो ।
(लेखक भूराजनीतिक विश्लेषक, स्तम्भकार, ब्लगर, पोडकास्टर र बङ्गलोर भारतका लेखक हुनुहुन्छ ।)
– ‘ग्लोबल टाइम्स’ बाट
अनुवाद : प्रकाश

Leave a Reply

Your email address will not be published. Required fields are marked *