भर्खरै :

अर्थतन्त्रमा सरकार असफल !

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको प्रवृत्तिको विश्लेषण गर्दा सबैभन्दा बढी भ्रष्टाचार घुस लिएर नै गर्ने गरेको पाइएको छ । सार्वजनिक सम्पत्तिको हिनामिना, हानिनोक्सानी वा दुरपयोग गर्ने, गैरकानुनी लाभ लिने, घुस लिने र गैरकानुनीरूपमा सम्पत्ति आर्जन गर्नेजस्ता भ्रष्टाचारजन्य कार्यहरू अधिकरूपमा हुने गरेको अख्तियारले विश्लेषण गरेको छ । (नेपाल समाचारपत्र, २ फागुन, २०८०)
ललिता निवास जग्गा प्रकरणको मुद्दामा अदालतले पूर्वमन्त्री विजयकुमार गच्छदारसँग ९ करोड ६५ लाख ७६ हजार बिगो दाबी गरेको छ भने पूर्वमन्त्री चन्द्रदेव जोशीसँग ७ करोड ८ लाख ४८ हजार बिगो माग दाबी गरेको छ । त्यस्तै पूर्वमन्त्री डम्बर श्रेष्ठ, पूर्वभूमिसुधार सचिव दिनेशहरि अधिकारी र तत्कालीन भूमिसुधार सचिव छविलाल पन्तलाई क्रमशः ९ करोड ६५ लाख ७५ हजार, ७ करोड ८ लाख तथा ९ करोड ६५ लाख बिगो माग दाबी गरिएको छ । अरू पनि ठुलाबडालाई अदालतले करोडौँको बिगो माग दाबी गरेको छ ।
समाचारमा बताइएअनुसार तीन पूर्वमन्त्री र तीन पूर्वसचिवसहित १७५ जना प्रतिवादीसँग बिगो माग दाबी छ । (राजधानी, २ फागुन २०८०)
नाइके खराब भएपछि जमातै खराब हुने नेपाली कहावतअनुसार सरकारमा बस्ने मन्त्रीहरू, शासक दलका नेता र कार्यकर्ता बिगे्रपछि तह तह गरी सरकार र दलहरूमा होइन देशै दुर्दशामा फस्ने देखिँदै छ ।
वैदेशिक रोजगारीका म्यानपावर कम्पनीहरूले सयौँ हजारौँ युवाहरू र परिवारसँग लाखौँ करोडौँ ठगेको चर्चा नयाँ होइन । तर, ‘करोडौँ ठग्ने वाइबाविरूद्ध विभागको कारबाहीमा सुस्त’ समाचारको शीर्षकले कर्मचारी र सरकारसमेत जिम्मेवार ठहरिन्छ । (नागरिक, २ फागुन २०८०)
नक्कली नागरिकता
पूर्वगृहमन्त्री बालकृष्ण खाँडसमेतको नक्कली भुटानी शरणार्थी काण्ड देशकै निम्ति आश्चर्यजनक र लज्जित हुनुपर्ने घटना हो । अब समाचारहरूमा ‘गाँजा तस्करीको लागि कम्पनी खोल्न नक्कली नागरिकता’ शीर्षकले नेपालमा अमेरिकी गाँजा ल्याउने तस्कर पक्राउ गर्न सक्रिय भयो ।
‘विमानस्थलबाट ५५ किलो गाँजा बरामद प्रकरण’, ‘सूचना चुहिँदा तस्कर उम्किए, नक्कली नागरिकतामा खोलिएको थियो कम्पनी’, ‘के छ अमेरिकी ब्रिड’ को गाँजामा ?’ भन्दै अहिलेसम्म कोही नसमातेको समाचारमा बताइएको छ । (नयाँ पत्रिका, २८ माघ २०८०)
यसरी गाँजाको देशमा अमेरिकासमेत गाँजा लिएर पुग्दा समस्या झन् जटिल हुँदै जाने निश्चित छ ।
नक्कली डाक्टर र नक्कली नोट
तराईमा बारम्बार नक्कली डाक्टरको समाचार आउने गर्छ । तर खोटाङको कर्तव्यज्यान मुद्दामा फरार रहेका नक्कली डाक्टरसहित तीन जना ११ वर्षपछि पक्राउ परेको समाचार छ ।
नक्कली डाक्टर सुनसरीको गढी गाउँपालिका ३ का जीवानन्द मेहता हलेसी पोलिक्लिनिक सम्बद्ध महेशप्रसाद साह र अशोककुमार साहलाई प्रहरीले पक्राउ गरेको हो । दिक्तेलमा रहेको पोलिक्लिनिकले ७२ वर्षीय चन्द्रसेन राईको १७ फागुन २०६९ मा मृत्यु भएको थियो । नक्कली प्रमाणपत्रधारी मेहताले डाक्टर हुँ भन्दै उपचार गरेका थिए । उनले ५ मिनेटको अन्तरालमा दुई वटा सुई लगाएको र पाँच मिनेटपछि बिरामीको मृत्यु भएको थियो । तर, समयमै त्यस्ता घटनाको छानबिनको घेरा ठुलो भएमा त्यस्ता नक्कली डाक्टरको कारण धेरै मानिस मर्ने थिएनन् भन्ने जनगुनासो छ । (नयाँ पत्रिका, १ फागुन २०८०)
नक्कली नोटसहित भारतीय नागरिक पक्राउ
सुनसरी सदरमुकाम इनरूवा नगरपालिका–४ बाट एक करोड ८२ लाख ५१ हजार रूपैयाँ नक्कली नोटसहित एक भारतीय नागरिक पक्राउ परेको बताइएको छ । तराईका विभिन्न जिल्लामा यस्ता घटनाहरू हुँदै आएका छन् । (नयाँ पत्रिका, १ फागुन २०८०)
३५ लाख ठगी गर्ने पक्राउ
वैदेशिक रोजगारीको लागि जापान पठाइदिने भन्दै ललितपुर बस्ने ३७ वर्षीय पुरूषोत्तम अधिकारीलाई रीता मल्लसहित ६ जनालाई रोजगारीमा पठाउँछु भनी ठगेकोमा प्रहरीले पक्राउ गरेको छ । एकै दिनको समाचारपत्रमा २–४ वटा ठगीको समाचार हेर्दा देश झन्झन् बर्बाद भइरहेको अनुमान हुन्छ । यसबारे सम्बन्धित पक्ष गम्भीर हुन आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *