आणविक निरीक्षणमा इरानको अडान
- असार ९, २०८३
नानचिङको फोहोर व्यवस्थापन गर्ने ठाउँ
९ भदौ २०५२ साल शनिबार (27 August 1995) ८–१० बजे नै होटेलमा हाम्रो परिचय ‘फोहोर व्यवस्थापन’ योजनाका सञ्चालक प्रमुख वाङता छिङ र नानचिङ नगरपालिका जन–सरकारको वातावरण सुधार समितिका अध्यक्ष चु त रुङ (चस्मा लगाउनुभएको) र कार्यालयका डाइरेक्टर छन् खाए वनसँग भयो । परिचयपछि हामी स्थलगत निरीक्षणको निम्ति अलग अलग मोटरमा गयौँ । प्राचीन नगरको साँच्चै पुरानो बस्ती र साँगुरा बाटा वा गल्लीहरू हुँदै हामी ९ बजे फोहोर व्यवस्थापन गर्ने ठाउँमा पुग्यौँ ।
चु त सङ्गले जनता र कार्यालयको तर्फबाट नेपाली पाहुनालाई स्वागत गर्न पाएकोमा खुसी व्यक्त गर्दै त्यस कार्यालय र योजनाबारे बताउँदै जानुभयो । नानचिङ नगरको मात्रै जनसङ्ख्या ३० लाख छ र त्यसको सेरोफेरोसमेत गर्दा ५० लाख जनसङ्ख्याको फोहोर हामीले सफा गर्ने गरेका छौँ । साधारण समयमा नानचिङ क्षेत्रमा २००० टन फोहोर हुन्छ र गर्मीमा फलफुल आदि खाने हुँदा फोहर हरेक दिन ३००० टन पुग्छ । सहरदेखि यो ठाउँ २३ किलोमिटर टाढा छ र आवतजावत गर्दा दिनको एउटा ट्रकले ५० किलोमिटरको बाटो नाघ्नुपर्दछ । फोहोर व्यवस्थापन ठाउँ योसमेत तीन ठाउँमा छ । चाउ त सान यस ठाउँको नाम हो भने सुईको र येनचिनवा भन्ने ठाउँमा यस्तै दुई वटा फोहोर व्यवस्थापन केन्द्र छ । यस ठाउँलाई पनि हामीले तीन क्षेत्रमा विभाजित गरेका छौँ । ती तीनवटै क्षेत्रको फोहोर व्यवस्थापन ठाउँको क्षमता १५ लाख वर्गमिटर छ ।
यसको फोहोर व्यवस्थापन ठाउँको स्थापना सन् १९९२ मा भएको थियो । कम्युनिस्ट पार्टी, सरकार र जनताको ध्यान, चासो र सहयोग नभई यसको स्थापना सम्भावना थिएन । केन्द्रीय, प्रान्तीय र नगरपालिकाको जन–सरकार गरी तीनैतिरबाट यसबारे राम्रो चासो लिइएको थियो । सफाइमा वर्षको २ करोड यान खर्च भइरहेको छ । यस योजनाले आफैँ २.३ किलोमिटर बाटो बनाएको छ । सन् १९९१ मा चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव र चीन सरकारका राष्ट्रपति च्याङ च मिनले भन्नुभयो, “सहरको सफाइ जनताको कल्याणको निम्ति नयाँ मानिस बनाउन र नयाँ चीन बनाउने पाठ हो ।” सन् १९९२ मा यसको निर्माण हुँदा ४ महिना लाग्यो । नानचिङ नगरपालिकाका उपमेयर आफैँं यसमा लाग्नुभएको थियो । ८–८ घण्टाको तीन टोली गरेर २४ सै घण्टा काम गरिएको थियो । त्यसको रेखदेख उपमेयर आफैँ गर्नुहुन्थ्यो र एक हजार जनाको श्रमशक्ति त्यसमा खटिएको थियो । त्यो ठीक ४ महिना १५ दिनभित्र तयार भयो । त्यसमा जनमुक्ति सेना, कर्मचारी र जनताले समेत श्रमदान गरेका थिए । केन्द्र र प्रान्तीय नेताहरू बरोबर निरीक्षणमा आउनुहुन्थ्यो । मेयर र उपमेयर तथा अन्य नगरपालिकाका पदाधिकारीहरू त आई नै रहनुहुन्थ्यो ।
यसको जम्मा २०७ वटा ट्रकहरू र बुल्डोजर छन्, नगरपालिकाअन्तर्गतका ४००० सफाइ मजदुर र कर्मचारीहरू छन् तथा वार्ड समितिहरूमार्फत ६००० सफाइ मजदुर र कर्मचारी कार्यरत छन् । नगरपालिकाको मातहतमा सडकमा बढार्नेहरू १२००० जना छन् भने वार्ड समितिहरूको मातहतमा बढार्नेहरू ४००० छन् ।”
सफाइ गर्ने तरिकाबारे उहाँले भन्नुभयो, “पहिले टोल–टोल र ठाउँ–ठाउँमा बढार्दै लगेर एक एक ठाउँमा जम्मा गर्ने, अनि जम्मा गरेर राखेको ठाउँबाट हाम्रो ट्रकले यता ल्याउँछ र त्यसको आवश्यक बन्दोबस्त गरिन्छ । बजारमा राखिएको बन्द गर्नुहुने फोहोर व्यवस्थापन भाँडो (कन्टेनर) मा घर–घरका मानिसहरू आएर फोहोर हाल्छन्, स्थानीय सफाइ मजदुरले त्यसलाई ठुलो ठाउँमा ओसार्छन् र त्यसलाई छुट्याउँछन् । छुटिएको फोहोर हाम्रो ट्रकले यहाँ ल्याउँछ । फोहोर छुट्याउने अर्को उपाय पनि लागू गरिएको छ, त्यो हो– घर–घरमा २–३ किसिमको थैली वा टोकरी दिइनु । कुहिने वस्तु एक थैलीमा, कीला, काँटी, प्लास्टिकका वस्तु, कागज तथा अन्य वस्तु अर्कोमा राखिन्छ । अनि हरेक परिवारले त्यसलाई आ–आफ्नो घरको अगाडि राखिदिन्छन् र नगरपालिकाका सफाइ मजदुरहरूले सम्बन्धित ठाउँमा पु¥याउँछन् ।”
मेरो प्रश्नको उत्तर दिँदै चस त रुङले भन्नुभयो, “कीला–काँटी, शिशी, कागज आदिलाई फेरि काम लिने कारखानाहरूमा बेचिन्छ वा पु¥याइदिन्छ । ती कारखानाहरूको भनाइमा फालेका सामानहरूलाई सफा गरी फेरि ढाल्ने काम गर्दा खर्च बढी पर्छ । त्यसलाई लिन तिनीहरू त्यति उत्साहित छैनन् । प्लास्टिकबारे त हामीलाई पनि समस्या छ । त्यसो त हामीजस्तो तेस्रो देशका मुलुकहरूलाई मात्र होइन जापान, संरा अमेरिका र जर्मनीले त प्लास्टिकका वस्तु उत्पादनमा प्रतिबन्ध लगाइसकेका छन् । हाम्रो यहाँको फोहोरमा १९ प्रतिशत प्लास्टिक आउने गर्दछ । हामीले प्लास्टिकलाई पेट्रोलमा परिणत गर्ने कुरा पनि गरेका थियौँ । त्यसमा ठुलो लागत लाग्ने देखियो । त्यसबाट बिजुली उत्पादन गर्ने योजना लिएर जापानबाट ८ वटा उद्योग दल आइसकेको छ । संयुक्त राष्ट्र सङ्घका एक जना निरीक्षकले गोबर ग्याँस उत्पादन गर्न सहयोग गर्ने कुरा पनि भनेका थिए ।
विदेशका २० वटा कम्पनीमध्ये एउटा अस्टे«लियाली दल पनि आएको थियो । त्यसले मेसिनबाट ग्याँस निकाल्ने सम्झौता गर्न केही सर्तहरू राख्यो । बढी मूल्य लिएर बेच्नुपर्ने, सरकारलाई कर नतिर्नेजस्ता सर्त हामीलाई मान्य भएन र लागु गरेनौँ ।
यो फोहोर व्यवस्थापन ठाउँ र दूषित पानी सफा गर्ने त्यस योजना ४१८ मू अर्थात् २८ हेक्टर (४८६ रोपनी) मा फैलिएको छ । यस क्षेत्रको पानीमा पहाडबाट आएको पानी नमिसियोस् भनेर यसको चारैतिर ढल बनाएर यहाँको र बाहिरको पानीलाई अलग्ग हुने बन्दोबस्त गरेका छौँ । यसको पानी विषालु भई माछा नबाँच्ने, खेतमा गयो भने उत्पादन नहुने तथा जमिनभित्र गयो भने भूमिगत पानीसमेत दूषित हुने हुँदा हामीले गहिरो अध्ययन गर्दा चिरा नपरेको कडा चट्टान भएको हुँदा यस ठाउँलाई रोजेका हौँ ।
सरकारको मापदण्डअनुसार फोहोर व्यवस्थापन गर्ने ठाउँ १०–१२ किलोमिटर टाढा रहनुपर्छ तर यो क्षेत्र सरकारको मापदण्डभन्दा बढी टाढा छ । फोहोरबाट आउने पानीलाई एउटा पोखरीमा जम्मा गर्ने, त्यसलाई थिग्राउने र थिग्राइसकेको पानीलाई अक्सिडाइजेसन वा विषालुपन हटाउने रासायनिक प्रक्रियामा लैजाने र पछि सफा पानीलाई सिँचाइ गर्न हुनेसम्म बनाइने गरिएको छ ।
फोहोर त्यस ठाउँमा झिँगा धेरै हुने, गन्हाउने र दूषित पानी चुहिने डर हुन्छ । यसकारण, बरोबर झिँगा मार्ने गरिन्छ र २–३ मिटर गहिरोमा फोहोरलाई गाड्ने, त्यसमाथि २०–३० सेन्टिमिटर माटोले छोप्ने गरिएको छ । यसरी त्यस ठाउँमा अङ्गुर र अन्य फलफुल लगाइएको छ ।”
उहाँले आफ्नो क्षेत्रको बयान गर्दै भन्नुभयो, “फोहोरको ट्रक पस्दा तौल हेर्ने एउटा ढोका छ, पानीलाई सफा गर्ने प्रविधिको निमित्त बिजुली चाहिन्छ र त्यसको निम्ति १०० किलोमिटर र ५० किलोवाटको दुई बिजुली घर छन् । खानेपानीको बन्दोबस्त गर्न १६० मिटर गहिरोबाट ल्याइएको पानीको एउटा कुवा छ । फोहोर पानीलाई सफा गर्दा त्यसको गुण र मात्रा हेर्ने एउटा प्रयोगशाला छ । दिनमा २४० टन फोहोर पानी सफा गर्ने यसको क्षमता छ । दुई वटा आउने र जाने ढोका छन्, त्यसको बाटोको लम्बाइ झन्डै एक किलोमिटर अर्थात् (०.५) किलोमिटर छ ।”
नक्सा देखाउँदै उहाँले भन्नुभयो, “यो क्षेत्रको ठाउँ–ठाउँमा पाइपहरू गाडिएका छन् । साथै यहाँ फोहोर पानी कालो पाइपबाट उपचार पोखरीमा जान्छ र उपचार गरिसकेको सफा पानी पहेँलो पाइपबाट बाहिर निस्कन्छ ।”
मेरो प्रश्नको उत्तरमा उहाँले भन्नुभयो, “फोहोरलाई जलाउँदा, ग्याँस निकाल्दा वा बिजुली निकाल्दा धेरै खर्च हुने देखिएकोले ती सबै योजनामा हामी लागेनौँ । जापान र जर्मनीमा ४०० टन फोहोर जलाउन ४ अरब यान खर्च हुने अनुमान गरिएको थियो ।”
छलफल र नक्साको अध्ययनपछि त्यहीं अफिसको भ्यानमा गएर ती ठाउँहरूको निरीक्षण ग¥यौँ । फोहोर गाडेर माटोले पुरी बनाइएको चौर, जङ्गल, फलफुलबारी, नयाँ ल्याइएका फोहोर पानी जम्मा हुने पोखरी, दूषित पानीलाई उपचार गर्ने प्रबन्ध, पानीको पहेँलो रङ्ग हटाउने, किटनासक औषधि राख्ने, अनि सफा पानी अर्को पोखरीबाट बाहिर निकास हुने प्रक्रियालाई हे¥यौँ । पानी सफा गर्न धेरै खर्च लाग्ने उहाँहरूको भनाइ रह्यो ।
सफाइबारे केन्द्रीय सरकार र नेताहरूको चासोको चर्चा गर्दा उहाँले भन्नुभयो, “जन काङ्ग्रेसका अध्यक्ष छचाउ सुले हाङचाउमा जनताको निम्ति सफाइमा ध्यान दिन लेख्नुभएको छ । जर्मनी, जापान, सिङ्गापुर र संयुक्त राष्ट्र सङ्घबाट समेत निरीक्षण दलहरू आएका थिए । जन–काङ्ग्रेसको उपाध्यक्ष वाङ चिन छन पनि यहाँ निरीक्षण गर्न आउनुभएको थियो । उहाँहरूले मजदुरहरूको समस्याबारे छलफल गर्नुभयो ।” अन्तमा, उहाँले भन्नुभयो, “सहरको सफाइ भनेको मानिसको अनुहारको सफाइजस्तै हो ।”
२–४ वटा प्रश्न उत्तरपछि उहाँहरूलाई धन्यवाद दिंदै नेपालमा स्वागत गर्ने मौका माग्दै बिदा लिएँ ।
नानचिङ स्मारक क्षेत्र
११ः३० बजे हामी नानचिङको कलात्मक चोक हेर्न गयौँ । काठमाडौँ, ललितपुर र भक्तपुर दरवारस्क्वायरजस्तै पुराना भव्य भवन र मन्दिरहरू सजिएका छन् । तर, ती ठाउँमा मोटरको आवतजावत बन्द गरिएको छ । त्यहाँ पुग्दा बल्ल चीन पुगेजस्तो लाग्यो । केटाकेटी र बुढा–बुढीहरू पनि मोटरको डर नलिई फुक्का भएर आ–आफ्नो आमा–बाबु र परिवारहरूसँग हिँड्दै थिए । त्यस ठाउँबारे सोध्दा पहिलेको शाही परीक्षा हुने ठाउँ भनियो । त्यस स्मारक क्षेत्रमा नानचिङको प्राचीन वास्तुकलाको भव्य प्रदर्शन भइरहेको थियो ।
त्यस चोकसँगै हामी पुरानो नानचिङको विशेष दिवाभोजको निम्ति एक रेस्टुरेन्टमा गयौँ थरीथरीका आफ्नै किसिमका परिकारहरू चाख्यौँ । भुटेको भटमासकै दूध र रोटीजस्ता अनेक परिकार, कमलको फूलको डाँठ र हाँगाको तरकारी तथा अन्य नौला नौला परिकारहरू चाखेँ । सँगै त्यहाँ गीत र नाच पनि भइरहेको थियो । पङ्खा नाच, मयुर नाच, क्यान्टनको गीत आदि सुन्यौँ र देख्यौँ । यस खाने ठाउँको विशेषता नै चिनियाँ परिकारहरू र नाचगान हो ।
सुन तुङ सानको समाधी र बगैँचा (Dr. Sun Yat San Mousoleum Park)
डा.सन यात सेनलाई चिनियाँ भाषामा सुन तुङ सान पनि भन्दारहेछन् । ३१ वर्ग किलोमिटर ढाकेको र समुद्र सतहबाट ४४८ मिटर उँचो ठाउँमा चीनका प्रजातन्त्रका अग्रदूत डा.सन यात सेनको समाधी बगैँचा साँच्चै रमणीय र भव्य स्थानमा अवस्थित छ । नानचिङ सहरको पूर्व चाङ सान पहाडमा रहेको यस भागमा अन्य प्राचीन ऐतिहासिक स्तम्भहरू पनि छन् । मूलढोकाबाट ३१२ खुड्किलो चढ्दै समाधी भवनमा भित्रिन्छ । त्यहाँ शान्तपूर्वक बसेको सन यात सेनको सिंहमर्मरको एउटा सालिक छ । त्यसको भित्र मान्छेकै लम्बाइको एउटा सिंहमर्मरकै चिरनिद्राको मुद्राको एक सालिक छ । त्यसैभित्र डा.सन यात सेनको शवलाई समाधिस्थ गरिएको छ । माथि गोलाकार गुम्बज छ जसमा सूर्य भएको कोमिङताङ पार्टीको झन्डा कुँदिएको छ । त्यस भवनको ढोकाको माथि नै डा. सन यात सेनको तीन सिद्धान्तको नारा लेखिएको छ ।
हजारौँ चिनियाँहरू श्रद्धापूर्वक प्रजातन्त्रका अग्रदूतको दर्शन गर्न आइरहेको देखेँ । देश विदेशबाट पनि मानिसहरू आइरहेका थिए । अघिल्लो ढोकामा लेखिएको थियो, “सबैले जनताको लागि सोच्नुपर्छ ।”
सन यात सेन पार्कबाट हामी १ः१० बजे स्याउपार्कको निम्ति हिँड्यौँ ।
स्याउ पार्क
हिँडेर नभ्याउने हुनाले हामी मोटरबाटै पार्कको दृश्यावलोकन गर्दै गयौँ । ठुलठुला २–४ वटै तालहरूको चारैतिर मनोरञ्जन र वनभोज गर्न हजारौँको सङ्ख्यामा बालबालिका, केटाकेटी र परिवारहरू जताततै देखिन्थे । चारैतिर केटाकेटीको बस, घुम्ने र गोल पिङ आदि केटाकेटीहरूका पार्कहरू छन् । जहाँतहीँ कमलका गुलाफी फूल र ठुलठुला हरिया पातहरूले वातावरणलाई झन् शान्त र मनोहर बनाउँदै थिए । चिडियाखाना र अन्य ऐतिहासिक स्तम्भ पनि यत्रतत्र फैलिएका थिए ।
याङसी पुल
एकचोटि सा¥है नाम चलेको याङसी पुल हेर्न गयौँ । चीनलाई उत्तर र दक्षिणमा छुट्याउने याङसी नदीमा चिनियाँहरूले याङसी पुल राख्न सक्दैनन् भनी पश्चिमेलीहरू भन्थे । त्यो नाम चलेको पुल हेरेँ । ६७०० मिटर लामो पुलको माथि मोटर र मान्छे जाने तथा तलो तलामा रेल हिँड्दै थियो ।
पुलको वरिपरि क्रान्ति र सांस्कृतिक क्रान्ति बेलाका चित्रहरू कुँदिएका थिए ।
४ बजे हामी होटेल पुग्यौँ, ६ः३०–७ बजे एयरपोर्ट पुग्यौँ । ठीक ८ बजे हवाईजहाजले नानचिङ छोड्यो । ९ः४० तिर पेचिङ एयरपोर्टमा पु¥यायो । १०ः३० मा हामी Wanshoo पुग्यौँ । नानचिङ हवाई अड्डाको कर ३४ यान थियो ।

Leave a Reply