सिक्किम र फिजीको इतिहासबाट नेपालीले पाठ नसिक्ने ?
- भाद्र १, २०८३
‘मजदुर’ दैनिकको शनिबारीय अड्ढमा प्रकाशित ‘ऋग्वेद पढ्ने बा’लाई चिठी’ प्रति हाम्रो ध्यान आकृष्ट भएको छ । हिन्दू धर्म एक सनातन धर्म हो । अधिकांश नेपाली हिन्दू धर्मावलम्बी छन् । प्रकाशित लेखमा बहुसङ्ख्यक नेपालीहरूको आस्थामाथि आँच पुग्ने गरी अनर्गल कुरा छापिएको छ । नास्तिको वेद निन्दकः । आफ्नो सक्कली नामसमेत लुकाएर लेखकले देवराज इन्द्रबारे जथाभावी लेखेका छन् । इन्द्र हाम्रो संस्कृतिका अभिन्न अङ्ग हुन् ।
नेपाल गोर्खालीहरूको देश हो । गोर्खा शब्दको अर्थ गाईको रक्षा हो । जुन देशको स्थापना नै गाईको रक्षाका लागि भएको थियो, त्यस्तो देशका नागरिकहरूले गौमाताका सम्बन्धमा जथाभावी लेख्नु सुहाउने कुरा होइन । गाई नेपालीहरूको राष्ट्रिय पशु रहिआएको छ । त्यसबारे जथाभावी लेख्ने अधिकार कसैलाई पनि छैन । वेदका कुराहरूलाई बङ्ग्याएर, अर्थको अनर्थ लगाएर लेखक ‘चिन्मय’ ले सनातन धर्मलाई कलङ्कित पार्न खोजेका त होइनन् । झूटो कुरा लुकाएर लुक्दैन । आफ्ना निराधार तर्कलाई साबित गर्न उनले जानाजान कैयन् मन्त्रको स्रोत खुलाएका छैनन् । वेदमा त्यस्ता घृणास्पद कुरा हुनै सक्दैनन् । वेद देवताको वाणी हो । वेद स्वतः प्रमाण हो । वेदः परमं प्रमाणम् । यसको कुनै लौकिक लेखक छैन । अपितु, वेद अकृत्य छ ।
नेपाल वेदव्यास, पाणिनी र बाल्मीकीजस्ता महर्षिहरूको तपोभूमि हो । वैदिक धर्मको पुण्त्ूमि हो । यसमा हामीले गर्व गर्नुपर्दछ । यद्यपि, लेखक ‘चिन्मय’ ले उल्टो देशको गौरवपूर्ण इतिहासमाथि सङ्गीन लाञ्छना लगाउने दुस्प्रयास गरेका छन् । यसमा हाम्रो गम्भीर आपत्ति छ । देशमा आज वैदिक धर्मको जागरण चलिरहेको समयमा देशको युवा पिँढीले आफ्नो गरिमामय अतीतको स्मृतिमा देशविदेशमा भजन कार्यक्रम चलाइरहेको तथा पश्चिमा संस्कृतिको कुप्रभाव घट्ने लक्षण देखा परिरहेको यस घडीमा यस्ता साहित्य छापिनु निन्दनीय छ ।
– सन्देश न्यौपाने, सूर्यविनायक
Leave a Reply