आणविक निरीक्षणमा इरानको अडान
- असार ९, २०८३
मार्को पोलो पुल (Lugou Bridge)
११ भदौ २०५२ आइतबार (27 August 1995) को दिन बिहान ८ बजे हामी लुकोउ पुल हेर्न गयौँ । त्यसलाई ‘मार्को पोलो’ पुल पनि भन्ने गरिन्छ । मार्को पोलो पुल एक युरोपेली यात्रु हुन् । उनी आउँदा यहाँ पुलमा कुँदिएका सिंहहरूका कलात्मक चित्रहरू सा¥है सुन्दर र आकर्षक भएको हुनाले उनको डायरीमा त्यसको राम्रो बयान गरिएको थियो । यसकारण, यस पुलको नाम नै ‘मार्को पोलो’ पुल राखिएको रहेछ । यो पुललाई चिनियाँ भाषामा लुकोउ पुल (Lugou Bridge) भनिन्छ ।

यो पुल मिङ वंशको पालामा सन् ११८९ मा निर्माण सुरु गरेको र ११९२ मा सिध्याइएको थियो । यो पुलको लम्बाइ २६६.५ मिटर लामो, ७.५ मिटर चौडा र पुलको दायाँबायाँको किनाराका बारहरूमा स–साना ४९८ वटा ढुङ्गाका थामहरू छन् । ती सबै थामहरूमा सिंहका स–साना मूर्तिहरू कुँदिएका छन् । एउटै थाम वा एउटै सिंहमा पनि सानाठुला धेरै सिंह वा डमरुहरू कुँदेका छन् । ती सबै कुँदिएका सिंहहरू फरकफरक मुद्रा, आकार र शैलीमा छन् । कुनैमा रिसाएको सिंह, कुनैमा दायाँ वा बायाँ फर्केको, कुनैमा लड्डू समातेको, कुनैमा डमरु बोकेको, कुनैका काखमा डमरु पल्टेको, कुनैका सिंहको पञ्जाको तल डमरु आदि फरक मुद्रा र आकार–प्रकारका सिंहहरू कुँदिएका छन् । सायद मार्को पोलोले यस पुलबारे धेरै राम्रो बयान गरेको हुँदा यस पुलको नाम नै युरोपेलीहरूले मार्को पोलो पुल राखेको हुनुपर्दछ । हुन त यस पुललाई सिंह पुल भनेमा फरक पर्दैन ।
सन् १९८६–१९८७ मा यस पुलको मर्मत गरिएको थियो । पहिला खिइएका ठुलठुला ढुङ्गाका ठाउँ–ठाउँमा प्रदर्शन गर्नको निम्ति छापिएको छ भने नयाँ ढुङ्गाहरू छापेर दर्शकहरू आवतजावत गर्न सजिलो पारिएको छ । अहिले यस पुलबाट यातायातका साधनलाई रोकेको मात्रै होइन टिकट वा पास नलिई जान पनि दिँदैन । यसरी यस ऐतिहासिक स्तम्भलाई चिनियाँ सरकारले सुरक्षित राखेको छ ।
देशको अपमान बिर्सनुहुँदैन
यसपालि मलाई त्यस पुलको कार्यक्रममा लैजानुको अर्थ पुलको निर्माणको कलात्मकता वा शैली देखाउन होइन, बरु जापानी साम्राज्यवादमाथिको विजयको ५० सौँ वर्षको उत्सवमा पुलको नजिकै बनेको जापानविरोधी लडाइँको प्रदर्शन गृहमा अध्ययन गर्नु र गराउनु थियो । ७ जुलाई, १९३७ को दिन पेचिङमा यहीँ लुकोउ पुलबाटै जापानी साम्राज्यवादी आक्रमक सेनाले आक्रमण गरेको घटना प्रासङ्गिक छ ।
त्यस सङ्ग्रहालयभित्र हाम्रो कार पस्नासाथै मेरो आँखा ठुलठुला अक्षरमा गयो । निर्देशिकाले अनुवाद गरिन्, “देशमाथिको अपमानलाई बिर्सनु हुन्न ।” पहिलो कोठामै सिपाहीहरूको पल्टनको एक धातुको चित्र कुँदिएको छ । अर्को कोठामा जापानले १८ सेप्टेम्बर १९३१ मा उत्तरी–पूर्वी चीनको तीन प्रान्तमाथि हमला गरी १९३३ मा मञ्चुको भन्ने मञ्चुरीयामा जापानी कठपुतली सरकार बनायो । ३१ मई १९३३ को दिन चीनको कोमिङताङ (राष्ट्रवादी) पार्टीले ताङ सम्झौता (Tanggu Agreement) गरेर जापानसँग आत्मसमर्पणवादी नीति लियो । जापानले फेरि १९३५ मा चीनको अन्य क्षेत्रमा आक्रमण सुरु ग¥यो ।
जापानी साम्राज्यवादी हमला र कोमिङताङ पार्टीको च्याङकाई शेकको सरकारको आत्म–समर्पणवादी नीतिको विरोधमा १ अगस्ट, १९३५ को दिन चिनियाँ कम्युनिस्ट पार्टीले एक घोषणापत्र प्रकाशित गरेर देश बचाउने नारा अघि सा¥यो । कोठाहरूमा त्यसबेलाका वक्तव्य, घटना र पत्रपत्रिकाहरूका समाचारहरूलाई ठुलठुलो अक्षरमा भित्तामा टाँसेर पढ्न सजिलो बनाई प्रदर्शित गरिएको थियो । त्यस्तै, त्यसबेलाका सम्बन्धित तस्बिरहरू, नेता र सिपाहीहरूले प्रयोग गरिएका हातहतियार र पोशाकहरू पनि प्रदर्शित थिए । त्यस लडाइँमा ३० लाखभन्दा बढी मानिस मारिएका थिए । प्रदर्शनीमा त्यसबेलाका धेरै पत्रपत्रिका एवं पुस्तकहरूसमेत प्रदर्शित थिए ।
‘शत्रुको विरोध’, ‘युद्धको विरोध’, ‘दुश्मनविरोधी नाटक’, ‘दुश्मनविरोधी अग्रदूत’ जस्ता पत्रिका र पुस्तकहरू प्रदर्शित थिए । त्यस्तै ‘चीनको आवाज’ (Voice of China), ‘युद्धविरोधी सञ्चार’, ‘युद्धको विरोध र संस्कृति’, ‘युद्धको विरोध र विज्ञान’ जस्ता स्वदेशी र विदेशी भाषाका प्रचार सामग्रीहरू पनि सुरक्षित राखिएका थिए । त्यस्तै, १९३६ देखि १९४५ सम्मको लडाइँमा के कति मानिस मारिए, कति क्षति भयो र कुन कुन देशले के कति गुमायो भन्ने कुरा पनि त्यहाँ लेखिएको थियो । चीनको ३५ लाख मानिस मारिए र ५ खरब यान जतिको हानि नोक्सानी भएको थियो ।
दोस्रो विश्व युद्धमा ६१ वटा देशले भाग लिएका थिए र १ अरब ७० करोड जनता युद्धमा मुछिएका थिए । लडाइँमा चीनको मात्रै ४५ करोड जनता ६० लाख वर्गकिलोमिटरमा फैलिएको थियो र २ करोड २० लाख मानिस मारिएका थिए । सन् १९४१ मा जापान, जर्मनी र इटलीको १ करोड १० लाख जवान मानिस मारिए र त्यसमध्ये २० लाख चीनमा मारिए ।
संरा अमेरिकाले लडाइँमा ३ वर्ष ९ महिना भाग लियो, सोभियत रुसले ४ वर्ष २ महिना, बेलायतले ६ वर्ष र चीनले ८ वर्ष । दोस्रो विश्वयुद्धमा ९ करोड मानिस मारिएका थिए । त्यसमध्ये संरा अमेरिकाको १० लाख, बेलायतको १२ लाख, सोभियत सङ्घको ३ करोड र चीनको ३ करोड ५० लाख मानिसहरू मारिएका थिए । युद्धमा मुछिएका अन्य देशहरूका पनि लाखौँ लाख मानिसहरू मारिएका थिए ।
त्यस्तै, कोमिङताङ र कम्युनिस्ट पार्टीका संयुक्त मोर्चाका वक्तव्य, फोटोहरू र अन्य दस्ताबेज, जापानले कसरी माफी माग्यो, ‘चीनको विजय र जापानको हार’, ‘सफलता’ साप्ताहिक जस्ता पुस्तक र पत्रपत्रिकाहरूसमेत प्रदर्शित थिए । कसरी निर्दोष मानिसहरूलाई जापानी सेनाले तरबारले माथ्र्यो, कसरी गुरिल्लाहरूले बम बिछ्याएका थिए भन्ने झाँकी र नमुनाहरू प्रदर्शित थिए । अन्तमा, अध्यक्ष माओ त्सेतुङकै बेलामा जापानी नेताहरूले पश्चाताप गरेको र चीन–जापान सम्बन्ध सुधारका फोटोहरू अति आकर्षित ढङ्गले प्रदर्शित थिए ।
जापानी साम्राज्यवादको अत्याचारबारे जापानी जनतालाई सरकारले थाहा दिएको रहेनछ । त्यसपालि हजारौँ हजार जापानीहरू चीन भ्रमणमा आउँदा त्यस सङ्ग्रहालय हेरी जापानी सरकारले जनतालाई सुसूचित हुने अधिकारबाट वञ्चित गरेको धेरै जापानीहरूले बताएको कुरा हामीले त्यहाँ थाहा पायौँ । ‘मार्को पोलो’ पुल गएँ र हेरेँ । ११ बजिसकेको थियो, त्यस दर्शनीय ठाउँको भीडलाई चिर्दै हामी ‘पूर्ण चन्द्र खाने पसल’ मा दिवाभोजको निम्ति हिँड्यौँ ।
यसपालि चिनियाँ पार्टीले चीनको विभिन्न प्रान्तको विभिन्न खाने पसल (रेस्टुराँ) हरूमा कार्यक्रम राखेर चीनको सांस्कृतिक विविधतासँग परिचित हुने बन्दोबस्त गरिएको थियो ।
२ बजे हामी वानसुलु अतिथि सदनमा पुग्यौँ । ४ः३० बजे बैङ्ककको निम्ति अतिथि सदनलाई छोड्यौँ । ५ः३० मा पेचिङ हवाई अड्डा पुग्यौँ । एक घण्टा उडान ढिलो भएको सूचना दियो । ६ः४५ मा चिनियाँ साथीहरूलाई बिदा दियौँ । ८ः१० बजे TG ३१३ को विमानले पेचिङको धर्ती छोड्यो र १२ः१५ मा थाइ देशको भूमि छोयो ।
१ बजेसम्म अनेक सोधपुछ, तल–माथि गर्दै २ बजे राति बैङ्ककको एसिया होटेल पु¥याइयो । पेचिङमै १ टिकटसँगै बस्ने बन्दोबस्तको नवीकरण गर्नुपर्ने गर्न बिर्सेर अलि समय लियो । तर थाई हवाई अड्डामा काम गर्ने महिला सुपर सुप्रिटेन्डेन्टले मिलाइदिइन् । एसिया होटेलमा बुद्धधर्मबारे एक अङ्ग्रेजी पुस्तक थाई राजपरिवारका एक सदस्यको जन्म दिवसमा प्रकाशित गरिएको रहेछ । २–४ पाना हेरेँ । पुस्तक हेर्न लायकको रहेछ । त्यस्तै अङ्ग्रेजी र थाई भाषामा बाइबल पनि राखिएको थियो । २–४ पेज हेरेँ र आराम गरेँ । ३ बजिसकेको थियो । ६ बजे घण्टी बज्यो र उठेँ । ७ः३० बजे बैङ्कक हवाई अड्डाका निम्ति मोटरमा बसेँ । ८ः३० बजे हवाई अड्डा पुग्यो र TG ३११ विमानले १०ः४५ मा बैङ्कक छोड्यो र १२ भदौ २०५२ सोमबार (28 August 1995) को दिउँसो २ बजे त्रिभुवन हवाई मैदान छोयो ।
समाप्त
Leave a Reply