भर्खरै :

मेहनत र परिश्रम गर्नेहरूले नै हरेक क्षेत्रमा सफलता पाउने

मेहनत र परिश्रम गर्नेहरूले नै हरेक क्षेत्रमा सफलता पाउने

भक्तपुर, ७ फागुन । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कठोर मेहनत र परिश्रम गर्नेहरूले नै हरेक क्षेत्रमा सफलता हात पार्छन् भन्नुभयो ।
कीर्तिपुर नगरपालिकाको आयोजनामा हुने बास्केट बल प्रतियोगितामा भाग लिने खेलाडीहरूलाई प्रशिक्षण दिँदै उहाँले खेलमा हारजित स्वाभाविक भए पनि अनुशासितरूपमा खेल प्रदर्शन गरेर भक्तपुरको नाउँ उच्च राख्न शुभकामना दिनुभयो ।
उहाँले खेलाडीहरू खेलकुदमा मात्रै सीमित नभई देशको राजनीतिमा पनि ध्यान दिनुपर्ने उल्लेख गर्दै अन्यायको विरुद्ध निरन्तर आवाज उठाउने बानीको विकास गर्नुपर्ने बताउनुभयो ।
सहिद दिवसलाई बिदामा मात्र सीमित गर्न नहुने बताउँदै उहाँले भन्नुभयो, “निरङ्कुश राणा शासनको विरुद्ध आवाज उठाउनेहरूलाई राणाहरूले मृत्युदण्ड दिए तर परिवर्तनलाई रोक्न सकेनन् । नेपालमा पटक पटक राजनैतिक परिवर्तनहरू भए । २०४६ सालको परिवर्तनपछि जनताले शिक्षा, स्वास्थ्य उपचार र रोजगारी पाउने आशा गरेका थिए तर शासन सत्तामा जाने राजनैतिक दलहरूले सहिदको इच्छा पूरा गर्न सकेनन् । त्यसले जनतामा राजनीतिप्रति नै वितृष्णा जगायो । युवाहरूले राजनीतिलाई जनताको सेवा गर्ने साधनको रूपमा प्रयोग गर्दै सहिदको सपना पूरा गर्नेतर्फ लाग्नुपर्छ ।”
भनपा वडा नं १ का वडाध्यक्ष एवं युवा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्रीले नगरपालिकाले नयाँ नयाँ खेलाडीहरू तयार गर्ने उद्देश्यले समय समयमा खेलकुद प्रतियोगिताको आयोजना गरिरहेको बताउनुभयो ।
सो कार्यक्रममा नगर प्रमुख प्रजापतिले प्रतियोगितामा भाग लिने सबै खेलाडीहरूलाई ट्राक सुट वितरण गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *