सुधारिएको पुँजीवादको भ्रम
- असार १, २०८३
वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेँ (रोहित) र समकालीन शिक्षक, अगुवा, समाजसेवीहरूले पुरानो समाज फेर्न शिक्षा र चेतनाको दियो बाल्नुभयो । अझ भनौँ “क्रान्ति अघिको क्रान्ति” थाल्नुभयो । व्यवस्था परिवर्तनको निम्ति लड्न पनि शिक्षा चाहिन्छ । व्यवस्था परिवर्तन अगाडि पनि शैक्षिक, सामाजिक क्रान्ति सम्भव छ भन्ने उदाहरण बन्यो भक्तपुर । आज भक्तपुरलाई “शिक्षापुर” भन्न रुचाउँछन् प्राज्ञहरू । शिक्षा, विचार र चेतनाको गन्तव्य मात्रै होइन त्यो सँगै आउने नैतिकता, इमान र जनसेवी भावनाको सहर पनि हो भक्तपुर ।
नेता फिडेल क्यास्ट्रो भन्नुहुन्थ्यो, “शिक्षा सबैथोक हो, शिक्षा भविष्य हो, शिक्षा क्रान्तिको आधार हो । अनि शिक्षक क्रान्तिका संवाहक हुन् ।” क्युवाली क्रान्तिताका नेता फिडेलले बोल्नुभएको विचार हो यो । सन् १९५९ मा क्युवाली क्रान्ति भयो । त्यसपछि पुरानो सामन्ती समाज व्यवस्थालाई जरैदेखि उखेल्न शैक्षिक क्रान्ति अगाडि बढ्यो । सिङ्गो देशलाई शिक्षित बनाउनु क्रान्तिभित्रको पनि क्रान्ति हो भन्ने फिडेलको विचार नयाँ अभियान बन्यो । शिक्षा, चेतना र विचारको जगमा मात्र क्रान्ति हुर्कन्छ, समाजवाद बलियो बन्छ भन्ने फिडेलको भावनाको पुस्तान्तरण भने सबैभन्दा बढी शिक्षकहरूले गरे, विद्यालय विद्यालयबाट भयो । त्यसकारण आज पनि क्युवा शिक्षित छ, उज्यालो छ, विचारले बलियो छ । अनि अमेरिकी साम्राज्यवादसँग एक्लै जुझिरहेछ, समाजवादको रातो झण्डा फहराइरहेछ । समाजमा शिक्षा र शिक्षकको योगदान यतिको शक्तिशाली हुन्छ । परिवर्तन खोज्ने हरेक समाजको कथा यही हुन्छ सायद ।
क्युवाभन्दा धेरै टाढाको देश हो नेपाल । नेपालभित्र पनि सानो जिल्ला भक्तपुरले झन्डै ६÷७ दशक अगाडि त्यो परिवर्तन खोज्यो । जनतालाई नपढाउने राणा शासनविरुद्ध विद्रोह बोल्यो । राजधानीको छेवैमा रहे पनि शिक्षाको उज्यालो अनुभव गर्न नपाएका किसान—मजदुर वर्गका निम्ति शिक्षाको आन्दोलन सुरु भयो । वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेँ (रोहित) र समकालीन शिक्षक, अगुवा, समाजसेवीहरूले पुरानो समाज फेर्न शिक्षा र चेतनाको दियो बाल्नुभयो । अझ भनौँ “क्रान्ति अघिको क्रान्ति” थाल्नुभयो । व्यवस्था परिवर्तनको निम्ति लड्न पनि शिक्षा चाहिन्छ । व्यवस्था परिवर्तन अगाडि पनि शैक्षिक, सामाजिक क्रान्ति सम्भव छ भन्ने उदाहरण बन्यो भक्तपुर । आज भक्तपुरलाई “शिक्षापुर” भन्न रुचाउँछन् प्राज्ञहरू । शिक्षा, विचार र चेतनाको गन्तव्य मात्रै होइन त्यो सँगै आउने नैतिकता, इमान र जनसेवी भावनाको सहर पनि हो भक्तपुर ।
यो सहर बनाउन एक दुई पुस्ताका शिक्षकहरूले रगत पसिना बगाउनुभयो । नयाँ पुस्तालाई उज्यालो, बस्नलायक र गौरव गर्नलायक समाज निर्माणमा जीवन समर्पण गर्नुभयो । फिडेलको भाषामा चेतनाको पुस्तान्तरण गर्नुभयो, विचारको प्रवाह गर्नुभयो । ती शिक्षकहरू आज सेवा निवृत्त हुनुहुन्छ तर आज पनि सक्रिय हुनुहुन्छ । शिक्षा सेवाको औपचारिक यात्रामा पूर्णविराम लागे पनि बौद्धिक सेवा कर्ममा दत्तचित्त हुनुहुन्छ । त्यसको दृष्टान्त सेवा निवृत्त शिक्षक समाज भक्तपुर र समाजको मुखपत्र “शैक्षिक अनुभव” हो । आफ्नो शिक्षा, जीवनको अनुभव र ज्ञानले नयाँ समाज सिञ्चित गर्न सकिन्छ भन्ने उहाँहरूको आत्मविश्वास र दृढता गज्जबको छ । उमेरले बुढ्यौली लागेका अनि विचार र ज्ञानले युवा निवृत्त शिक्षकहरू भन्नुहुन्छ, “हामी अझै सबल छौँ ।” सेवा कर्ममा उमेरको पावन्दी हुँदैन भन्ने ज्वलन्त उदाहरण हो, “शैक्षिक अनुभव ।”
यसको पछिल्लो पूर्णाङ्क १७ र १८ पनि सेवा निवृत्त शिक्षकहरूको शैक्षिक जीवन, अनुभव सङ्ग्रहको सिलसिला हो । विभिन्न कालखण्डमा राजनीतिक, सामाजिक अप्ठ्यारा पार गर्दै समाज परिवर्तनका निम्ति सङ्घर्ष गर्ने शिक्षाकर्मीहरूसँग “शैक्षिक अनुभव”हरूमा पाठकको भेट हुन्छ । पूर्णाङ्क १७ मा प्राध्यापक पृथुचरण वैद्यलाई चिनाउने न्हुछेभक्त कवांको पठनीय लेख छ । वैद्यले आफ्नो जीवन शिक्षा क्षेत्रमा बिताउनुभयो । उहाँ नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँका अनन्य मित्र हुनुहुन्छ । उहाँहरूको विद्यालय जीवनताका भक्तपुरमा क्याम्पस त परको कुरा राम्रा मा.वि. विद्यालय पनि थिएनन् । काठमाडौँको दरबार क्याम्पसमा उहाँहरूले सँगै पढ्नुभएको, एउटै डेरामा बस्नुभएको सन्दर्भ पनि छ लेखमा । उहाँ २०५५ सालमा शिक्षाशास्त्र अध्ययन संस्थान त्रिभुवन विश्वविद्यालयका डिन हुनुभयो । २०४७ सालमा शारदा क्याम्पसको स्थापना गर्नुभयो । उहाँको शैक्षिक जीवनका यस्ता थुप्रै जानकारी लेखमा छन्् ।
मास्टर जगत सुन्दर मल्ललाई चिनाउने न्हुछेरत्न बज्राचार्यको नेपालभाषामा लिखित लेख रोचक छ । मास्टर जगतसुन्दर मल्लले सदैव मातृभाषामा पठनपाठनलाई जोड दिनुभयो । मातृभाषामा मान्छेले अझ बढी, अझ छिटो सिक्छन् भन्ने विचार उहाँको हो । अहिले मातृभाषामा सम्पूर्ण पठनपाठन नभएपछि मातृभाषा अध्ययनका लागि स्थानीय पाठ्यक्रमको व्यवस्था हुनुलाई पनि सकारात्मक पाइला मान्न सकिन्छ । यस अङ्कले मध्यपुरकै पहिलो पीएचडी व्यक्तित्व राधाकृष्ण जोशीको परिचय, भारतीय स्वतन्त्रता आन्दोलनमा दलबहादुर प्रजापतिको योगदान, निवृत्त शिक्षक ज्ञानलाल भोमिको अनुभव, शिक्षाको महत्वबारे निवृत्त शिक्षक कान्छा बासुकलाको कथा, आशाकाजी बासुकलाको जीवन, शिक्षक ज्ञानसागर प्रजापतिको युवा उमेर र अनुभवका कुरा छन् । एकजना शिक्षक शिक्षा क्षेत्रमा मात्र होइन तत्कालीन सामाजिक र राजनीतिक परिवर्तनका साक्षी र संवाहक पनि हुन्छन् भन्ने अनुभव “शैक्षिक अनुभव” पढ्दा हुन्छ । समाजका संस्थापक अध्यक्ष नाति कवांको याल्टा सम्मेलनबारे लेख, शिक्षक मोहनप्रसाद प्रजापतिको मन्तव्यसँगै केही शिक्षकहरूको अनुभव, विद्यार्थीहरूको प्रतिभा यस अङ्कमा सङ्कलित छ । यसको साभार खण्डले देशको समसामयिक राजनीतिक एवं शैक्षिक अवस्था बोध गराउँछ भने गतिविधि खण्डले निवृत्त शिक्षकहरूको क्रियाशीलता अनुभव हुन्छ ।
पूर्णाङ्क १८ मा वाग्मती प्रदेश सांसद सुरेन्द्रराज गोसाईंको मन्तव्य सङ्ग्रहित छ । कृतज्ञताको संस्कृति, आभारी बन्ने संस्कार समाज विकास र सभ्यताको द्योतक हो भन्नुहुन्छ सांसद गोसाईं । उहाँको मन्तव्यमा देशको वर्तमान अवस्था र नयाँ पुस्ताबारे चिन्ता र चिन्तन छ । बौद्धिक जगतले राष्ट्रिय अन्तर्राष्ट्रिय विषयमा सचेत भई सत्यको साथ दिनुपर्ने सन्देश पनि छ । शिक्षक रोशनराज तुईतुईले भक्तपुरको शिक्षामा अग्रजको योगदानप्रति आभार व्यक्त गरेका छन् । शिक्षक भवानीदास काजीको स्मृतिमा लेखिएको लेखमा उहाँको व्यक्तित्वमात्र होइन कलासंस्कृति संरक्षणमा योगदानको कथा पनि छ ।
शिक्षण पेशालाई पूजा गर्ने निवृत्त शिक्षकहरू दीर्घबहादुर शाही (जुम्ला) राजेन्द्रप्रसाद प्रधान, कृष्णप्रसाद धन्छा, शर्मिला श्रेष्ठ, जानकी बासुकला, श्यामलाल प्रधान, चन्द्रबहादुर उलकलगायत १२ जना शिक्षकका सङ्घर्षमय अनुभव सङ्ग्रहित छन् यो अङ्कमा । कविता, नियात्रा, निबन्ध, स्वास्थ्य सम्बन्धी जानकारीमूलक लेख, राष्ट्रिय अन्तर्राष्ट्रिय विषयको जानकारीले “शैक्षिक अनुभव” लाई अझ पठनीय बनाएको अनुभव हुन्छ । समग्रमा बुलेटिन निकै पठनीय र ज्ञानवर्धक छ । निरन्तर प्रकाशनको कामना । समाज विकास र निर्माणमा निवृत्त शिक्षकहरूको सक्रियता कायम रहोस् । निरोगी, सक्रिय र दीर्घ जीवनको कामनासहित उहाँहरूको योगदानप्रति आभार ।
Leave a Reply